कथा : ​अम्रिकामा आमा

~यम घिमिरे~Yam Ghimirey

हुने खानेलाई बोकेर टाउकामाथिबाट उडान खेपेको खेपेई गर्ने जहाजलाई मनमाया मात्रै के भन्नु तल भूतलबाट कुखुराले पानी खाँदा आकास हेरे झैं हेर्थे सबै मानिस कोदो मकैको मेलो रोकेर। उनका साथीसँगी के पुरुष, के महिला सबैका चल्दै गरेका कोदाला अडिन्थे ठाडो मुन्टो पार्न।

‘एकपल्ट त तेस खप्परमा नचढी किन मरूँला र’ भन्दै जीवनको धोको बनाउँदा मनमायाले के सोचिन होला र त्यो उडाउने पनि उनीजस्तै स्वास्नीमान्छे हुन सक्छे भनेर। हावाजाहजलाई ‘खप्पर’ भन्नुमा पुग्नेलाई सधैंभरी उडेरै पुग्या छ, नहुनेले भने बाँचुन्जेलमा जम्माजम्मी एकपल्ट चढ्न नि नपाई मरिन बेर नलाग्नुको विभेदमाथिको स्वतस्स्फुर्त प्रहार हो भन्ने देखादेखी छ।

‘तिम्रा त छोराले पढेका छन्, एकदिन चडाइहाल्छन्, हाम्रा पो …’ मेवाबोटे कर्किनीले जहाज आँखाको दृष्टिदुरी काटेर गएपछि मेलोमा फर्किँदै भन्दा मनमायालाई विश्वास लागोस् पनि कसरी भर्खर गुन्द्रुक र चिउराको कुम्लो कसेर पढ्न जिल्ला हिनेको छोरो धुर्बेको?
***

नभन्दै कर्किनीले भनेको पन्ध्र वर्षपछि २०६८ सालमा सन्तानको पौरखले डोर्‍याएर लगिछाड्ने भो मनमायालाई अम्रिका।

लैनबहादुर र मनमाया खत्रीले ग्रामीण जीवनमा दाँतीनङ्ग्री गरेर छोराछोरी पढ़ाको फल आज सबैले देख्ने गरी पाएका हुन्। जागिर बेपार भन्नु केही थिएन। चारचार जना सन्तानलाई पाखुरी र मुड्कीका बलले उब्जाएर गच्छेवान् बनाउनु पर्ने। निरक्षर मनमाया र साक्षर लैनबहादुरले कति दुख्ख गरे भन्ने कुरा उनका गोहोराको छालाजस्ता खस्रा औंला र हत्केला हेरे पुग्छ।

‘मनमाया जाने परिन् रे अम्रिकान, निधारमा चैं लेखेरै ल्याकी हुन् खत्रिनीले’ चर्चा चल्यो पानी पँधेरो, घरगोठ, मेलापात सबैतिर।

‘पर्‍या छैन जानु कसैको अम्रिकान सम्रिकान आफूलाई त, मर्ने बेलामा हरियो काँक्रो’ कसैले अमिलो अंगुरकै पारामा पनि भने भन्न त।

‘के मन लाग्ने बित्तिकै जान पाइहालिने तिनेरको पन्चमी बजार हो र अम्रिका?’ मुखै नखोले पनि मनमायाले मनमनै सेखी झारेकी हुन् आरिस गर्ने जोरीपारीको।

समाजको ढंगशैलीबमोजिम मनमाया खत्रिनी अम्रिका जाने हल्लाले कतिका पित्तपेटमा अम्ल बढ्यो होला, कतिका मनमा मजेत्रो, घडी वा केही अम्रिकन थोक हात पर्ला कि मनमाया फर्किँदा भन्ने आस गढ्यो होला। जे सुकै भए नि ‘देखासिकी गरी खा, आरिसे जति मरी जा’ मनमाया उड्ने नै भइन्।

***

जेठो धुर्बे जगतकै चम्बू निक्ल्यो भन्थे सबैले सानैदेखि। पढ्नमा नि तिख्खर बोलेर नि कसैले नजित्ने। कि कोइली चंख हुन्छ कि लैनेको धुर्बे भन्थे गाउँले। हुन नि धुर्बे १३ वर्षको हुँदै उसले ‘धुर्बे इज धुर्बे’ भन्ने देखाइसकेको हो। दिउसो सबै मेलापात गको मौका छोपेर घरमा कोही नभको ठानी मालमत्ता चोर्न आको लुखुरे चोरका पन्जाबाट कुन सड्का उम्केर चोरलाई घरभित्र पारेर बाहिरबाट चुकुल ठोकी छिनभरमा गुहार मारेर चोरका पाता फर्काउन गाउँले भेला पारेदेखि नै धुर्बे सेलिब्रेटी चंखेमा दरिएको हो छरछिमेकमा।

अर्काको छोरो र पो सबैले एकलखे लगाएर ‘धुर्बे’ भन्छन् त। लैन र मनमायाले छोराको कुरा गर्दा त हाम्रो ‘धुर्ब’ भन्छन् नि ! जस्तै, ‘हाम्रो धुर्ब नि अम्रिकामा डाक्डर हुने पढ्दै छु भन्छ तर बिरामी चैं नजाँच्ने खालको अरे।‘

यही धुर्ब ५ वर्षदेखि अम्रिकान बस्दै छ बिरामी नजाँच्ने डाक्डर नबनी छोड्दिन भन्दै। चम्बू हुनुको नाता बहिनी सिर्जनालाई नि कसोकसो गरेर परारका साल लागि छोड्यो उसले। गाउँको धुर्बले आफ्नो विद्या र चतुर्‍याईँको प्रभावले काठमाडौँमै घर भएका बाउकी एक्ली छोरी आयुसीसँग गाँठो जोडेको परारका साल। पोहोर कै साल बाबु पनि बन्यो शिशु छोरो आयुसको।

लैनका जोडीले आफूले जन्माई हुर्काई गरेको आफ्नो जेष्ठ पुत्रको बिहेबारी देख्न नपाका। उतै मन परापर गरेर जीवनसूत्रमा बाँधिएका उनेरु। आधुनिकताका मारे नाति र बुहारीको मुख एकैचोटी हेर्नु पर्ने कर्म खत्रिनीको। लैनेको नाति धुर्बेको छोरो आयुस। देखाउछ नामकरणको प्रकृतिले नै हाम्रो समाजको आधुनिकतातिर लम्केको पुस्तान्तर वृति।

उसै त आयुस जन्मेको खबरले लैनबहादुर र मनमायालाई जीवनमा खपिनसक्नुको खुसीले छोपेको त्यसमाथि सात पुस्तामा कसैले नदेखेको अम्रिका जान लागेकी घरबुडी।

‘मने पनि अम्रिका पुगेर नाति हेर्ने भई…कता अक्करमा जन्मेको म, कता अम्रिकामा जन्मेको नाति आयुस…अंग्रेजी त बज्याले लट्टे पड्के झैं पड्काउने भो पछि…मेरो रगत…’ लैनले नाति जन्मेको खबर सुन्दाका बितिक्कै दलिनतिर टोलाउदै खेलाएको हो यति कुरा मनमा। त्यही नातिको मुख हेर्न जान लागेकी मनमाया। हुन त धुर्बले दुबैजनालाई आउन कर गरेको हो तर घर, बस्तुभाउ, बालीबारी चटक्कै छोडेर पंख लगाउन कहाँ पाउनु गृहस्थीले।

***

मनमाया चुहाडेका खबतरी बस्नेतकी छोरी। चौध वर्षको उमेरमा ४० वर्षअघि लैनसँग अन्मिएर आए यता उही तीजतिहार छुस्स माइत पुग्नुबाहेक सधैंको चटारोमा बितेको छ उनको जोवन। घाँसदाउरा, मेलापात, पर्मपैंचो, पाहुनापासा, हाटबजार यिनै हुन उसले देखेजानेको संसार।

उहीले बिहे गरेको दोस्रो बर्ख गाउँका सबै जाने हुँदा लैनले उसलाई नि माइबेनी नुहाउन लगे बाहेक परारका साल पाठेघर दुखेर फत्र्याकफत्र्याक हुँदा मधेसमा जचाउन कान्छा देवर समशेरका साथ लागेर गकी हुन्। यति हो उनले देखेको बाहिरी संसार। भगवानले दिन आँटे भने धुरी उधारेर खन्याई दिन्छन् भनेको मनमायालाई पुगेको छ। एकैचोटी अम्रिका !

***

जीवनमा एकपल्ट नचडी मर्नु त के उड्दाउड्दा हारमाने दिकमाने भन्दा नि उडेको उडेई गर्नुपर्ने गरी एकदिन एकरात उडाएर ल्यायो त्यो उडन्तेले मनमायालाई जिउँदै स्वर्गमा। देखिजान्नेका साथ मिलाएर टिकस गरेको धुर्बले आमाको। त्यही भएर भुईं छोडेर जहाज उड्दा मनमनै सातो जानु बाहेक, माथि बादलमा जहाज पस्दा गड्याङगुडुङ हल्लिएजस्तो गर्दा उता एक्लै छोडेर आएको आफ्नो प्राणप्यारो खसम लैनलाई सम्झिनु बाहेक उनलाई केही उधुम आत्तुरी परेन।

घर छोडेको समय बिर्सेर बिरानो हुन्जेलसम्म उड्दा पनि कहिले नपुगिएको भोग्दा एकमन लागेको हो मनमायालाई, भेट त होला के नि आफ्ना नानीहरुसँग भन्ने, तर भयो। गालामा माक्कमुक्क मासु लागेको रातोपिरो, चिल्लो न चिल्लो छोरो धुर्ब, छँदाखाँदाको कपाल भसक्कै थाईकट काटेर टाउकामा टपरी घोप्ट्याए जस्तो पारेको कपाल र खुट्टे सुरुवालमा देखा परेकी सिउँदोमा सिन्दुर न गलामा पोते कि एक केटी, कपाल गुन्द्रुकसरि लट्टा पारेकी, हातगोडा गोरा न गोरा सलुकी, फुट्नेगरि कसेको जिन्स, आँखामा लाउनु पर्ने चस्मा सिधै टाउकाले लाएर आकास हेरेजस्तो, घर हुँदा खानेबेलामा दैलो थुनेजस्तो सधैं कि फुकिढल सेक मोटाएर दुई वर्षभित्रमै चिन्न नसक्ने गरी जुनी फेरेकी छोरी सिर्जे र एउटा गुडाउने गाडामा एउटा पिठोजस्तो सेतो न सेतो खाइलाग्दो बालक। यही हो विमानस्थलमा मनमायाका आँखाअगाडि देखिएका दृश्य।

मनमायाका आँखाले हर्कका आँसु थाम्न सकेनन्।

सधैं घोप्टेर पाउ ढोग्ने धुर्बले यसपाली ढाड निहुरेला कि जस्तो गरेर मनमायाका गोडा मात्रै छोयो हातले। मनमायाले धुर्बले के गर्न खोजेको मेसो नै पाइनन्। मुर्तिबत् उभिइरहिन्। त्यो टपरी टाउके केटीको पालो अब। त्यो सिधैं बढी मनमायातर्फ र जोड्न ल्याई गाला धुर्बकी आमासँग। सँगै निस्कियो ‘दर्शन मुमा’ मनमायाले केही बुझिनन् त्यहाँ के हुँदैछ भन्ने। अलिक लाज लागेजस्तो, अलिक निलोकालो भएजस्तो ट्वाँ परिन् मनमाया। त्यो केटीले गाला जोड्न ल्याउँदा अमेरिकी सुगन्धको कडा हरक मनमायाको नाकभित्र कुद्यो।

‘बुहारी’, धुर्बले चिनायो।

‘बुहारी?’ मनमाया मनमनै चित् खाइन।

‘न सिउँदोमा सिन्दुर, न घाँटीमा पोते। लुगा लाउनु छ तेस्तो।’ तर, छोराले बुहारी भनेपछि पो बुहारी हुने हो त। सिन्दुरपोते, चुराधागो, फरियाधोती, दण्डवत् पर्नामले बुहारी चिनिने जमाना नजोगिएको के पत्तो उनलाई।

सिर्जनाले आमालाई ढोग्ने लेठो गरिन। घरमा हुँदा छोरीले आमालाई ढोग्ने, गले लाग्ने कुन चैं संस्कार पो पाएकी हो र अघि सरोस् त ऊ पनि।
‘तेरी भाउजु अरे यो?’ बाटामा आमाछोरी मात्रै पर्दा मनमायाले कानेखुसी गरिन्।

‘के छ त चालामाला? सिल्सोभाउ कस्तो छ त? धनीमानीकी छोरी भन्छ, लुगा लगाको के हो तेस्तो, नाककान ठुट्इ बुट्ई देख्छु, न सिन्दुर छ टाउकामा, न पोते छ घाँटीमा’, आफ्नो पाराको बुहारीपन केही नदेख्दा आफ्नी बुहारीमा मनमायाले गोप्य परामर्श गरिन् आफ्नी छोरीसँग।

‘चुप लाग्नु, यहाँ यस्तै हो चलन। तपैंलाई चैं खाली नचाहिने कुरा गर्नुपर्ने’ उसै त बोली पर्न दिन्नथी सिर्जे, उसमाथि आम्रिका आकी किन बोल्न दिन्थी आमालाई?

***
भुइँबाट उँभो हेर्दा टाउको तेर्सिने गरिको अग्लो, माथिबाट तल हेर्दा रिङ्गटा छुटाउने अग्लो। पैंतीस तले सुइरोजस्तो ठडिएको बिल्डिंगको सत्ताइसौं तलामा उकाले मनमायालाई केटाकेटीले। सास हुरुक्क हुनेगरी चढ्नु परेन लिस्नु। के के थिचथाच पारे एउटा कोठाको दैलो उघ्रियो। भित्र पसाए, फेरि थिचे। तेसै भाउन्न होला जस्तो। जिउ हल्लिए जस्तो भाको मात्रै थियो मनमायालाई अघि धुरीमा पुर्‍यायो तेस कोठाले।

मनमायाले बार्दलीमा निस्केर तल हेरिन्।

‘मेरी आम्मा पताल नै पो देखिदो रछ त ! केइगरी भुँइचालो आयो भने त हड्डी पनि भेटिँदैन मान्छेको।’

‘लु हेर्नु’, मनमायालाई रातिको अम्रिका देखाउन धुर्बले बार्दलीमा निकाल्यो।

‘सधैंको दिपावली गरेजस्तो पो हुँदो र छ त।’

खरिदेले मधेस झार्न खेदेका भेडाबाख्राका बथान जस्तो चिप्लेकारका ताँती के राति के दिउँसो, जता जाउँ विकास नै विकास, घर, सडक, बजार, बिजुली, रेल, मोटर, खाइलाई केहीको पिर छैन, छाकैजसो सिखार छ भान्सामा, स्याउ, सुन्तला, अंगुर, केराको रास घट्ने होइन। खानेथोक पनि कति विधि? न नाम जान्नु छ न जिब्राले मान्नु छ। पिज्जा रे, बर्गर कि के जाति रे, मासुका लिँड बटारेका खानेकुरा उति। एक पाइलो हिँड्नु परेन ढोकैमा कारले खसाल्छ। मनमाया छक्कै परिन्। तेसै मान्छेले अम्रिका जान सास हालेका होइन रछन् भन्ने लाग्न मनमायालाई बेर नै लागेन।

उनलाई भने उही सेतो चामलको भात र दाल तिहुन बाहेक केही मुख लागेन। धन्न रायो इस्कुस्, मुला, फर्सी, बैगुन, बोडी, सिंबी, भिन्डी, धनियाँ, ज्वानो, मेथी इतिश्री पाइने रछ र आफ्नो खान्की नपाएर मनमायालाई अभर परेन।

***

भोलिपल्टदेखि नै धुर्ब, आयुस र सिर्जनाको कलपुर्जा जस्तो दैनिकी सुरु भैइगो।

धुर्ब बिहानै हिँड्छ पढ्न जाने भन्छ। बेलुका अबेर आउँछ।

‘के छ आमा?’ उसले सोध्ने बोल्ने तेती हो। खुरुक्क लुगा खोलेर धोइपखाली गर्छ अनि त्यही कम्पटर भन्ने खप्परका अघि बस्छ, तेसैसँग बोल्छ, बात मार्छ, हाँस्छ, छक्क पर्छ, नेपालमा यसो भएछ उसो भएछ भन्छ बेलाबेला। कुन धूनले पक्डेका बेला छोरो आयुसलाई बोकेर लोरी खेलाउछ अनि फेरी यन्त्रबत् उफ्रेर पुगिहाल्छ तेही कम्पटरमा। के लेख्छलेख्छ धुर्ब, दिनरात लेखेको लेखेई गर्छ।

बुहारी आयुसी ८ बजेसम्म सुत्छे अनि हतारहतार उठेर एक पेला कफी र एक लुर्को पाउरोटी निलेर निस्किन्छे। ‘मुमा बस्सिस्यो है’ उसले दिनैपिच्छे भन्ने तेती हो भने हुन्छ। पैले कता तालिम लिन हो न के पढ्न जान्छे रे अनि उतैउतै आफिस गएर राति कुन बेला आएर सुत्छे मनमाया खत्रिनीले थाहै पाउँदिनन्। बुहारीसँग भेट हुने भनेको हरेक २४ घन्टामा बिहान ९ बजेतिर ‘बस्सिस्यो है मुमा’ सुन्न मात्रै हो।

छोरी सिर्जना ९ बजे उठ्छे। उसको काम खाना पकाउनु, आफूले खानु र दाजु भाउजुको भाग त्यो ठण्डी दराजमा राखिदिनु, भदो आयुसलाई खुवाईपियाई गर्नु अनि बेबी सिटरकोमा उसलाई पुर्‍याउनु अनि ‘बस्नु है मम्मी’ भन्दै ११ बजे निस्किनु र भरे ९ बजे राति फिर्नु।

छोराछोरीको सधैंको तिरिखिरी सधैंको चटारो देखेर पहिलेकी ‘आमा’ मात्रै एकाएक ‘आमा’, ‘मुमा’ र ‘मम्मी’ भकी मनमाया तीन छक्क छिन्।

‘मम्मी के गर्नु भो दिनभरी?’ अरु भन्दा छिटो घर फिर्ने सिर्जनाले आमासँग बोल्ने गफ गर्ने थोरै कुरामध्ये मुख्य दैनिक प्रश्न हो यो।

‘के गर्नु नि बसेको बसेइ बसेको बसेइ गरें नि। कतै जाऊँ केही देख्नु जान्नु छैन। तिमेरको अम्रिकामा घरमा जस्तो सिकुवा, आँगन, कोठा, चोटा, छिमेकी, वल्लो घर, पल्लो घर, बारीकान्ला, गोठ कतै गएर अल्मलिने दिन काट्ने कुरा भएन, यही बस्ने गद्दा र त्यही ओछ्यानलाई धुलिमैदान पारो, यता फर्को, उता फर्को, हाइ काडो, बसो। दिन मरिगए जाँदैन। घरमा कोही छैनन् भनूँ भने छोरा, बुहारी, छोरी, नाति सबै भरिबन्नै छन्, छन् भनूँ कोहीको कसैसँग बोलचाल हुन पाउँदैन, उस्तै परे मुख देखादेख त नहुने र’छ एउटै कोठामा बस्ने मान्छेको कति दिन। टिभी हेरूँ केही बुझिँदैन, उता जस्तो मेरीबास्सै, हर्के हल्दार, लोकदोहोरी आउने होइन।’

‘हि हि हि…’ आमाका कुरा सुनेर सिर्जना हाँसी।

‘हाँस्छेस् नि तँ, म त छक्कै पर्छु, न घरमा पकाउनु तुल्याउनु सबै बसेर खानु परोस्, कुन बेला खाने कुन बेला सुत्ने न कुनै टुङ्गो छ, खान पनि एक मुठी पस्केको छैन भो भो भन्छौ, त्यही एउटा पाउरोटी भए पुग्ने रछ तिमेरलाई। यस्तै हो त सबैको अपहत्ते यो अम्रिका?’ मनमायाले भसक्कै ओठ लेप्र्‍याइन् अम्रिकाको चालामाला देखेर।

‘हि हि हि…’ सिर्जनाले फेरि हाँसो थपी। ‘मम्मी मेरीबास्सै हेर्ने? लु आउनु याँ’, सिर्जनाले इन्टरनेटमा सहस्र पाइने नेपाली टिभीका कार्यक्रमबाट मेरीबास्सै उधिनेर निकाली।

‘मेरी बास्सै…खानु न पिउनु हजुर लुखुरलुखुर हिन्यो…..’ उही धुन, उही परिचित लय र ताल घन्किँदा मनमायाको मन भरङ्गै भो।

‘हन आउँदो र छ त याँ पनि…’ खुसीले पुलकित हुँदै बसिन् मनमाया मेरी बास्सै हेर्न। त्यो गाउँघर, त्यो भाषाभेष, त्यो खिचातानी, त्यो आफ्नोपन। मनमायाले आँखा छिमिक्क नपारी एक टक लाइन मेरी बास्सैमा। एकपल्ट पुर्‍यायो मनमायालाई मेरी बास्सैले आफ्नै गाउँघरमा, बारी कान्लामा, आँगन सिकुवामा। मनै प्रफुल्ल भएर आयो उनको। यतिका दिनपछि मेरी बास्सैमार्फत आफ्नो मन गढेको भूगोल, पैतालाले चिनेको पाखापखेरा, झारजंगलको सुगन्ध, आँखामा सधैं ठोकिने रनवन यतिका सातसमुन्द्र तरेर काँ जान्छस् हराउने बिलाउनेका देशमा भने जस्तो आइपुग्दा पनि आँखा भरीभरी देख्न पाउँदा मनमायाको निरक्षर बौद्धिकताले आफ्नै तालको उत्सव मनायो।

‘हर्के हल्दार पनि निकाल निकाल’ मेरी बास्सै निख्रिन नपाउँदै मनमायाको अर्को फर्माइस आइगो। उनले धित मारेर हेरिन् लाहुरे बा र बाटेको लसपस, गोज्याङ्ग्रो हर्के हल्दारको चर्तिकला उसैगरी आफ्नै पाखापखेरामा पुगेर उतै डुबेर हराएर। घरमा हुँदा आफ्नो मन परेको मेरी बास्सै र हर्के हल्दार हेर्न बस्दा बिचैमा जाने बिजुली र पस्केको भात निल्न नपाई झ्याप्पै गएर कालीओडार पार्ने बाबुरामको लोडसेडिङलाई ‘तेरा पटक्क’ भन्दै सत्रपल्ट धारेहात लाउने मनमायाले एकपल्ट नि बिस्वाद भोग्नु परेन बिजुली अलपको।

‘ए नानी तँ कति कमाउँछेस् त हँ? दाजु कति कमाउँछ? भाउजुको कति हुन्छ? केही सोध्न पाको पनि छैन। भन्दैनौ पनि।’ मनमायाले बल्ल मुख फोरिन् कति दिनदेखिको धोको उनको सन्तानको डलर कमाइको राशि जान्ने।

‘छिः मम्मी पनि, कमाइसमाइको कुरा पनि सोध्ने हो?’ सिर्जनाले कमाइ सोध्नु ठूलै पाप नै हो झैं गरी एकै वाक्यमा आमाको मुखबुझो लाई।

‘तै पनि ता’ केही भनिहाल्छे कि भनेर आशाविहीन मनमायाले थपिन्। किन कहन्थी सिर्जेले अमेरिकाको आफ्नो गुह्य कुरा?

अत्तरको बास्नाले छोपेको अमेरिकी पीडा आमाको ज्ञानले जति बुझ्यो तेती हो, कसैले छिसिक्क केही चुहाएन कमाइधमाइको कुरा।

शनिबार र आइतबार बिदा हुने दिन। सबैजना घरमै हुन्छन्। मनमायालाई ५ बजे नै निन्द्राले छोड्छ। अरु कोही उठ्दैनन्। १०/११ बजे सम्म सुत्छन् अनि बल्ल उठेर नाकमुख धुन्छन्। मनमाया उठ्छिन्, बस्छिन्, बरन्डामा निस्किन्छिन्, फेरि फर्केर ओछ्यानमा आउँछिन्, टोलाउँछिन्, दिक्दार मान्छिन्। सबै सुनसान सुतेका छन्। प्राणपखेरुको कुनै आवाज छैन। नाति आयु बेलाबेला च्याँ गरेको सुनिन्छ। बाहिर तीन सल्ली घाम लागिसके दैलो कसैको उघ्रिँदैन।

‘तिनको ल्याप्टो चलाउन जाने पनि त नेपाली टिभी हेरेरे बस्ने थें नि’ मनमायाको मनको कुरा।

‘ए, मम्मी अघि उठ्या ?’ बल्लतल्ल सिर्जनाले ११ बजे उठेर तेती भन्दा मान्छेको आवाज सुन्न पाइन् मनमायाले।

‘उठें नि। केको निन्द्रा लागेको तिमेरलाई यो बेलासम्म ? म त छक्क पर्छु’, दिक्दारी पोखिन् मनमायाले।

‘आज शनिबार हो नि त मम्मी। बिदामा पनि नसुते कहिले सुत्नु त?’

‘ए राम्ररी सुत्न पनि शनिबार पर्खिनु पर्ने ?

धुर्ब उठेर नाकमुख धोएर सिधै तेही खप्परका अघि बस्छ। बुहारी उठेर कफी सुर्क्याउदै तेही ल्याप्टो काखमा लिएर बस्छे र औंला किरिमिरी किरिमिरी चलाई बस्छे । सिर्जना अर्को ल्याप्टोसँग जोल्ठिएकि छ टाउको उठाउने होइन।

‘एउटा आइप्याड किन्नु छ हो, सिर्जना किन्दे न हो बरु’ धुर्ब बोल्यो।

‘भैहाल्छ नि दा, याँ एउटा आइफोन किन्ने धोको कहिले देखिको आफ्नो’ सिर्जनाले तात्तातो जबाफ फर्काई।

‘बा, आइफोन फाइभ सी आको छ नि त्यो त म किन्छु है’ आयुसीको माग छ अर्को।

‘तिमीलाई गारो भो भनेको होइन? पहिले गाडी किन्नु परो नि तिमीलाई त।’ धुर्बले जोइको समस्या बुझ्यो।

‘के के किन्ने भन्छौ केही नाम जान्नु छैन, कति पर्छ त तिमेरको नकिनी नहुने तेसलाई?’ मनमायाले सहभागिता जनाइन् बर्तालापमा।

‘आमा याँ सबैका माग पुर्‍याउने हो भने त १० लाखले पुग्दैन। सिर्जनाको फोन ६० हजार, मेरो आइप्याड ५० हजार, आयुको ५० हजार अनि गाडी नभई भएन त्यसलाई कम्तिमा १० लाख’ धुर्बले विवरण दियो।

‘राम राम राम अनि कामाउँछौ तिमेर्ले पैसा, उता गाउँका मान्छे छोराले काँकाँ घडेरी किनो, कि काठमाण्डुमा घरै किनिसको भन्छन्’, मनमायाले आफ्नो सपना र समाजको अन्धसोचका पोका एकैचोटी फुकाइन्।

‘हा हा हा…काठमाडौँमा घर…याँ यो महिनाको नब्बे हजार रुप्याँ कोठाभाडा तिर्ने बेला भइसको’, धुर्ब बेफ्वाँकसँग हाँस्यो। मनमायाले छोराको हाँसोमा केही खुट्याउन सकिनन्। चुप बासिन्।

***

एवं रितले चल्यो अमेरिकाको ६ महिने बसाइ मनमायाको। कहिले झिलिमिली बजार लगे घुमाउन। कहिले जिमिनमुनी कुद्ने रेलमा चड्दा गाला र ओठ कतिखेरै नछुटाउने लबस्तरा लबस्तर्नीको लीला देखिन् मनमायाले र छोरीचेली बिग्रिने देश ठानिन् अम्रिका, कहिले समुद्री तटमा पुगिन् मनमाया र सबै कन्डो देखाएर पल्टेका “खेर गका” आइमाईको नाकमुख हेर्न आइपुगिएछ ठान्दै र सर्मको पसारोले भुतुक्क भएर अर्कापट्टि फर्किन्। आफ्नै नाकका सामुन्ने बुहारीले छोरो चुमेको, सिर्जनाले घुमिघुमी फोटो खिचिदिएको हेर्न नसकेर के गरुन् मनमाया? आकिछन् अम्रिका। जीवनमा लाउनु त के सोच्न पनि नसोचेको कुर्थासुराल उनेर आङमा बुचुङबुचुङ दगुरिन् जान्नेबुझ्ने सन्तानका पछिपछि मनमाया शनिबार, आइतबार अम्रिकाका गल्ली, सडक, बस, पार्क, रेल, बजार र तालतलैया।

एकैनासको बसाइ एकै नासको दैनिकी मनमाया मनमनै अघाइसकेकी थिन अम्रिकादेखि। उता एक्लै छोडेको पति लैनको गाईबस्तु, भातभान्सा, खेतीपातीसँगको हैरानी सम्झेर उनी बेलाबेला अतालिएकी हुन् पहिले नै। कहिले पुगुँ फाल तोडेर जस्तो भैसकेको उनलाई।

जून २६ मा उडिन् मनमाया आफ्नै प्यारो ओखरबोटे जान, बाउले खुट्टाको पानी खाएर जिम्मा लाको आफ्नो प्यारो खसम लैनसँगै बाँच्न लैनसँगै मर्न।

-एडमन्टन, क्यानाडा

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.