आफ्नै मनसँग भुनभुनाउदै
यि अक्षरहरुको काव्यिक हरफ बुन्दै
आज तिमीसँग
आत्मालाप गर्दैछु आमा
सायद
मलाई सुन्दैछौ तिमीले
तिम्रो मनले/धड्कनले ।
उ…त्यो पहाडमा
कति उमँगका गुँराशहरु फुल्दै झरे होलान्
कति दुःखको पहिरो गयो होला
कति विपत्तीको डढेलो लाग्यो होला ।
विचरा त्यो पहाडलाई
कति धेरै चराहरुले चटक्कै छाडेर गयो होला ?
त्यो पहाडको भन्दा कम छैन
तिम्रो दुःख पीरका सुस्केराहरु
आमा तिमीले नि
त्यै पहाडसँग मितीनि लाए हुन्छ
तिमीहरु दुबै उस्तै-उस्तै:अटल/अडिग ।
समयको निष्ठुरी छालले हुत्याउदा
तिमीबाट टाढा–टाढा हुँदोछु
खै समयलाई पनि के दोष दिनु हगी ?
म आफ्नै बैंशालु चाहनाको पखेटा हालेर
बेथानचोक डाँडा माथी–माथी उड्दै
यो विरानो शहरमा विस्थापित हुन आईपुगेँ
अव नि आमा !
सुनकेशरी रानीको कथा सुन्दै
तिम्रो काखमा फुसफुस्ती निदाउन पाउँला ?
तिम्रो काखमा बसेर
जून मामासँग निश्फिक्री कुरा गर्न पाउँला र ?
अव नि आमा !
रिठ्ठे धामीको मेलाबाट
जोगाएर ल्याएकी खाजा–भुटेको मकै र जुनेलो
तिम्रो पोल्टाबाटै दाइ दिदीसँगै
खोसोखोस गर्दै खान पाउँला ?
ओहो…!
अढाई दशक उमेरको समुहले
मलाई युवाको पगरी गुथाईसकेछ
यो काठमाण्डौ खाल्डोमा बसेर
तिम्रो ध्वाँसे छोरा-अमेरिकातिर घाँटी तन्काउदैछु
तिम्रो सिँगाने छोरा-युरोपको सपना बुन्दैछु
तिम्रो सिकुटे छोरा-विश्व परिक्रमा कल्पिदैछु ।
तिमी पत्याउ या नपत्याउ आमा!
उही तिम्रो ध्वाँसे/सिँगाने/सिकुटे म माइला छोरा
यो ब्यस्त शहरको एउटा कुनामा बसेर
भर्चुअल दुनियाँका
उत्तरआधुनिक अराजक ठिटीहरुलाई
आँखा झिम्काउने भैसकेछु
सत्य !
तिब्वत आगन्तुक दर्लामी
साल्धारा, काभ्रे
(स्रोत : Fyangkhola )