कथा : निर्दोष साथी

~लाहाङ लिम्बू~Lahang Chemjong Limbu

‘‘नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस ग¥यो । गाउँका साना–साना भाइ–बहिनीदेखि लिएर बुढापाकासम्मले लिम्बुवानको इतिहासको बखान गर्थे । युवापुस्ताले भोलिको लिम्बुवानको सपना यसरी देख्थे–आधुनिक, विकसित, संमृद्वशाली, समावेशी– साझा लिम्बुवान । लाजेसालाई लाग्यो– ‘‘हामीले पढिरहेको शिक्षाले हामीलाई त धेरै टाढा–टाढा पु¥याई सकेको रहेछ– लिम्बुवानबाट । यो शिक्षा विशाल भीमकाय पर्खाल बनेर ठडिएको रै’छ । लाजेसा एकातिर अनि लिम्बुवान र लिम्बुवानका कुराहरु पर्खालको उतातिर । लिम्बुवान त अनौंठो अनि झन् अनौठो लाग्ने भैसकेको रहेछ ।’’

––––––––––––––––––

लाजेसा अलि ढिलो उठ्यो क्यारे, आज निकै हतारिएर हिँडिरहेको थियो । साढे छ बजेको पहिलो कक्षा भ्याउनु थियो, उसले । उसले कलेजमा अंग्रेजी विषय पढाउन थालेको दुई वर्ष जति भएको थियो । बिहान उठेर ओछ्यान छाडेपछि बेलुका चार बजेपख कोठामा आइपुग्ने दैनिकी थियो– उसको । लाजेसा कलेज पुग्न तीन–चारवटा चोकहरु छिचोलेर हिँड्नुपथ्र्यो । ऊ त्यो दिन, दायाँबाँया नहेरी निहुरिएर हिँडिरहको थियो । जब प्रगति चोकमा पुग्यो, एउटा आवाजले लाजेसालाई आकर्षित ग¥यो– ‘‘बाबु, गाडीले किच्छ के !’’

लाजेसा अडिएर आवाजतिर फर्केर हे¥यो । सानी बच्ची त्यस्तै पाँच बर्षकीले भर्खर हिँड्न थालेको भाइ त्यस्तै दुई बर्षकोलाई एक हातले सम्हाल्दै र अर्को हातमा दूधको पोको बोकेर बाटो काट्दै थिई । लाजेसाले ती सानी केटीलाई हेरिरह्यो । उनीहरु पसलबाट दूधको पोका किनेर फर्किरहेका थिए । जब उनीहरुले बाटो काटे, सानी केटीले पछि फर्केर लाजेसालाई हेरिन् । लाजेसाले उनीतिर फर्केर एकोहोरो हेरिरहेको देखेपछि उनी लजाइन् र हाँसिन् । लाजेसा पनि मुस्कुरायो र उसलाई लाग्यो– उनी कति धेरै ज्ञानी । घिउ रङ्को जामा, चप्पल लगाएकी अनि कपाल लामो तर छोडेकी । शायद उठ्ने बितिक्कै पसल आउँदा आउँदै भाइले पछ्याएको होला । पाँच वर्षकी केटीको यति ज्ञानी व्यवहार देखेपछि लाजेसा उनीसँग धेरै प्रभावित भयो । त्यसपछि, सरासर कलेजतिर लाग्यो ।

अर्को दिन, सधँैझै लाजेसा हिँडिरहेको थियो । जब ऊ प्रगति चोकबाट मोडिन लागेको थियो, तब उसलाई त्यही सानी केटीको याद आयो । अलिकति पछि फर्केर यसो आँखा डुलाएको के थियो– एउटा सानो–सानो होटल अगाडि त्यही सानी केटी त्यही ड्रेसअप्मा थचक्क टुलमा बसेर दाँत माझिरहेकी थिई । तिनी लजाउँदै उठिन् र होटलभित्र छिरिन् । तिनी खुब लजाइन् । ती सानी केटीको हेर्ने गरिका, लजाउने बानी सबैसबै ठूली, परिपक्व केटीको जस्तो लाग्न थालेको थियो– लाजेसालाई । त्यो दिन ती केटीको याद निकैबेर आइरह्यो– उसलाई ।

राजधानीमा लगभग जाडो शुरु हँुदै थियो । व्याटमिन्टन खेल्ने चलन शुरु भइसकेको थियो । प्रायको हातमा बिहान सुरु भएपछि व्याटमिन्टन हुन्थ्यो । जहाँ मैदान त्यही व्याटमिन्टन, सडकतिर व्याटमिन्टन, आँगनमा व्याडमिन्टन, जताततै व्याटमिन्टनले ठाउँ लिएको थियो । बिहानको जाडोमा शरीरलाई तातो बनाउने राम्रो माध्यमको रुपमा मानिसहरुले व्याटमिन्टन खेल्ने गर्थे । सडकमा हिँड्दा कतिपय ठाउँमा त बाटो हिँड्नै गाह्रो हुने । ती खेल्नेहरुले पनि बिहानीको खुल्ला सडकको उपभोग मन्जाले गर्न पाउने । लगभग आठ बजेपछि त जम्मै सडक गाडीहरुको हुने । एकदिन प्रगति चोकमा पहिलोपल्ट तिनी सानी केटीले पनि व्याटमिन्टन खेलिरहेकी थिई– लाजेसाले देख्यो । उही सानो भाइसँग खेलिरहेकी थिई– उनी । शायद, सबैले खेलेको देखेपछि उनलाई पनि खेल्न मन लागेको होला । शायद, बा–आमालाई निकै कर गरेर व्याटमिन्टन किनी मागी होलिन् । स्कुलमा, शायद व्याटमिन्टन खेल्ने गर्थी होलिन् । तिनीलाई पनि खेल्नुपर्ने भन्ने प्रभाव प¥यो होला । उनको भाइलाई व्याट उठाउनै गारो परिरहेको थियो । सानी केटीले भने फकाउँदै, हौस्याउँदै आफ्नो भाइलाई व्याटमिन्टन खेल्ने पार्टनर जबरजस्ती बनाइरहेकी थिइन् । ती दुईको खेल देखेपछि लाजेसा एकछिन् उभिएर हेर्न थाल्यो । सुरुमा, चाहिँ ती केटीले देखेकी थिइनन् र खेल्नमै धुन दिइन् । जब तिनीले लाजेसाले आफूतिर हेरिरहेको थाहा पाइन्, तब तिनी दौडिएर होटलभित्र पसिन् । तर, भाइ सडकमै भएकोले तिन्ले पर्दा उठाएर चियाएर लाजेसालाई हेर्न थालिन् । लाजेसालाई तिन्को लजाई, मीठो लाग्यो । उनको चिहाई आनन्दको लाग्यो । पर्दा उघारेर आफूतिर हेर्दाको उनको हाँसो मिसिएको अनुहार लाजेसालाई राम्री लाग्यो । लाजेसा आफू पनि लजाएको अनुभूति गर्दै मन्द हाँस्दै आफ्नो बाटो लाग्यो ।

यसपालीको जाडो सुरु भएपछि ती सानी केटी बारम्बार सडकमा व्याटमिन्टन खेल्न निक्लने गरेकीले लाजेसाले प्रत्येक दिनजसो देख्न थालेको थियो । अब त बानी भएछिन् क्यारे– तिनी लाजेसासँग लाजले भाग्न छोडेकी थिइन् । तिनी कहिले उही सानो भाइसँग खेलिरहेकी हुन्थी । कहिले बाह्र–तेह्र वर्षकी केटीसँग, कहिले लाजेसाकै उमेरको मान्छेसँग– शायद, उनैको बुबा हुनसक्छ, । कहिले पच्चीस–छब्बीस वर्षकी आइमाईसँग– शायद, उनैको आमा हुनसक्छे । लाजेसाको भेट जब उनीसँग हुन्थ्यो, दबैजना हाँसेर अभिवादन गर्न थालेका थिए । ती सानी केटी लाजेसालाई देख्ने बितिक्कै लाजले भाग्न छाडेकी थिइन् । यसरी भेटमा हेराहेर गर्ने अनि मुस्कुराएर छुट्टिने गर्न थालेको निकै दिन भइसकेको थियो । एकखालको माया व्यक्त गर्न थालेका थिए– दुबैका आँखाहरुले । उनीहरुको हेराइको चालीबाट पे्रमको बह सरर बगेको प्रतीत् हुन्थ्यो । लाजेसाको मनमा प्रेमको भाव उर्लिसकेको थियो । एकदिन लाजेसाले व्याटमिन्टन खेल्ने अनुमति माग्यो । त्यो दिन तिनी दश–बाह्र वर्षकी पार्टनरसँग खेलिरहेकी थिइन् । ती सानी केटीलाई पनि लाजेसासँग खेल्ने जोड ईच्छा उहिलेदेखि भएझैं पार्टनरसँग भएको व्याट मागेर लाजेसालाई दिइन् । अनि आफू खेल्न तयार भइन् । तिनी छ्ुट्टै रौनकतामा खेल्न थालिन् । लाजेसालाई खेल्ने बानी थिएन । उसले कक्लाई निकै माथि फाल्थ्यो । तिनी भन्थिन् ‘‘ठीक्क फाल्नु न । तपाईं र म नमरी खेलौं ल ।’’ लाजेसा भन्थ्यो– ‘ल’ ।

तर, लाजेसाले ड्युटी भ्याउनु थियो । लाजेसाले खेलबाट अलग्गिनु नै पर्थ्यो । तर तिन्ले खुब खेल्न कर गरिरहेकी थिइन् । भोलि खेल्ने भन्दै ऊ त्यो दिन हिँड्यो । तिन्ले निकै परसम्म हेरिरहिन् । तिनी आमा अथवा बुबासँग खेलिरहेकी थिइन् भने लाज मान्थिन् । आँखाको सहाराले बोल्थे, आपसमा । हाँसोको सहाराले माया व्यक्त गर्थे । कतिपय दिनका भेटहरुमा लाजेसाले सोध्थ्यो– ‘के गरेको ?’ उनी भन्थिन्– ‘खेलेको । खेल्न आउनु न ।’

कतिपय दिनहरुमा, उनी ब्रश गर्दै गरेकी हुन्थिन् । ब्रश गरी सकेर बाटोतिर फर्केर होटलकै छेउमा उभिरहेकी हुन्थिन् । लाजेसाले सोध्ने गथ्र्यो– ‘आज किन नखेलेको ?’ उनी भन्थिन्– ‘कक् नै टुट्यो ।’ लाजेसा त्यतिबेला महसुस गथ्र्यो, मेरो लागि, मलाई भेट्न बाटोतिर फर्केर ब्रश गरिरहेकी रै‘छे । मलाई कुरिरहेकी रै‘छे आदि–इत्यादि । दोस्रोपल्ट, पुनः महसुस गथ्र्यो– व्याट मिन्टनको एकसेट किनेर उनलाई उपहार दिऊँ कि ! तर, तेस्रो पटक साच्थ्यो– फेरि उनको आमा र बुबाले के भन्लान् ! चलन–चल्तीको भाषामा भनिने लेक्चरर लाजेसा र तिनी पाँच–छ वर्षकी केटी बीचको मित्रता यति नै व्यालेन्समा हुर्किंदै थियो । लाजेसाको उनन्तीस वर्षे टिठ् लाग्दो मन कता कता दोमन भएजस्तो । मनको दुनियाँमा लाजेसाको कोही त भएजस्तो । त्यही ढङ्गले, अपत्यारिलो लाग्ने तिनको मित्रता लाजेसासँग हुर्कंदै थियो ।

नेपालीहरुको क्यालेण्डरमा अड्सट्ठी सालको हिन्दूहरुको दशैं र तिहार सुरुभयो । लाजेसा एक महिने विदामा पहाड फक्र्यो । लाजेसाले सुन्ने गरेको थियो– पहाडतिर गाउँ बस्तीबाट लिम्बुवानको आन्दोलनको शङ्खनाद भइरहेकोछ रे ! लाजेसाले यसपाली प्रत्यक्ष महसुस ग¥यो । गाउँका साना–साना भाइ–बहिनीदेखि लिएर बुढापाकासम्मले लिम्बुवानको इतिहासको बखान गर्थे । युवापुस्ताले भोलिको लिम्बुवानको सपना यसरी देख्थे–आधुनिक, विकसित, संमृद्वशाली, समावेशी– साझा लिम्बुवान । लाजेसालाई लाग्यो– ‘‘हामीले पढिरहेको शिक्षाले हामीलाई त धेरै टाढा–टाढा पु¥याई सकेको रहेछ– लिम्बुवानबाट । यो शिक्षा विशाल भीमकाय पर्खाल बनेर ठडिएको रै’छ । लाजेसा एकातिर अनि लिम्बुवान र लिम्बुवानका कुराहरु पर्खालको उतातिर । लिम्बुवान त अनौंठो अनि झन् अनौठो लाग्ने भैसकेको रहेछ ।’’

एक साँझपख, गाउँ घुम्ने क्रम्मा लाजेसा आफ्नो फुपू काइँलीको घरमा पुग्यो । लाजेसाको नाताले भाइ पर्ने डम्बरको छोरी आकाङ्क्षा पाँच वर्षकी भइछे । राम्री, उचालौं लाग्ने, बोर्डिङ स्कुलको युनिफर्ममा असाध्यै सुहाएकी थिई । त्यतिबेला लाजेसाले साथीले जस्तो ईशारा गर्ने उही सानी केटीको याद ग¥यो । उसको मष्तिस्कमा थुप्रै प्रश्नहरु आए– उनी कहाँ होलिन् ? मैले जस्तै आफ्नो पहाड गई होलिन् ! व्याटमिन्टन खेल्दै होलिन् ! मलाई याद गर्दै होलिन् आदि इत्यादि ।

लाजेसाको एक महिने कलेज बिदा सिद्वियो । पहिले जसरी नै, आफ्नो ड्युटी सुरुभयो, काठमाडौंमा । विगतकै जसरी कलेज सुरुभयो । उसले बाटोमा हिँड्दा प्रगति चोकमा सानी केटीलाई हप्तादिन जस्तो देखेन । उनलाई देख्न लाजेसाको आँखाहरु हरपल लालयित भए । उनलाई भेट्न लाजेसाको मन हत्तारिएको थियो । एकपख, लाजेसालाई भौतारिन मन लागेर कोठाबाट बाहिर निक्लदै थियो । सानी केटी र उनकी आमा छेवैको पसलमा उभिरहेका थिए । दुबैजनाका आँखा जुधे । दुबै हाँसे । हराएर भेटिएका झैं दुबै झस्के । उनले आफ्नी आमालाई हेरी । आमा पसलेसँग कुरा गर्दै थिइन् । यो मौकामा उनी दौडिँदै लाजेसातिर आइन् । उनको हातमा व्याट थियो । अर्को हातले लाजेसाको हात समाउन भ्याइन् । लाजेसाले पहिलो प्र्र्रश्न ग¥यो– ‘कहिले आयौ, गाँउबाट ?’
‘आज बिहान’– जवाफमा उनले भनी ।

लाजेसाले दोस्रो पटक सोध्यो ‘किन यो पसलमा आएको ?’ ‘ममी र म व्याटमिन्टन खेल्दै थियौं । यो पसलको घरमा अल्झियो र माग्न आएको ।’ लाजेसालाई उहिलेदेखि सोध्न मन लागेको तर सोध्न नभ्याएको उनको नाम सोध्यो ।
जवाफमा भनिन् ‘आयश्रित’

तुरुन्तै उनले पनि सोधिन् लाजेसाले प्रिन्स्टन स्कूलमा पढाउने बारेमा । त्यति नै बेला आयश्रितको ममीले बोलाइन् ।’ आयश्रित, कहाँ हिडेकी ?’

हिँडिरहेका उनीहरु रोकिए । लाजेसालाई आयश्रितको आमासँग सरम लाग्यो । त्यति नै बेला अलि ठुलो आवाजमा दोस्रो पटक कराइन्– ‘‘यता आइज ।’’ आयश्रित दौडिएर आमा कहाँ गइन् । लाजेसा पनि आफ्नो बाटोतिर लाग्यो । लाजेसा आफूले प्रिन्सटनमा पढाइरहेको आयश्रितको प्रश्नले अचम्मित भयो । यति सानी बच्चीले आफूले पढाउने गरेको हेक्का कसरी राख्न सक्यो होला भनेर आफूले आफूलाई खुब सतायो । आयश्रितको यो परिपक्व प्रश्न र ख्याल गराइले ऊ अझ धेरै प्रभावित भयो । लाजेसालाई आयश्रितको सम्झना चौगुणा बढेर गयो । लाजेसासँगको कुरा गर्ने धोको पूरा नभएकोले होला । एक महिना भन्दा धेरै समय देखादेख हुन नपाएर होला ! लाजेसा ड्युटीबाट फर्कंदै गर्दा आयश्रित होटलको बाहिर बसिरहेकी थिइन्– लाजेसालाई कुरेर । आयश्रित दौडिएर गइन्, लाजेसालाई देख्ने बितिक्कै । उही पाराले, उनले लाजेसाको हात समाइन् र कुरा सुरु गरिन्– ‘‘हिजो घरमा अड्केको कक् पसले दिदीले दिनुभो त । ’’

‘‘होर ! त्यसपछि ममीसंग खेल्यौ होला । ’’

‘‘अहँ, ममीले त पढ्नुपर्छ भन्नु भो । ’’

आयश्रितले विना धकाई लाजेसालाई पछ्याई । कुराकानी गर्दै दुबैजना अघि हिँडिरहे । उनको तीन चारवटा प्रश्नले लाजेसालाई धेरै अचम्म र मक्ख बनायो । उनले घर सोधिन् । विवाह भए नभएको सोधिन् । लाजेसाको बा–आमाको हालखबर सोधिन् । उहाँहरुलाई नमस्कार सुनाई दिनु पनि भनिन् । त्यसो त, लाजेसाले पनि उनलाई धेरै प्रश्नहरु ग¥यो । यसरी यिनीहरुले हात समाई कुरा गर्दै हिँडेको पत्तै भएन । लाजेसाको कोठा छेउमा आइपुगी सकेका थिए । लाजेसाले आयश्रितसँग प्रस्ताव राख्यो –‘‘मेरो कोठामा जाने ?’’

आयश्रितले यसो भनिन्– ‘‘तपाई चिया पकाउनु हुन्न होला ।’’

दबैजना कोठाभित्र छिरे । लाजेसाले ढोकाको चुकुल लगायो र आयश्रितलाई ओछ्यानमा बस्न भन्यो । आयश्रितले कोठालाई घुमिफिरी हेरेर व्यक्त गरिन्–‘‘ आहा ! कति राम्रो कोठा । कति धेरै बुकहरु ।’’ लाजेसाले हाँसेर टा¥यो, आयश्रितको बखानलाई । लाजेसाले दूध–चिया राम्रै बनायो र कुकिज बिस्कुट पनि प्लेटमा खन्यायो । खान आग्रह ग¥यो । चिया लिनु पहिले आयश्रितले भनिन्– ‘‘मैले त तपाईंलाई जिस्क्याएको पो त ।’’ दुबैले चिया र बिस्कुट खान थाले । खानलाई आयश्रित लजाउँदै थिई । अन्ततः खान थालिन् । बीचैमा लाजेसाले भन्यो– ‘‘आयश्रित म तिमीलाई धेरै सम्झिरहन्छु । धेरै माया गर्छु ।’’ माया भन्ने शब्दसँग उनी खुब लजाइन् ।

‘‘तिमी त मेरो साथी हो– सानी साथी ।’’ आयश्रितले जवाफमा भनिन् – ‘‘म जस्ती सानीको तपाईंजस्तो ठूलो मान्छेसँग पनि साथी हुन्छ र !’’ लाजेसाले हाँस्दै भन्यो– ‘‘हुन्छनी, तिमी मेरो सानी साथी, म तिम्रो ठुलो साथी । ’’ उसले फेरि जोड्यो– ‘‘साथी नभएको भए, अनि मलाई माया नगर्ने भए, तिमी यहाँ किन आयौ त !’’ आयश्रितले सुनिरहिन्– ‘‘तिमी मेरी छोरी जस्तै पनि छौ । तर तिमीलाई आयश्रित छोरी भनेर बोलाएँ भने, तिम्रो बाबा र आमा मसँग रिसाउनु हुन्छ ।’’

अब, लाजेसालाई आत्माबाट सानी आयश्रितसँग कुरा खोल्न मन लाग्यो । उसलाई मनको बह पोख्ने साथी पाए जस्तो लाग्यो । जति आफ्नो कुरा सुनाउँदै गयो, उतिनै आयश्रितले पनि सुनी रहिन्– ‘‘तिमीजस्तै मेरी छोरी मुन्धुम छे ।’’ मुन्धुमको नाम तीन चार चोटी उच्चारण गर्न कोसिस गरी– आयश्रितले ।

‘‘मुन्धुमको ममी र मेरो दुई वर्ष अघि डिभोर्स भएको हो । डिभोर्स भनेको थाहा छ ?’’

‘‘मुन्धुमको ममीसंग छुटिएर बस्नु भनेको ।’’ जवाफमा आयश्रितले भनी ।

लाजेसा आफ्नो कथामा अघि बढ्न चाह्यो– ‘‘जब मुन्धुमको ममी मसँग नबस्ने भनेर गई अनि तिमी जस्तै मेरी छोरी मुन्धुमलाई उतै लग्यो । मसँग बस्न मान्छेहरुले दिएनन् ।’’ यसरी नै लाजेसाले आयश्रितसँग कुराकानी गर्ने क्रम्मा छोरीलाई डाक्टर बनाउन चाहेको सुनायो । अनि उसले आयश्रितसँग भन्यो– ‘‘तिमी पछि ठूली भएर डाक्टर बन्नु ल ।’’

‘‘ल’’– आयश्रितले भनी । यतिबेला लाजेसाले आयश्रितको कपाल कोरीबाटी गरिदिदैँ थियो । अनि भन्दै पनि थियो–‘‘ठूलो मान्छे हुनु । सबैसँग राम्रो हुनू । झगडा नगर्नू । नराम्रो कहिल्यै नबोल्नु, ल ।’’
जवाफमा उनी भन्थी– ‘‘ल’’ ।

यही तवरले कुराकानी गर्दै थिए । लाजेसाले आयश्रितको कपाल कोरीबाटी गर्दै र सुम्सुम्याउँदै पनि थियो । उनी हेर्दा हेर्दै लाजेसाको काखमा निदाइन् । अनि उसले आयश्रितलाई आफ्नो ओछ्यानमा सुतायो । उसले आयश्रितको अनुहारलाई खुब राम्ररी नियाल्यो– कपाल, निधार, आँखा, नाक, ओठ, घाँटी……. । अनि निधारमा एकपटक म्वाँई खायो । उसले आफ्नो छोरी मुन्धुमको यादले सताइरहने त्यो तिर्सना मेट्यो । मुन्धुम आफ्नो ओछ्यानमा सुतिरहेको कल्पनामा हरायो– लाजेसा । अनि उसले भोलि कलेजमा पढाउने विषयको लेसन प्लान बनाउन मात्र लागेको के थियो, जोडले बाहिरबाट कसैले ढोका ढक्ढकायो । लाजेसाले चुकुल खोल्यो । आयश्रितकी आमा रुँदै, अतालिदैं भित्र पसिन् । साथमा प्रहरी पनि थिए । एक भ्यान प्रहरीहरु लिएर आयश्रितकी आमा आएकी रै’छिन् । सुतिरहेकी आयश्रितलाई समाल्दै जोड–जोडले चिच्याईन्– ‘‘प्रहरी साब्, खराब नियतले मेरी छोरीलाई यसले ल्यायो । मेरी छोरी बर्बाद भई । म बर्बाद भएँ ।’’ एकहोरो ढङ्गले रुँदै कराउँदै गर्न थाली । आयश्रित जुरुक्कै उठेर यता न उति भई । अनिँदोले आयश्रित बरालिन् । अत्तालिन् । प्रहरीलाई देखेपछि र आमाको रुवाई र चिच्याईले गर्दा आयश्रित अक्क न बक्क भईन् । लाजेसा केही बोेल्न खोज्दै थियो । प्रहरीले उसलाई केही बोल्नै दिएन । आमाले आयश्रितलाई छातीमा टाँसेर बाहिर लगिन् । आयश्रित भने एकहोरो एक टकले हेरिरहेकी थिइन्– प्रहरीहरुले लाजेसाको कुरै नसुनी उसलाई थप्पर, मुक्का, लात बजार्न थाले; लछार–पछार गर्न थालेका थिए । तुरुन्तै हतकडी लगाएर लाजेसालाई भ्यानमा कोचे ।

त्यतिन्जेल सम्ममा बाहिर मान्छेहरु धेरै भेला भइसकेका थिए । कोही हेरिरहेका थिए । कोही कानेखुशी गर्दै थिए । एकैछिनमा भ्यान गुड्यो ।

E-mail: lahanglimbu2010@yahoo.com

(स्रोत : Sanghiya)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.