कथा : खहरे

~मानसी पौडेल~

कलेजको क्यान्टिन ।

दायाँ छेउ किहजोआज शून्य छ । एकदमै उराठ । निरीह र शोकमग्न । लाग्छ, आशौच बारेको छ त्यसले । जति नै भीडभाड भए पनि मान्छेहरू त्यो छेउमा जाँदैनन् । जान रुचाउँदैनन् वा त्यो कसैका लागि रिजर्भ गरिएको छ।

त्यसो त त्यो छेउ एक प्रकारको रिर्जभजस्तै थियो आमोद र अप्सराका लागि । उनीहरू सँगै आउँथे । बिहानै चना, चिया जे हुन्छ खान्थे । अनिमात्र छिर्थे कक्षामा । कक्षा खाली हुनेबित्तिकै त्यहीँ पुग्थे र पेट मिचिमिची हाँस्थे । मन भए केही खान्थे, अनि कक्षातिरै लाग्थे । त्यो स्थान उनीहरूका लागि अघोषित बुकिङ थियो । सायद उनीहरू एकान्तप्रेमी थिए— सधैं एकनास, एउटै कुर्सी, एकै किसिमको बसाइ ।

अचेल खाली हुन्छ त्यहाँ । महिनांै भइसक्यो, उनीहरू बस्ने कुर्सीमा धुलोका पत्रपत्र देखिन्छन्, टाढैबाट । त्यहाँ कोही बस्दैन सायद । त्यसैले होला, सफा गर्नका लागि पनि क्यान्टिनवालाको नजर पुगेको छैन । अरू टेबलकुर्सी पुछिन्छ तर त्यो पुछिएको पनि छैन । दायाँबायाँ सारिएको पनि छैन ।

०००

हामी क्यान्टिनको मध्यभागमा थियौं । बाफ उडाउँदै वेटरले तातो चिया ल्याएर टेबलमा राखिसकेको थियो ।

‘अरू केही लिने ?’ मैले सोधेँ । टाउको हल्लाउँदै ‘नखाने’ संकेत गरी उसले । सदावहार मुस्कुराउने उसका अधर गम्भीर पीडामा थिए । अनुहारको लालित्य नीरमा रूपान्तरण भएको थियो ।

‘परिणाम स्विकार्नुपर्छ तिमीले । परिस्थिति तिम्रो हातमा छैन । समय हाम्रो बसमा कहिल्यै हुँदैन । त्यसैले स्विकार जे तिम्रो पक्षमा परेको छ । अन्तिम सत्य त्यही हो,’ निकै समयको सन्नाटापछि मैले भनेँ ।

ऊ फगत चिया रित्तिएको गिलासलाई हेरिरहेकी थिई । सायद तुलना गर्दै छे— ‘म पनि यसरी नै रित्तिइसकेकी छु । कसैबाट पिइसकिएकी छु । जुठो गिलासमा फेरि चिया कसले राख्छ ?’

मैले सोचेँ, ‘चिया पिइसकेपछि गिलासै कहाँ फालिन्छ र ? चिया जति आवश्यक छ, त्योभन्दा बढी गिलासको महत्व छ । गिलासै नभए चिया कसरी पिइन्छ ?’

प्रतिक्रियाहीन उसको एकाग्रता भंग गर्ने प्रयासमा मैले भनेँ, ‘सबैले सोचेको र चिताएको पुग्दैन । ‘माटोको भर ढुंगा, ढुंगाको भर माटो,’ ‘नङमासुको सम्बन्ध’, … यी सब वाहियात विषय हुन् । न माटोले सधैं ढुंगालाई भर दिएको हुन्छ, न त ढुंगा नै माटोको भरमा विश्वस्त हुन सक्छ । दीर्घकालीन विश्वास कहीँ हुँदैन । यदि हुन्थ्यो भने माटो पग्लिएर बग्दा ढुंगाले बज्रिएर फुट्नुपर्दैनथ्यो । ढुंगाले लडिबुडी खेल्दा माटो फुसफुसिएर झर्नुपर्दैनथ्यो । कैयौंपल्ट माटोको विश्वासघातले ढुंगा टुक्रिनुपरेको छ । कणकणमा आफ्नो सिंगो अस्तित्व गुमाउँदै कमजोर बन्नुपरेको छ । अनि कैयौंपल्ट ढुंगाले धोका दिँदा माटोले वर्षासँगै बगेर पानीमा आफ्नो अस्तित्व विलीन गर्नुपरेको छ ।’

‘मेरो मनले मलाई नै धोका दियो । आत्मघाती गोल ! पीडा हुँदैन त ?’ लामो समयको मौनता तोड्दै उसले भनी । उसका आँखामा आँसु टिलपिलाए ।

आँखाको नियन्त्रणमा आँसु हुने भए किन यस्तो हुन्थ्यो ? कैयौंपल्ट ऊ डाँको छाडेर रोएकी छे मेराअगाडि । आँखा त द्वारमात्रै हो, आँसु उत्पन्न गराउँछ भावनाले । आमोदप्रति उसको भावना आँसु बनेर बगिरहेको थियो । प्रेममा आँसु त कति बग्यो । त्यसको लेखाजोखा छैन । महिनौं भइसक्यो ऊ यसरी आँसुमा डुबेको । भावनामाथि आइलागेको विपत्तिले अनवरत आँसुको वर्षा गराइराखेको छ । त्यही आँसुको वर्षामा डुबेको छ उसको मन । आस्था र विश्वासको बाँध भत्किएपछि मन आँसुको डुबानमा त पर्छ नै । चाहन्थेँ तत्काल उद्धार गरूँ । तर उद्धारका संयन्त्रले उसको पनि त विश्वास जित्नु आवश्यक थियो । ‘अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भन्छन्, आहत भएको उसको मनलाई ढाडस दिन चाहन्नथेँ म । स्थिति विश्लेषण गर्दै अनुहारको छाला खुम्च्याउनुबाहेक मसँग उसलाई दिने सान्त्वनाको उपहार पनि थिएन ।

‘बिस्तारै पीडाको स्वरूप हिम्मतमा बदल्नुपर्छ तिमीले समयसँगै । कति रुन्छ्यौ ? कति कमजोर पाछ्र्यौ आफूले आफंैलाई ? हिउँदभरि मायाप्रीति गाँसेका ढुंगा र माटोले भिन्न हुनुपर्ला भन्ने सोचेका होलान् ? तर असारे वर्षाले कमजोर बनाएको मित्रता साउने भेलले बगाउँछ, अनि ढुंगो बगरमा पुग्छ । माटो पानीमा घुल्दै फेरि त्यही ढुंगालाई हिर्काउँदै बहन्छ । उसले आफ्नो षड्यन्त्रकारी ‘शकुनि’ पानी हो भन्ने पत्तै पाउँदैन । हो, उन्मुक्त यौवन नै तिम्रो प्रेमको ‘शकुनि’ हो,’ सम्झाउने प्रयासमा म अलि बढी नै भावुक बनेँ ।

‘त्यस्तो बेपर्वाह हुनै सक्दैन ऊ । म उसको गैरजिम्मेवारी स्विकार्न सक्दिनँ । मलाई विश्वास छ— ऊ मलाई सम्झिरहेछ, मलाई बोलाइरहेछ । सायद कुनै असहज परिस्थितिमा होला ऊ, एक दिन अवश्य आउनेछ । त्यही कुर्सीमा बसेर मन्द मुस्कानसहित मलाई इसारा गर्नेछ साथका लागि । म त्यो पल व्यग्रतासाथ पर्खिरहेकी छु । अनि अशान्त बनेको मेरो मन छातीमा टाँसेर वेदनाको पोको फुकाउनेछ ऊसँग,’ टेबलमा घोप्टो परी ऊ ।

भन्नु धेरै थियो उसलाई तर घाँटी अवरूद्ध भयो । निकै बेरपछि बिस्तारै टाउको उठाइ र दायाँपट्टिको खुला छेउतिर हेर्दै भन्न थाली, ‘सम्झनाका खातहरू खप्टिइरहेछन् निरन्तर । खहरेझैं मस्तिष्कबाट ‘स्क्यान’ हुँदै मनमा बज्रिरहेछ । सबै मीठा पलहरू खण्डित भइरहेछन् ।’

भावुकताको सीमा थिएन । लाग्दैनथ्यो, ऊ भरखरै १९ मा टेकेकी छे । समय र परिस्थितिले उसलाई यति छिट्टै परिपक्व बनाइदियो । उसको एकोहोरो लगाब देखेर म साह्रै भयभीत भएँ ।

कलेज छुट्टी भयो । यथावत् पीडामा हामी छुट्टियौं । आमोदप्रतिको पीडादायी अनुभव अलिकति पनि हटाउन सकिनँ मैले । मलाई झन् पीडित बनायो । म सिधै आमोदकहाँ पुगेँ ।

म भित्र पस्दा ऊ फेसबुकमा व्यस्त थियो । अभिवादन गर्दा पनि उसका नजर ल्यापटपबाट हटेका थिएनन् ।

‘ओइ ! हेर् त जालमा अर्की मछली । वाह ! क्या पर्फेक्ट !’ उसले स्क्रिनमा देखिएकी युवतीको फोटो देखाउँदै भन्यो ।

‘उफ् ! तँ कहिले सुध्रिन्छस् ?’

‘के भा छु र म ?’ ल्यापटपबाट आँखा नहटाई बोल्यो ।

‘ल्यापटप त छोड् पहिला । म तँसँग कुरा गर्न आएको । जरुरी छ,’ मैले अलि चर्को बोलेँ ।

‘अरे यार ! भन् न, म सुनिरहेछु । तँ पनि साह्रै नहुने के ! गर्लफ्रेन्ड त होइनस् नि, आँखा जुधाएर कुरा गर्नुपर्ने ?’

‘तेरो दिमागमा गर्लफ्रेन्डभन्दा अरू केही छ ? हैन कस्तो मान्छे तँ ?’ मैले जबरजस्ती उसको ल्यापटप बन्द गरिदिएँ ।

‘ह्या ! के गरेको ? कस्तो यार ? जस्ट रिक्वेस्ट एसेप्ट गरेकी थिई । हाई भनूँला भनेको त बन्द पो गरिदियो !’ ल्यापटप खोस्न खोज्दै थियो ऊ, मैले भनिहालेँ, ‘कति जनालाई हाई गर्छस् ?’

‘अरे यार, म तँजस्तो हो त ? मर्दका कतिकति…’ कोठै थर्कने गरी हाँस्यो ऊ ।

‘अप्पसराप्रतिको तेरो व्यवहार मलाई ठिक लागेन । कम्तीमा एकपटक सँगै बसेर कुरा गर् । आफ्नो कुरा प्रस्ट राख् । मान्छेलाई त्यसरी दुःखी बनाउनुहुँदैन । अझै यो त भावनाको विषय पर्‍यो ।’

‘ए ! उसो भए तँ अप्सराको मिडिएटर भएर आएको ?’

‘तँ जे भन्, तर यसरी कसैको प्रेमको खुमलखुला घाँटी रेट्न सक्दैनस् ।’

‘मलाई लेक्चर नदे । मेरो क्षमतामा तेरो मापदण्ड लागू हुँदैन । मैले उसलाई भन्दिसकेको छु ‘अब हामी सँगै हुन सक्दैनौ’ भनेर । तेरो लेक्चर गएर त्यसैलाई सुना ।’

‘ओई ! प्रेम गर्छे ऊ तँलाई ।’

‘म गर्दिनँ । केही भन्नुछ ? एक–दुई दिन मोटरसाइकल चढेकी के थिई । मसँग प्रेम गर्ने ? एक–दुई दिन घुम्न जाँदैमा मैले जीवनभर साथ दिनुपर्ने ? यो सत्य युग हो र ? रिल्याक्स ! तेरो डिक्स्नेरीमा यो शब्द छ ? छैन भने अपलोड गर् । उसले पनि रिल्याक्स गरी, मैले पनि रिल्याक्स गरेँ । हिसाबकिताब बराबर । बीस पनि नपुग्दै एउटैलाई प्रेम गरेर ‘फिदा’ बन्ने हो भने यो जवानीको के काम ?’

मेरो हातबाट ल्यापटप खोसेर उसले च्याट गर्न सुरु गरिसकेको थियो । हेर्दाहेर्दै त्यही किशोरीसँग डेट मिलायो र कोठाबाट फुत्त बाहिरियो ।

१५ कार्तिक, २०७१

(स्रोत : NagarikNews)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.