~गणेश खड्का~
सृस्टिको उषाकालमा
रामापिथेकस बाराजुले छोडेको
घुर्मैलो सभ्यताको धराप लिस्नो टेकेर
तङ्ग्रिदै-लत्रिंदै, देखिदै बिलाउदै गरेका
स्वनामधन्य जन्तुहरुको सक्कली बिमोचनमा
मेरो स्वकिय अनुसन्धाता मन
आफ्नै समूहका अस्पष्ट अस्थिपन्जरहरुबिच
कुरुप सभ्यताको खास्टोभित्र
स्याउँस्याउँती मान्छेहरुको थाकबाट
एउटा असल मान्छेको न्वारन गर्न चाहन्छ ।
मान्छेहरुको शिविरमा गधाहरु भेटिन्छन्
लोक दिक्षित हुनुपर्ने विश्वबिध्यालयहरु
राँगा र साँढे भर्ती केन्द्रका अखडा बन्दछन्
चितुवा स्वभाव प्रशिक्षित शैक्षिक संस्थाको गेटबाट
थर्थरी खुट्टा कपाउँदै म-
एक झुल्को मानवताको कालो पाटी नियालिरहेछु ।
मेरो सोधपत्रको खाली पानाहरु अपुरै रहलान्
अनुसन्धानका शैक्षिक शत्रहरु अधुरै छोडिएलान्
यद्दपी मेरो अघोषित शहिद मन
मान्छे हुनुको स्वधर्म नासिने फिटफिटीले
आफ्नै बगालभित्र पटकौं मर्दै-बौरिदै गरेका
जिउँदा लाशहरुको गोदामघरबाट
सुसंस्कृत सत्य मान्छे खोज्न लालायित छ
गोरुहरु मान्छे जस्ता कहिल्यै देखिएनन्
भेडाको बथानमा- भेडा जस्तै लाग्छन् भेडाहरु
बाख्राहरु भेडासँग मिसिंदैनन्
कुकुर र बिरालोको स्वभाव भिन्न छ
मान्छे जस्ता मात्र लाग्ने मान्छेहरुको चर्को भिडमा
एउटा बिउ सभ्य मान्छे खोजिरहेछु म ।
गाउँ-बस्तीमा मान्छेहरु छन्
शहर बजारमा मान्छेहरु नै देखिन्छन्
सडकमा – सदनमा
सत्तामा -भट्टिमा
हुँदा हुँदा जङ्गलमा पनि
यत्र-तत्र सर्वत्र मान्छेको राज छ
निचोरेको कागती जस्ता अनुहार बोकेर
मानविय संबेदना हराएका
नसा रगत सुकेका मानव कङ्कालहरुबिच
मान्छे नै मान्छेको हालिमुहालीमाझ
म भने मान्छे नै खोजिरहेछु ।
म धुईँधुईँती खोजिरहेछु मान्छे
अक्करे भिर जस्ता जीवनहरुमा
र मखमली भुषण जस्ता जोबनहरुमा
मेरो मान्छे खोज त्यहाँ पनि छ
मान्छेद्वारा चपाइएका मान्छेका अनुहारहरुमा
मान्छे मार्फत सताइएका मान्छेका जिवनहरुमा
मान्छे सँगै डराएका मान्छेका मनहरुमा ।
भाईचारा,नैतीकता,सद्भाव र मर्यादामा
पशु जत्ती पनि अनुशासित बन्न नसकेका
मान्छेहरु अधिनस्थ ईलाकाहरुबाटै
म यो उर्दी गर्न चाहन्छु –
मैले सिमाङ्कन गरेको मान्छेको कित्तामा
असली मान्छेको मन बोकेर आओ
आफ्नो अस्तित्व र पहिचान लपेटेर
मानविय झन्डाका साथमा आँफैं सूचिकृत बन
किनकी मैले चिन्नै सकिरहेको छैन यहाँ
कथित मान्छेहरुको साम्राज्यमा
बाँदरहरु…
र मान्छेहरु… ।
भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )