~कुन्द टण्डन~
प्रत्येक बिहान ७ बजेदेखि १० बजेसम्ममा ३, ४ पटक फोनमा कुरा भैरहन्थ्यो । कहिलेकाहीँ फोन गर्न अलिकति ढिलो भयो भने पारिजात दिदीले भनिहाल्नुहुन्थ्यो– के हो … फोन गर्ने बेला यही हो ? अघिदेखि फोन पर्खिराखेको ⁄ जतिपटक फोनको घण्टी बज्छ अरूकै स्वर, जतिपटक फोनको घण्टी बज्छ अरूकै आवाज ⁄ तपाईंको फोन ढिलो भयो भने मन त्यसै हतारिन्छ, एक कल फोन त बेलामा गर्नुपर्छ नि भनेर धाराप्रवाह सम्झनुहुन्थ्यो । मानौं आफ्नो परिवारको मान्छेविना खबर, विनासूचना अबेर गरी घरभित्र पस्दा सोधिन्छ । अनि ढिलोगरी घर पुग्नेले ढिलो हुनाको कारण भनेपछि वातावरण शान्त हुन्छ । मैले पनि त्यसरी नै पारिजात दिदीलाई फोन ढिलो गर्नुको कारण बारेमा स्पष्टीकरण दिनुपथ्र्यो । मैले जसरी भए पनि जे गरेर भए पनि, सात बजेको फोन तोकिएको समयमा गर्नैपथ्र्यो । बरु पछि पछि गर्ने फोन अलिकति ढिलो अलिकति चाँडो जहिले भए पनि हुन्थ्यो । पहिलो फोन भने पारिजात दिदीको निन्द्राले छोडेपछि तर नउठ्दै गर्नुपथ्र्यो ।
पारिजात दिदीले आफ्नो आत्मसंस्मरणमा लेख्नुभएको छ– “संस्मरण लेख्नु भनेको आफैंसँग इमानदार हुनु हो । नत्र मनको स्वीकारोक्तिहरूको साक्षी को ?” मैले पनि यहाँनेर आफ्नै आत्मालाई साक्षी राखेर इमानदारीपूर्वक संस्मरण लेख्दैछु– तपाईंहरू पनि हामीप्रति इमानदार हुनुहुन्छ भने अलिकति विश्वाससम्म गरिदिनुस् । पारिजात दिदी कुनै पनि बिहानी फोनको पहिलो घण्टी मैले बजाइदियोस् भन्नुहुन्थ्यो । “बिउँझने बित्तिकै तपाईंसँग कुरा हुन पाए, त्यो दिनभरि रमाइलै रमाइलो हुन्छ । त्यसैले बिहानको फोनको पहिलो घण्टी सकेसम्म म कसैलाई उठाउन दिन्न । फोनको घण्टी बज्नेबित्तिकै तपाईंको सम्झना आउँछ, त्यसैले तपाईंकै फोन भई दिएहुन्थ्यो” भन्नुहुन्थ्यो ।
तर २०५० साल वैशाख ५ गते मैले फोनको घण्टी बजाउनै नपाई संचारमाध्यमले दिदीको मृत्युको समाचार दियो । हुन त २०५० वैशाख १ गते नववर्षको शुभ अवसरको उपलक्ष्यमा अग्रिम शुभकामना आदान–प्रदान क्रम चलिरहेकै थियो । टाढा टाढादेखि हार्दिक शुभकामना कार्ड तथा पत्रपत्रिका आइरहेकै थियो । अझ भनौं २०५० वैशाख ५ गते शनिबार बिहानको ५ बज्नुभन्दा केही दिन अगाडिसम्म बीर अस्पतालको आइ.सी.यु. वार्डको ढोका अगाडि राखिएको रजिष्टारमा शिघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्न आउने शुभचिन्तकहरूले हस्ताक्षर गर्ने घुइँचो त्यत्तिकै थियो । तर विधिको विडम्बना ढोका बाहिर पारिजात दिदीका शुभचिन्तकहरूले शीघ्र स्वास्थ्यलाभ व्यक्त गरेको मसी सुक्नै नपाई, कलमको बिर्को पनि बन्द गर्नै नपाई तुरुन्तै स्वर्गीय पारिजातको आत्मालाई चिरशान्ति मिलोस् भनेर लेख्नुपर्ने परिस्थिति आइप-यो । नववर्षको हार्दिक शुभकामना र शीघ्र स्वास्थ्यलाभको औपचारिकता–औपचारिकतामै सीमित रह्यो ।
२०५० वैशाख ६ गतेदेखि बिहानको समय काट्न साह्रै गाह्रो भयो । हामीले कहिले हाँस्दै हाँस्दै, कहिले भावुक भएर मनभित्रका अन्तरड्ड कुराहरू गरेर बिताउने समय बिर्सन । खालि दिदीलाई सम्झिरहन्थें । अझ भनुँ अझसम्म पनि बिहान एक दुईपटक ए … दिदीलाई फोन गर्नुपर्ने भन्ने जस्तो लाग्छ । तर पछि आफैं झस्कन्छु अनि सम्झन्छु– दिदी त कहाँ हुनुहुन्छ र ? कहिलेकाहीँ त साह्रै निराश हुन्छु । कुनै पनि खुशीको कुरा होस् या दुःखको कुरा प्रायः दिदी मलाई सुनाउनुहन्थ्यो, म दिदीलाई सुनाउँथें । अब त यो क्षण केवल शून्य शून्य भएर टोलाउनु सिवाय उपाय अरू केही छैन ।
२०३१–३२ सालदेखि उपचारको समयमा र साहित्यिक कार्यक्रमको भ्रमणमा बाहेक अरू कार्यक्रमको बेलामा या भ्रमणमा प्रायः दिदी मलाई लैजानुहुन्थ्यो । २०४८ माघ १८ गतेतिर एकपटक कारणवश दिदीसँग मलाई बाहिर जेल निरीक्षणमा जान मिलेन । अर्कै साथीलाई लिएर उहाँ दमौली जानुभयो सात दिनको लागि । छुट्टिने बेलामा हामी दुवैले मन नमीठो पारेका थियौं । दिदीले मलाई लैजान नपाएकोमा र मलाई दिदीसित जान नपाएकोमा । दिदी भ्रमणमा गएपछि हरेक बिहानी औंलामा गनेर बिताएँ । सातौं दिनमा काठमाडौं आउँछु भन्नुभएको थियो । मेरो मनले धैर्य गर्न, सात सात दिनसम्म पर्खन सकेन । छैठौं दिनको बिहान दिदीको घरमा फोन गरें बाहिरबाट घरमा केही खबर गर्नुभएको छ कि, खबरसम्म भए पनि बुझ्नुप-यो भनेर । फोन त पारिजात दिदीले पो उठाउनु भयो । मैले हेलो भन्न पाएको छैन, मेरो स्वर सुन्नेबित्तिकै अहिले फोन गर्ने हो भनेर एउटा गुनासोयुक्त स्वर, एउटा आधार पाएको ढुक्कको मिश्रित स्वर थियो दिदीको । मैले हत्तपत्त भनें– ल तपाईं आइसक्नुभयो ? तपाईं त भोलि आउने कुरा थियो, मैले त तपाईंले घरमा केही खबर छोड्नु भएको छ कि भनेर तपाईंको खबरसम्म बुझ्न फोन गरेको ? कहिले आउनु भयो तपाईं भनें । उहाँले हिजो बेलुकै आएँ नि भन्नुभयो । कति दुःखकष्ट भोगेर लामो बाटोबाट घर आउने बित्तिकै मलाई नै सम्झनु भएछ । अझ आफ्नो खर्चबाट सहाराको लागि लगेको साथीबाटै अपमानित हुनुपर्दा भ्रमणभरि नै मिनेट मिनेटमा मलाई सम्झनु भयो रे । मलाई सम्झँदै सम्झँदै मनमनै कति रुनु भयो रे । त्यसपछि दिदीले मलाई– आज दिउँसो तपाईं मकहाँ आउनुहोस्, तपाईंलाई भेटेर कहिले मनको कुरा सुनाउँ जस्तो भैरहेछ, मेरो घरमै आउनोस्, तपाईंलाई धेरै कुरा गर्नुछ भन्नुभयो । म पनि सोही दिउँसो ३ बजतेरि म्हेंपीस्थित दिदीको घर गएँ । त्यसपछि दिदीले धेरै दुखेको पोख्नुभयो । त्यो यात्रामा आफ्नै साथीमार्फत् अपमानित हुनुभएछ उहाँ । उहाँले भन्नुभयो– “मैले त सहनै नसकेर होेटेलमा काम गर्ने वेटरलाई पैसा दिएर त्यहाँको अर्को साथीलाई फोन गर्न लगाएँ र दुई दिनको भ्रमण नै कटाएर घर फर्कें ।” यसरी फर्कनु परेको एउटा सोच्दै नसोचेको दुःखद घटना सुन्दा म झन दुःखी भएँ । हामीले दिदीलाई दिदी मात्र होइन, साँच्चैको एउटा पारिजात फूलजस्तै सँगालेर राखेका थियौं । कतै भुइँमा खस्ला कि, कतै धुलो लाग्ला कि, कतै कुच्चिएला कि, दाग लाग्ला कि, ओइलाउला कि भनेर सँगालेर राखेको मान्छेलाई कसैले असह्य अपमान गर्दा म कस्तो भएको थिएँ कि वर्णन नै गर्न सक्दिन । मलाई आफूप्रति आफैंलाई पश्चात्ताप लाग्यो । आठ दश दिन दिदीलाई पर्खाएर भए पनि म आफैं गई जानुपर्नेजस्तो लाग्यो । यो परिस्थितिलाई यहीं थाती राख्दै अब अर्को प्रसंड्डतिर लाग्छु ।
२०४८ साल फागुन २२ गते दिउँसो दिदीको घरमा हामी दुईजना कुरा गरेर बसिरहेका थियौं । त्यत्तिकैमा सुकन्या दिदीले गाजर लिएर आउनुभयो । पारिजात दिदी प्रेसर हाइ भएको मान्छे भिटामिन ‘ए’युक्त फलफूल र खाना धेरै खान नहुने । त्यसैले हाँसी हाँसी आज कुन्दजीसँग बसेर एउटा सिंगै गाजर खान्छु भन्नुभयो र थालबाट एउटा गाजा लिनुभयो । मैले चाहिँ पारिजात दिदी र सुकन्या दिदीको आग्रहबाट दुई, तीनवटा नै खाएँ । मलाई केही फरक परेन । तर दिदीलाई प्रेसर हाइ भएछ, राती बेहोस हुनुभएछ । नौ बजे राती नै सुकन्या दिदी र रायन दाइहरू भएर वीर हस्पिटल पु¥याउनु भएछ । बिहान साविकबमोजिम पारिजात दिदीलाई घरमा फोन गरें । सधैं २– ३ घण्टीमा फोन उठ्थ्यो तर त्यो दिन धेरै घण्टीको प्रतीक्षापछि मात्र फोन उठ्यो, झण्डै झण्डै मेरो मन त एक किसिमले निराश नै भैसकेको थियो । आज एक्कासि विनाखबर, विनासूचना यो के भयो भनेर । पछि परिवारबाट थाहा भयो– राती बेहोस भएर ढलेपछि दिदीलाई त बीर हस्पिटल लगिएको रहेछ । कहिले अफिस छुट्टी होला र हस्पिटल जाउँला भनेर दिनभरि पारिजात दिदीलाई सम्झेर बसें । दिउँसो ३ बजेतिर हतार हतार बीर हस्पिटल गएँ । दिदी त्यतिबेलासम्म जाती भैसक्नुभएको थियो । केवल डाक्टरहरूको भनाइअनुसार रेष्टको लागि मात्र राखिएको रहेछ । मलाई देख्ने बित्तिकै दिदी खुशी हुनुभयो । एकैछिन बसेपछि दिदीले सोध्नुभयो म हस्पिटलमा छु भन्ने कुरा कसरी थाहा पाउनुभयो ? बिहान तपाईंको घरमा फोन गरेको थिएँ । मीराले भनेर थाहा पाएँ भनें मैले । एक घण्टा जति बसेपछि म अब घर जान्छु दिदी भनेर प्रस्ताव राखें । दिदीले एकछिन पर्खनुस् भनेर रोकेर राख्नुभयो । मैले जिद्दी गरेर घर फर्किन पनि खोजिनँ–बसिरहें । दिदीले त मसँग अलि एकान्त हुन खोज्नुभएको रहेछ । अलिअलि गरेर मान्छे निस्केपछि मैले नचिनेको एकजना राष्ट्र बैंकको एकाउन्टेन्डेन्ट मात्र रहेपछि दिदीले मलाई भन्नुभयो, “हिजो बेलुका प्रेसर हाई भएर अचानक बेहोस भएँछु, सबैजना भएर राती नौ बजेतिर नै हस्पिटल ल्याएछन् । १० बजेतिर होश आउँदा मैले आफूलाई अस्पतालको बेडमा पाएँ । चारैतिर हेरें अरूहरूलाई देखें । तपाईं पनि हुनुहुन्छ कि भनेर दोहो-याई–तेह-याई चारैतिर हेरें, तपाईंलाई देखिनँ । नरमाइलो लाग्यो । कति बज्यो भनेर सोधें । १० बज्यो भने । राती तपाईंलाई किन दुःख दिनु भनेर बोलाइदेऊ भनिन । बिहान उठें, तपाईंलाई सम्झिरहें, यतिबेला फोन गर्नुभयो होला, मीराले भनी होला, अनि तपाईंले थाहा पाउनु भयो होला । तपाईंको अफिस २ बजे छुट्छ, मकहाँ आउनु हुन्छ भनेर अघिदेखि कहिले झ्यालतिर हेर्छु, आङ तान्छु, कहिले ढोकातिर हेर्छु, टोलाउँछु । तपाईं लुसुक्क आउनु हुन्छ कि भनेर ? कोही भित्र पस्दा पनि तपाईंकै झ–झल्को लाग्छ । आँखा तानेको तानेकै छु । अब त आउने बेला भयो भनेर ⁄” दिदीले यति के भन्नुभएको थियो, म त अवरुद्ध भएँ, दिदीको मुखबाट त्यो भाव र अभिव्यक्ति सुन्दा अक्कनबक्क भएँ । दिदीप्रतिको माया, ममता, श्रद्धा पहिले जति थियो– त्यो भन्दा सयौं गुणा अरु बढ्यो । सकेसम्म आँसु पिएरै बसें । आँखा बाहिर उल्झिन दिइन, केही बोल्न पनि सकिनँ । दिदीलाई हेरेको हे¥यै भएँ । बिस्तारै आफैंले मन बुझाएँ । मप्रतिको दिदीको यत्रो सद्भावनालाई मैले छर्लड्ड बुझें । केहीबेर बसेपछि अन्त्यमा छुट्टिनु त छँदैथियो, त्यो दिन अलि अबेर गरेर घर फर्किएँ ।
पारिजात दिदीसँगका धेरै सम्झनाहरूमध्ये यी सम्झनाहरू जिन्दगीमा कहिल्यै बिर्सनै नसक्ने सम्झनाहरू हुन् । जुन कुरा सम्झँदा मात्र पनि जीवन्त हुँदाको पारिजात दिदीको बारम्बार याद आउँछ ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )