साहित्यिक भलाकुसारी : ‘संकटको बेला साहित्यकारले नबोले कसले बोल्ने’

~पारस नेपाल~Paras Nepal

डा. राजेन्द्र विमल बढीजसो जनकपुरमा बसे पनि नेपालभरका भाषासाहित्यप्रेमीले श्रद्धासाथ लिने नाम हो । प्राध्यापनमा चार दशक बिताएका उनी नेपाली र मैथिलीमा समान दक्षतासाथ कलम चलाउने स्रष्टा हुन् । नेपालीमा उनका ‘राजेन्द्र विमलका कथाहरू,’ ‘खहरेको तिर्खा’ (उपन्यास), ‘मिथिलाको इतिहास, संस्कृति र कला परम्परा,’ ‘गद्य, पद्य र नाटक’ (समालोचना), ‘फिस्टी रानी’ (बाल साहित्य) आदि प्रकाशित छन् । मैथिलीमा उनले कथासंग्रहहरू ‘इतिहासक घाओ,’ ‘पचास वर्ष मैथिली कथा’ र ‘ई हमरे कथा थिक,’ गजलसंग्रह ‘सूर्यास्तसँ पहिने,’ नाटकहरू ‘सीता’, ‘नौटंकी चलिरहल अछि’, ‘दोहाइDr Rajendra Bimal बाबा भुँइयाँ’ जस्ता कृति निकालेका छन् । हिन्दी र अंग्रेजीमा समेत कलम चलाउने विमलले टेलिसिरियल, फिल्म, गीत र कविताहरू पनि लेखेका छन् । उनले जगदम्बाश्री पुरस्कार, साझा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, विद्यापति पुरस्कार, गोपालप्रसाद रिमाल सम्मान, कुलचन्द्र कोइराला सम्मान, मिथिला विभूति, वैद्यनाथ सियादेवी पुरस्कार प्राप्त गरेका छन् । ६६ वर्षीय यी स्रष्टा पछिल्लो कथासंग्रह ‘समयका आँखा’ सार्वजनिक गर्न हालै काठमाडौं आएका थिए ।

‘समयका आँखा’ का अधिकतर कथाहरूमा मधेश आन्दोलन र त्यसले चुल्याएको जातीय वैमनस्यप्रति तपाईंका औडाहा अभिव्यक्त भएका छन् । यसको कारण के हो ?

नेपाली विषयको प्राध्यापनको सिलसिलामा म कहिले मधेशमा रहें त कहिले पहाडमा । मलाई सबैले अत्यन्तै सम्मान र स्नेह दिए । पहाडे भनिएका समुदायहरूसित पनि मेरो पारिवारिक जस्तो सम्बन्ध विकसित भयो । ती साथीहरूप्रति मधेश आन्दोलनको नाममा दुर्व्यवहार भयो । जतिखेर पहाडे समुदायलाई विस्थापित गरिँदै थियो, तिनका घरमा ढुंगा हानिँदै थियो, छोरीबेटीलाई बलात्कार गरिँदै थियो, त्यसको विरोधमा कसैले चुइँक्क बोल्ने आँट गरेन । समुदाय-समुदायबीचको वर्षौंदेखिको प्रगाढ सम्बन्धलाई, आपसी स्नेह, प्रेम, आत्मीयतालाई नेताहरूले सत्ताको लागि खलबल्याइदिए । विभिन्न सुन्दर नारा दिएर यिनीहरूले नेपाली-नेपालीको बीचमा फुट ल्याए । योदेखि म ज्यादै द्रवित भएँ । मलाई असह्य भयो । यस्तो बेलामा चुप लाग्नु हुँदैन भनेर मैले त्यही औडाहाको अवस्थामा यी कथाहरू लेखेको हुँ । यी कथा काल्पनिक होइनन्, वास्तविक हुन् ।

जस्तो ?

‘ऐंजेरु’ का कथाका मुख्य पात्र प्रभु ढुंगेल अहिले त्रिचन्द्र क्याम्पसमा प्राध्यापनरत मेरा मित्र ईश्वर ढुंगेल हुन् । कल्पिता उनैकी छोरी हुन् । वीणा मेरी श्रीमतीको नाम हो । ‘लंकाकाण्ड’ कथाको नायक मै हुँ । त्यो आन्दोलनको बेला मैले दुवै समुदायलाई सम्झाउने धृष्टता गर्दा दुई थप्पड खानपर्‍यो । म त्यति बेला नेपाली टोपी लाउँथें । मलाई देख्नासाथ मधेसी आन्दोलनकारीहरू ‘पहाडी दलाल मुर्दावाद’ भन्थे र गाला चड्काइदिन्थे । जनकपुरकै एक छिमेकीले ‘टोपीमा मात्रै थोडी राष्ट्रियता हुन्छ र ? अब नलाउने गर्नुस्, ज्यान त जोगाउनुपर्‍यो नि’ भनेकाले मैले ढाकाटोपी लाउन छोडेको थिएँ । त्यहीताका तथाकथित पहाडेहरूको अर्को समूहले एक दिन बाटोमा देखेपछि ‘उः मधेसे आयो’ भन्यो, सम्झाउन खोज्दा अर्को चड्कन खानुपर्‍यो । वातावरणै त्यस्तो थियो । मेरा कथाहरू स्वानुभूतिबाट, त्यही अनुभवको सत्यबाट जन्मेका हुन् । मैले तिनलाई उद्घाटन गर्ने कलात्मक चेष्टा मात्रै गरेको हुँ ।

जनकपुरमै बसेर मधेस आन्दोलनका नकारात्मक पक्षलाई मुखर पारिरहँदा जीउज्यानको धम्की पनि पाउनुभएको थियो, होइन ?

सबै जातिलाई एकजुट गर्नुपर्छ, सम्मान गर्नुपर्छ भन्ने धारणा मैले निकै पहिलेदेखि राख्दै आएको हुँ । यसको प्रतिफलको रूपमा मधेस आन्दोलनभन्दा अगाडिदेखि धम्की पाइरहेको हुँ । त्यति बेला जनकपुर साहित्य परिषद्को म अध्यक्ष थिएँ, मुन पौडेल सचिव हुनुहुन्थ्यो । पिडारी चोकमा महाकवि देवकोटाको सालिक राख्नुपर्छ र त्यो ठाउँलाई देवकोटा चोक भनाउनुपर्छ भनेर हामीले पहल गर्‍यौं । एक दिन मलाई मधेशका लागि परम श्रद्धेय गजेन्द्र बाबूको फोन आयो । उहाँले भन्नुभयो, ‘तपाईंहरूले त्यस्तो धृष्टता गर्नुभयो भने हामी जनकपुरमा रगतको खोलो बगाइदिन्छौं ।’ अरे बाप रे बाप ! मैले उहाँलाई सोधेको थिएँ, ‘जुन सालिक हृदय-हृदयमा ठडिएको छ, त्यसलाई तपाईं के गरी ढाल्नुहुन्छ ?’ मान्छेहरू अहिले पनि मदेखि चिढिएकै छन् । यौटा छोरो मारिन्छ, आमा चिच्याउँछिन्, त्यो सुनेर कुद्दै आउँछन् थरीथरीका चस्मा लगाएका मान्छेहरू । माओवादीको चस्माले त्यो छोरोलाई सामन्त देख्छ, मधेसवादी चस्माले त्यसलाई पहाडे देख्छ र ठीकै भयो भन्छ, पहाडवादी चस्माले मारिने मधेसे हो भन्छ र ताली बजाउँछ । कति दुर्भाग्यपूर्ण कुरा हो यो ! सबै यौटा न यौटा कित्तामा बाँडिएका छन् । सबैले नेपाली चस्मा पो लगाउनुपर्छ त ! यी सत्तालोलुपहरू किमार्थ नेपाली होइनन् । हामीले नेपाल कहिल्यै गुलाम भएन भनेर गलत इतिहास पढिरहेका छौं । सत्य के हो भने यो देश सुरुदेखि नै गुलामको गुलाम नै छ । यस्तो संकटको अवस्थामा साहित्यकारहरूले सत्य नबोलिदिए कसले बोल्छ, भन्नुस् त ?

यो मामिलामा आफू एक्लो परे जस्तो लाग्दैन ?

सत्यको उद्बोधनमा कोही न कोही त लाग्नैपर्ने हुन्छ । यो देश कुनै जातजातिको पनि होइन, सबै जातजातिको पनि हो । नेपाली जनताको संघर्षको कथा खोइ ? त्यस्ता कथा लेख्ने बेला हो यो । गुलामीलाई स्वेच्छाले वरण गर्नेहरू थोरै छन् । नेपाललाई साँच्चै माया गर्नेहरूको संख्या विशाल छ । सबै एकजुट भएर यी मुठीभर गुलामहरूलाई पो बाटोमा ल्याउनुपर्छ । यिनलाई यो घरको मायै छैन, उत्तर वा दक्षिणलाई साँचो बुझाउन जो पनि तयार छन् । सत्य प्रकटीकरण गर्दै हिँड्दा कुन भूमिगत गिरोहले आएर मलाई हान्दिन्छ, ठेगान छैन । तैपनि म आफ्नो आत्मासँग बेइमानी गर्न सक्दिनँ ।

जातीय विखण्डनको त्यो पानी झन् धूमिल हुँदै गएको छ कि अलि सङ्लिँदै आएको छ ?

पहिलेको भन्दा निकै सङ्लिएको छ । तराई मधेसका आम जनताले धेरै पश्चात्ताप गर्न थालेका छन् । मधेशवादीहरूले त्यो आन्दोलनलाई सत्ताको सिंहासनसम्म उक्लिने बाटो बनाएका रैछन् भन्ने बुझिँदै आएको छ । त्यतिखेर मैले जनकपुरतिर ठट्टा गर्ने गरेको थिएँ, जसको नामै (मधेशी जनअधिकार) फोरम छ, त्यसले जोड्ने काम किमार्थ गर्दैन भनेर । नभन्दै त्यो पार्टीभित्रै सत्र टुक्रामा विभाजित भएको छ । त्यहाँका जनताले बुझे नि, त्यो यौटा राजनीतिक खेल थियो र सत्तामा जाने मेलो मात्रै थियो भनेर । तर अहिले वातावरण सामान्य हुँदै आए पनि खाटा मेटिन सकेको छैन । तीज, दसैं जस्ता चाडपर्वको रौनक हराएको हरायै छ । त्यस्ता पुराना सम्बन्धहरूलाई सम्झेर मान्छेका आँखाहरू रसाउने गरेका छन् । धमिलो पोखरीमा सानैदेखि उजीउजी (लुकामारी) खेलेका, आँपघारीमा हिँडेका, सँगै काँक्रा चोरेका साथीहरू फर्कन सकेका छैनन्

मूलधारको साहित्य लेखनमा यस्ता विषयले कत्तिको ठाउँ पाए जस्तो लाग्छ ?

मधेसका कुरा मैले जुन कोणबाट उठाउने गरेको छु, त्यही कोणबाट त्यस्तै मुखर रूपमा विषयहरूको उठान हुन सकेको छैन । यद्यपि नेपाली साहित्यमा त्यो भेगले निकै अघिदेखि ठाउँ पाउँदै आएको छ । ध्रुवचन्द्र गौतमको ‘अलिखित,’ सनत रेग्मीका कथाहरू, नयनराज पाण्डेका ‘उलार’ र ‘लू’ उपन्यास केही उदाहरण हुन् । साहित्य मूक इतिहासको मुखर सहोदर हो । जसरी वनस्पतिशास्त्रीले कुनै पातलाई छोएर त्यसले कति घामपानी पाएको छ भनिदिन सक्छ, त्यसरी नै कुनै पनि जातिको साहित्य हेर्‍यो भने त्यो जातिले कस्तोकस्तो चरण पार गरेछ भन्ने छर्लंग हुन्छ । त्यसैले साहित्यको स्वरूप संश्लिष्टात्मक हुन्छ । इतिहास, भूगोल आदि पढ्दा तपाईंले तत्तत् विषय मात्रै पढ्नुहन्छ, तर साहित्य पढ्दा इतिहास, भूगोल, समाजशास्त्र, मनोविज्ञान सारा कुरा समष्टिमा पढ्नुहुन्छ । अहिलेका लेखकहरूमा समकालीनताको स्वर प्रखर रूपमा पाइन्छ ।

नेपाली भाषाले अन्य मातृभाषाहरूलाई उठ्न दिएन भन्ने आरोप लाग्ने गरेको छ । तपाईंको अनुभव समान छ कि भिन्न ?

त्यस्तो आरोपमा म पूर्णतया सहमत हुन सक्तिनँ । सबभन्दा ठूलो कुरा सम्बन्धित साहित्यको स्तरवृद्धि हो । त्यसको लागि हामीले साधना गर्नुपर्छ । साहित्यमा आएका नवीनतम प्रवृत्ति र शैलीहरूलाई चिन्न सक्नुपर्छ । त्यसपछि तिनको समकक्षतामा पुग्न लेखन साधना गर्नुपर्छ । तर यसमा अप्ठयारो के रहेछ भने, हामीलाई लेखेरै बाँच्न सक्ने अवस्था आइसकेको छैन । पाठकहरूमा आफ्नो भाषासाहित्यप्रति स्नेह त बढेको छ, तर त्यो अपेक्षा अनुरूप छैन । यसमा हामीले बंगालीहरूबाट सिक्न सक्छौं । सम्पूर्ण भारतको जनसंख्याको तुलनामा बंगालीहरूको संख्या निकै थोरै छ नि, तर उनीहरू आफ्नो भाषासाहित्यप्रतिको प्रेमले सबैभन्दा बढी भरिएका छन् ।

हाम्रो समाजमा चाहिँ साहित्य कस्तो लेखियो भन्दा पनि कसले लेख्यो भन्ने कुराले बढी महत्त्व पाएको गुनासा सुनिन्छन् नि ?

सबैतिर यही प्रवृत्ति छ, मात्राको मात्रै भिन्नता हो । वर्डस्वर्थका कविता उनी मरेको सय वर्षपछि धेरै प्रचलित भए । कुनै लेखक पढिनु-नपढिनुमा व्यावसायिकताको कुरा पनि आउँछ । नाम नचलेका लेखकलाई छाप्न प्रकाशकले आनाकानी गरिहाल्छ नि । नामै नसुनेका लेखकको राम्रै कृति रहेछ भने पनि पाठकहरूले भेट्नेबित्तिकै पाना पल्टाइहाल्दैनन्, सुरुमा आफू नठगिनेमै आश्वस्त हुन चाहन्छन् । तर रचनामा सामर्थ्य छ भने समय क्रममा त्यसले यथोचित स्थान अवश्य पाउँछ । भवभूतिले भनेका छन् :

उत्पत्स्यतेहि मम कोऽपि समनधर्मा

कालोह्यंनिर्वधिरं विपुला च पृथ्वी ।

अर्थात्, समय अविच्छिन्न हुने भएकाले यत्रो ठूलो पृथ्वीमा मेरा रचनाले कोही न कोही पाठक अवश्य पाउनेछन् ।

आफूलाई ढाडस दिन मैले पनि मैथिलीमा यौटा प्रतीकात्मक शेर बनाएको छु :

चाहे त हमर खून के, इतिहास लिखय पानी

नशा हमर उतरत नहि हम ओ शराब छी ।

अर्थात्, मेरो रगतलाई इतिहासले पानी भने पनि म त्यस्तो रक्सी हुँ, जसको नशा उत्रिंदैन ।

प्राध्यापकीय जीवनबाट अवकाश पाउनुभएको दुई वर्ष हुन लाग्यो । लेखनलाई निकै समय पाइरहनुभएको होला ।

प्राध्यापनको कालखण्डमा मैले लेख्ने समय नपाएकै हुँ । त्यतिखेर मेरो यौटै मात्र लक्ष्य अत्यन्त लोकप्रिय शिक्षक, प्रोफेसर हुने थियो । हरेक विद्यार्थीका ओठमा मेरो नाम रहोस् भन्ने हिसाबले मैले प्राध्यापन गरें । नभन्दै त्यसमा केही हदसम्म सफल पनि भएँ । रिटायर्ड भएपछि एकदम घुँडा धसेर लेख्छु भनेको, दुई वर्ष पुग्न पाएको छैन, अनेक रोगहरूले गाँज्न थालेका छन् । तर लेखन नै मेरो साहस हो, मेरो जीवन हो । मेरो अर्को कुनै आकांक्षा छैन । मैले देखेको नेपाल, मिथिलाको समाजका सत्य अनुभूतिहरूलाई छोडेर जान चाहन्छु, आउँदा पुस्ताहरूको लागि ।

मैथिल भाषासाहित्यको वर्तमान अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

मिथिलाको समाज कुहिएको सुन्तला जस्तो छ । बाहिरबाट हेर्दाखेरि लोभलाग्दो छ, भित्र चैं खान नसकिने छ । मैथिल भाषासाहित्यको उन्नयनमा धीरेन्द्र प्रेमर्षि, रमेश रञ्जन, रोशन जनकपुरी, अशोक दत्त, अमरेन्द्र यादव, दीपक झा आदिको यौटा वर्ग समर्पित छ । यो आत्मघाती दस्ताले भोकभोकै बसेर पनि मैथिलीमा लेखन गरिरहेको हुन्छ । तर मिथिला समाजको ठूलो हिस्सालाई मैथिली तेरो पनि साहित्य, संस्कृति हो भनेर बुझाउन अझै पनि बाँकी छ । मैथिली मिथिलावासीमध्ये पनि उच्च वर्गको मात्रै भाषा हो, दलित वर्गको होइन भन्नेहरू पनि छन् । मैथिलीको उन्नति भयो भने अभिजात वर्गको मात्रै उन्नति हुन्छ भन्ने भ्रम पाल्नेहरू पनि छन् । मैथिली आफ्नो मातृभाषा हुँदाहुँदै पनि मेरो मातृभाषा हिन्दी वा बज्जिका वा अंगिका वा मगयी हो भनेर आफ्नो आमाको लागि सौता खोज्नेहरू पनि छन् । कुनै राजनीतिक लाभ पाउन वा अन्य कारणले कसैकसैलाई सत्य स्वीकार्न अहिले गाह्रो भइरहेको होला । मालिकहरूलाई रिझाउन पनि त्यसो भनिरहेका होलान् । तर सत्य सत्य नै हुन्छ ।

तपाईंका रचनाहरूमा हास्य रसको छोप बढी पाइन्छ । यसको रहस्य के हो ?

साहित्य जीवनको प्रतिविम्बन हो । त्यसैले लेखन विश्वसनीय हुनुपर्छ । हाम्रो समाजमा जति सकारात्मक पक्षहरू छन्, विद्रुपता र विसंगतिहरू पनि त्यति नै छन् । ती विद्रुपताहरूले हास्य भाव पनि प्रकट गरिरहेका हुन्छन्, तर सबै स्रष्टाको नजर त्यता नपरेको हुन सक्छ । म चाहिं तिनमा ध्यान दिइरहेको हुन्छु । तर मेरो सेन्स अफ ह्युमर हास्यात्मक र रसात्मक मात्रै छैन, यो विचारोत्तेजक र उद्बोधक पनि छ ।

‘समयका आँखा’ मा संगृहीत ‘घर’ कथा प्रेमचन्दको ‘दो बहनें’ बाट निकै हदसम्म प्रभावित लाग्छ नि ?

मैले भारतका पनि धेरै साहित्यकारहरूलाई पढेको छु । प्रेमचन्द, रवीन्द्रनाथ टैगोर, शरच्चन्द्र चट्टोपाध्याय, मोहन राकेश आदि मेरा प्रिय लेखक हुन् । तर लेखनमा मैले आफ्नै शैली, शिल्पलाई अघि बढाउँदै आएको छु । ‘घर’ त्यही विशेषता भएको कथा हो । मैले प्रेमचन्दको त्यो कथा पढेको छैन । विषयवस्तु मिले जस्तो लाग्छ भने त्यो संयोग मात्रै हो ।

(स्रोत : कान्तिपुर – कोसेली )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in साहित्यिक भलाकुसारी and tagged , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.