~गङ्गा कर्माचार्य पौडेल~
‘तीजको रहर आयो बरिल,’ चौतारीमा छम छमी नाच्छु बरीलै…’ उषा गीत गुन गुनाउँदै घरी भित्र घरी बाहिर गरेको देखी आमाले सोधिन् ‘छोरी निकै खुसी देखिन्छ्यौ नि ? हिजोको दरले राम्रै काम गरे जस्तो छ कि कसो ?’
‘हो आमा हिजो तपाईले पकाको दरको स्वाद जिभ्रोमै झुन्डिराछ । आज चाहिँ म केही खान्नँ । म पनि तीजको व्रत बस्छु ।’
उषाको कुरा सुनेर आमा छक्क पर्दै भनिन्‘यति सानी बच्चीले व्रत बस्नुपर्दैन । भोलिपर्सि ठूली भएपछि बसैली । अहिजे तातो दुध र रोटी खाइहाल ।’
आफूलाई सानी बच्ची भनेको उषालाई पटक्कै मन परेन । उसले जंगिँदै भनी, ‘म सानी छैन ठूली भइसकें, व्रत बस्न सक्छु क्या’ भनेर पुक्क गाला फुलाई । त्यही बेला बाबा टुप्लुक्क आइपुगे अनि उनीहरूको अलि ठूलो स्वर सुनेर भने हैन, आज तीजको दिन बिहानै आमा छोरीको के गन्थन हौ ?’
‘हेर्नुस्न बाबा १ मलाइ ता सानी छेस् तीजको व्रत बस्नु पर्दैन भन्नुहुन्छ आमा । म ठूली भइसको हगि बाबा १’ भनेर उषाले दुई हातले गम्लंग बाबाको कम्मर समाती । बाबाले छोरीको गालामा च्वाक्क म्वाई खाए अनि कपाल मुसार्दै पत्नीतिर हेरेर भने, ‘हो त नि हाम्री छोरी ठूली भइसकिन् र सँधै आफ्नो जुत्तामोजा आफैं लाएर, झेला बोकेर स्कुल जान्छिन् । सानी बच्चीले त्यसो गर्न सक्छन् ? भनेर आँखा झिम्क्याइन् । उषाकी आमा मुसुक्क हाँसिन् । बाबाले फेरि भने, ‘रर्यो कुरा व्रतको, म पनि तीजको व्रत बस्छु । मन्दिर जान्छु ।’
बाबाको निर्णय सुनेर उषा बुर्कुसी मार्दै लुगा फेर्नभित्र गई । त्यसपछि आमाले भनिन्, ‘तपाई पनि छोरीको अगाडि के के भन्नुहुन्छ ? लोग्ने मान्छे पनि व्रत बस्छन् ? तीजको व्रत विवाहिता स्त्रीले पतिको आयु बढोस् भनेर, अविवाहिताले राम्रो पति पाइयोस् भनेर बस्ने हो ।’
‘लौ हेर लिङ्ग भेद गर्यो भनेर पुरुषलाई दोष दिन्छन्, तर व्रत पनि स्त्रीले बस्ने र पुरुषले बस्ने भनी छुट्टयाएर आफूहरूले नै लिङ्ग भेद गर्छन् बा,’ बाबाले भने, ‘फेरि मेरो आयु बढाउन तिमी भोकै प्यासै बस्दा मलाई मात्र टन्न पेटाभरि भात कसरी रुच्छ र ? मेरो आयु बढाएर म मात्र बाँचेर के गर्नु ? गृहस्थी रथ एउटा पाङ्ग्राले गुड्दैन ।
म पनि तिम्रो आयु बढोस् भनेर ब्रत बस्छु । कुरा बराबर ।’ उनले यति भनी सक्दा उषा लुगा लाइसकेर चिटिक्क परेर आई । अनि बाबाआमासित ऊ मन्दिर गएँ ।
‘अहो १ भीड बढिसकेछ । कसरी भगवान्को दर्शन गर्नु ?’ उषाकी आमाले भनिन् । यही प्राङ्गणबाटै नमस्ते गर्नै अनि घर फर्कने । यहाँ बसेर भोलि पनि हाम्रो पालो आउँदैन ।
पतिको कुरामा सहमत भई घर आए पनि उनको मन रमाएन । त्यो देखेर उषाका बाबाले भने, ‘भगवान् मन्दिरमा मात्र होइन चिन्न सके हामीभित्रै छन् । उनैले हामीलाई सही मार्ग निर्देश गरिरहेका हुन्छन् ।
अबिर, अक्षताले पूजा गर्दैमा धर्म हुँदैन ।
बरु दु:खी, गरिब असहायलाई सक्दो सहयोग गर्दा धर्म हुन्छ ।’
‘तपाईंले भनेको सही हो तापनि यो मन शान्तिका लागि म पूजा गर्छु’ भन्दै आमा भित्र गइन् । केही बेरपछि बाबा र छोरी पनि पूजा कोठातिर लागे ।
ढोकाबाट यसो च्याएर हेरे । त्यहाँ हलुवा, पुरी, सेल फलफूल नैवेद्य चढाइ पूजा सकेर बाहिर निस्कनै लागेकी थिइन् । बाबाले भने, ‘पूजा सकिएछ नि । प्रसाद बाँड्ने हैन ?’
पञ्चामृतसहित सबैथरी प्रसाद झिकेर बाहिर ल्याई पति र छोरीलाई दिइन् । पत्नीको भाग नदेखेर उनले सोधे, ‘तिमीलाई खै त ? तिमीले नखाए हामी पनि खान्नौं हगि छोरी ?’ उषातिर हेरेर उनले भने ।
तीनैजनाले प्रसाद खाइसके । पल्लाघरे कान्छा हस्याङफस्याङ गर्दै आएर भने, ‘था पाउनुभयो दाइ ? मन्दिरमा गहना लुटपाट भएछ नि । महिलाहरू पनि थुप्रैजना बेहोस भएर जात्रा छ रे । माथ्ला घरे श्यामेकी दिदीलाई हिजो राति ३ बजे अस्पताल भर्ना गर्या छ । यी महिलाहरू अघिल्लो दिन कोची कोची खान्छन्, भोलिपल्ट पानी पनि खान्नन् । अनि विसन्चो भइहाल्छ नि । महँगो लुगा गहना लाएर मन्दिर किन जान पर्या होला ? चाड पर्वको नाममा विकृति बढ्यो दाइ १ अब सुधार नगरी हुँदैन,’ लगातार बोलेर सक्यो उसले ।
उषाका बाबाले कान्छाको काँधमा थपथपाएर भने, ‘तिमीले ठिक भन्यौ, परम्परालाई सुधारेर समयानुकूल बनाउँदै लानुपर्छ । यस विषयमा बहस चलाउनु जरुरी देखिन्छ ।’ उनले यति भनी सक्दा उषा फुर्किंदै आइन् । नाच हेर्न जान्छु भनिन् । बा आमा पनि गए ।
उषा आफ्ना साथीहरूसँगै तीजको रहर आयो बरिलै भनी गीत गाएर छम्छमी नाचिन् ।
उषाको नाच हेरेर सबैजनाले रमाइलो माने, साथै प्रंशसा पनि गरे ।
प्रकाशित: भाद्र २७, २०७२
(स्रोत : Kopila – Kantipur)