म अर्थात् साने,
सानो काँठिको शरीर भएर हो या
टिनले छाएको सानो घर भएर हो?
मेरा छिमेकि ठुल्दाई,
ठूलो भुँडि भएर हो या
चारतले ठूलो घर भएर हो?
सानै भए पनि मैले घर बनाएर लालपुर्जा लिइसक्दा
ठुल्दाईसँग आफ्नो घरको पुर्जा थिएन।
पल्लो गाउँको कैलेसाहु आएर
उनको घर कब्जा गरेको मलाई अझै याद छ,
कैलेसाहुले उनलाई आफ्नै घरमा नोकर राखेको मैले खुद देखेको छु।
मैले सधैँ छिमेकिको धर्म निभाइरहेँ
उनको घरबाट कैलेसाहुलाई खेद्न मैले पनि चिर्पट उठाएको छु,
पछिपछि दगुरेर लखेटेको छु।
आफू फेरी बलियो भएपछि उनले
मेरा गुन बिर्सिए
मेरो साथलाई सेवा सम्झेर उनले
हेप्न थाले मलाई निरन्तर।
उनी आफ्नो छतमा जमेको पानी
पाइप लगाएर मेरा छानामा तर्काउँछन्,
प्वाल परेको छानोबाट पसेको पानीले म कैयौँ रात भिजेको छु।
मेरो आँगन मिचेर पर्खाल लगाउँदा उनले,
म टुलुटुलु हेर्न बिवश थिएँ।
उनी मेरो तुलसाको मठ आफ्नो भनि दाबी गर्छन्,
मेरो धाराको पानी मोटर लगाएर तानिदिन्छन्
तर पनि
म चुपचाप सहेर बसेको छु
म बेलाबेलामा उनीकहाँ गइरहन्छु
म उनलाई सबैकुरा भन्छु तर उनी सुन्दैनन्?
या
म आफनो केहि भन्दिनँ तर उनको कुरा मान्छु?
आज सुन्दैछु धेरैपछि उनी
मेरो घरमा आउँदैछन् रे
मलाई साने सम्झेर हो या साथी समझेर।
जे होस्
उनी आएमा
म मेरै पानी चुहिने दैलाछेउ बसाल्नेछु
पिँढिको डिलमा राखेर उनलाई
साँघुरिएको आँगन देखाउनेछु
कैलेसाहुले उनलाई अपुताली थमाएको जाली तमसुकको शब्द शब्द केलाउनेछु
अनि
मेरो तुलसाको मठमा जल चढाउन लगाएर उनलाई,
मेरै पुजाकोठिमा लगेर मेरो कुलदेवता चिनाउनेछु।।।
सुरेश बडाल
तुप्चे,नुवाकोट
(स्रोत : Suresh Badal’s Facebook )