कथा : खर्दारबाजे !

~विजय चालिसे~Vijay Chalise

“सर नमस्कार ! म शिशिर….।” मेरो अगाडि उभिएको आकर्षक युवकले अगाडिदेखि नै चिनेजानेको मानिसले जस्तै आप्mनो् परिचय दियो । मेरो अगाडिको त्यो युवक खाइहाल्दो देखिन्थ्यो । गलामा सुनको सिक्री, हातमा घुमाइरहेको गाडीको साँचो, मुखमा सन्तुष्टिको चमक ! देख्दा लाग्थ्यो, यो कि त कुनै सफल व्यवसायी हुनुपर्छ, कि गरिब नेपालीको नाउँमा विदेशीको चाकरी गरेर अरुलाई मूर्ख बनाउन अत्यन्त सफल कुनै एनजिओको सञ्चालक । यो उसलाई देख्दाको मेरो तात्कालिक अनुमान मात्र थियो ।

“शिशिर….?” यस केटोलाई कता कता देखेजस्तो लागेपनि मैले झट्ट ठम्याउन सकिन । त्यसैले मनमा जोड दिएर ठम्याउने प्रया गर्दागर्दै मेरो मुखबाट निस्कियो ।

“म क्यात सर….खर्दार बाजेको छोरा !” उसले आप्mनो थप चिनारी दियो ।

“खर्दार बाजे….! को खर्दार बाजे ?” म अझै अलमलिएको थिएँ । जागिरको सिलसिलामा कति खर्दार बाजेसँग काम गरियो, कतिसँग परिचय भयो । यसको लेखाजोखा थिएन । अनि कुन, कहाँका खर्दार बाजे हुन्, कसरी जान्नु ।

“श्यामेश्वर खर्दार…..सरकै कर्मचारी त हुनुुुहुन्थ्यो नि ! सानोमा बासँगै म पनि अफिस आउँथे नि !” उसले थप प्रस्ट्यायो । अनि मेरो मानसबिम्बमा खर्दार बाजेसँगका पुर्वस्मृतिका पन्नाहरू एकपछि अर्को खुल्दै गएका थिए ।

”विचरा खर्दार बाजे त बेवारिसेजस्तै भएर मरिराखेको पो भेटिए रे, माड्साब !” स्मृतिको त्यो क्षण अत्यन्त अप्रिय थियो । त्यसदिन अफिस पुग्नासाथ चिसोले हिउँझैं जमेको हातलाई हिटर बालेर सेकाउन समेत नपाउँदै कृष्णबहादुरले सुनाएको पहिलो खबर थियो त्यो । मनमा लागेको थियो, पहिलो खबर नै यति अप्रिय ! दिन पनि अति चिसो, नरमाइलो लागिरहेको थियो बिहानै देखि । शिशिर आफ्नो उग्र रूप लिएर उपस्थित थियो । बूढापाका भन्थे– धेरै वर्षपछि यत्ति धेरै जाडो भएको छ, यस पालि ।

“ह्वैन के भन्छन् यीे ? चाहिने कुरामा पो ठट्टा गर्नुपर्छ ! यस्तो उट्प्याङ कुरा पनि गर्ने हो !” मैले कृष्णबहादुर अर्थात किस्नेको कुरामा विश्वास गर्न नसकेर भनेको थिएँ ।

“माड्साबलाई पत्यार नलागेर के गर्नु र, आफ्नै आँखाले देखेर आउँदैछु खर्दार बाजेको लास ! मेरा त छिमेकी पनि, घाटतिर नगइ भएन । जाउँ है माड्साब ? यहाँको काम हेर्न साने छँदैछ ।” उसले लामै विवरण सहित खर्दार बाजेको मृत्युको खबर सुनाएर बिदा मागेको थियो ।

उसको कुरा पत्याउन त्यतिबेला मलाइ निकै कठिन भएको थियो । त्यो सुनेर म दोधारमा परेको थिएँ । यो कृष्णे पहिला पनि यस्तै झुटो बहाना बनाएर अफिसबाट गायब हुने गथ्र्यो । त्यसैले उसको कुरामा हतपति कोही विश्वास गर्दैनथ्यो । तर…..आफ्नै अफिसको मान्छेको बारेमा यति झुटो कुरा सुनाउने आँट त पक्कै नहुनु पर्ने हो उसमा । भेलि नै पोल खुल्ने कुरामा झुटो बोल्ने आँट कसरी गर्ला त कृष्णेले ?

“कसरी मरेछन् त, के भएको रहेछ खर्दार बाजेलाई ?” त्यही द्विविधा र आशङ्काकै बीच मेरो थप प्रश्न थियो त्यो ।

“आज बिहानै टोल नजिकैको चौरमा बेवारिस फेला परेछन्, कठ्याङ्ग्रिएर मरिराखेको अबस्थामा । त्यो हल्ला सुनेर हामी सबै पुगेका थियौं । पुलिसले पोसमाटम कि के हो गर्न भनी अस्पताल ल्याएको ।” उसले थप प्रस्ट्याएको थियो ।

अब मेरा लागि उसको कुरामा विश्वास गर्नु बाहेक अर्को विकल्प थिएन । मन भने अझै मानिरहेको थिएन, जतिसुकै जाडो चम्किए पनि कठ्ययाङ्ग्रिएर मान्छे मर्ने तहको चिसो छ भन्ने पनि पत्याउन कठिन थियो । त्यसमाथि घरबार, भरपुर परिवार भएका खर्दार बाजे मनग्गे न्यानो ओढ्ने ओछ्याउनेको व्यवस्थागर्न नसक्ने अबस्थाका पनि थिएनन् । सदरमुका छेउमा प्रशस्त पुख्र्यौली जग्गाजमिन भएका, जागिरबाट पनि धेरथोर कमाउने ! के भएर यसरी घरबाहिर बेवारिस मृत्यु मरे त, कठ्याङ्ग्रिएर ? त्यसैले पनि विश्वास गर्नु मेरालागि कठिन थियो, सजिलै पत्याउनै नसकिने ! तर खर्दार बाजेको छिमेकी समेत भएकोले कृष्णेको कुरा नपत्याइ धरै थिएन ।

सुरुका केही वर्ष म पनि खर्दार बाजेकै टोलमा डेरा गरी बस्थेँ । खर्दार बाजे सदरमुकामभन्दा अलि बाहिरको एउटा सहरोन्मुख गाउँका स्थायी बासिन्दा थिए । म यस ठाउँमा सरुवा भएर आउँदा उनैले खोजिदिएका थिए मलाई त्यो डेरा । केही वर्षपछि सरदरमुकाममैं घडेरी किनेर मैले सानो बास जोरेपछि भने हाम्रो बसाइ छुट्टाछुट्टै ठाउँमा भएको थियो । खर्दार बाजे र कृष्णेको घर भने त्यहिँको एउटै टोलमा थियो । त्यसैले कृष्ण र खर्दार बाजेबाट उनीहरूका हर कुरासँग हामी कर्मचारी परिचित थियोैं । सदरमुकामको सानो ठाउँ भएकोले थोरै कर्मचारी पनि थोरै नै थियौं । त्यसमाथि सार्वजनिक सम्पर्क हुने अफिस नपरेकोले काम पनि होलै हुन्थ्यो । त्यसैले अफिसमा हरेकको कुरा हरेकलाई थहा हुन्थ्यो । अझ नजिकका गाउँ र टोलका जानकारी समेत आइपुग्थे सदरमुकामसम्म ।
बाहिरबाट हेर्दा खर्दार बाजेको परिवारसानो र सुखी देखिन्थ्यो । केही वर्षदेखि उनी दाजुभाइसँग छुट्टिएर अलग्गै बस्न थालेका थिए । बाउआमा दुबै वितिसकेका थिए । श्रीमती, बिबाह गरेर गइसकेकी एउटी छोरी र हुर्कीसकेको एउटा छोरो । त्यसैले घरमा मात्र तीन प्राणी– खर्दार बाजे, श्रीमती र छोरो । छोरो एक्लो भएकोले हो कि अलि बढी नै पुलपुलिएजस्तो लाग्थ्यो, भनेको कुरा पु¥याइदिनै पर्ने ।

“होइन, खर्दारबाजे, अफिस जानु पर्दैन र बिहानै डोको बोकेर हिँड्नुभा’को ?” म भर्खर भर्खर त्यो नयाँ ठाउँमा डेरा सर्दाको कुरा हो । खर्दार बाजेलाई एकाबिहानै त्यसरी डोको नाम्लो भिरेर खेत–बारी धाएको देख्दा अचम्म मानेर सोधेको थिएँ । टोलका अरु घुम्न निस्क्केका देखिन्थे, चिया पसलमा बसेर चियासँगै गफ साटिरहेका देखिन्थे । तर खर्दार बाजेले भने कहिल्यै त्यसरी समय खेर फालेको देखिएन । साँझ बिहान उनी कामैमा घोटिएका हुन्थे । त्यो देखेर एक पटक मन थाम्नै नसकेर निस्कएकोे थियो त्यो प्रश्न ।
“के गर्नु माड्साब्, घरभरि गाईबस्तु छन् । बुढियालाई बाहिर घाममा निस्कनै हुन्न, बिरामी परिहाल्छे । अरु छैनन् घाँसपराल गर्ने । अलिअलि स्याहारसुसार नगरे दही दूध देख्न पाइन्न त ! अनि खेतीपाती, बस्तुभाउ नहेरेर के पो गर्नु माड्साब । खर्दारको जागिरले मात्र धान्दैन !” मेरो प्रश्नमा उनी लामै बेलीबिस्तार सुनाउँथे ।

“साँझ बिहान त त्यतिबिन घाम चर्केको हुँदैन नि ! नभए कसैलाई लगाए पनि त भयो । आफैं यसरी बिहान बिहान डोको बोक्दैन हिँड्दा अफिस पुग्न ढिलो हुँदैन ?” उनको बेलीबिस्तार सुनेर पनि अझै म तर्क गर्नेगर्थे ।

“को पाउनु र माड्साब काम लाउनलाई ! अनि आफैंले नगरेर कसले गरोस ?” उनको गुनासो हुन्थ्यो ।

बिस्तारै थाहा पाउँदै गएको थिएँ, उनले त्यसरी आफूलाई चौबीसै घन्टा काममा डुबाउनुको कारण त्यति मात्र थिएन । उनले भनेजस्तो बाध्यता मात्र नभएर उनको घर बाहिरै व्यस्त रहनुको कारण थियो घरभित्रको उपेक्षालाई बिर्सनु ! अति माया गरेर राखेकी श्रीमती र पुल्पुल्याएको एक्लो छोरोद्वारा हुने आफूप्रतिको उपेक्षालाई बिर्साउन पनि उनी घरबाहिरै काममा भुल्ने गर्दा रहेछन् । त्यसैले त्यो उनको दुखःमैं रमाउने कोसिस रहेछ । हुन पनि आफूले अति माया गरेका स्वास्नी छोराबाटै कहिल्यै मायाप्रेम र सम्मान पाउन नसक्नुजस्तो पीडा अरु के नै हुनसक्छ र ! त्यसकै अभाव रहेछ उनको जीवनमा । स्वास्नी र छोराको आँखामा कामले मात्र होइन व्यवहारमा समेत नोकरकै थान्कोमा बसेका रहेछन् उनी । तिनका आँखामा उनी आवश्यकता पूरा गर्ने एउटा मिसिन मात्र थिए !

यो जोइटिङ्ग्रेपन थियो कि वाध्यताजन्य कमजोरी, मैले यकिन गर्न सकेको थिइन । अरु कुरामा भने उपत्यको काँठका निम्नमध्यम वर्गीय परिवारको ज्वलन्त दृष्टान्त लाग्थे उनी । सानो तिनो जागिर, थेरथोर खेतीपाति । त्यसमाथि समय उभ्रेको खण्डमा पुख्र्यौली जजमानी ! बिहान बेलुकी खेतीपातिको काम, दिउँसो सानोतिनो जागिर ! न त जागिर मैं मन लाएर काम गर्न पाउने, न खेतीपातीमैं चाहिँदो समय दिन सक्ने । काँठको यो आम चरित्रमा उनको अलिकति भने भिन्नता थियो । अरुको पूरै परिबार काममा खटिएको देखिन्थ्यो, खर्दार बाजेका स्वास्नी छोराछोरी खेतबारीसम्म पनि टेक्दैनथे । हुनेखाने परिवारकाजस्तै सोखमा बसेका देखिन्थे उनीहरू– वरको सिन्को पर नसार्ने ।

विचरा खर्दार बाजे ! उनीहरूको झर्कोफर्कोे नसुनी बिहान–बेलुकीको दुई छाक खान पनि पाउँदैनथे रे ! हर कुरामा आमा र अति पुल्पुल्याइएको छोरा दुबै उनलाई होच्याउन, उनलाई कज्याउन एक मुख लाग्थे रे ! उता खर्दार बाजे भने तिनै स्वास्नी छोरा भनेर हुरुक्कै हुन्थे । आफू भोकै बसेर पनि मुख बाट निस्कन नपाउँदै तिनका हरतरहको माग पूरा गरिदिन्थे । आफू चाहीँ काम, कामै काम ! जहिले पनि मटमैलो घस्टिएको कमिज–सुरुवाल, घस्टिएको भोटो सुरुवाल र कठालो र कुम फाटेको कोट भिरेर थोत्रो साइकलमा दीनहीन ख्याउटे अनुहार ! अनेकौं वसन्त बिताइसकेका ती घस्टिएको कपडा पनि कुनै जजमानाको जडौरी हुने संभावना नै बढी लाग्थ्यो ।

छिमेकीहरूले भन्थे– कस्तो दुखी कर्म लिएर आएका रहेछन्, यी जोइटिङ्ग्रे खर्दार बाजे !

त्यहाँ बसुन्जिेल एकै टोलको बासिन्दाका नाताले पनि खर्दार बाजेसँग बेलाबखत देखभेट भइरहन्थ्यो । अफिसमा त हुने भैहाल्यो । तर जहाँ देख्दा उनी पनि हतारैमा हुन्थे । नत अफिसमा कहिल्यै खाजा खाएको देखियो, न कहिल्यै टोलमा यसो साथी दौतरीसँग भेटघाट गफ गाफ गरेको नै देखियो । न लवाइमा सोख, न खान पिनमैं । उता घरपरिवार भने सधैं शोखसयलपूर्ण जीवनमा देखिन्थे । उनले जे भने पनि पु¥याइदिएका थिए तिनलाई । स्वास्नी छोरालाई मौसम अनुसारको फलफूल, स्वाद अनुसारको मिठाइ, माछामासु, समय अनुसारका पोशाक कुनै कुराको अभाव हुन दिएका थिएनन् ।

”होइन खर्दार बाजे, कति दुःख गर्नुहुन्छ ? अफिस, खेतीबारी, घर धन्दा ! अलि अलि त आराम पनि गर्नु पर्छ नि !” तै पनि मन नमानेर म फेरि पनि भन्थेँ । विचरा, बिहानभरि गाइबस्तुको भकारो–पानी, घाँसपात र खेतीबारी, जहानले ठस्कोफस्को गर्दै पस्किदिएको रुखोसुखो गाँस च्यापेर सकीनसकी थोत्रो साइकगुडाउँदै अफिसको यात्रा ! बेलुका घर फर्कन पाएको छैन, फेरि घरकै कोते धन्दा– यही थियो उनको दैनन्दिन ! ”

त्यसरी खर्दार बाजेले स्वास्नी छोराको लागि जति ज्यान फाले पनि उनीहरू भने उनले खाए नखाएको समेत वास्ता गर्दैनथे । घरमा छन्, छैनन् कुनै वास्ता हुँदैनथ्यो । सँगै हिँडेको पनि देखिएन कहिल्यै । उनीहरू नयाँ राम्रो लुगामा ठाँट्टिएर हिँड्ेका देखिन्थे, खर्दार बाजे त्यही पुरानो घस्टिएको दौरा सुरुवालमा ! सके सँगै हिँड्न लाज मान्थे कि !

“किन खर्दार बाजे, निकै गल्नुभएको देख्छु नि हिजो आज । सञ्चो छैन कि ?” पाँच छ महिनादेखि उनी निकै कमजोर र गल्दै गएको देखेर मैले सोधेको थिएँ ।

“खोई, केहो केहो माड्साब…। कडै रोगले पो छोएको हो कि !” कहिल्यै आफ्नो बारेमा चिन्ता नदेखाउने खर्दार बाजेलाई त्यतिबेला भने निकै चिन्तित देखेको थिएँ । यति निराश र चिन्तित यस अघि उनी कहिल्यै देखिएका थिएनन् ।

“रोगले छोयो कि भनेर मात्रै त हुँदैन नि खर्दार बाजे । अस्पताल गएर डाक्टर देखाइहाल्नुहोस् । ज्यानै नभए के हुन्छ र !” त्यतिबेला सम्झाउन खोजेको थिएँ ।

“के गर्नु माडसाब, आफ्ना लागि अहिलेसम्म कहिल्यै अस्पताल टेकिएन । अब भने जानुपर्ला !” अनि बल्ल उनी जचाउन अस्पताल गएछन् ।

त्यसपछि केही महिनाका लागि म मन्त्रालयमा काज लिएर काठमाडौं गएँ । झन्डै तीन महिना काठमाडौं बस्दा खर्दार बाजेसँग भेटघाट भएन ।

”के छ, खर्दार बाजे सन्चै हुनुहुन्छ ? डाक्टरले के भन्यो त ?” अफिस फर्केपछि उनलाई देख्नासाथ सोधेको थिएँ ।

”होला नि, माड्साब । औषधि खाँदैछु । डाक्टरले छ महिना नछुटाइ खाने औषधि दिएको छ । अलि पोषिलो खानु पनि भनेको छ, डाक्टरले ।” त्यतिबेला उनले बेलीबिस्तार लगाएका थिए । उनको कुराबाट मैले अनुमान गरेको थिएँ– भोकभोकै रातदिन पसिना बगाउने गर्दा गर्दै खर्दार बाजेलाई त टिबी पो भएछ कि क्या हो । पक्कै पनि टिबीको औषधि दिएको होला डाक्टरले । पोषिलो खाना र छ महिना नछुटाइखाने औषधि टिबी रोगीले खाने औषधि हो । डाक्टर नभए पनि यति सामान्य ज्ञान मलाई पनि थियो ।

कृष्णे भन्थ्यो, टोलमा पनि सुब्बा बाजेलाई टिबी भयो भन्ने हल्ला थियो रे ! टिबी आज दशकौं अगाडिकोजस्तो उपचारै हुन नसक्ने रोग थिएन । यो नियमित उपचारबाट सजिलै निको हुने रोग प्रमाणि भैसकेके थियो । चेतनशील समाजमा यसलाई सरुवा भनेर डराउने चलन समाप्त भैसकेको थियो । यो रोग सामान्य छुवाछूत र सँगै बसेर खाँदैमा सर्दैन भन्ने प्रमाणित भैसकेको थियो । तर पनि जिल्लाका कतिपय गाउँका मानिसमा अझै त्यो धारणा बाकी नै थियो । खर्दारबाजेको परिवार पनि यसको अपवाद थिएन क्यार । उनलाई टिबी रोग लागेको थाहा भएदेखि नै स्वास्नी–छोराबाट समेत अछुतको व्यवहार हुनथालेको थियो रे भन्थ्यो कृष्णे । म सदरमुका फर्केपछि उसैले सुनाएको थियो– “त्यसपछि त अछूतजस्तै पो व्यवहार गर्न थालेकाछन् त स्वास्नी छोराले खर्दार बाजेलाई ।”

“के भन्या तिम्ले ? अरुले छिछिःदूरदूर गरे पनि आफ्नै स्वास्नी छोराले किन त्यस्तो व्यवहार गर्थे र ।” कृष्णेको कुरा सुनेर म छाँगाबाट खसेझैं भएको थिएँ । मलाई उसको कुरामा अझै विश्वास भने थिएन ।

“तपाइँले नपत्याएर के गर्नु र, मैले आफ्नै आँखाले देखेको पनि झुटो होला त ? विचरा अहिले सुत्न पनि मझेरीमा पो सुत्छन् रे मझेरिमा, भान्छै छेऊको ढोकासँगै ! माथि सँगै सुत्दा आफू र छोरालाई रोग सर्छ भनेर उनकी श्रीमतीले त्यो व्यवस्था गरेकीे रे । टोलभरि यसै भन्छन्, कसरी नहोला भन्नु र ! सुन्दैमा नमज्जा लाग्ने, कति निर्दयी रे’छिन् यी खर्दारनी बज्यै त !” खर्दार बाजेप्रति सहानुभूति देखाउँदै उसले सुनाएको थियो ।

त्यसपछि खर्दार बाजेलाई निकै दिन देखिएन । उनी अफिस पनि आउन छाडेका थिए । केही दिन अघि बिहानै आएर पियनको हातमा छुट्टीको निवेदन छाडेर गएका थिए । विदा पनि लामै लिएका थिए । त्यसपछि विदा स्वीकृत भए नभएको समेत बुझ्न आएका थिएनन् ।

त्यसरी आफ्नै स्वास्नी–छोराबाट उपेक्षि र परित्यक्त हुन पुगेका खर्दार बाजे कहिले कता कहिले कता भौंतार्रिन थालेछन् । कति दिन त घरै फर्कँदैनथे रे । कहिले कता भौंतार्र्रिँदै दिन रात बिताउँदा रहेछन । कहिले दुईचार दिन, कहिले पाँच सात दिनमा झुलुक्क देखापर्थे रे, घरतिर । उही उपेक्षाको अनुभूतिपछि फेरि हराउँथे रे ! खर्दार बाजेको बाँच्ने जिजीविषा समेत समाप्त हुँदै गएको थियो सायद् । यस पल्ट पनि उनी घर नगएका दुई दिन भैसकेको थियो रे ! पुसको अत्यन्त चिसो रात, खानपनि छैन कमजोरी र चिसोमा कठ्याङ्ग्रिएरै बिदा भएछन् उनी यस संसारबाट !

”के भो’ माड्साब, कहाँ हराउनु भएको ? अझै पत्यार लागेन जस्तो छ माड्साबलाई ! तर के गर्नु अब खर्दार बाजे फर्केर आउने होइनन् त !” उसको आवाजले म झसङ्ग भएको थिएँ । मलाई विगत स्मृतिबाट वर्तमानमा ल्याउनका लागि त्यो आवाजले म२त गरेको थियो ।

ख्र्दार बाजेको त्यस्तो दुखदः मृत्युको केही समयपछि पछि अहिले तिनै खर्दार बाजेको खाइलाग्दो छोरोलाई आफ्नो अगाडि देख्दा मेरो मानसबिम्बमा उनको दुःखी जीवन र दःखान्त अवसानका घटनाहरू एकपछि अर्को गर्दै साकार भएका हुन पुगेका थिए ।

“को रे ? म त खर्दार बाजेका कुनै स्वास्नी, छोरालाई चिन्दिन त । उनीहरू त खर्दारबाजे छँदै वितिसकेका थिए भन्ने पो सुनेको थिएँ मैले त !” खर्दार बाजेको छोरा भन्नासाथ काउसो देखेजस्तै हुन पुगेको थियो मलाई । मैले उपेक्षाका साथ व्यङ्ग्य गर्दै भनेँ । मेरो दृष्टिमा आफ्नै बाबुको उपेक्षा गरेर आत्महत्याजस्तै मृत्यु भोग्न बाध्य पार्ने स्वास्नीछोरा मर्नु र बाँच्नुमा फरक थिएन । त्यसैले यो केटोले खर्दार बाजेको छोरो भनेर चिनाउँदा नै मभित्र उसप्रति घोर घृणा उब्जु स्वाभाविक थियो ।

“होइन, माड्साब म उहाँको एक मात्र छोरो हुँ नि ! आमा र म नै त हौं, उहाँको हकवाला । यी नाता प्रमाणित पनि गराएर ल्याएको छु ।” उसले हकवालामा निकै जोड दिएर भन्यो । ऊ यति बेला बाबुका बाँकी सञ्चयकोष, पेन्सन आदि रकमहरूमा आमाको हक जनाउन आएको थियो ।

“ए, हो र ! मैले त खर्दार बाजे स्वास्नी छोरा कोही नभएकाले घरबाहिर लावारिस मृत्य मरेका रे भन्ने सुनेर परिवार कोही पनि छैन होला भन्ने पो ठानेको थिएँ त ! कहाँ हुनुहुनुहन्थ्यो त तपाइँहरू बाबुको हेरचाह गर्नुपर्ने बेलामा ?” मेरो प्रश्नभित्रको प्रहार सके उसका लागि असह्य थियो, र ऊ अबीर दलेजस्तै रातो अनुहार लाएर थचक्क अगाडिको कुर्सीमा बस्यो । म उसलाई कुनै वास्ता नगरीकनै टेबिलमाथिको फाइलमा हराएँ ।

२०६८ भदौ २७
विकल प्रतिष्ठान,आरुबारी

लुँ बुदिं स्मारिकाको २०६८ असोजमा प्रकाशित कथा।

(स्रोत : Vijay Chalise’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.