~दीपेन्द्रसिंह थापा~
उकालो ओरालो त यात्रा हो
सँगै सुसेल्नु छ
फेदी र शिर
सँगै गुन्गुनाउनु छ
फाँट र भिर ।
हिउँद बर्खा त भोगाइ हो
हर मौसम
फुल्नु छ आस्था
हर बिहान
खुल्नु छ उज्यालो …
दुःखसुख त अनुभूति हो
पग्लनु छ
मनको याम
अग्लनु छ
जीवनको आयाम …
त्यसैले त
माटोको महकमा हुन्छु म
बाटोको चहकमा हुन्छु म
आस्था ओढेर शिरमा
आफ्नै विश्वासमा हुन्छु म ।
(स्रोत : शब्दाङ्कुर चैत २०७०)