~वरुण पोख्रेल~
गाडीको अनुहार हेर्न १० किलोमिटर टाढाको सदरमुकाम पुग्नु पर्थ्यो, त्यो पनि बेलारुस ट्र्याक्टर! बस,ट्रक… अरु त अझ टाढा। १० कक्षा पढ्न १ घण्टा हिँड्नु पर्थ्यो, जुन अझै उस्तै छ। जेनतेन यस.यल.सी. पास गरेपछी बल्ल सुरु हुन्थ्यो मुस्किल। घर नछोडी सुखै थियन। शहर किताबमा मात्र हुन्थ्यो। कि त दिल्ली-पन्जाब मा!
औंलामा गन्न सकिने मान्छे मात्र थिए यस.यल.सी.पास गरेका। त्यस मध्य पनि धेरै जसो त मास्टर नै। तर चेतना धेरै थियो अहिलेको भन्दा। जती थियो सुल्टो थियो नकी अहिलेको जस्तो उल्टो!
त्यसैले आफु भन्दा ठुलाको कुरा सुनिन्थ्यो। भनेको मानिन्थ्यो। सामाजिक संस्कारमा कहीँ कतै सामन्ती प्रथा भएपनि नयाँ पुस्तामा खासै लागु थिएन। तर पनि छुवाछुतको मामलामा अली पछाडि नै थियो। अली बढीनै बारीन्थ्यो। धेरै शिक्षित नभएपनि साक्षर समाज थियो।
प्राय नाकको टोप्रोमुनी सिगानका दुईओटा लुर्का गहनाको रुपमा सजिन्थे। कमिजको बाहुलाको नाडिनेरको भाग सबै भन्दा पैले कालो हुँदै कट्कटिएर आउँथ्यो। बिचरालाई कम्ती सास्ती हुन्थ्यो र! दिनभर नाकमुनिका लुर्काको देखभाल गर्ने उही त थियो! अनी अर्को समस्या जाँगेको पछाडिको भाग हुन्थ्यो। बर्षमा आधा जसो त नाङ्गो चाकले भुइँ टेकेकै हुन्थ्यो।
टालो पनि कती हाल्नु। सेतो जाँगे भए कालो टालो कालो भए रातो….| सुचिकारको कल अगाडि जुन टालो बचेँको हुन्थ्यो त्यही टाँसिन आउँथ्यो जाँगेको पछाडि गुल्सन ग्रोबरको आँखाको पट्टी जस्तो गरी। त्यै पनि अर्को दुई दिनमा उध्रिन सुरु गर्थ्यो अनी फेरी भेन्टिलेसन्। त्यो सब हाम्रो लागि मात्र थियो। अल्ली ठुलो भैसकेपछि शायद मुक्ती मिल्थ्यो होला। किनकी ठुला भैसकेका दाजु, अंकल, काका, बुवा हरुले लगाएको मा भेन्टिलेसन तथा पछाडि दुर्बासाका जस्ता आँखा देख्नु पर्थेन। त्यसैले होला ठुलो हुने रहर उधुमैसित लाग्थ्यो। कैलेकाहीँ सपनामा भएपनि ठुलो भएको अंकल हरुसित अंकमाल गर्दै गफिँदै हिँडेको देखिन्थ्यो। आहा सपनै भएपनि क्या आनन्द आउँथ्यो। तर त्यसबेला पनि एउटा कुराले भने सधैं सताइरहन्थ्यो। बुवा,हजुरबुवा हरु आफ्ना दरौँले हरुसँग गफ गरेर घन्टौँ बिताएको देख्दा आफुले चाँही उनिहरुको गफको मेसो पाइन्थेन। म पनि ठुलो भएपछी यसै गरी गफ गर्नु पर्छ, तर मलाई त गफै गर्न आउँदैन त! मेरा त कोही पनि साथी नबन्ने हुन कि!!! खुबै सताउँथ्यो यो कुरा ले। के थाहा र उसबेला अहिले यस्तो गफाडी बनिएला भन्ने!
कसै-कसैले कुरुङ्का बुट ढल्काउँथे। बिचरा! माथि सम्मका बुट, लाउन- फुकाल्नको सास्ती। तर देख्दा भने बडो सान देखिने। पालिस त चुला माथिको धैँसो दले मात्र!सर्पको छाला जस्ता प्याटर्न भएका जुत्ता, एक छाक भुटुन हाल्न पुग्ने तोरिको तेलले लिरिक्क पारेको घुम्रे कपाल! नाकमुनी एक लाइन जुँगा उस्बेलाको फेसन। आफु त फुच्चे! कहाँ बाट कुरुङ्का जुत्ता लाउनु कहाँको नाक मुनी जुँगा को लाइन आउनु कपाल लिरिक्क त के! अली लामो भयो कि दमैदाइको कपडा काट्ने पित्तल्को बिँड भको फलामको आधा किलाको कैँचिले चिरिप्पै! नत्र त जुम्राले गुँड बनाएर लिखाको गोदाम बनाइहाल्थे।
बाउ पनि अल्लारे बैँसैका थे, ओरपरका अरुहरुमा भेषराज,लेखनाथ,दामोदर,नारान,कान्छा बाउ आदि…। यिनै थिए सधैं ओरपर देखिने। यिनिहरुका गफ सुन्न खुबै मज्जा आउँथ्यो। सबै बैँसका अल्लारे थिए। रमाइला रमाइला कुरा निकाल्थे अनी आँगनको धुलो उड्ने गरी हाँस्थे। तर के कुरामा हाँसेहोलान भन्ने खासै मेसो पाइन्थेन। आफुपनि उनैका लहलहैमा लागेर हाँसिन्थ्यो। शायद लाग्थ्यो होला- उनिहरु सँग सँग-सँगै हाँसियो भने उनैको दरौँले नै भैइन्छ। आफ्नो पनि कद् बढ्छ।त्यसैले उनिहरुले गनुन्-नगनुन लुतुपुतु पछी लाइन्थ्यो। उनिहरुका अँघी-पछी लाग्दै हिँड्दा आफुलाई उनै सरहको सम्झीइन्थ्यो। उनिहरुले अर्हाएको काम गर्दिएपछी खुबै स्याबासी पाइन्थ्यो, त्यसले पनि उचाइ बढेको भ्रम आउँथ्यो।
कोही-कोही लाउर जान्थे। कोही दाङ-नेपालगन्ज-बटौली। आउँदा लुगा ल्याउँथे। शहरका कुरा गर्थे। फलाना ठाउँमा त यस्तो फलाना ठाउँमा उस्तो! साला खटारा बसाँ परिएछ, फलाना ठाउँमा भात बहुत मिठो खुवायो आदी आदी। आफुलाई भने सिउँ-सिउँ लाएर आउँथ्यो। आफुले बस,ट्रक भनेको किताबाँ भन्दा अन्त देख्या छैन। तिमीहरुका भने शहरका फुर्ती! त्यत्तिकैमा एक लहड आयो पङ्क्स!!! वा!वा!!वा!!! क्या फेसन! क्या फेसन! आज्कल शहराँ चल्या फेसन हो! सेतो सर्ट तीन जनाको जिउ अट्ने! बाहुला पनि उत्तिकै लामा! तिनै पटक दोब्र्याउन पर्ने। प्यान्ट भित्र सर्ट घुसर्दा त जिउको भागमा हावा भरिएर त्यसै-त्यसै मान्छे नै उड्ला जस्तो!क्या फेसन! क्या भाउ तेस्को। सेतो पङ्क्स सर्ट कालो प्यान्ट लिरिक्क पारेको कपाल! क्या फ्युजन! गाउँमा पङ्क्स लाउने तरुनोको त भाउ नै बेग्लै। टाढै बाट चिनिने। उ~~~ पङ्क्स आयो!! केच्छ हिरो? भनेपछी त पङ्क्स ले तेल टल्किने कपाल मुसार्दै गमक्क भाउ खाने! कतै शहर(बजार) डुल्न जानु पर्यो भने ओए! तेरो पङ्क्स सर्ट दे’न आजलाई! सबैसँग हुन्थेन अनी त एउटा सेतो धोँक्रे सर्टले दर्जन अल्लारेको जिउ ढाक्ने जिम्मा लिनु पर्ने!
धेरै पछी सम्म पनि मलाई खस्-खस भाईरह्यो यो पङ्क्स को बारेमा। उसबेला त्यत्रो उधुम मच्चाको पङ्क्स के रैछ त भनेर। पछी बुझ्दै जाँदा बल्ल थाहा लाग्यो। बेलाइत तिर सत्तरी को दसक तिरै सुरु भएको पङ्क्स हाम्रो बिकट टोल सम्म पुग्न लामै समय लागेको रैछ। यो सम्झना चाहिँ असीको दसक को मध्य तिर अर्थात १९८५-८६ तिर को होला। र मेरो दिमागमा बसेको सेतो ह्वाङ्ले सर्ट नै पङ्क्स होला भन्ने चाहिँ अली फरक नै रहेछ। एउटा फेसन जमात। हुल्लड आबारा जस्तो हरु को ट्रेन्ड रैछ। जुन सामान्य ट्रेन्ड मात्र नरहेर अहिले बुझ्दा त पङ्क्स एउटा बाद्कै रुपमा चलेको रैछ! जसमा लाउने मात्र नभएर खाने, सुत्ने,सुन्ने,हेर्ने,गर्ने,उठ्ने-बस्ने,हेयर स्टाइल देखी सबै कुरामा पकड जमाएर बसेको पङ्क्स रैछ।
जय पङ्क्स बाबा!!!
2/8/10
वरुण पोख्रेल
चौरपानी, प्युठान, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार )