कथा : ससुराली

~उपेन्द्र सुब्बा~Upendra Subba_1

क्याप्टेन हर्कजङले अठ्ठाइस सालमा यो घर बनाएपछि क्याप्टेनको नामै फेरियो ‘ठूलाघरे क्याप्टेन’। गाउँमा इन्डिया, मलाया, हङकङका अरू पनि क्याप्टेन–ल्याप्टेनहरू थिए, तर सबभन्दा ठूलो घर यही भयो।

खोक्सुङले झ्ोलाबाट कठुवा निकाल्यो। छेउकै भोकटेको पात टिपेर दुना जस्तो बनायो अनि त्यसमा रक्सी सारेर स्वाट्टै पार्‍यो। दौराको फेरोले मुख पुछेर एक चरन सुसेली हाल्यो। मन्द बतास पनि त्यहीबेला चल्यो। निधारको पसिना पनि थोरै सुक्यो। खोक्सुङ झोला टिपेर लाग्यो उकालो।

खोक्सुङ आज जोडतोडले हिंडेर रात–साँझ् ससुराली पुग्नेछ।

दश वर्षअघि बिहे हुँदा खोक्सुङ चौध वर्षको थियो। ‘बिहे गर्दिनँ’ भन्दै सात दिन सात रात रोएको थियो, ऊ। तर, क्याप्टेनको अघि केही सीप चलेन। उमेरले आफूभन्दा चार वर्ष जेठी, बाउकै नम्बरीकी छोरीसँग धुमधामले बिहे भयो, उसको।

यो अवधिमा थुपै्र घटना भए। सबभन्दा ठूलो त ठूलाघरे क्याप्टेन नै बिते।

खोक्सुङका दुई दिदीले राम्ररी कुटुम्बघर खाएका छन्। उसकीले भने के खोजेको कुन्नि? फकाइफुल्याई गरिल्यायो, भागेर माइत पुगिजाने।

गरेर खानलाई क्याप्टेनले प्रशस्तै खेतबारी जोडिदिएका छन्। क्याप्टेन्नीले पनि बुहारीलाई नराम्रो गरेको होइन। बुहारीलाई पल्टनबाट ल्याएको सिल्कको साडी र टाटनको बर्को दिएकै हुन्, नौगेडी–शिरफुल लगायतका गहनापात पनि शिर्जन्तै पुर्‍याएकी हुन्। बुहारी भने हप्ता दिनभन्दा बढी घर बसिनँ। भन्नेहरूले के–के थोक भनिसके खोक्सुङलाई। कति साथीभाइले त कसरी शुरू गर्ने? लक कसरी लगाउने? भन्नेसम्मका ‘आइडिया’ दिन भ्याइसकेका थिए।

खोक्सुङ आज स्वास्नी लिन सातौं पटक ससुराल जाँदैछ। उसले सोचेको छ– यो अन्तिम हो, अब उप्रान्त जाने छैन।

बल्ल उकालो सिद्धियो। खोक्सुङले अनुहारको पसिना पुछ्दै लामो सास फेर्‍यो र आफू आएको बाटोतिर हेर्‍यो। तलको खोला धर्सो जस्तो देखियो। अलि मास्तिर फच्चाकफुचुक परेका घरहरू। अब त तेर्सै तेर्साे मात्र भन्ने सोच्दा उसको मन फुरुङ्ग भयो। बाटोछेउ चौरमा झ्ोला बिसाएर उत्तानो पल्ट्यो।

उज्यालोमै ससुराल पुग्न खोक्सुङलाई मन पर्दैन। बाटोमा अनेक मान्छे भेटिन्छन्। कति ढोग्नुपर्ने भेटिन्छन्, कति साली–भदैनीहरू भेटिन्छन्। सालीभदैनीहरू इत्रिएर लाजै पार्छन्। खोक्सुङले झ्ोलाबाट कठुवा निकालेर ठाडो घाँटी लगायो। तीन घुड्को लगाएपछि ‘आ…’ गर्दै मुख मिठ्यायो। पसिनाले भिजेको लुगाले चिसो पार्न थालेछ। झोला उठाएर ससुरालको बाटोतिर हेर्‍यो― तेर्सैतेर्सा, डाँडैडाँडा, लेकैलेक। त्यहाँबाट अलिकति ओरालो झ्रेपछि पुगिन्छ ससुराली। खोक्सुङले स्वास्नीसँग बिताएका केही अविस्मरणीय क्षणहरू सम्झयो।

तेस्रो दशैंको रीत बुझाएर खोक्सुङले स्वास्नी घर ल्याएको थियो। बोलचाल थिएन। स्वास्नी मजेत्रो मात्रै ओढेर गुन्द्रीमा सुत्थी। एक रात जाडोले निदाउनै नसकेपछि आधारातमै उठेर आँगनमा खरेटो लगाई, भाँडाकुँडा धोई। तैपनि उज्यालो भएन। कोठामा आएर जाडोले लुगलुग काम्दै बसी। विरहमा पालम गाई। के सुरमा हो, बोलिपठाई, “ए… सुर्ती पनि पो सकिएछ।”

खोक्सुङ पनि निदाएको थिएन, सिरानीको सुर्तीको पोका स्वास्नीतिर फाल्यो। स्वास्नीले भनि “ए, धर्मै भयो।”

स्वास्नीले सुर्ती बेरेर खाई। अझै उज्यालो भएन। बिहानको चिसो झ्न्झ्न् बढ्दै गएपछि विस्तारै आएर खोक्सुङको खाटैमा बसी। एकछिन पछि त्यही छेउमा ढल्किई। खोक्सुङको घाँटी सुकेर आयो। ओढेको सिरक आँट कसेर स्वास्नीतिर फाल्यो। स्वास्नीले पनि थोरै तानेर खुट्टा छोपी। खोक्सुङको सास बढेर आयो, त्यस्तो जाडोमा पनि चिटचिट पसिना छुट्यो। बल गरेर थोरै स्वास्नीतिर सर्‍यो। उसलाई स्वास्नीको शरीरबाट तातो राप आइरहेको लाग्यो। उसले आँट गरेर हात के बढाएको थियो, एक घुस्सी पर्‍यो, कोखामै। खोक्सुङको सासै रोकियो। स्वास्नी खाटबाट जुरुक्क उठेर हिंडी। बिहान हुनेबेला खोक्सुङ भुुसुक्कै निदायो। बिउझ्ँदा स्वास्नी घरमा थिइनँ। खोक्सुङ पहिलो पटक भागेकी स्वास्नी लिन ससुराल गयो। सासू–ससुराले छोरीलाई सम्झाइबुझाई पठाउने भए, तर फर्किने दिनमा त स्वास्नी घरमै छैन। सोधीखोजी गर्दा थाहा भयो– ऊ त्यहाँबाट पनि भागेर मावली पुगिछे। खोक्सुङ एक्लै फर्क्यो।

बाबु खस्दा स्वास्नी घर आई। काम सकेर कुलकुटुम्ब सबै गएपछि घरमा आमा, खोक्सुङ र स्वास्नी मात्र रहे। एक रात खोक्सुङले आँट कस्यो– अब साथीभाइले भने जस्तै नगरी भएन। ऊ हिंस्रक आक्रमणमा उत्रियो, तर कसोकसो कर नपरिरहेको मौका पारेर स्वास्नीले छातीमा हानेको जोर लातले कुनामा पछारियो। ओथारो बसेकी माउ पोथी तर्सेर कराउँदै बाहिर भागी। घुरिरहेकी आमालाई स्याल आएको जस्तो लागेछ, अगुल्टो तानेर बाहिर निस्किइन्। त्यही बेला स्वास्नीले पनि चम्पट दिइछे।

खासमा खोक्सुङ आमाको करले मात्र स्वास्नी लिन जाँदैछ। उसलाई यो स्वास्नीले घर गरी खान्छ भन्ने पिटिक्कै विश्वास छैन। पल्टनमै सम्धी बोलेका बाउ पनि अब छैनन्। आमाले ‘बाउको वचन त राख्’ भनेकोले मात्रै खोक्सुङ अन्तिम पटक ससुराल जाँदैछ।

खोक्सुङ ससुराल पुग्दा सासूआमा सिकुवामै भेटिइन्। ज्वाइँलाई देखेर उनी कराइन्, “कान्छी, बाहिर निस्की!”

खोक्सुङले सासूलाई ढोग्यो।

“ए, भेना पो!” कान्छी सालीले बाहिर निस्केर सेवारो गरी। हतार–हतार खाटमा राडी ओछ्याउँदै थपी, “हाओ भेना, तपाईं त ससुराल आउनै पो छोड्नुभो त? दिदीले साह्रै पो चित्त दुखाइदियो कि क्या हो? दिदीको सट्टा कि मै पो जाऊँ हौ?”

खोक्सुङले शिरदेखि पाइतालासम्म एक नजर दियो। हिजोकी फुच्चीमा अचम्मै आकर्षण देख्यो, तर केही नबोली मुस्कुरायो मात्र। पानीको गाग्रो बोकेर आउँदै गरेकी स्वास्नीले पिंढीनेर आइपुग्दा खोक्सुङलाई देखी। बहिनीले दिदीको डोको समाइन्। गाग्री निकालेर खुट्टा बजार्दै स्वास्नी घरभित्र पसेको खोक्सुङले हेरेन। त्यही बेला आमाले कान्छीलाई कराइन्, “फतरफतर के बोलिबसेको, भेनालाई भित्र बोला।”

सालीले ‘भित्र जाऊँ’ भनेको खोक्सुङलाई बडो अच्छा लाग्यो। ऊ भित्र पस्यो, स्वास्नी फुत्तै बाहिर निस्किई। सासूले सम्धिनीको सन्चो–बिसन्चो सोध्दै गर्दा आइपुगेका ससुराले दैलोमा उभिएर सोधे, “को हो यो रूखको ठुटाजस्तो?”

“बाउ, म पो…”, खोक्सुङले ससुरा उभिएकै ठाउँमा गएर ढोग्यो।

“ए, नाक्चीको बुढा पो!” ससुराबाले खुकुरी बाँधेको पेटी खोलेर मूल खाँबोको काँटीमा झुण्ड्याए। त्यसपछि खाटमा उपरखुट्टी लाउँदै सोधे, “अनि, किन आइस् त?”

“हजुरको सम्धिनीले बुहारी लिनु पठाएर पो…”, खोक्सुङले मसिनो स्वरमा भन्यो।

“तेरो स्वास्नी हो, आफैं फकाएर लैजा”, ससुराबाले कुरा सके।

खोक्सुङ सालीले अण्डा भुट्न डढाएको खुर्सानीले नराम्ररी सर्कियो। ऊ नाकमुख छोपेर सिकुवामा निस्कियो, खाटमा बसेकी स्वास्नी फुत्त भित्र पसी।

खाना खाएर खोक्सुङ बाहिर खाटमा बसिरहेको थियो, स्वास्नी र साली जूठो भाँडाकँुडा लिएर निस्किए। खोक्सुङलाई लाग्यो– मौका यही हो कुरा गर्ने। उठेर स्वास्नी र साली भएतिर गयो। आजसम्म उसले स्वास्नीसँग दोहोरो बात मारेकै थिएन। छेउमा पुगेर उसले भन्यो, “घर गरी खाने भए भोलि हिंड, होइन भने…।”

खोक्सुङले पूरा कुरा भन्नै नपाई स्वास्नीले हातको भाँडा पछारी अनि घरभित्र पसी।
“छिः भेना तपाईं त, बूढी फकाउन पनि नजान्ने!” साली खितिति हाँसी।

खासमा, खोक्सुङले त्यसै भन्न चाहेको चाहिं थिएन। उसले राम्ररी नै फकाउन चाहेको थियो, तर भन्दा त्यसो भनिपठायो। आफ्नो कुरै नसुनी स्वास्नी फन्केर हिंडेकोमा खोक्सुङको चित्त दुख्यो। रीस पनि उठ्यो।

सालीले एक्लै धन्दा सकी। स्वास्नी बाहिर निस्किँदा पनि निस्किनँ।

“भेना, राति डर लाग्यो भने भन्नू है, साथी दिन म आउँछु’ खाटमा ओछ्यान लगाइदिंदै सालीले भनी।

“ल।”

“नसुती पर्खिनू है त।”

सालीले भित्र पसेर ढोकामा आग्लो लगाएपछि खोक्सुङ सिरक तानेर ओछ्यानमा ढल्कियो। जुनेली रात थियो। गाउँका कुकुरहरू भुकेपछि ससुराली घरको कुकुर पनि भुक्न थाल्यो। खोक्सुङले स्वास्नीबारे अनेक कुरा खेलाउँदै आधा रात कटायो। त्यही बेला अचानक कसैले ढोका खोल्दा तर्सियो, तर मस्त निदाएको जस्तो गर्‍यो।

मनमा झिलिक्क लोभ आयो– साली त होइन? तर होइन, स्वास्नीचाहिं रहिछ, खोक्सुङले ठम्यायो। ऊ चाल मारेर उठ्यो र विस्तारै पछि लाग्यो। स्वास्नी सुँगुरको खोरपछाडि पिसाब फेर्न बसी। खोक्सुङ त्यहीं पुग्यो। स्वास्नी तर्सेर उठी। खोक्सुङले पाखुरामा च्याप्प समातेर आफूतिर तान्यो। स्वास्नीले सक्दो बल गरी, तर खोक्सुङले कस्दै ल्यायो। एकैछिनपछि स्वास्नीले बल गर्न छोडी। खोक्सुङले पनि अँगालो केही खुकुलो पार्‍यो। गाउँभरिका कुकुरहरू उसैगरी भुकिरहेका थिए, ससुराली घरको कुुकुर भने खोई किन हो चूप लाग्यो।

बिहान सालीले आँगनमा खरेटो लाउँदै गर्दा खोक्सुङ ससुरालको नयाँ ओख्ली नियाल्दै थियो।

“के पो हेर्नुभो भेना त्यति राम्ररी?” सालीले सोधी, “लेकमा धान कुटी खानु छैन, यसो किनामा बनाई खानलाई बनाको।”

“ओए कान्छी, ज्वाइँलाई गोरु फुकाइदे, तोरीबारी जोतोस्”, पिंढीमा उभेका ससुराले आदेश दिए।

“कान्छी, भेनालाई भित्र ले, खाजा खाएर जानू”, घरभित्रबाट सासूले भनिन्। खोक्सुङ भित्र पस्दा स्वास्नी जाँड छान्दै थिई। रातिको हर्कत सम्झेर उसलाई लाज–लाज पनि लाग्यो। ‘उसै त भागिहिंड्ने, अब त झ्न् के मान्ली र घर जान। गोरु नारी राखेर उतैउतै धाइफल दिनु पर्ला, यत्रा गर्नु ससुरालीको काम! अर्कै केटी ल्याइन्छ, साले झयाइँझयाइँ बिहे गरिन्छ …’ यस्तै के–के सोच्दै गर्दा सालीले जाँड राखिदिई। खोक्सुङले शंका मान्दै डबका उठायो– ‘अमिलो होला… पक्कै यसले मलाई भगाउने जाँड बनाएको हुनुपर्छ।’

तर, एक मुख तानेपछि ऊ छक्कै पर्‍यो। खोक्सुङले आजसम्म ससुराल घरमा यस्तो मीठो जाँड पाएकै थिएन। एक सासमा डबका रित्यायो। सालीले तीन खेप थपेपछि बल्ल उठ्यो। आँगनमा निस्किँदा स्वास्नी उसको पछि थिई।

“छिटो गरेर आउनू है, घर जानु ढीलो हुन्छ।”

अचम्म!

खोक्सुङले पुलुक्क हेर्‍यो, स्वास्नी लजाएकी थिई।

(स्रोत : हिमालखबर )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.