ए सरकार
तँ यदि सुन्छस् भने
कान ठाडो पारेर सुन
मैले एउटा माग राखेको छु
मैले पनि अब एउटा
छुट्टै राज्य पाउनुपर्छ,
मेरो पनि अब
आफ्नै सरकार हुनुपर्छ
मेरो आवाज यदि सुन्दैनस् भने
मेरो माग पुरा हुँदैन भने
म आँधिबेहरी चलाउनेछु,
मेरो आन्दोलन
थेग्न सक्ने छैनस् तैँले
म रक्तक्रान्ति मच्चाउनेछु।
मेरो
करेसाबारीदेखि आँगनसम्म
अनि गोठदेखि तुलसाको मोठसम्म
मेरो स्वायत्त राज्य हुनेछ,
मेरो बैठक कोठामा संसद बस्नेछ
अनि भकारी राखेको बुइँगल
मेरो राज्यको बैंक हुनेछ।
कांक्रो फलाउन गाडिएका थांक्राहरु
मेरो राज्यका सिमास्तम्भ हुनेछन्,
मेरो राज्यमा म आफू
आफ्नै संसद बसाउनेछु
आफ्नै सरकार चलाउनेछु
त्यसैले मलाई मेरो राज्य चाहियो
नत्र म रक्तक्रान्ति मच्चाउनेछु।
अब मलाई यो देशको सम्पति
दामासाहिले दिनुपर्छ
मेरो राज्यलाई स्रोत चाहिन्छ
साधन चाहिन्छ
सबै भाग लगाउनुपर्छ,
सगरमाथालाई तिन करोड टुक्रा पारिदे सरकार
एउटा मैले पाउनुपर्छ।
पशुपति मेरो आँगनमा बनाइदे
अनि काठमाण्डुको एउटा दरवार
मेरो राज्यमा अटाइदे,
मलाई वाग्मती चाहिँदैन
विष्णुमति चाहिँदैन
कोशी र कर्णाली मध्य
एउटा नदी मलाई पठाइदे
बरु म आफैँ
थोरै पानी निकालेर
एउटा कुनामा जमाउनेछु
मेरो आफ्नै राज्यको
फेवा र रारा बनाउनेछु,
त्यसैले मेरो राज्य घोषणा गरिदे सरकार
नत्र म रक्त क्रान्ति मच्चाउनेछु।
मेरो राज्यमा
मेरो पहिचान झल्किनुपर्छ
मेरो अस्तित्व देखिनुपर्छ
त्यसैले
म मेरो फोटो ठूलो बनाई
दैलोमाथी झुण्याउनेछु
र पहिचान सहितको
स्वतन्त्र राज्य बनाउनेछु
बुझिस् सरकार
नत्र त रक्तक्रान्ति मच्चाउनेछु।।
(स्रोत : Suresh Badal’s Facebook )