~लोकरञ्जन पराजुली~
केही वर्षपहिले, नेपाली भाषा सिक्दै गरेका मेरा एक विदेशी मित्रले फेसनलाई नेपालीमा के भन्छन् भनेर सोधे । म अकमकाएँ । घोरिएँ । झट्ट दिमागमा कुनै शब्द फुरेन । र, एकछिनपछि भन्दिएँ, फेसन नै भन्छन् । हुन पनि अरू धेरै विदेशी शब्दलाई झैँ मोटो ‘श’ वाला फेशनलाई नेपाली जनजिब्रोले पचाएर पातलो ‘स’ तुल्याई आफ्नो बनाइसकेको छ । थाहा छैन कहिलेदेखि हो, तर नेपाली बृहत् शब्दकोशमा यसले प्रविष्टि पाइसकेको छ । म आफैं बच्चैदेखि यो शब्द सुन्दै–बोल्दै आएको छु । तथापि, केही दिनसम्म दिमागमा फेसन शब्द घुमिरह्यो, झर्रो नेपाली शब्दको खोजीमा ।
नेपालको ‘आधुनिक’ र औपचारिक शिक्षाको राजनीतिबारे ऐतिहासिक अनुसन्धान गर्ने क्रममा दुई वर्षअघि म सिकागोको युनिभर्सिटी अफ इलिनोयमा नेपालको सबैभन्दा पुरानो खबरकागज ‘गोरखापत्र’ का पुराना अंक माइक्रोफिल्म रिडरमा घुमाउँदै थिएँ । २००३ साल वैशाख २८ गतेको ‘गोरखापत्र’ को शीर्षकबिनाको सम्पादकीयमा मेरा नजर परे । सम्पादकीयले त्यतिखेरका पढे–लेखेका युवा र तिनको पहिरनलाई आलोचना गर्दै राजभक्त र देशभक्त हुन आग्रह गरेको थियो । तर, त्यहाँ फेसन शब्द परेको थिएन । भनिएको थियो : बाहिरी बोक्रे ढाँचा र फोस्रो रवाफ । मैले झलक्क मेरा साथीको प्रश्न सम्झिएँ । र मनमनै गमेँ, बोक्रे ढाँचा, फोस्रो रवाफ ।
नयाँ पदावली जान्न पाउँदा रमाइलो लागेको छँदै थियो, त्यतिखेरका युवाको फेसनको वर्णन अझ रोचक लाग्यो । ‘गोरखापत्र’ का सम्पादकले आलोचना गरेको तत्कालीन नवयुवकहरूको फेसन यस्तो थियो, ‘कच्चै उमेरदेखि आँखामा चश्मा, खल्तीमा रेशमी रुमालको चोसे फुर्को, शरीरमा टसाएजस्तै लुगा, बुच्चे कोट, मुख छोप्नेसम्मको लामो कपाल, छाँटिएको जुँगा र खल्तीमा विदेशी अखबार भिरेर गुम्म परी हिँड्ने ।’ उहिलेको र अहिलेको फेसन तुलना गर्दै आफैंलाई सोधेँ, यतिका वर्षमा के भिन्नता आयो ? सायद, रेशमी रुमाल र विदेशी अखबार हराए, जुँगा छाँटिएका मात्रै होइन सफाचट नै पारिए ।
फेसनको व्यसन
माइक्रोफिल्मका रिल घुमाउँदै जाँदा कुनै अर्को दिन ‘गोरखापत्र’ मै छापिएको एउटा छोटो ‘सम्पादकलाई चिट्ठी’ को शीर्षकले ध्यान खिच्यो– किनकि शीर्षकमै फेसन शब्द जो परेको थियो । २००३ असोज २५ को अप–एड पातोमा छापिएको उक्त चिठीको शीर्षक थियो : ‘फेशन बढ्ता भो ।’ सम्भवत: सरकारी मुखपत्र ‘गोरखापत्र’ मा फेसन शब्दले औपचारिक प्रवेश पाएको यो नै पहिलो अवसर थियो । आफूलाई मध्यमकक्षीय (वर्गीय ?) भन्ने यी पाठकको खास नाउँ थाहा हुन्न, उनले आफूलाई एक नेपाली भनी चिनाएका छन् । उनले चिठीमा लेखेका थिए, ‘हामी मध्यम कक्षाका मानिसलाई खर्च (?) को कमी र महँगीले साह्रै सताएको छ । धेरैजना भन्दा रहेछन्– यसपालिको दसैंमा त पुरानै लुगा लाउनपर्छ क्यार ! कस्तो काल आयो छि: । तर, यो कालको दोष होइन, फेसनको दोष हो ।’ हो, फेसनको दोष ! अहिले सस्ता चाइनिज मालले बजार ढपक्कै ढाकेजस्तै त्यतिखेर सस्ता माल जापानबाट आउँथे, जसले नेपाली खस्रा घरबुना कपडालाई विस्थापन गरे, र ‘झिल्के फेसन’ लाई पदस्थापन गरे । यससँगै विदेशी (शब्द) ‘फेसन’ को अतिक्रमण ‘गोरखापत्र’मा छिर्यो, नेपाली भाषाले अर्को आगन्तुक शब्द पायो ।
‘गोरखापत्र’ मा छापिएका चिठी, लेख र सम्पादकीयलाई आधार मान्ने हो भने फेसन नेपालमा व्यसन बनेर क्रमश: सरुवा रोगझैं फैलिन थालेछ, २००७ सालअगावै, राणाकालैमा । कमलपोखरीकी स्वर्गकुमारी देवी नेपालीमाझ बढ्दै गएको फेसन (ढाँचा) प्रति चिन्तित देखिइन् । संसारमा बढ्दो अनिकालसँगै ढाँचा पनि उत्तिकै बढ्दै गएको र नेपालीमाझ त अझ शिक्षा कम र ढाँचा बढ्तै भएको उनको ठम्याइ थियो । २००३ साल माघ २१ गतेको पत्रिकामा छापिएको चिठीमा उनले लेखिन्, ‘शिक्षित भनाउँदा पुरुषको त त्यस्तो अवस्था छ, झन् अशिक्षित महिलाको के कुरा ?’ महिलाहरू ‘रेशमी सारी र पाउडर, मुखमा घस्ने क्रिम, ओठमा लाउने लिप्स्टिक् पाए आफूलाई भाग्यमानी र जीवनको सार्थक सम्झी उसैमा मस्त’ हुने भन्दै उनले महिलाले गर्ने फेसनलाई आलोचना गरिन् ।
फेसनको रोगले नेपाली (महिला) लाई झ्याप्पै छोपेछ क्यारे । ‘धनीका स्वास्नीको अनुकरण’ गर्दै गरिबका श्रीमतीले समेत ‘पतिको आयस्तालाई ख्याल नराखी’ उस्तै फेसन गर्न खोज्दा गरिबहरूको जीवन अस्तव्यस्त पार्ने चलन आएको भन्दै सो ‘सरुवा रोग’ समाप्त पार्ने औषधिको खोजीमा काठमान्डुका चक्रराज पाण्डेले पत्रिकाका सम्पादकलाई लेखेको चिठी २००४ जेठ २७ गते छापियो । प्रत्युत्तरमा अर्की पाठक सावित्री देवीले चिठी लेखिन् । र, पाण्डेको कथनमा सम्मति जनाउँदै सरुवा रोगको उपचार सुझाइन् । पुरुषले स्वदेशी खद्दरको चलन गर्नुपर्ने उनको सुझाव थियो । महिलाको हकमा एक त अशिक्षा, दोस्रो सानै उमेरदेखि ‘नाना र चाचातर्फ केटीहरूको चित्त ढल्काइदिनाले’ सो रोग बढेको उनको ठम्याइ थियो । उनले सुझाएको ओखती थियो– सानैदेखि सादा रहनसहनको शिक्षा दिलाउने ।
फेसनरूपी राक्षस
करिब डेढ वर्षअघि पाठकको चिट्ठी मार्फत पत्रिकामा छिरेको फेसन शब्दले दिन–दुगुना रात–चौगुना प्रगति गरेको देखियो, १ फागुन २००४ को सम्पादकीयको शीर्षक नै बन्यो– ‘फेसन ।’ त्यतिमात्रै कहाँ हो र सो पदको विशेषण फेसनेवलले समेत ‘गोरखापत्र’ को सम्पादकीयमा स्थान पायो । अर्कोतर्फ, व्यसनबाट सरुवा रोगमा पुगेको फेसनले राक्षस रूप धारण गर्दै नेपालीका घरघर घुसिसकेछ । र, विशेषगरेर ‘युवक युवती समाजमा यसको भीषणताको जाल’ फैलिएछ । सम्पादकीयमा चिन्ता जताइएको थियो, ‘आजको यो महँगो बेसाहामा पनि मुलुकको धेरैजसो धन हजम पारी मुलुकलाई दुर्बल तुल्याउन तयार हुँदै फेसनरूपी एउटा भयंकर राक्षस हाम्रो घरघरमा घुसिरहेको छ । आम्दानीको बाटो जतिसुकै सानो भए तापनि यस राक्षसको सम्मानको निम्ति ढुकुटीको ठूलो साँचो खोल्नैपर्छ । भरपेट मिठो खाने कुरा नभए तापनि जाडोबाट बच्नका निम्ति पर्याप्त वस्त्र नपाइए तापनि फेसनको वशीभूत भएर आफ्नू आर्थिक अवस्थालाई दुर्बल पारिरहनेको प्रचुर संख्या धेरैमा पाइन्छ ।’
फेसनले गर्दा तत्कालीन ‘भेषभूषामा यत्तिको खिचडी ल्याइदिएछ कि… एउटा नेपाली भनेर चिन्न पनि कठिन’ भएछ । ‘युवक समाजमा कुर्ता, धोती, पाइजामा, शेरवानी, सुट’ आदि प्रचलित भएछन् भने ‘कहीं कहीं ता लाजमर्दो लुंगी’ पनि देखिन थालेछ । अलि अघि ‘गोरखापत्र’ ले नै आलोचना गरेको टाइट पाइँट र बुच्चे कोट या रेशमी रुमाल सँगसँगै यो पछिल्लो फेशन फैलिएका हो कि पुरानो फेसनलाई नयाँले निलेको हो सो सम्पादकीयबाट प्रस्टिन्न । तथापि, भारतीय स्वतन्त्रता संग्राममा संलग्न राष्ट्रवादीहरूको फेसन खासगरी पद्मशमशेर प्रधानमन्त्री भएपछिको अलि खुकुलो समयमा नेपाली परिवर्तनकामी व्यक्तिहरूले नक्कल गरेको बऽझ्न सकिन्छ, जसले सरकारी मुखपत्रलाई अलि खसखस लगाउनु अस्वाभाविक थिएन ।
‘गोरखापत्र’ का सम्पादकको खास सरोकार पुरुषकै फेसनमा जस्तो देखिन्छ, यद्यपि उनले ‘स्त्री समाजमा’ पनि त्यस्तो फेसनको प्रसार ‘नोट’ गरेको पाइन्छ । हालका दिनमा खासगरी जाडोयामका ठिहिरोमा समेत टकटक काम्दै भए पनि पातला वस्त्रमा ठाँटिने महिलाहरूको चलन सायद त्यसैबेला प्रारम्भ भइसकेको रहेछ । सम्पादकीयमा लेखिएको थियो, ‘शीतप्रधान हाम्रो मुलुक छ, तर मिहीन पातलो सारीको विशेष माग यहाँ पाइन्छ ।’
‘गोरखापत्र’ को फेसनसम्बन्धी समग्र टिप्पणीप्रति सम्मति जनाउँद ठहिँटीका गोरखाबहादुर श्रेष्ठले पठाएको पत्रमा भनिएको थियो– ‘साँच्चै नै यो फेशनरूपी राक्षस त बडो भयंकरै जस्तो बुझिन्छ । यो … यत्तिको प्रबल छ कि घरखेत गुमोस्, पछि कंगाल भएर जीवन व्यतीत गर्न परोस् तापनि यसको कसैले परवाहै गर्दैनन् । यही राक्षसको वशीभूत भएर संसारमा कति मानिस कंगाल बनिसके ।’ तर, उनलाई महिलाको फेसनबारे सम्पादकले कडा आलोचना नगरेकोमा चित्त बुझेको देखिँदैन । श्रेष्ठ थप्छन्, ‘यस (फेशन) को असर अझ बढ्ता ता युवतीमै परेको देखिन्छ ।’ खासगरी कम आय भएका पुरुषलाई तिनका श्रीमतीले महँगा ऊनी, विदेशी रेशमी सारी, विदेशी ढाका, चोलो औ जुत्ताले सजिसजाउ हुन खोज्दा भएको पीडाको वर्णन उनी चिठीमा गर्छन् र अर्काको ‘देखासिकी गरी … केवल फेशनको वशीभूत भएर’ जानुलाई महिलाको अविवेकको संज्ञा दिन्छन् । त्यसैले, जसरी हुन्छ सो खराब चलन हटाउनु र प्रचलनमा रहेको फेसनलाई रोक्नु मुलुक मात्रकै ठूलो भलाइ गर्नु हो भन्ने श्रेष्ठ ठान्छन् ।
श्रेष्ठले आफ्नो चिठीमा फेसनको सारा दोष महिलालाई थोपरे र उनीहरूलाई अविवेकीसमेत भन्न भ्याए । उनले लगाएका आक्षेप नसहने र त्यसको कडा प्रतिवाद गर्ने महिला राणाकाल (२००४ साल) मा थिएनन् जस्तो कतिपयलाई लागेको छ भने तिनीहरू गलत छन् । कालधाराकी कमलादेवीले श्रेष्ठलाई प्रत्युत्तर दिँदै पठाएको चिठी पत्रिका छापियो ‘फेशनको वशीभूत भएका युवक’ शीर्षकमा । चिठीमा उनले ‘लोग्नेमानिसले दिनका दिन बालगिरी (भाडाका) लुगा लगाई फेशन झिकी नक्कल’ गर्ने भन्दै उनीहरू ‘विदेशी कस्मीराको कोट, रेसमी लुगा, … घडी, … छालाको पञ्जा, र … (महँगा) जुत्ता लाएर दिनका दिन गल्ली कुरेर बसेको’ आरोप लगाइन् । र, ‘खल्तीको पैसा भट्टी होटेलमा पसी … र…लाई पोसेर हिँड्ने, घरमा स्वास्नी भने भोकभोकै पार्ने’ जस्तो अत्याचार पुरुषबाटै भएको तर्क गरिन् । स्वास्नीमानिसलाई मात्रै सबै आरोप लगाएर लोग्नेमानिसलाई गालबाट बचाएका देख्दा अचम्म लागेर आफूले प्रतिवाद गरेको भन्दै फेसनले दुवैथरीलाई ठूलो प्रभाव पारेको र त्यसलाई सबै मिली हटाउनुपर्ने उनको तर्क थियो ।
——
नेपाली समाजमा फेसनबारे सार्वजनिक वृत्तमा भएको सुरुआती (या राणाकालीन) चर्चा अघिल्ला अनुच्छेदमा संक्षिप्तमा गरियो । ‘फेशन मानव स्वभावको भावावेग र अविवेकी प्रकृतिको परिचायक हो । … तर्क, चिन्तन एवं विवेचनपश्चात् फेशनलाई स्वीकार गरिएको हुँदैन । … विवेक र नैतिकताबाट विहीन भएर यसलाई ग्रहण गरिएको हुन्छ’ भन्ने ‘गोरखापत्र’ का तत्कालीन सम्पादकको भनाइमा आजका दिन थोरैको मतैक्य होला । तथापि, माथिको बहसबाट फेसनसम्बन्धी राणाकालीन नेपाली सोचबारे जानकारी मिल्छ । त्यसबाहेक, लेखमा इंगित गरिएझैँ, यी सामग्रीले तत्कालीन समाजका केही अन्य पक्षबारे पनि संकेत गर्छन् । जस्तो, नेपाली घरबुना उद्योग र जापानी कपडाको अतिक्रमण, भारतीय स्वतन्त्रता संग्राम र नेपाली युवामा त्यसको प्रभाव (चाहे त्यो पहिरन या फेसनबाटै अभिव्यक्त भएको किन नहोस्), पद्मशमशेरको अभ्युदय र समाजमा देखिएको तुलनात्मक खुकुलोपन (महिला र पुरुष पत्रिका मार्फत सार्वजनिक बहसमा उत्रनु) तथा नेपाली छापा मिडिया (गोरखापत्र) मा आएको परिवर्तन ।
प्रकाशित: आश्विन १६, २०७२
(स्रोत : Kosheli – Kantipur)