एउटा अनुसन्धानमा जुटेको छु आजभोली
मलाई यो पत्ता लगाउँनु छ कि,
दृश्यहरू फरक हुन्छन् या आँखाहरू ?
म सँग एउटा ठुलो प्रयोगशाला छ
मेरो प्रयोगशालामा घाम र जून छन्
जमिन र जङ्गल अनि खोलानालाहरू छन्
होचा अग्ला पहाड र पर्वतहरू छन्
अनि छन् काला र सेता आँखाहरू
साना र ठूला आँखाहरू
घामको प्रकाश हिमालमा छर्छु र सोध्छु
ए आँखा हो के देख्यौ ?
”चाँदी जस्तै फूलेकी मेरी आमा देंखे ”
”घामको प्रचण्ड रापले पग्लिएर उचाई गुमाउँदै गरेको निरिह ढुङ्गो देंखे ”
कुनै आँखाले माउन्ट एभरेष्ट देखे
कुनै आँखाले सगरमाथा देखे
कुनैले चोमोलोङ्मा देखे
दृश्य उहि हो तर कति धेरै भिन्न हेराइ
कुनै आँखाले जूनमा दाग देखे
कुनै आँखाले त्यहिँ दागलाई
प्रियसीको शुन्दर मुहारमा शृंगारीत
गाजलु र टिका देखे
किन यस्तो देखिन्छ ?
के यि आँखाहरूमा बिम्बित हुने दृश्य कपटी छ ?
जो हरेक आँखामा फरक दृष्टी बिम्बित गराउँछ
म सबै आँखाहरूलाई एकत्रित गरेर भन्छु कि
म सँग यस्तो रेटिना छ
जसले दृश्यलाई सघन र पारदर्शी देखाउँछ
जसले जमिन र जङ्गल लाई भागबण्डा देख्दैन
जहाँ कुनै कपटी हेराई हुँदैन
रातोलाई रातो र कालो लाई कालो देख्ने क्षमता राख्दछ
हो म यो रेटिना तिमीहरूमा प्रत्यारोपण गर्न चाहन्छु
के तिमीहरू यो चाहन्छौ ?
प्रयोगशालामा खैलाबैला मच्चियो
केहि आँखाहरू मै बिरूद्ध नाराबाजीमा उत्रिए
हामी माथी ठुलो सड्यन्त्र हुँदैछ भन्दै
प्रयोगशाला नै तोडफोड गर्न तयार भए
हो सघनता पारदर्शिता र समानता हेर्न सक्ने रेटिना
मैले प्रत्यारोपण गर्न सकिन आँखा हरूमा
यो शुन्दर प्रयोगशाला नै ध्वस्त हुने डरले
मैले प्रत्यारोपण र अनुशन्धान दुवै
स्थगित गरेको घोषणा गरें
म असफल बैज्ञानिक
दु:खी हुँदै मेरो खोज सार्वजनिक गर्छु कि
“दृश्यहरू फरक हुन्नन् कपटी आँखाहरूको हेराई फरक हो ”
म चाहन्छु
मेरो खोज कसैले गलत सावित गरोस्
जस्तो कि
उहिले उहिले पृथ्वी लाम्चो थियो
अहिले गोलो छ |
मीरा मन थापा
माईधार झापा, हाल इज़रयल
(स्रोत : Gfnl)