कथा : भौजी आमा

~कृष्णराज सर्वहारी~Krishna Raj Sarwahari

“दुलाहाको उमेर पुगेकै छ, सैभल्वासँग के मतलब?” छेवैकी अर्की बोलिन्।

“किन मतलब छैन? दुलाहालाई केही भइहाल्यो भने सैभल्वाले दुलही लिनुपर्दैन?” पहिलीले जोड दिएर भनिन्। दाजु भुख्लाको बिहेमा सैभल्वा बनेको सुख्ला साँच्चै सानो थियो। घरमा भाउजू भित्रिएपछि उसलाई आमा पाएजस्तो भएको थियो। केही दिनमै उसका गालाबाट सिंगानका टाटा र घाँटीमा जमेको मयल गायब भए। त्यसपछि पो ऊ सैभल्वा जस्तो देखिएको थियो।

पाँच दिदीमुनि भुख्ला जन्मँदा परिवारलाई खानै पुग्दैनथ्यो। त्यही कारण उसको नाम भुख्ला रह्यो। उनीहरूको जेठी दिदीको नाम पनि भुख्ली थियो। १२ वर्षपछि खोला फर्किन्छ भन्छन्, सुख्ला जन्मिँदा भने घरको आर्थिक अवस्था सुधि्रएको थियो। त्यसलाई चरितार्थ गर्न कान्छा छोराको नाम सुख्ला भएको थियो। सुख्लालाई दिदीहरूको अनुहारै याद थिएन। दाजुको बिहेमा पनि बुह्रान गइसकेकामध्ये जेठी दिदी मात्र आउन सकिन्। कान्छीलाई त जमीनदारको छोराले बेपत्तै पारेको थियो। हल्ला अनेक थियो। कोही भन्थे– शहरमा रानी बनाएर राखेको छ। कोही उहिल्यै बेचिसक्यो भन्थे।

सुख्ला ९ महीनाको छँदा दाउरा काट्न जंगल गएका बा–आमा वैशाखे हुरीले फैलाएको डढेलोमा परेका थिए। दूधमुखे टुहुरोले धन्न हजुरआमाको काख पायो। हजुरआमा बितेको धेरैपछि उसलाई भौजीको माया नसिव भएको थियो। ऊ स्कूल जाने भयो। स्कूलमा सिकेका सुख्लाका गीत सुन्दा देवरलाई छातीमा टाँसेर भौजी भन्थिन्, “ओहो, मोर डिउरा कत्रा मजा गीत सुनैलाँ।”

आफू मट्ठु रहे पनि भाइ पढेर ठूलो मान्छे बन्ने भयो भनेर भुख्ला पनि मख्ख पर्थ्यो। त्यसमाथि सुख्लाले कक्षा ८ को अन्तिम जाँचमा ‘सक्हुन जिटम’ (सबैलाई जित्नेछु) भनिदिएको थियो। तर, एक दिउँसो ऊ स्कूलबाट रुँदै आयो। उसको जीउभरि नीलडाम थियो। आत्तिएकी भौजीले ‘नाहीं के पिटल मोर डेउराहे, किहीसे झ्ग्रा खेल्लो?’ भन्दै तेलबेसार घसिदिएपछि सुख्लाले भन्यो, “मस्टरवा पिटल।”

स्कूलमा केटीहरूको बेञ्चमा कसैले काउसो राखिदिएछ। छुल्याहा पत्ता नलागेपछि दोस्रो घण्टीमा गणित पढाउने मण्डल सरले पछिल्लो बेञ्चका सबैलाई ठटाउने सुर गर्दा पहिलो मार सुख्लामा पर्ने भएछ। तर, सरले हात थाप् भन्दा उसले ‘मैले हुँदै होइन’ भन्दै अटेर गरेछ। त्यही साँझ्बाट उसलाई ज्वरो आयो। साता दिनपछि तंग्रिएको सुख्ला खेतमा दाजुलाई बिहानको कल्वा (खाना) पुर्‍याउन गयो।
“स्कूल काजे नै गैले?” दाजुले सोधे।

“आव मै स्कूल कब्बु नै जैम।”

दिउँसो फेरि ऊ दाजुका लागि मिझ्नी बोकेर खेतमा पुग्यो।

“त्यसलाई किन स्कूल जान नभनेको?” राति भुख्लाले रामगदौलीलाई करायो। “स्कूल जालान् भनेर झ्न् छिटो खाना ख्वाएको, आज दाजुलाई कल्वा पुर्‍याउन जान्छु भनेर जिद्दी गरे।”

“त्यसले जिद्दी गरेर हुन्छ? नपढेर मैले कति दुःख पाइरहेको छु…।”

दाजुभाउजूको कुरा सुन्दै पल्लो कोन्टीमा निदाएको सुख्ला एकाबिहानै गोरु फुकाएर खेतमा पुग्यो। गोठमा गोरु नदेखेर अत्तालिएको भुख्ला करायो, “ए रामगदौली, यहाँ गोरु नै हुइट। कोइ चोराइल का?”

रामगदौली देवरको कोन्टीमा पसिन्, खटिया रित्तो थियो। भुख्ला दौडेर खेत पुग्दा सुख्ला गोरु नार्दै रहेछ। उसले मुस्कुराउँदै भन्यो, “दाइ, तपाईं आज आली लगाउनुस्।”

रामगदौली टुकुटुकु हिंड्न लागेको छोरा बोकेर दाजुभाइलाई कल्वा लिएर आइन्। “अई बुढा, देवर अब नपढ्ने अरे, बिहा गरिदिनुपर्‍यो यिनको। कल्वा र मिझ्नी पुर्‍याउन देउरानी नै आउलिन्, मलाई हाइसञ्चो”, यति भनेर उनी घरतिर लागिन्। भुख्ला आली लगाइरह्यो। दिउँसो गोरु चराउन हिंड्यो सुख्ला। दुई दिनपछि रोपाइँको लागि खेत तयार होला भनेेको, आजै तयार भयो।

आधा रोपाइँ सकिएपछि भुख्ला बिरामी पर्‍यो। गुरुवाले निको पार्न नसकेपछि लमही बजारको मेडिकल पसलको औषधि खायो। त्यसले पनि नछोएपछि घोराही गयो। र पनि, बीसको उन्नाइस नभएर नेपालगञ्ज गएपछि सिकलसेल भएको पत्ता लाग्यो। त्यसपछिको उपचारले तंग्रिन ठ्याम्मै दुई महीना लाग्यो। यस वर्षको रोपाइँ सुख्लाले नै उतार्‍यो। भुख्लाले मनमनै सोच्यो– अर्को साल त यसलाई स्कूल पठाउनैपर्छ।

अर्को दिन एउटा गोरुले दाम्लो छिनाएर अर्कोलाई हानिरहेको रहेछ। भुख्ला लट्ठी लिएर गोठमा छिर्‍यो। झयाप्प दाह्री बढेको कमजोर जीउको भुख्लालाई आफ्नै गोरुले चिनेन कि क्या हो, हान्न पो आयो। तीखो सिङले भुख्लाको टाउकोमा भेटिहाल्यो। ऊ रगतपच्छे भएर त्यहीं ढल्यो। रामगदौली आइपुग्दासम्ममा उसको प्राणपखेरु उडिसकेेको थियो।

वरखी सकिंदा नसकिंदै गाउँलेहरूले सुख्ला र रामगदौलीको कुरा काट्न थाले। उनीहरूलाई भने त्यसको केही पत्तो थिएन। बरघरबाट बोलावट पनि आइहाल्यो। बरघरकै आँगनमा बैठक डाकिएको रहेछ। आत्तिएकी रामगदौली महिला र सुख्ला पुरुषको बगालमा छिरे।

“शान्त हो जाओ भैयो”, बरघरले कुरा थाले, “हेर पटुहिया (बुहारी) तिमीलाई थाहै छ, मेरो पनि गाउँछिमेकमा मानमनितो छ।”

“हमनसे का गल्ती हुइल जे बाबा?” रामगदौलीले डराउँदै सोधिन्।

“टोहार ठरुवा विटल फे एक वरस हो गैल। टोहार डेउरा फेन जवान बा। गाउँघरक मनै डेउरा भौजीसँगे सुट्ठाँ। ओइनके भोज कै डेउ कैहके आज यी बैठक बैठल बा। टुँ का कहठो?” बरघरले उल्टै सोधे।

रामगदौलीलाई आफू उभिएको जमीन भासिए जस्तो लाग्यो। उनको आँखा टिलपिल–टिलपिल हुन थाल्यो।

“कसले देख्यो हामी देउर–भाउजू सुतेको? बडघरको मात्रै इज्जत हुन्छ?” अचानक सुख्ला उत्तेजित भयो।

बरघरले उसलाई घुरेर भने, “चुपा रोह रै भैया, मै टोर भौजीसे पुछँटु। टुहीसे नाही। घरक गरढुरिया टे उहाँ हुइ जे।”

“हाम्रो देउर भाउजूको नाता विटुलिएको छैन” रामगदौलीले हात जोडिन्, “मेरो छोराको कसम, बिन्ती छ!”

“छोराको कसम खाँदैमा हुन्छ?” भीडबाट कोही करायो।

“तिम्रो बिहेको जन्तीमा सुख्ला नै सैभल्वा थियो। दाजु नभएपछि ऊ दुलाहा बन्नुमा केही नराम्रो छैन” अर्कोले सम्झ्ाउन खोज्यो।

“पटुहिया, म क–कसको मुख थुनौ? यो गाउँमा बस्नु छ भने कुरा मान। समाज भाँडिन दिनु पनि त भएन नि”, बरघरले गम्भीर पारामा भने, “आज दिउँसो भोजको तयारी गर, साँझ् तिमीहरू रीतपूर्वक लोग्ने–स्वास्नी भएपछि कुरै सकिन्छ।”

यसरी बरघरले बैठक टुंग्याएपछि रामगदौली र सुख्ला घर फर्किए। समाजले भर्खरै ठरुवा–जन्नी बनाइदिएको उनीहरू दुवैको मुखमा ताल्चा कसिएको छ। सुख्लाले टाउको निहुर्‍याएकी भौजीलाई हेर्‍यो। लोग्नेको मृत्युपछि पीरले सुकेको ज्यान, गालामा मुँजा पर्न थालेका छन्। नाक, कान बुच्चो छ। झुत्राले जीउ छोपिएको छ। उसले भौजीमा आमा देख्यो।

सुख्लाको हालत पनि त्यस्तै छ। कामले खाएको ज्यान सोह्र सत्रैमा कुप्रो पर्दैछ। भौजीले पुलुक्क हेरिन्– च्यातिएको टी–शर्टले उसको आधा जीउ मात्र ढाकेको छ। उनलाई अभिभावक भएर देवरको लुगामा ध्यान दिन नसकेकोमा पछुतो लाग्यो। उनले सुख्लालाई स्याहार नपुगेको छोरा देखिन्।

त्यसको केही दिनपछि सुख्लाले भाउजूको लागि लहंगा, कुर्ता, झोवन्ना र रिवन ल्यायो। ती उपहार ओल्टाई–पल्टाई हेरेपछि रामगदौलीलाई यसअघि कहिल्यै नभएको पीडाको अनुभूति भयो। उनलाई लाग्यो– आखिरमा सुख्लाले पनि आफ्नो जात देखाइछाड्यो। जवान हुँदै गरेको लोग्नेमान्छे हो, साथीभाइले उक्साए होलान्। हेर न, आज स्वास्नी बनाउँछु भनेर नानाथरिका चिज ल्याएको! त्यही बेला बिस्तारै भौजीको कोन्टीमा पसेर सुख्लाले भन्यो, “आज आमाको मुख हेर्ने दिनमा छोराले लुगा ल्याइदिएको… आज त आमाले मीठो चिजबिज पनि पकाउनुपर्छ।”

रामगदौलीका आँखा आँशुले पुरिए। सुख्लाले विस्तारै भौजीको टाउँको समायो, निधारमा चुम्यो अनि खस्रा हातले आँशु पुछिदियो। रामगदौलीको गला बस्यो, देवर चाहिं भौजी आमाको खुट्टा छोएर ब्रोइलरको मासु लिन चौराहातिर कुद्यो।

साहित्य विशेष मंगलबार, आश्विन २१, २०७१

(स्रोत : हिमालखबर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.