गौरवका साथ भन्न सकिन्छ, नेपाल खुला म्युजियम (संग्रहालय) हो । विदेशीले अबार्ंै रुपियाँ लगानी गरेर मात्र स्थापना गर्न सक्ने यस्ता म्युजियम हाम्रा टोलटोलमा छन्, जहाँ ऐतिहासिक र पुरातात्त्विक महत्त्वका वस्तु हेर्न रकम खर्चिनुपर्दैन । यस्ता सम्पदाले इतिहास बताउँछन्, तत्कालीन जीवनशैली बोल्छन् । र, कला विकासको गति प्रस्ट्याउँछन् । चर्चा गर्न खोजिएको विषय हो, १ हजार ६ सय वर्षसम्म निरन्तर एउटै विषयमा बनाइएका मूर्तिकलाका शृंखलाको । त्यो हो, परम्परागत नेपाली मूर्तिकलाको आयामिक महत्त्व उजागर गर्ने उमामहेश्वरको मूर्ति शृंखला ।
उमामहेश्वरका मूर्ति नेपालमा कति छन् त ? यसको लेखाजोखा कसैसँग छैन । काठमाडाँै उपत्यकाको पुरानो बस्तीको कुनै पनि ठाउँबाट पाँच मिनेट हिँड्ने हो भने यस्ता पाँचवटासम्म मूर्ति भेट्न सकिन्छ । ढुंगेधारा, पाटीपौवा जता पनि भेटिन्छन् । उमामहेश्वरका जति धेरै मूर्ति छन्, महत्त्व पनि त्यत्तिकै । यसले नेपाली कलाको इतिहास मात्र प्रदर्शन गर्दैन, तत्कालिक समाज चियाउने आँखीझ्याल पनि हो ।
कैलाश पर्वतमा आनन्दले बसेका शिव र पार्वतीको रूप नै उमामहेश्वरको मूर्ति हो । शिवको यो सौम्य रूप हो । पार्वतीलाई अँगालोमा राखेर उनले छातीमा हात राखेका छन् । उनको वाहन नन्दी पनि छेउमा छ । दोस्रो/तेस्रो शताब्दीमा निर्मित उमामहेश्वरको मूर्ति यस्तैमा सीमित थियो । जस्तो- चाँगुनारायणको छिन्नमस्ताभित्रको, पशुपतिनाथ अरुणधाराको र पाटनको चामुण्डा मन्दिर परसिरका मूर्ति यस समूहमा पर्छन् ।
दोस्रो/तेस्रो शताब्दीदेखि १८औँ शताब्दीसम्म अर्थात् करबि १ हजार ६ सय वर्षसम्म ठूलो संख्यामा उमामहेश्वरको मूर्ति बनेका छन् । खासमा लिच्छविकालदेखि मल्लकालको अन्तिमसम्म यस्ता मूर्ति बनिरहे । त्यसो त बुद्ध मूर्तिको इतिहास पनि यत्तिकै लामो छ । उमामहेश्वरको मूर्तिमा रहरलाग्दो रूपमा पात्रहरू थपिँदै गएका छन् । जस्तो- दोस्रो/तेस्रो शताब्दीका मूर्तिमा शिव, पार्वती र नन्दी मात्र थिए भने पाँचौँ शताब्दीसम्म आइपुग्दा यसमा कुमार र केही गण थपिए । त्यसपछि पनि पात्रहरू थपिँदै गए ।
उमामहेश्वरको मूर्तिलाई शिव परविारको रूपमा बुझ्दा पनि हुन्छ । पछिका मूर्तिमा पार्वतीका सुसारेहरू पनि थपिएका छन् । जस्तो- चमरधारण्िाी चरणसेविका, छत्रधारण्िाी आदि पनि मूर्तिमा देखिन्छन् । यो नै मूर्तिकलाको विकास हो । यसबाट मूर्तिमा नयाँ के दिने भन्नेमा कलाकारहरूबीच लामो समय अघोषित प्रतिस्पर्धा चलेको अड्कल काट्न गाह्रो छैन । एउटै मूर्तिमा ४० वटासम्म आकृति छन्, जसले हरेक मूर्तिलाई पृथक् र सुन्दर बनाएका छन् ।
सुरुका उमामहेश्वरका मूर्तिहरू निर्वस्त्र छन् । पशुपतिनाथको अरुणधारामा रहेको मूर्ति होस् वा मृगस्थलीको, यिनमा शिव-पार्वती नै निर्वस्त्र छन् । तर, पाँचौँ शताब्दीपछि बनेका यस्ता मूर्तिमा क्रमश: पहिरन थपिँदै गएको छ, आभूषणहरू थपिएका छन् । यसमा शंका छैन कि ढुंगामा कँुदिएका यी मूर्तिहरू धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वका छन् ।
मूर्तिमा यस प्रकारको शृंखला युरोपमा देख्न पाइन्छ । त्यहाँ देखिने मूर्तिको नाम हो, पिइता । जिसस क्राइस्टको देहावसानपछि आमा मारयिाले उनलाई काखमा राखेको त्यस कारुणिक मूर्ति युरोपका धेरै कलाकारले बनाएका छन् । दोस्रो वा तेस्रो शताब्दीदेखि अहिलेसम्म पनि उनीहरू त्यही मूर्ति बनाइरहेका छन् । प्रसिद्धि पाएका कलाकार माइकल एन्जेलोसम्मले पिइता बनाएका छन्। हाम्रो उमामहेश्वरभन्दा फरक के छ भने पिइतामाथि सयौँ पुस्तक लेखिएका छन् । विभिन्न कालखण्डको अनुसन्धानमा हजारौँले कपाल फुलाएका छन् । कलाको विकास पढ्नुपर्दा यही मूर्तिलाई लिनुपर्ने अवस्था छ, संसारमा । तर विडम्बना ! हामीकहाँ यस्तै लामो इतिहास भएको उमामहेश्वरको शृंखलामाथि न कुनै अनुसन्धान भएको छ, न पुस्तक नै लेखिएका छन् । खासमा हामी बन्द खामभित्र छौँ ।
उमामहेश्वरका मूर्तिहरू जताततै भेट्न सकिने हुनाले यसमा अध्ययन/अनुसन्धान गर्न धेरै गाह्रो पनि छैन । यस मूर्तिसम्बन्धी तथ्य बाहिर ल्याउन सके संसारकै लागि उमामहेश्वरको मूर्ति शृंखला कौतूहल र अनुसन्धानको विषय हुनेमा दुईमत छैन । त्यसैले अनुसन्धानकर्ता र पुरातत्त्वविद्हरूले यसतर्फ सक्रियता देखाऊन् ।
(स्रोत : Lekali )