संस्मरण : रोगप्रतिरोधात्मक प्रेम

~अमर न्यौपाने~Amar Neupane

२०६८ साउन । स्कुल छुट्टी भएछ । तोर्पा घर हुने विद्यार्थीहरू उक्लिँदै थिए, म भने तोर्पाबाट बरगाउँतिर थिएँ । रलिङ स् कुल आइपुग्दा स् कुल सुनसान भइसकेको थियो । टीका सर भने धारामा टन्नै लुगा धुँदै थिए । अरूभन्दा तन्ना, सिरक तथा सिरानीका खोल धेरै थिए । मैले जिस् काएँ, “के हो सर, सुत्केरीका झैँ टन्न लुगा धुँदै हुनुहुन्छ त ?”

सुर्खेत घर भएका टीका सर असाध्यै रमाइला र फरासिला शिक्षक । उनले हाँस् दै भने, “ठेहेको फोहोर धोएको सर !”

उनले त्यति धेरै लुगा धुनुको रहस्य खोलिहाले, “हिजो हेडसर र रामजी सर ठेहे गएर आका । हेडसरले बाहिरै लुगा फुकालेर कट्टु मात्र लगाएर भित्र गए र नुहाएर नयाँ लुगा फेरे । रामजी सरले ठेहेबाट लगाएरै आएका लुगा लगाएर कोठाभित्र गए । त्यही लुगा लगाएर सुते । सिरक, तन्ना त सबै दिसैदिसा गनाएर बसिसक्नुभएन । तेही भएर धुन लागेको ।”

ओहो ! अब म के गर्ने होला ? भोलिपल्ट म ठेहे जाने र कम्तीमा एक साता उहीँ बस् ने भनेको । मेरो योजना सफल हुँदैन क्या हो ? म आत्तिएँ । टीका सरले भन्दै गए, “त्यति गर्दा नि हेडसर त पखाला लागेर सुतिराछन् भित्र । हामी कति वर्षदेखि यहीँ बसेकालाई त ठेहेको फोहोर पचाउन यति गाह्रो भको छ । खै सर, तपैँ ठेहे गएर बस् न सक्नुहोला जस् तो लाग्दैन ।”

त्यसपछि म माथि तलामा हेडसरलाई भेट्न गएँ । उनी त सिकिस् तै भएर सुतिरहेका रहेछन् । मैले सोधेँ, “के भो सर ?”

उनी सुस् तरी बोले, “ठेहे गएर आको सर । छानेर सफा घरमा खाइयो, बसियो भनेको त झन् यस् तो भो !” उनलाई त झाडापखाला लागेको रहेछ । सुतिरहेका उनले आधा जीउ मात्र उठाए र भित्तामा सिरानी राखेर आडेस लागे अनि भने, “भो सर ठेहे नजानूस् । तपैँं नयाँ मान्छे, त्यहाँ बस् न सक्नुहुन्न । थला पर्नुहुन्छ । फोहोर नै अचाक्ली । सोरौँ शताब्दीजस् तो छ गाउँ नै ।”

मलाई झन् जिज्ञासा जाग्यो । एक्काइसौँ शताब्दीमा सोह्रौँ शताब्दी देख्न पाउनु कम सौभाग्यको कुरा होइन । मैले बिहान गएर बेलुका फर्कने योजना सुनाएँ । उनले भने, “तेसो भने त ठीकै छ । तर, तेहाँ गएर केही नखानुहोला है सर । पानी पनि नखानुहोला । यसैबाट प्लास् िटकको बोतलमा लिएर जानुहोला । एक दिन बस् दैमा हेर्नु त मेरो हाल के भो ?”

अब म ठेहे कसरी जाने होला त ? एक सातासम्म ठेहे बस् ने मेरो सोच यसै तुहिने भयो भन्ने चिन्ता लाग्यो ।

तत्काल जानै सकिनँ । बिहानको खाना खाएपछि पनि तत्काल हिँडिहाल्न सकिनँ । दिउँसो दिउँसो आँट गरेर एक्लै बाटो सोझ्याएँ ।  जाँदा ओरालो भएकाले एक घन्टामा पुगिहालिन्छ । १ बजेतिर पुगेँ भने तीन घन्टाजति बसेर ४ बजेतिर फर्कनुपर्ला । उकालो भएकाले म नयाँ मान्छेलाई दुई घन्टा लाग्ला । ६ बजे बरगाउँ आइपुग्ने हिसाबले हिँडे ।

सानो झोला बोकेँ, जहाँ मेरा दैनिकी थियो । अनि, पानीको बोतल । ओरालैओरालो अप्ठ्यारो ओरालो । बाटोमा रूख धेरै थिएनन् तर मैले नाम नजानेका रूख धेरै थिए । हिँड्दाहिँड्दै थकाइ लाग्यो । एउटा रूखमुनि ठूलो ढुंगामा बसेँ । घाम पश्चिम ताक्दै थियो । म ठेहे ताक्दै थिएँ । निधार छामेँ, पसिना रसाएको थियो । आकाशतिर हेरेँ, बादल डम्म लाग्दै थियो । अब आकाश पनि रसाउन बेर छैन ।

परबाट एउटा मान्छे आउँदै गरेको देखेँ । सुनसान ठाउँमा मान्छे देख्ता आनन्द लाग्यो । नजिकनजिक हुँदै आएपछि उनको अनुहार पढ्न मिल्यो । अर्धबैँसे त्यो मान्छे ठेहेतिरकै जस् ता देखिन्थे । उनी घर पुग्नलाई नै होला, खहरेझैँ कुद्दै थिए । जब उनी मेरो नजिकै आइपुगे, जुरुक्क उठेँ र दस औँला जोडेर भनेँ, “नमस् कार दाइ !”

उनी मेरो नमस् कारले छक्क परे र भने, “तुमी को हौ त ? मोइले चिन्या नाइँ ?” मैले हार्दिकता देखाउन भनेँ, “म तपैँको भाइ हो ।”

आफ्नै नजिकका आफन्तलाई नचिनेर ठूलै गल्ती पो गरेँ कि भनेर उनी झन् अलमलिए । त्यसपछि मैले सहज भएर हाँस् तै भनेँ, “हामी सबै दाजुभाइ त हौ नि ! मेरो घर चितवन ।”

त्यसपछि बल्ल उनले सन्तोषको सास फेरे र भने, “तुमी परदेशी मान्ठ होऊ । तलीतिरका थुप्रै मास् टर आयाका छन् याँ पढाउन ।” मलाई सर्सर्ती हेरेर फेरि भने, “क्या तुमी पुनि पढाउन आया हऊ ?”
मैले भनेँ, “हैन दाइ । म त यसै तपैँको गाउँ घुम्न आको ।”

मेरो कम्मरमा क्यामेरा थियो । हातमा सानो झोला । उनले यिनै कुरालाई लक्षित गर्दै भने, “तुमी लेखापढी गर्ने पत्रकार हौ क्या ?”

मैले भनेँ, “हैन दाइ, लेखक मात्र हुँ ।” उनले भने, “ए, लेखनदास ! पत्रकारले नि लेख्छ, लेखनदासले नि लेख्छ । एकै त हुन् ।”

मैले यसै टाउको हल्लाएँ । हामी बात मार्दै हिँड्न थाल्यौँ । उनीसँग कुरा गरेपछि थाहा पाएँ, उनी सिमकोटको जिल्ला शिक्षा कार्यालयमा पियन रहेछन् । जिल्ला शिक्षा कार्यालयमा काम गर्ने भए पनि पढेका रहेनछन् । उनले भने, “लेप्च्या लाउन पर्दैन । मकन मेरो नाम लेख्न आउँछ । जोई र छाछुरीको नाम लेख्न आउँदैन ।” उनलाई आफ्नो नागरिकताको नाम मात्र लेख्न आउँछ, बिर्खबहादुर । बोलाउने नाम र न्वारानको नाम पनि लेख्न आउँदैन । उनी प्रत्येक साता शुक्रबार घर आउँदा रहेछन् र आइतबार बिहान सिमकोट फर्किंदा रहेछन् ।

आधा घन्टाजति हिँडेपछि ठेहे गाउँ देखियो । उनको घर गाउँको माथि नै पर्दोरहेछ । म उनको पछिपछि लागेँ । उनको आँगन टेकेपछि उनले सोधे, “तुमी याँ कसका घर आया हौ त सर ?”
मैले हाँस् तै भने, “अहिले त यी दाइको मै आएँ ।”
– “तिम्बा कोई मान्ठ छिम क्या ?”
– “जसले बास दिन्छ, उही आफन्त दाइ ।”

उनले भने, “तुमी परदेशी हौ । याँहुडो सिमकोटाजस् तो होटल नाइँ । हाम्बै घरमा बोइताछिन् आज ।” यसो घोरिएर उनले खिन्न हुँदै भने, “तर, हाम्बा घरमा चागल (चामल) नाइँ ।”
मैले भनेँ, “मलाई चामलको भात मन पर्दैन दाइ ।”

मेरो कुरा उनले पत्याएनन् र भने, “चागल भात खान मन नपरन्या को होलान् संसारमा ?”
तैपनि उनले सोधे, “केको मन पर्छ त तिमीलाई ?”
मैले भने, “तपैँहरू जे खानुहुन्छ, त्यही मन पर्छ ।”

उनको आँगनमुनि फोहोरमा कुखुराले भुईं खोस्रिरहेका थिए । घरमा कोही देखिएनन् । उनी घरभित्र पसे । धेरै बेरसम्म निस् िकएनन् । घरसँग जोडिएको घरको थाडा (छत)मा दुई आईमाई पालैपालो एकअर्काको जुम्रा मार्दै थिए । सायद जुम्राभन्दा धेरै बात मार्दै थिए । मैले कान थापेर बात सुनेँ । जुम्रा हेर्दै गरेकीले भनी, “बिर्खबहादुर त भ्याल (उत्पात) धनाढ्या भयो ।”

अर्कीले भनी, “क्यान न हो त ? ऊ सिमकोटका पिउन हो । मुइनापिछे हात्ती बुझ्छ । हामी भेडा हुन्या मान्ठ डाल्टा (गरिब) हुन्छौँ । ऊ हात्ती हुन्या मान्ठ धनी हुन्छ ।” लुगा फेरेर बिर्खबहादुर बाहिर निस् िकए एक्लै कराए, “जोई काँ गई हो त ? छाछोरी काँ गया हुन् ?”

लौ एकैछिनमा साँझ पो पर्न लाग्यो । अब त फर्कन पनि भ्याइन्न होला । त्यति टाढा उकालो बाटो म एक्लै कसरी फर्कन सकूँला ?

जे सुकै होस् । हेडसरजस् तै बिरामी हुनुपरे पनि परोस् । बस् छु आज यतै । मनमनै अठोट गरेँ । त्यसपछि एकछिन उनीसँग गाउँ डुलेँ ।

प्राय: घरहरू सबै एकै ठाउँमा जोडिएका । आआफ्ना घरको थाडामा कोही काम गरिरहेका कोही सुल्फा सल्काइरहेका, कोही ढुंगाको ओखलमा चिनु फलिरहेका, कोही बाख्राको ऊन कातिरहेका । सानासाना केटाकेटीहरू भने कोही खेलिरहेका, कोही आफ्ना भाइबहिनीलाई पिठ्यूँमा बोकिरहेका । कतिपयचाहिँ यसै घरको थाडाथाडै हिँडिरहेका । ठूलै जात्रा लागेजस् तो लाग्ने । बिर्खबहादुरले भने, “याँहुडो पान सया घर हुनन् सर । याँहुडो कैको घरमै पुनि चर्पी नाइँ ।”

छक्क पर्दै मैले सोधेँ, “घरमा नभए पनि बारीमा त होला नि चर्पी ?” उनले हाँस् तै भने, “बारीपाखा सबै चर्पी नै हुन् सर ।”

केटाकेटीहरू भने थाडामै यत्तिकै दिसा गर्दै थिए । तिनका आमा दिसा सोहोरेर थाडाबाटै बारीतिर हुर्‍याउँदै थिए । उनले भने, “पैलापैला त बाटउडइ दिसा गर्दा थिया । राजाको बाटउडो नहगी काँउडो हग्ने भन्थी । तलितिरउडा मास् टर हग्न जाँदा पानी बोकी लिन्छन्, ती खान्छन् क्या हो भन्थी ?” उनले अगाडि भने, “हो, हाम्बो सुमाज एइतै हो सर ।”

बेलुका खाना खाने बेला भयो । साँघुरो भान्छा । बत्ती बले पनि अँध्यारैजस् तो भान भइरहेको थियो । पकाउने भाडाहरू सबै काला थिए, किनेदेखि नै नमाझेजस् ता । हामी खान बस् यौँ । उनका केटाकेटीले खान सुरु गरिसकेका थिए । उनकी श्रीमतीले ठूलो बटुकोमा कालो कसौँडीबाट एक डाडु सिमी हालिदिइन् । मैले भने, “भो भाउजू, पुग्यो । ” – “मीठोमीठो खान्या हौला सर । एइतो के खाँदा हौ ?”

मैले ढाँटेर भनेँ, “हाम्रोतिर पनि यस् तै खाने हो भाउजू । मीठो छ ।” एकदम दिगमिग लागिरहेको थियो । कसरी खाने होला ? तैपनि, मीठो मानेझँै खान थालेँ । सिमी पकाएकी रहिछन् । दाल, भात, तरकारी भन्नु नै त्यही सिमी मात्रै थियो । सिमीमा पानी र नुनबाहेक केही थिएन । खाँदै जाँदा त मीठो पो लाग्यो । मैले दुई डाडु थपेँ । त्यसभन्दा बढी थपेँ भने उनलाई भाग पुग्दैन जस् तो लाग्यो ।

बिर्खबहादुर दाइले भने, “क्या गन्र्या सर, सिडियोले चागल दिएन । हाकिम र व्यापारीकनै त पुगेन गरे । हामीकन क्या दिनन् त ?”

खान चैँ खाएँ तर अब के हुने हो ? थाकेर हो या साता दिनमा बल्ल श्रीमती भेटेर हो, उनी सुत्न हतारिए । मलाई माथि थाडाको कोठामा सुत्ने ओछ्यान लगाइदिए ।

फेरुवा ओछ्याएको थियो । तन्ना थिएन । साँघुरो कोठामा साँघुरो खाट । सुतेको केही बेरपछि निदाउन मात्र के लागेको, शरीरभरि के हो के हिँड्न थाल्यो । ठूलै हुल हिँडेजस् तो लाग्यो । उपियाँ र सुलसुले होलान् पक्कै । कताकता ओछ्यानमा दिसा गनाएजस् तो पनि लाग्यो । सोचेँ, भोलि मेरो हालत हेडसरको भन्दा बढी हुन्छ । अब मलाई हैजा लाग्छ । हैजा लागिहाल्यो भने मलाई यहाँबाट सिमकोट अस् पतालसम्म पनि कसले पुर्‍याउला ?

थाहै भएन राती कतिखेर निदाएँछु । ब्यूँझदासम्म मलाई न पेट दुखेको थियो, न टाउको । म एकदम ठीकठाक थिएँ । प्राय: कब्जियत हुने मेरो दिसा बरू बिहान हुनेबित्तिकै खुलिहाल्यो । पेट हलुका भयो । जीउ ताजा भयो । दिउँसो भयो, मलाई केही बिसन्चो भएन । फेरि भोलिपल्ट भयो, मलाई केही भएन ।

यसरी मैले थाहै नपाई ठेहेमा नौ दिन बिताएँ । अचम्म मलाई एक दिन पेट पनि दुखेन, टाउको पनि दुखेन । बर्खाको बेला त्यहाँका मानिसलाई रुघा लाग्दा मलाई रुघा पनि लागेन । लाग्छ, सबैभन्दा ठूलो रोगप्रतिरोधात्मक तफ्व प्रेम हो, जुन मैले ठेहेमा पाएँ । नौ दिनसम्म म ठेहेमा बसेँ । ठेहेलाई धेरै कोणबाट पढेँ । म सन्चै बरगाउँ पुग्दा हेडसर, टीकासरलगायत सबै सर दंग परे ।

प्रकाशित: आश्विन ३०, २०७२

(स्रोत : Nepal Saptahik)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.