कथा : पलायनवादी

~भुपेन~Bhupen

खासमा त्यो समय म हाम्रो महान तथा गौरवशाली मानिने पार्टीद्वारा बेलुकी सम्म जारी गरिने विज्ञप्ती तयार पार्दै थिएँ। बिहान बसेको बैठकको निष्कर्ष अनुसार आन्दोलनले नै जनताका तमाम इच्छा आँकाक्षा पूरा हुने भन्दै पार्टीले मलाई क्रान्तिका निम्ति एक क्रान्तिकारी विज्ञप्ति तयार पार्ने जिम्मा सुम्पिएको थियो। मलाई लेख्न भनिए अनुसार विज्ञप्तिको सार केही यस्तो हुन आवश्यक थियो।

प्रतिक्रान्तिकारीहरुले जबरजस्त रुपमा क्रान्तिकारीका लाल किल्लाहरुमा धाबा बोलिसेकेकाले आम जनता क्रान्तिका लागि पुनः क्रान्तिकारी हुन आवश्यक छ। यो समय आफ्ना व्यक्तिगत इच्छा आकाक्षालाई थाति राखेर सुदुर आकाशमा देखिएको साम्यवादी सुर्यको तापलाई धर्तीसम्म ल्याइपुर्याउनु आजको आवश्यक्ता हो। त्यसैले देश बदल्नका लागि हामी सबै एकतावद्ध हुन आवश्यक छ।

तर, जब लेख्दालेख्दै विज्ञप्तिको मध्यभागमा पुगेको थिएँ, अकस्मात बजेको मोबाइलको रिङटोनले मलाई बीचमै डिस्टर्ब गरिदियो। फोनमा मेरो पारिवारिक हुलाकी (मेरो छिमेकी जसले मैले बाल्यकालमै घर छाडेदेखि नै मलाई यस्ता खबर पुर्‍याउँदै आएको छ, र सिद्धार्थ गौतमले घर छोडेर गौतम बुद्ध भए जस्तै म पनि कुनै दिन महान हुने भ्रममा छ) ले जनाएअनुसार अचानक आमाको स्वास्थ्य स्थिति पुनः बिग्रिएको जानकारी दियो। र मेरा बा अज्ञात स्थलबाट अझै घर नफर्किसकेकाले उसले आफनो १५ वर्षीय छोराको सहारामा आमालाई म सम्म पुग्ने वातावरण मिलाइएको बतायो। हुलाकीले सुनाएको खबरपछि एकाएक मेरो क्रान्तिकारी मन ,पारिवारिक भइदियो। बिना धन्यबाद उसलाई पठाइदिनुस् भने। त्यसपछि म केही समय सोचमग्न हुने निर्णय गरेँ। तर सोच्दा सोच्दै सोचनीय विषयवस्तुहरुले भने मलाई निष्कर्षबिहीन बनाइरहे। किनकि निष्कर्षविहीन वाक्यहरुमा मिसिएका केही शब्द यस्ता थिए।

आमा/उपचार/अस्पताल/पैसा/च्यातिएको गोजी … आदि इत्यादि।

यी शब्दहरुको निष्कर्ष ‘घुमिफिरि रुम्जाटार’ नै हुन्थ्यो। मैलेभन्दा तपाईँलाई अनौठो लाग्दैन भने आज बिहान मात्र नुनतेल किन्ने पैसा नभएर म मेरो अफिस नजिकै अवस्थित आयातित आफन्तको परिवारमा पेट भर्न निर्यातित भएको थिएँ।

‘कामरेड विज्ञप्ति तयार भयो?’ उपल्लो स्तरका कामरेडले मेरो सोच्दा सोच्दैको मस्तिष्कमा एक्कासी ठुङ् हाने।
‘मध्यभागमा पुगेर सोचमग्न छु कामरेड,’ जवाफ फर्काए।

‘सोच्दा सोच्दै भावुक भएर विज्ञप्ति लेख्नुपर्नेमा कथा तयार नपार्नु नि कामरेड। तपाईँलाई थाहा हुनुपर्ने ‘भावना’ क्रान्तिको शत्रु हो।’ कामरेडले परम्परागत आदेश दिए।

यसपछि मैले ती कामरेडलाई पनि ‘हस्स’ टक्र्याए। र उनकै आग्रह अनुसार त्यो समय मेरा भावनाका विकेन्द्रित तरङ्गहरुलाई क्रान्तिको सहयात्री नबनाउने तयारी गरे। भावनात्मक तरङ्गहरुका वावजुद जसोतसो विज्ञप्ति तयार भयो। त्यसपछि मैले आमालाई आज अस्पतालसम्म पुर्‍याउन आवश्यक पर्ने आर्थिक जोहो गर्नका लागि आफ्नो मस्तिष्कलाई आर्थिक क्रान्तिको दिशातर्फ मोड्ने प्रयास गरेँ। सबैभन्दा पहिला मेरो आशाको खहरे भेल ४ महिना यता तलब नदिएको मैले काम गर्ने पत्रिकाको मालिकसम्म पुगेर टुङ्गिने निर्णय गर्‍यो। जहाँ म मेरा रङ्गिन हुनुपर्ने जवानीको समयलाई केही वर्ष यता ‘टेन टु फोर’ ब्ल्याक एन्ड व्हाइट बनाउँदै आएको छु। तर मालिकलाई फोन गरेको केही समयसम्म हामी केहीलाई इमरजेन्सी अवस्थामा संसारकै कर्कश अनुभुत हुने त्यो आइमाईको आवाज नै गुन्जिरह्यो।
तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ…

१५/२० मिनेटको प्रयासमा पनि त्यही आवाज दोहोरिरहेपछि मेरो दिमाग छटपटिले भाउन्न भएर रिसको डिग्री बाउन्न उक्लिन थाल्यो।
‘अंकल हामी बाटोको मध्यभागमा आइपुगेका छौं। यहाँबाट तपाई सम्म आइपुग्न बाउन्न किलोमिटर बाँकी छ,’ बरु उताबाट आएको फोनमा मेरो भतिजले जानकारी गरायो।

‘ठिक छ, अनि आमालाई खाना खुवाइस त?’

‘बज्यैले खाना नखाने रे। बरु हिजो खा’को नि फालिरहनु भा’छ। बरु म चाँहि उहाँले खाँदा खाँदै खान नसकेको फ्रुटी खाँदै छु,’ फ्रुटL खाइरहेको सुरुप आवाजपछि उसले बतायो।

भतिजोलाई आमाको राम्रोसँग हेरचाह गर्दै ल्याउन आग्रह गर्दै म चाँहि पुनः सोचमग्न हुने विचार गरे। तर, मन एकधार हुन सकेन, दोधार दोधार भइरहयो। मालिकलाई पुनः फोन दोहोर्‍याउँदा पनि उही आइमाईको आवाज सुनिएपछि उनीतर्फ गएको मेरो आशाको नदी यत्तिकै सुकेर बिलायो। त्यसपछि मलाई मेरा सहृदयी मित्रमण्डलीको याद आयो। मित्रहरुसँगको बातचित र विवरण यस्तो छ …

मित्र नम्बर १ —
जोसँग बजारको न्युरोडमा ३ तल्ले घर छ। जसले बिहानदेखि बेलुकासम्मको समय आर्थिक अंकगणितमा नै बिताउँछ। उसले असार महिनाको समयमा लाखौं रकम यताउता पार्नुपर्ने हुँदा मलाई २/४ हजारको पनि सहयोग गर्न नसकिने बतायो।

मित्र नम्बर २ —
उसले र मैले हिजो राति मात्रै मदिराको नशामा एकअर्कालाई साह्रोगाह्रो पर्दा ज्यानै फाल्ने सम्मको कबुल गरेका थियौं। सधैं तल्लो स्तरको रक्सी खानु मेरो आर्थिक बाध्यता भए पनि उसले आफ्नो स्तर उकास्न निर्देशन दिँदै मलाई महङ्गो होटेलमा स्तरीय मदिर पिलाएको थियो। र केही थान हजारका नोट होटेल मालिकलाई टक्र्याएको थियो। उसले पनि आजको दिनमा केही गर्न नसक्ने भन्दै अरु दिन भए अवश्य सहयोग गर्ने कसम खायो।

यसैगरी मेरो हृदयका छेउकुना ठानिएका केही मित्रहरुले पनि आवश्यक सहयोग गर्न नसक्ने बताएपछि म झन वियोगमा पर्न थालेँ। र वियोगमा पर्दै गएको मेरो मनमस्तिष्कले छेउकुना मात्र नभई हृदयको पूरा आकारमै विराजमान गरेर बसेकी प्रेमीकालाई एकाएक याद दिलायो। तर बेलाबेला यस्तै बेला आउने प्रेमीकाको यादका कारण बर्बाद हुँदै गएको म एक्कासी झस्किएँ। किनकि हिजोमात्रै उसले पनि आफनो पेशा पछाडि ‘कार’ प्रत्यय (साहित्यकार, पत्रकार, कलाकार ….) जोडिनेहरुसँगको संगत बेकार महसुस भएको भन्दै मसँग उच्चस्तरीय गुनासो गरेकी थिइ। तसर्थ मोबाइलको किप्याड थिच्न तम्सिएका मेरा औंला पनि एकाएक रोकिए। परिस्थितिले मनमस्तिष्क अनियन्त्रित हुन थाल्यो। र अनियन्त्रित मनले खुटालाई पनि नियन्त्रित हुन दिएन। बजारमा म खै कता? खै कता ? को गन्तव्य खोज्दै म दौडिन थालेँ। भिडमा म एक्लो दौडिरहेँ। केही समय झरी पर्‍यो। म झरीसँगै दौडिन थालेँ। झरी रोकिएन , मेरा खुट्टा पनि रोकिएनन्। दौडिँदा दौडिँदै केही समयपछि झरी रोकियो। आकाश निक्कै शान्त र सुमधुर देखियो। मलाई आज यो सुन्दर आकाशप्रति पनि डाह जाग्यो। केही समयअघि भतिजोले फोन गरेर नजिकै आइपुग्न लागेको जानकारी गरायो। आमाको अवस्था झनझन बिग्रिएकाले सार्वजनिक बसमा अस्पताल पुर्‍याउन ढिला हुन्छ कि भन्ने उसको जिकिर थियो। तर, दौडिँदा दौडिँदै बीच बाटोमै ढुङ्गा भेटियो। ढुङ्गासँगै देउता भेटियो।

‘अबे रुक, निराश निराश अनुहार लगाएर यो बयलगाडी तालमा आफ्नो खुट्टालाई कुन आशमा दौडाउँदै छस बे ?’ पछाडिबाट बाल्यकालमा हामीद्वारा देशी (भारतीय) अर्थात् मधेसी भनेर हेपिँदै आएको मित्रले मलाई रोकिन आग्रह गर्‍यो। हिजोआज पनि कबाड खरिदिने भएकाले ऊ हामीबीच कबाडी भनेर परिचित थियो। उसले मेरो यात्राबारे सोधेपछि मैलै आफ्नो समस्याको पोको उसमाथि बिसाए। सुनिसकेपछि उसले एकछिन निधार खुम्चायो। गोजीबाट सुरजमुखी सुर्ती निकालेर मिच्यो। र, मलाई एक फ्वाँक खान भनेर दियो। आफ्नो फोनको किप्याड थिच्यो। कोसँग हो बातचित गर्‍यो। मलाई केही समय त्यही बसेर पर्खिन आग्रह भनेर आफू हिड्यो। म बिसाए । उसलाई पर्खिएँ जसलाई मैले कहिले पर्खिएको थिइन। केही समयपछि आएर उसले मेरो हातमा हजारका केही थान नोट राखिदिएर केही यस्तो भन्यो –

‘म तराईको मान्छेलाई पराई सम्झेर हेला नगर बे। पहाडलाई जाडो बढ्दा तराईले सेक्नुपर्छ … मम्मीको उपचार अच्छा तरिका से गर।’ उ यति भनेर मतर्फ पिठ्यु फर्काएर आफनो बाटो हिड्यो। यता मभित्र भने अघिदेखि गुम्सिएर बसेका आँसुले पहिलोचोटी उसलाई हेर्न आँखाको ढोका ढकढकाए। तर मेरो मनले मानेन। आँसु देखाउन मानेन। मैले आँखाको ढोका एकचोटी जबरजस्ती थिचेँ। र आँखा उघार्दा त आँसु झनै विष्फोट भएर भो निस्किए। केही समय पर जाँदै गरेको उसलाई आँसुले पछ्याइरहे। अन्त्यमा जब म उपल्लो स्तरका कामरेडलाई मैले तयार पारेको विज्ञप्ति हस्तान्तरण गरेँ उनले केही यस्तो भने – ‘मैले तपाईँलाई भनेको थिए नि भावना क्रान्तिको शत्रु हो। यी तपाईँले लेखेको विज्ञप्तिमा मध्य भागपछि तपाईँको पलायनवादी चरित्र प्रष्ट झल्किएको छ।’

सल्यानको कोटबारामा जन्मेका भुपेन पत्रकारिता र साहित्य लेखनमा क्रियाशील छन्। साहित्यमा कथा र निबन्ध उनको मुख्य विधा हो। उनी दाङको मदानी साहित्य समूहमा आबद्ध छन्। 

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.