शुन्य शुन्य रङ्गमंच एक्लै नाँच्न मन लाग्यो
आफ्नै त हो पीर ब्यथा सबै साँच्न मन लाग्यो !!
धर्ती छाडी आकाशमा उड्ने मेरो रहर थियो
धुलो संगै प्रीत बस्यो रहर मास्न मन लाग्यो !!
सिरेटोको सुसेलीमा बिलाउँदा सारा प्रहर
शुन्यताको चिर हरी एक्लै बाँच्न मन लाग्यो !!
खुशी के हो सोँच्थे सँधै कस्तो होला बुझ्नलाई
उर्ली आउने छाल सँग साइनो गाँस्न मन लाग्यो !!
हेर्दै थिएँ क्षितिजमा झुल्किन्छ कि जून भनि
आफ्नै मुहार देखेँ प्यारो साँचि राख्न मन लाग्यो !!
नवीन लामा `सुरेश`
पृथ्वीनगर १ झापा नेपाल
(स्रोत : Nabin Lama’s Blog )