कथा : अपवाद

~शिव प्रकाश~SHiva Prakash

कहिले काहीँ उ नआओस् भन्ने लाग्थ्यो । तर एकछिन मात्र ढिलो भई भने अहिलेसम्म किन आइन ? आज किन ढिलो गरी ? कि आज आउँदिन ? के भो ? आदि इत्यादी मनमा जाग्थ्यो । किनारामा परेको माछा जस्तो छट्पटिन्थ्यो एकै छिनमा, यो मन । सोच्दा सोच्दै उ टुप्लुक्क आइपुगी, करीव पाँच मिनेट ढिलो । त्यो पाँच मिनेट मलाई पाँच घण्टा जस्तो लागिसेको थियो । करीव दुई वर्ष भै सकेको छ, उ नआएको कुनै दिन छैन । छुट्टिको दिनको हामीलाई अलिकति समस्या थियो । उसको छुट्टिको दिन म काममा हुन्थे तर पनि उ मेरो काममै आउँथी । अनि मेरो छुट्टिको दिन उ काममा हुन्थी तर म उसको काममा जान मिल्दैनथ्यो । त्यसैले उसले प्राय: मलाई साँझ घरमै बोलाउथी वा हामी कतै रेष्टुरेन्टमा जान्थ्यौ । मलाई रक्सी नभइ नहुने उ रक्सी छुदै नछुने ! यस कुरामा हामीमा ठुलो अन्तर थियो तर उ मेरो चाहनालाई सम्मान गर्थी म उसको इच्छालाई आदर गर्थे । सम्मान र आदर नै हामी बीच सम्झौताको सद्भावपूर्ण आधार थियो । आँउदा आउँदै उसले भनी- “सरी, प्रकाश म अलिकति ढिलो भएँ ।” मैले सोचेँ- ‘मलाई जस्तो हुन्छ यसलाई पनि उस्तै हुँदो रैछ । आफू ढिलो भएको यसलाई पनि थाह रैछ । मेरो काम उसको कामबाट घर फर्कने बाटोमा पर्छ ।’ दुई वर्षदेखि उसले यो बाटो बिराएकी छैन । सोधेँ- भन् कसरी ढिलो भयो त ? – कहिले काहीँ यस्तो हुन्छ जीवनमा ! जसरी तिमी ढिलो गरि भेट भयौ । उसका उत्तरहरु सधै सटिक, व्यङ्ग्यात्मक र अर्थपूर्ण हुने गर्थे । मलाई थाह, छ उ नर्स हो । तर उसका धेरै कुराहरु किन फिलोसफिक हुन्छन् ? म यो प्रश्नको भूमरीभित्र सधैं रुमल्लिरहेको थिएँ । सोचेँ, आज म सोध्छु- ‘क्यारोलिन, तिमीले नर्सिङ् पढेको हो कि फिलोसफी ?’ ‘आज एकाएक यो प्रश्न किन ?’ भन्दै उसले उत्तर दिई- ‘दुबै’ ! ओ के, मात्र भने मैले । उसले थपी- ‘प्रकाश, मेरो जीवनलाई धेरै विषयवस्तु र वासनाले मोड्न, घुमाउन खोज्छन् तर म तिनलाई आफूतिर घुमाउन चाहन्छु । म तिनको ओरिपरी घुम्न चाहन्न । कहिले काहीँ म कन्फ्युज हुन्छु- म घुमेको हो कि ती घुमेका हुन् ? तर म फेरि विश्वस्त हुन्छु, म हैन ती घुमेका हुन् । यति हुदाँ हुदै पनि एउटा अपवाद मेरो अगाडि छ ।’ मैले उसका कुरा केही बुझ्न सकिन । एकहोरो सुनिरहे र भनेँ- ‘बुझिन !’

नजिकै आई र हग गर्दै भनि- ‘सरी, आज मैले हग गर्न पनि बिर्सिएँ । यो अपवाद मभित्र अल्झिएदेखि केही न केही बिर्सन थालेको छु । म त्यसको ओरिपरी घुम्न थालेको जस्तो लागिरहेछ ।’ एकै शासमा भनि उसले । मैले फेरी भनेँ – ‘मैले केही बुझिन । मेरा लागि तिम्रा कुरा अन्धाले हात्ती छामे जस्तो भयो । के के ? कस्तो कस्तो ? कता कता ?’ ‘छोड यो सब कुरा, म सोमबार बताउँछु तिमीलाई । अनि सबै त्यसैदिन बुझ्छौ’- उसले टुङ्ग्याउन खोजी । “सोमबार ! किन सोमबार ? आज भरखर मंगलबार हुदैछ । एक हप्ता किन कुर्ने यति सानो कुराको लागि । यो एक हप्ता मेरो लागि एक वर्ष हुन सक्छ”- मैले कुरा सिध्याउनै नपाइ उसले थपि- “यो सानो कुरा हैन ।” ‘के हो त त्यो त्यति ठूलो कुरा ?’ मैले फेरी जिज्ञासा पोखेँ । ‘त्यो पनि म सोमबार नै बताउँछु ।’ कुरा मोडी र भन्न थाली– ‘प्रकाश, म ठान्थे म कमजोर हुदैछु । तर तिमीलाई झन् कमजोर देख्दै छु ।’ ‘मैले फेरि कुरा बुझिनँ । क्यारोलिन आखिर तिमी भन्न के चाहन्छौ ? सोमबारको चक्रव्युहुमा मलाई किन फसाइरहेकी छौ ? के हो सोमबार तिम्रो जन्मदिन ? मेरो जन्मदिन ? किन सोमबार ? केका लागि सोमबार ?’ उसले फेरि त्यही भनि- ‘यी सबै म सोमबार नै बताउँछु । ”मलाई अहिल्यै तिमीले यति छट्पटी दिई सक्यौ । सोच त अब सोमबारसम्ममा यो कति थपिन्छ ? प्लिज किन सोमबार ?”ओ माइ डियर, धैर्य ! म तिमीलाई केही कुरा सिकाउँदै छु प्रकाश ।’ ‘तिमी अब मलाई नर्सिंग वा फिलोसफी के सिकाउँछौ ? सायद त्यो पनि सोमबार नै होला हैन ?’ ‘हो त्यो पनि सोमबार !’ खित्का छोडी ।आखिर सोमबार के हो ? मेरा लागि उसका कुराहरु झन् झन् अस्पष्ट हुदै गए कुहिरोको काग जस्तो । जटिल हुदै गए अलमल गोत्र आमा एक बाउ सत्र जस्तो ! ‘सुन ! सधै झैं तिम्रो छुट्टी सोमबार हो हैन त ? यसपाली मैले पनि सोमबार छुट्टी लिएकी छु ।’ मुसुक्क हाँस्दै भनि । मैले लामो शास फेर्दै भने- ‘धन्य भगवान् ! धन्य क्यारोलिन ! यति सुन्न यत्रो छटपटी खप्नु पर्ने ।’ ‘सी यू’ भन्दै हग गरेर विदा भई । रातको नौ बजिसकेको छ । बीचका दिनहरु सामान्य रुपले बिते । सधैं झैं क्यारोलिन मैले काम गर्ने डेडह्याममा आइरही । उ वेष्टरक्सबरीमा काम गर्छे नरउडमा बस्छे । दुई टाउनको बीचमा पर्छ डेडह्याम । सामान्यतया: साँझ सात बजे उ आइपुग्थी तर आइबार उ आइन । साढेसात भइसक्यो आइन । म हरेक पल स्टोरको सिसाबाट बाहिर चिहाउँछु उसलाई देख्दिन । हरेक दुई दुई मिनेटमा बाहिर निस्कन्छु, उसको गाडी कतै देख्दिन । मभित्र पीडाका पहाडहरु चुलिन थालेका छन् । छट्पटीका छाँगाहरु खस्न थालिसकेका छन् । किन आइन ? के भो ? भोली सोमबार ! उ आइन भने भोली के हुन्छ ? काममा मन छैन । वनको बाघले नखाए नि मनको बाघले निलिसकेको छ मलाई । खैरेनीहरुको विश्वास हुदैन भन्थे यस्तै रहेछ- सोच्दैछु, हेर्देछु, भित्रबाहिर गर्दैछु । तर आशाको झिनो त्यान्द्रो भने चुडिएको छैन । उ आउँछे भन्ने विश्वास कताकता मभित्र धिपधिप बाँचेको छ । सोचेँ- फोन गर्छु । फेरी सोचेँ- गर्दिन । गर्छु, गर्दिनमा एकछिन रुमलिएँ । आखिर उसले जे बहाना पनि बनाउन सक्छे । स्त्री र राजकुलको विश्वास नगर्नु भन्थे यही रहेछ | भो गर्दिन भन्दै चित्त बुझाएँ । मनमा शंका उपशंकाका अनेक भँगालाहरु फुट्न थाले । दश बजे पसल बन्द गरेर निस्कदा ढोकामा देखिई उ । म चुपचाप उसलाई हेरिरहें । “मलाई थाह छ तिमी रिसाएका छौ । सरी प्रकाश, मैले तिमीलाई भन्न बिर्सिएँछु त्यतिका लागि मात्र आएकी । भोली सोमबार…। !” भन्दाभन्दै अकस्मात रोक्किई ।

अझै म चुपचाप हेरिमात्र रहेको छु । मनमनै सोचेँ- ‘यसको भोलीको अर्थ पक्कै म भोली भ्याउँदिन भन्ने हो । यो मसँग कुनै गेम खेल्न खोजिरहेकी छे । तर हैन, यसले मलाई धेरै कुरामा सहयोग गरेकी छे । यो भवसागरमा तैरन मलाई धेरै सिकाएकी छे, धेरै पटक मेरा हात समाएकी छे । तै पनि मुख फोरेँ- “मलाई थाहा छ, तिमी के भन्न खोजिरहेकी छौ | सरी म भोली नभ्याउने भए भन्न खोजेको हैन त ?”

मन्द मुस्कान उदायो उसका ओठमा । आँखा मतिर एककोहोरिए । मलाइँ अँगालोमा बन्धक बनाई । सुन्तलाका केस्रा जस्ता चिल्ला र कोमल ओठका चुम्बनहरु मेरो खस्रो निधारमा बर्सन थाले । उसको बोली फुट्यो- “भोली सोमबार म तिमीलाई सबै बताउँछु ।”
“फेरी भोली सोमबार ! आखिर तिम्रो के साइनो छ त्यो भोलीको सोमबारसँग ?”

“अरु म केही भन्दिन, भोली बिहान एघार बजे तयार भएर बस्नु म तिमीलाई लिन आउँछु । शुभरात्री” भन्दै हात हल्लाएर हिँडी । उसको गाडी हुइँकियो । म एक तमासले हेरिरहेँ । भोली भनेको सोमबार अथवा सोमबार भनेको भोली । एघार बजे, सोच्दै डेरातिर लागेँ । तर्कना, वितर्कना र तिर्सनाहरु स्वयं निदाउँदै-बिउँझिदै, बिउँझिदै-निदाउँदै गर्दागर्दै रात वित्यो । रात आफै अनिदो जस्तै रह्यो, आफूलाई निद्रा पटक्कै परेन । उसले भोली भनी तर भोली कहाँ जाने होला ! कुनै क्यासिनो, कुनै होटल, कुनै नयाँ शहर, कुनै पार्क ? मभित्र खुल्दुलीका खहरे उर्लदै सुक्दै गरिरहे ।

टलक्क टल्किएको कालो गाडी मेरो सामुन्ने रोकियो । कालो सिसाले गर्दा भित्री भाग अँध्यारो जस्तो देखिने त्यो गाडीको सिसा बिस्तारै खुल्यो । मैले सोचेको थिइन यो गाडीमा क्यारोलिन छे भनेर । मुसुक्क मुस्कुराउँदै स्नेहको सांकेतिक भाषा ओठबाट चुम्बनको आवाज निकाली । “मैले आजसम्म तिम्रो यो गाडि देखेको थिइन नि” गाडीभित्र पस्दै मैले सोधेँ ।
“म यो गाडी स्पेशल ओकेजनमा मात्र चलाउँछु । कस्तो लाग्यो यो गाडी, म जस्तै छ हैन ?”
“हैन, छैन ।” मेरो छोटो जवाफ सँगै उसले आफ्ना आश्चर्यवोधक आँखाहरु मतिर घुमाउँदै सोधी – “किन ?”
” किन कि तिमी गोरी छौ, यो गाडी कालो छ । अनि तिमी मान्छे हौ, यो पदार्थ हो । तिमी चेतना हौ, यो जड हो । तिमी आफै चल्छौ तर यसलाई चलाउनु पर्छ ।”
“ओ, पूर्वीय दर्शन ! प्रकाश, जब म तिमीलाई पढ्न थालेँ त्यसपछि म पूर्वीय दर्शन, हिन्दुज्म र वुद्धिज्मको बारेमा पनि पढ्न थालेँ । योगा पनि सिकेँ र अहिले पनि गरिरहेकी छु ।” उ भनिरहेकी छे । हाइडपार्क हुदै गाडी अघि बढिरहेको छ । उसको एक हात स्टेरिङ छ भने एक हातले मेरो हातलाई साथ दिएको छ । मैले सोधेँ- “क्यारोलिन, हामी कहाँ जादै छौ ?”

उसको उत्तर थियो – “एक छिनमा थाहा हुन्छ ।”

हिजोसम्म सोमबार र आज एकछिन् पछि । अब म आफै कुहिरोमा हराएको काग जस्तो भएको छु । एक हप्ता अघिदेखीको सोमबार ! सबै कुरा अड्किएको सोमबारमा ! आज सोमबार हो तर के, कहाँ, किन ? मलाई केही थाहा छैन । हिजो सम्म उ भोली सोमबार भन्दै थिइ अहिले एक छिन् भन्न थालेकी छे । आखिर रहस्य के हो ? यसले मलाई कहाँ किन लैजादै छे ?

“द्वन्दले तिमीहरुलाई कति नाजुक बनायो हगि ? तर हामी सधैं राम्रोप्रति आशावादी हुनु पर्छ । तिम्रो देशका धेरै मान्छे विदेश पलायन हुनुको कारण पनि द्वन्द हिँसा, हत्या, आतंक अस्थिरता र व्याप्त भ्रष्टाचार रहेछ ।” मेरो देशको बारेमा बुझेका यथार्थ उ बताइरहेकी छे । उसले भनेका यी तीता सत्यहरुप्रति सहमतिको टाउको हल्लाउँदै आज जहाँ लान्छे त्यहाँ जाने भनेर पूर्णरुपले आफूलाई तयार गरिसकेको छु । गाडी अगाडि बढ्दा बढ्दै अचानक सिमेटरी तिर मोडियो । बोस्टन क्षेत्रकै सबैभन्दा ठूलो मानिने सिमेटरी ओरिपरी उसले गाडी एक फन्को घुमाई । मन एकाएक झसङ्ग भयो किन यहाँ भनेर ! लोग्ने मान्छलॆ आँटे वर्षदिन स्वास्नी मान्छे आँटे एकैछिन् भने जस्तो भयो ।

“क्यारोलिन, हामी यो चिहानको जंगलमा किन आएका ? हुन त तिमीले सायद उही उत्तर दिन्छौ एकछिन् पछि !” मेरो चकित भावप्रति उ खित्का छोडेर हाँसी । कस्सेर मेरा हात समाई र भनि -“तिमी मेरो मनको कुरा बुझ्न थाल्यौ ।”

अलि अग्लो ठाउँमा ठूलो रुखको छहारीमा गाडी रोकियो । उसले पहिरेको हल्का पहेंलो पारदर्शी सर्ट भित्रबाट धेरै कौतुहलताहरु चिहाइरहेको आभाष मलाई पटकपटक भइरहेको थियो । अनि टमक्क कस्सिएको मिडी गाडी चलाउँदा चलाउँदै घुँडाभन्दा अलि माथि सरेको थियो । त्यो मिडीको अवोध सराईले मेरा आँखालाई लोभ्याइरहेका थिए । उसले गाडीबाट कपडाको थैलो निकालेर फुक्न थाली । फुक्दा फुक्दै त्यसले म्याट्रेसको रुप लियो । अर्को सानो थैलो निकाली त्यसरी नै फुकी । त्यसले सिरानेको रुप लियो ।

जूनको महिना । न जाडो न गर्मी । झपक्क हरियालीको यौवन ओढेका रुखहरु सबै वयस्क र मादक देखिन्छन् । विहानको एघार बजेको छ । मुर्दाहरुको वस्ती, त्यो निर्जन सिमेटरीमा दुई प्राणी क्यारोलिन र म मात्र छौं । शान्त छ, शितल छ, सुरम्य छ वातावरण । चराचुरुङ्गीका चिरचिर आवाज कताकति सुनिन्छ । करीव एक माइलसम्म त्यहाँ कुनै वस्ती छैन । उ म्याट्रेसमा पल्टदै लामो सास फेर्न थाली । तर मभित्र भने कताकता अलिकति त्रास अनि त्राससँगै अलिकति आतुरता र धेरै उत्सुकताहरु सल्बलाउन थालेका छन् । म उसका हरेक शाश्वत अभिनयहरुलाई चुपचाप साथ दिइरहेको छु ।

” प्रकाश, जीवनको अन्तिम सत्यलाई हामीले यहीँ समापन गर्नु छ । त्यसैले पहिलो सत्यलाई पनि म यही उद्घाटन गर्न चाहन्छु र विघटन पनि !” केही बेरको मौनता पछि उसले मुख खोली । मैले फेरी भने- “फेरी पनि मैले केही बुझिन ! के त्यो पहिलो सत्य ?” उसले फेरी पनि त्यही भनि ‘एकछिन् पछि’ थाह हुन्छ ! म फेरी भूमरीमा परेको माछा जस्तो भएँ । आखिर के हो त ? हिजोसम्म सोमबार, सोमबार । आज फेरी हरेक कुरामा एकछिन्, एकछिन् र एकछिन् खाली एकछिन् ! एकछिन् पछि के ? धेरै भइसके एकछिनहरु ।
उ सामुन्ने आई र भनि- “म मेरो मानसपलटलाई खोतल्छु । मैले भनेको थिएँ नि एउटा अपवाद ! त्यो अपवाद तिमी नै हौ । मैले आजसम्म कुनै मान्छेलाई यति नजिको ठानेको थिइन । तर तिमी अपवाद भयौ । किन ठानें सुन- जुन दिन पहिलो पटक तिमी काम गर्ने पसलमा आएकी थिएँ, कसैलाई तिमीले एउटा चिठ्ठा फिर्ता दिँदै त्यो मान्छेलाई भन्यौ- हिजो तिमीले यो चिठ्ठा यही बिर्सियौ लैजाउ भनेर । अर्को दिन त्यही मान्छे त्यही चिठ्ठामा दशहजार डलर जितें भन्दै तिमीसँग खुशी बाड्न आउँदा पनि म त्यही थिएँ । तेस्रो दिन त्यसले तिमीलाई चौधसय डलर टिप दिँदा पनि म त्यही थिएँ । आखिर त्यो तिम्रो इमान्दारीको फल थियो नि । तिमीले बेइमान गरेको भए त्यो सबै पैसा तिम्रै हुन्थ्यो । दश हजार डलर धेरै ठूलो मानिन्छ यहाँ । तर तिमीले त्यो गरेनौ । तिमीलाई मैले अपवादकै रुपमा लिएँ । राम्रो मन भएको एउटा राम्रो मान्छेलाई एउटा राम्रो मित्र बनाउन सकिन्छ भन्ने लाग्यो । त्यसपछि मेरो कामपछिको फुर्सदको समय तिमीसँग पसलमा गएर विताउन थालें ।”

म सुनिरहेको छु । मेरो आँखा मात्र बोलिरहेको थिएँ उसका आँखासँग । उ भनिरहेकी छे आफूले अनुभूत गरेका कुराहरु ।

“अनि मैले तिमीलाई एक महिना अघि एउटा परीक्षा लिएकी थिएँ | त्यसमा पनि तिमी पास भयौ । म त्यसदिन निक्कै खुशी भएकी थिएँ । सायद तिमीले त्यो हेक्का राखेनौ । म रक्सी, वाईन, वियर केही पिउँदिन । न त सिगरेट नै । तर तिमीलाई मैले घरमा रक्सी पिउन बोलाएँ । तिमीले निक्कै पियौ त्यसदिन । तिमी घर जान सकेनौ | मैले तिमीलाई घर छोडेर आएँ । यौवनका तिम्रा ती मादक आवाजहरु त्यस रात म कताकता सुनिरहेकी थिएँ । तिम्रो अनुहारमा झल्केका चाहनाका चित्रहरु म देखिरहेकी थिएँ । तर तिमीले सौम्यता र शालिनताको परिधानलाई च्यातेनौ । धेरै मान्छे रक्सी खाए पछि रक्सी जस्तै दूर्गन्धित हुन्छन् । मैले यहिंको एउटा केटालाई केही वर्ष अघि मन पराएको थिएँ । उसले डेटिङमा बोलायो । रेष्टुरेन्टमा लिएर गयो । बेस्सरी रक्सी पियो र मलाई पनि कर गर्यो । मैले पिउन मानिनं । अनि मलाई आज मेरै कोठामा सुत्न हिँड भनेर अति जोड गर्न थाल्यो । म त्यही रात उसँग ब्रेक गरेर हिँडे । त्यसपछि मसँगै नर्सिङ पढ्नेसँग मेरो हलुका अफियर सुरु भएको थियो | तर उसमा मनको भन्दा शरीरको माया बढी झल्किन थाल्यो । उसको यौनतृष्णामा मैले जनावरको गन्ध पाएँ । मैले उसलाई मेरो शरीर सुम्पन सकिन । मैले आफूलाई जनावर जस्तो बनाउन चाहिँन । मभित्र उ प्रति विश्वास जागेन । हुन त अमेरिका सेक्स फ्री कन्ट्री भनेर चर्चित छ | तर त्यसको अर्थ त्यो होइन । यी धेरै कुराहरु नबुझेर नै यहाँ डिभोर्सको दर साठी प्रतिशत भन्दा बढी छ । यहाँ प्रेममा आत्मियता र सेक्समा सम्मान छैन । तर पूर्विय सभ्यता त्यो भन्दा फरक रहेछ । प्रेममा इमान्दारिता नै पूर्वीय सभ्यताको सँस्कार रहेछ । नैतिक मूल्य र मान्यताको जग बलियो रहेछ । म तिमीलाई पढ्न इन्टरनेटमा यी सबै पढिरहेकी थिएँ । नेपालीहरु गरीव भएर पनि धनी छन् । हामी धनी भएर पनि कंगाल छौ । मैले गुर्खा आर्मीका बारेमा पनि अध्ययन गरेँ । बहादुरी, इमान्दारिता र निश्छलता उनीहरुको विषेशता मानिदो रहेछ । हेर तिम्रा कारणले मैले कति धेरै कुरा जाने र जान्ने मौका पाएँ । अनि अरु बढी जान्ने उत्सुकता अझै मभित्र कति जागिरहेछ |” भन्दा भन्दै उसले व्यागबाट एक पाना कागज निकाली । त्यसमा लेखिएको थियो- ‘मेरो पेटमा भएको बच्चाको पालन पोषण म आफै गर्ने छु र भविष्यमा तिमीले पनि दावी गर्न पाउने छैनौ | जवसम्म म तिमीलाई सुम्पन चाहन्न ।’ वकिलले तयार गरेको यो पत्र पढेर म झन् विलखबन्दमा परे ! के हो यो रहस्य ? हातमा पत्र लिएर एकतमासले उसको अनुहार हेर्न थालेँ ।

“सायद तिमी त्यही भन्छौ ‘मैले केही बुझिन’ हैन प्रकाश ?” उ बोली ।

“सायद तिमी पनि त्यही भन्छौ ‘एकछिन पछि थाहा हुन्छ’ हैन क्यारोलिन ?’ मैले भनें । थोरै मलिनता र थोरै मुस्कान मिश्रित उसको अनुहारलाई मेरो मष्तिष्कले पढ्न खोजिरहेछ । तीन त्रिलोक, चौध भूवनको यात्राभन्दा कठिन भइरहेछ क्यारोलिनसँगको आजको यो छोटो यात्रा मलाई ।

“तर हामीबीच कहिल्यै यस्तो भएको छैन । तिमीले कसरी मेरो नाउँमा वकिलको पत्र बनाएर ल्यायौ ? तिमीले भन्न र गर्न खोजेको के हो ? म अलि रिसाए जस्तो भएँ । मनमनै सोचें-स्त्रीको चरित्र र पुरुषको भाग्य दैवलाई नि थाह हुदैन भन्छन् कतै यस्तै त होइन !
“प्रकाश यहाँ मान्छे धेरै छन् । मलाई ती मान्छेजस्ता देखिने मान्छे हैन एउटा सगरमाथा र एउटा बुद्ध चाहिएको छ । एउटा गुर्खा र पूर्वीय सभ्यताको एउटा विरुवा चाहिएको छ । सगरमाथा जस्तो उच्च भावना र वुद्धको जस्तो विशाल विचार अनि गुर्खा सैनिक जस्तो साहस र पूर्वीय सभ्यताको जस्तो पहिचान चाहिएको छ । आज म तिमीबाट त्यो धारण गर्न चाहन्छु । पूर्वीय सभ्यताका हिन्दु ग्रन्थमा पनि महादानको चर्चा गरिएको रहेछ । आज म त्यही महादानका लागि एक प्रार्थीपात्र भएको छु । सम्झ, मेरा लागि यो महादान हुने छ । धरतीको सुन्दरता भनेको हराभरा हो, बाँझो धरती कति नराम्रो हुन्छ ? म बाँझो धरती भएर बस्न चाहन्न । के मित्रताको चिनो सम्झेर तिमी मलाई महादान दिन सक्छौ ? तर बदलामा म तिमीलाई केही दिन सक्दिन । सायद मैले सपनाको कुरा विपनामा खोजेँ !”
म एकछिन् टोलाएँ । एक मनले परत्रको मृगतृष्णामा वरत्र विगार्नु ठीक हुदैन भन्ने लाग्यो तर लोग्ने मान्छेको मन र आगो छेउको मैनमा फरक नै के छ र ! अनि उसका तर्कहरू जायज पनि लागे ।

‘तर यो खुला आकास मुनि ………।’ मेरो वाक्य पुरा नहुदै उसले भनि- ‘मनमा भए वनमा पनि हुन्छ । अनि तिमीहरुले विवाहमा अग्नी साक्षी राखे जस्तै म यो उज्यालोलाई साक्षी राख्छु । ब्रमाण्डलाई देखाउँछु यो सत्य हो । तर यहाँ मान्छे कोही आउँदैन । हामी दुई मात्र हुने छौ बाँकी केही समय !’ मैले त्यति नजिकबाट त्यति श्वेत, त्यति स्निग्ध, त्यति कोमल र त्यति आकर्षक अंगहरु देखेको थिइन । लामो उच्छवास लिदै भनें- “क्यारोलिन, अरु केही बाँकी छ कि ? एकछिन पछि, अझै !” मेरो व्यङ्ग्यप्रति मुस्कुराउँदै जवाफ दिई- “सबै ‘एकछिनहरु’ अब सकिए । धन्यवाद प्रकाश ! यही हो सत्यको उदघाटन र विघटन पनि । आजको अनुभव नै मेरो जीवनको पहिलो हो र अन्तिम पनि ! तर हामी सधै असल मित्र रहने छौं ! मैले तिमीलाई मेरो जीवनको अपवाद ठानें | सायद तिमी पनि मलाई यस्तै ठान्छौ होला । तिम्रो पारिवारिक जीवनको म सधैं कामना गर्छु । अब जाऔ हिड” भन्दै गाडीको साँचो मेरो हातमा दिई ।

सोधेँ- मलाई किन ?’तिम्रो इमान्दारिताको फल । मैले पनि आज चिठ्ठा पारेँ । जुनीजुनीसम्मलाई पुग्ने चिठ्ठा ! जीवनलाई सिँगार्ने चिठ्ठा !’

(स्रोत : KhassKhass.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.