~सुमन सौरभ~
अदालतले बाको र मेरो डिएनए समान भएको निष्कर्ष निकालेर आमाकव पक्षमा फैसला दियो।
मुद्दा जितेकी आमाले सन्तोषको सास फेरिन् र मलाई बाको हातमा थमाइन्- “लौ, मेरो मात्र होइन यो, तिम्रो पनि डिएनए हो, तिमि पनि पूरा गर आफ्नो जिम्मेवारी।“
बा मलाई च्यापेर लुरुलुरु आमाको पछि लागेँ। धेरै पछि बा र आमा एकै छतमुनि बस्न थाले, मैसँग।
मेरो हात बाको जस्तो थियो, खुट्टा आमाको जस्तो। नाक बाको जस्तो, आँखा आमाको जस्तो। मेरो व्यक्तिगत भन्नु त के नै थियो र? उनीहरुको जेनेटिक् रेप्लिकेसन न थिएँ, जस्तो उनीहरु त्यस्तै म।
उनीहरुकै सेरोफेरोमा हुर्किँदै गएँ। उनीहरुले आफ्नै बाटो हिँडाउँदै लगे। बाले दरिलो सुरक्षा दिए, आमाले न्यानो स्नेह दिइन्।
जे जानेको छ त्यही गर्ने त हो, आफूले जस्तै स्कुलको शिक्षा दिए, संसारलाई बुझ्ने दृष्टिकोण दिए। पछिसम्म काम लाग्ने तालिम दिए।
जे जति दिन सकिन्छ सबै दिए, जग्गा दिए, जग्गा दिए, घर दिए, पैसा दिए, सुन दिए। दिनुपर्ने नियम थियो सामाजिक र नैतिक पनि। अवसर दिए, भरपुर भविष्य दिए।
पहिला त अति खुसी थिएँ म। अब न खुसी भएर साध्य, न दुःखी भएर।
आफ्नै डिएनए दिएजस्तै, आफ्नै सरह हातखुट्टा दिएजस्तै, नाक, आँखा दिएजस्तै, नदिउँ भन्ने लाख अभिप्रायमा पनि कठै, आफूमा अन्तरनिहित स्वभाविक र अवश्यम्भावी मृत्यु पनि दिएका रहेछन्। यो चाहिँ पटक्कै चित्त बुझेन।
फेरि उही अदालत गएँ, उजुरी गर्न। तर अदालतले फिराद लिनै मानेन र फकाएर पठायो- “जीवन पाएपछिकफ साइड इफेक्ट हो मृत्यु, हामी केही पनि गर्न सक्दैनौँ। त्यो जेनेटिक् हो, जन्मदाताबाट आउँछ, आउँछ।“
(स्रोत : सुमन सौरभको लघुकथा संग्रह ‘मृत्यु संग्रह’बाट)