~मोहन चापागार्इं~
चारपासे मेरा चर्चरे काका सधैं चर्चर गरिरहन्छन् । चिया पसलमा उनको चुरीफुरी देख्दा लाग्दछ– उनी नै यस संसारका सर्वज्ञाता हुन् । उनीभन्दा जान्ने–सुन्ने यस संसारमा अरू कोही छैन ।’
शनिबारको एक बिहान चर्चरे काका र मेरो जम्काभेट भयो । आफ्नो चरित्र देखाउँदै उनले सोधिहाले, ‘के हो मनु ? तिमी त कता हरायौ ? काकासित किन नाक मुखै देखाउँदैनौ ?’
मैले पनि जवाफ फकाईहालेँ, ‘के हराउनु र काका ? सबै थोक हराउने नेपालमा मेरो हराइ केचाहिँ नयाँ कुरा भयो र ?’
‘कुरो अलि बुझिएन है भतिज ?’ उनको प्रत्युत्तर आयो।
मैले भनेँ, ‘हेर्नोस् न काका ! ड्राइभरको डरलाग्दो ड्राइभिङले यात्रीहरूको होसै हरायो । नेताजीका अकर्मण्यताले नेपालको भविष्य हरायो । दलीय खिचातानीले नेपालको संविधानै हरायो । खाद्यको डिपो हरायो । बाढीपीडितको भाग्यै हरायो । कति कुरा हराइसके ।’ मैले कुरोको चुरो फुकाएँ ।
अब सुरु भयो उनको विचित्रको चर्तिकला । ‘ठिकै हो मनु ? हेर न कर्मचारीको कार्य उदासिनताले सुशासन हरायो । अनावश्यक रकमान्तरले राज्यको ढुकुटी हरायो । डाङडुङे डिस्को र फाङफुङे गीतले नेपाली संस्कृति हरायो । भागबण्डाको किचलोले राजदूत नियुक्ति र छब्बीसको छनोट हरायो ।’
‘यत्तिमात्रै हो र काका ? यहाँ त विदेश जाने लाहुरेको सम्पत्ति र स्वास्नी हरायो । कतार, मलेसिया र दुबईमा काम गर्नेको तनखा हरायो । कसैको जीवन र ज्यान हरायो । द्वन्द्वमा छोरो हरायो । शान्तिकालमा शान्ति नै हरायो,’ मैले पनि गाँठो फुकाएँ ।
चौतारोमा बसेको चंखे खड्काले थप्यो, ‘भाइ ! प्रेमप्रसादको पासपोर्ट हरायो । कसैको पर्स हरायो । कसैको पद हरायो । जिल्लाबासीले गिजोल्दा गिजोल्दा सभासदको निद्रा हरायो । मान्छेको मूल्य, मान्यता र महत्व हरायो । मन्दिरको पुरातात्विक मूर्ति हरायो । बाबु–आमाप्रतिको आदर हरायो । देशको माया गर्ने संस्कार हरायो । बन्द बिदा र हडतालले विकास हरायो ।’
‘कस्तो मार्मिक कुरा गरेको ! म पनि शब्दमा शब्द अलिकता थप्छु है,’ कुले माइलोको मन्तव्य ओइरियो, ‘हो त नि ! विदेशीका सामु नेपालीको हैसियत हरायो । अरूको भाग्य हेर्ने ज्योतिषीको आफ्नै भाग्य हरायो । जँड्याहा बाहुनको जनै हरायो । नयाँ नेपालमा जातपातै हरायो । अधिकारको खोजीमा कर्तव्य हरायो । डिभी मोहले प्रमोसनै हरायो । यो हराउने उपक्रममा भण्डारेको साँचो हरायो । जनताको आवश्यकता र खाँचो हरायो ।’
कर्मचारी केवल कठायत चुरोट तान्दै चर्कियो, ‘यसरी राजनीतिको रजगजले ब्युरोक्रेसीको साखै हरायो । पहिरोले घरको छानो र छाकै हरायो । बाउन्न घुस्सा र त्रिपन्न ठक्कर खाए पनि नेपालीको आफ्नो दर्शन र दृष्टि नै पो हरायो ।’
हराउने उपक्रमलाई जोड्न सबैको हानाथाप पर्यो । काट्टे कृष्णे पनि किन चुक्दथ्यो र ? औंला ठड्याएर बोल्न थाल्यो, ‘यल्तिसनको अहंकार हरायो । अमेरिकाको आडम्बर हरायो । फ्रान्सेली प्रधानमन्त्रीको कुर्सी हरायो । मोनिका मोहले क्लिन्टनको गर्जन हरायो । अनि ढुंगागिट्टीको कृत्रिम अभावले घर जग्गा दलालको सातो हरायो ।’
‘के भन्नु र बाबै ? हराउनेको लेखोजोखा नै छैन । संसदको कार्यतालिका हरायो । खेलकुद मन्त्रालयको लडाइँले खेलाडीको जोस हरायो । मोदी मन्त्रले नेपालीको नेताप्रति श्रद्धा हरायो । आइएएसको आतंकले इराक र सिरियामा शान्ति हरायो । समयलाई अँजुलीमा नथाम्दा हाम्रो समृद्धि हरायो । सार्वजनिक जग्गाजति सबै हरायो । अनाचारको अचाक्लीले सदाचार हरायो ।’
‘बेरुजु बढेपछि रुजु हरायो । नजिकको नातापाता हरायो । गाउँबाट खुर्पी, ठेकी, मदानी र हर्पे हरायो । जंगलबाट हर्रोबर्रो र रक्तचन्दन हरायो । करको दर हरायो । भाइभाइको भरोसा हरायो । छोरीका लागि ठिक्क पारेको वर हरायो । दाइजो नपुग्दा ठिक्क पारिएको लगन हरायो,’ साठी वर्षे मोहितबहादुर नेपाली मुर्मरिए ।
कोभन्दा को कम र सेते घर्तीले पनि आफ्नो काला दाँत देखाउँदै मनको तीतो पोख्यो, ‘यतिमात्र कहाँ हो र भाइ ? मैले भन्नै पर्दा हुलाकीले चिठ्ठी हरायो । हलपिरालेल पार्टीभित्र चैन हरायो । नेपालीको मस्तिष्क हरायो । बृद्धि र वीरता हरायो । बैंकबाट हरिया नोट हरायो । जनतालाई ढाँट्दा भोट हरायो । विद्यार्थीमा परिश्रम र पौरख हरायो । गुरुको गरिमा र गौरव हरायो । हाकिमको ह्याउ हरायो ।
खुइले सार्कीले खोयाबिर्के घुट्क्याँउदै औंला ठड्यायो, ‘के कुरा गर्दै हौ तिमेरू ? अलिअलि त हाम्ले पनि ज्यान्या छ नि कुरा । के कुरा गर्छौ ? दसैंमा चामल हरायो । बजारबाट मूल्यसूची र अनुगमन हरायो । विषादी परीक्षणको हल्लाले कालिमाटीमा तरकारी व्यवसायी हरायो । तेल र चिनी हरायो ।
जाँतोको हातो र नाम्लाको पातो हरायो । राजतन्त्रको मत्याइले राजा हरायो । दलगत स्वार्थले परिवर्तन हरायो । गाउँघरमा मेलमिलाप हरायो । निर्वाचन जिते पनि नेता हरायो । न्यायिक कला हरायो । गायकको गला हरायो । अरूलाई ब्लेम लगाउँदा आफ्नो क्लेम हरायो ।’
यस्तै लामो वार्तालाप चलिरहेको थियो । राले विश्वकर्मा खुट्टा लर्खराउँदै आयो र कुरो बुझेपछि बम्किन थाल्यो, ‘हेर दाजुभाइ हो । नेपालमा धेरै कुरा हरायो । हेरौं न सार्वभौम सम्पन्न नागरिकको नाकै हरायो । चितवनबाट गैंडा र खाक हरायो ।’
सानोको सानै र ठूलाको ठूलै चिज हरायो । कसैको नागरिकता हरायो । कसैको लालपूर्जा हरायो । नियम मिच्नाले आर्थिक सुशासन हरायो । कसैको कथा, कविता हरायो । कसैको सालिक हरायो । कसैको मालिक हरायो । विरोधका कारण पिटिए हरायो । इबोलाले पश्चिम आफ्रिकी राष्ट्रको साहस हरायो ।
यतिमात्र हो र ? सिन्डिकेटको मारले सेवा सुविधा हरायो । मापसेले मापसेको हुँकार हरायो । आरक्षणले सक्षमको सपना हरायो । मेलम्चीको आशामा बिजुली हरायो । कसैको झोला हरायो । कसैको खोला हरायो । कसैको झोले विद्यालय हरायो । नहरमा मान्छे हरायो । सहरमा सालो हरायो । श्रीमती हरायो । लोग्ने हरायो । कसेको मोटरसाइकल हरायो । कसैको मोबाइल हरायो ।
शिक्षक आन्दोलनले शिक्षण हरायो । डाक्टर आन्दोलनले उपचार हरायो । जागिरेको जिम्मेवारी हरायो । काश्मिर हत्याउने आकांक्षाले पाकिस्तान र भारतको मित्रता हरायो । उखुको भाउ हरायो । धानको बिउ र मलखाद हरायो ।
दसैंको खसी र खुसी हरायो । संविधान लेखनको मसी हरायो । कमाउन कतार गएको करुणेको काय हरायो । हेटौंडाकी हरिमायाको आफ्नै बाबुबाट अस्मिता हरायो ।
प्रहरीको बिल्ला हरायो । देशको किल्ला करायो । पार्टीहरूमा देशप्रेम हरायो । सहरको सुन्दरता हरायो । गरिबको गुनासो हरायो । छानबिनमा प्रमाण हरायो । युवा पुस्तामा लाज हरायो । पहिरोले घर हरायो । उच्च माध्यामिक शिक्षा परिषद्को सुस्तताले नतिजा हरायो । खराबलाई काखी च्याप्दा सज्जनको शालीनता हरायो ।
हराउनेको यो लामो लिष्टमा अर्जेन्टिनाको जीत हरायो । पुरानो गीत हरायो । ट्राफिक भाइको सिठ्ठी हरायो । इजरायलको गाजामा रकेट प्रहारले चैन हरायो । थाइल्यान्डमा सैन्य शासनले आन्दोलन हरायो । यो दुनियाँमा एक होइन, दुई होइन, सबै थोक हरायो । हरायो ! हरायो !! हरायो !!!
(स्रोत : NagarikNews)