विज्ञानले आफ्नो शक्ति देखाइरहेको थियो । कुरा आजभन्दा सय वर्षपछि अर्थात् वि.सं. २२७१ सालको हो ।
एम्बुलेन्सले एक जना वृद्ध नेतालाई बेहोस अवस्थामा ठूलो अस्पतालमा लग्यो । उनलाई निकै महँगो लाइफ सेभिङ सुई दिइयो, जुन त्यो बेला चिकित्सा विज्ञानले पत्ता लगाएको थियो ।
होसमा आएपछि उनले भने— ‘यसभन्दा अघि मल्टिपल अर्गान फेलियर भएर सबै भाइटल अर्गानको ट्रान्सप्यालेन्ट गरेको थिएँ । बल्ल म सय वर्ष पुगें । राष्ट्रपति बन्ने धोको छ । कान्छी पत्नी बल्ल बीस वर्ष पुगिन् । मलाई शारीरिक एवम् मानसिक रूपमा जवान हुनुपर्नेछ । पैसाको चिन्ता छैन । स्विस बैंक, चाइना बैंक, इन्डिया बैंकदेखि प्रत्येक महादेशमा थुप्रै पैसा छ मेरो । पहिले कृत्रिम एवं मृत व्यक्तिको मस्तिष्क, मुटु, फोक्सो, कलेजो, किड्नी, स्नायु आदि प्रत्यारोपण गरेकोले स्वास्थ्य राम्रो भएन । यसपटक जीवित व्यक्तिहरूको सम्पूर्ण अङ्ग प्रत्यारोपण गर्नुप¥यो ।’
मानवता शून्य भएका पैसामा डुब्ने डाक्टरहरूले भने— ‘तपाईंका सबै अङ्ग ड्यामेज भएका छन् । छाला पनि रिपियर गर्न नमिल्ने भएको छ । फेरि अङ्गहरू म्याच पनि हुनुप¥यो । घटीमा दस जना स्वस्थ व्यक्ति तपाईंका लागि वलिदान हुन तयार हुनुपर्दछ । यो सम्भव छैन । हामी अर्गान बैंकमा रहेका अङ्ग प्रत्यारोपण गर्छौं । केही वर्ष स्वास्थ्य लाभ हुन्छ ।’
वृद्ध नेताले भने— ‘लिनुहोस् यो स्विस बैंकको अनलिमिटेड कार्ड । भोलि सहरमा दङ्गा हुनेछ, प्रहरीले बल प्रयोग गर्नेछ । सबै एम्बुलेन्सले घाइतेहरूलाई यही अस्पतालमा ल्याउनेछन् । उपचारको क्रममा उनीहरूको मृत्यु हुनेछ ।’
(स्रोत : रचनाकारको लघुकथा संग्रह “एकलब्य दृष्टि” बाट सभार )