डोल्माको चौंरीगाईले निक्कै राम्रो झाली बाच्छो पाएको थियो। डोल्माको परिवार गर्मी समयमा लेकमा बस्थे र जाडोको समयमा उनीहरू गाउँतिर झर्थे। लेकको गोठदेखि माथि सबै खुल्ला नागी थियो। बिहानै चौंरी र भेडाहरू फुकाएर डोल्मा माथि डाँडासम्म पुर्याउँथिन् र आफू स्कुल जान्थिन्।
डोल्माका बुबाआमा खेतबारीमा मकै, फापर आदि छर्ने, आलु गोड्नेलगायतका कामहरू गर्थे। चौंरी, भेडा र च्याङ्ग्राहरू दिनभरि टाढाटाढा डाँडाको टुप्पोसम्म चर्न जान्थे र बेलुकी झमक्क साँझ परेपछि मात्र गोठमा फर्कन्थे। स्कुलमा डोल्माका थुप्रै साथीहरू थिए। उनी स्कुलमा जति रमाउनु रमाउँथिन्, जति खेल्नु खेल्थिन्। लेकको गोठमा बसुन्जेल स्कुलबाट फर्किएपछि डोल्माका खेल्ने अरू कोही साथीहरू थिएनन्। उनका साथी भनेकै तिनै भेडाबाख्रा थिए। चौंरीले झाली बाछो जन्माएपछि उसलाई नयाँ साथी पाएजस्तो लाग्यो। डोल्मालाई झाली बाच्छो एकदमै राम्रो लाग्थ्यो। झाली पनि डोल्मा स्कुलबाट घर आएको थाहा पाउनेबित्तिकै बाँ बाँ गरेर कराउँथ्यो।
यसरी झाली कराउँदा डोल्मालाई निक्कै रमाइलो लाग्थ्यो । उनलाई लाग्थ्यो झालीले मलाई नै बोलाउँदैछ । त्यसैले डोल्मा आफ्नो होमवर्क सकेपछि केही समय झालीसँगै खेलेर बिताउँथिन्।
दसैं आउन केही समयमात्र बाँकी थियो। दसैंका लागि डोल्माको स्कुल पनि छुट्टी भइसकेको थियो। डोल्माको बुबाले गाउँको घरमा झर्ने सबै व्यवस्था मिलाई सक्नु भएको थियो। डोल्माका लागि नयाँ जुत्ता र लुगाहरू पनि किनिसक्नु भएको थियो।
डोल्मालाई गाउँमा बस्न एकदमै रमाइलो लाग्थ्यो। किनभने गाउँमा उनका थुप्रै साथीहरू थिए। स्कुल जाने साथीहरू पनि प्रशस्तै थिए भने खेल्ने साथीहरू पनि उत्तिकै थिए। त्यसैले यसपालिको दसैं आफ्ना थुप्रै साथीहरूसँग रमाइलो गरेर मनाउन डोल्माले आफ्ना सम्पूर्ण खेल्ने सामानहरूलगायत पढ्ने किताबहरू झोलामा राखिसकेकी थिइन।
डोल्माको आत्तिएको आवाज सुनेर डोल्माका बुबा पनि दौडँदै गए। गोठमा पुगेर हेर्दा त झालीको घाँटीबाट भलभल रगत बगिरहेको रहेछ। डोल्माका बुबाले झालीको घाँटीबाट बगिरहेको रगत रोक्न हत्त न पत्त बनमारा माडेर झालीको घाउमा लगाई दिनुभयो। तर झालीलाई गहिरो चोट परेकोले रगत थामिँदै थामिएन।
अर्को दिन बिहानै डोल्माले सानो झोला ठीक पारिसकेकी थिइन्। उनलाई कतिबेला गाउँ जाउँ भइसकेको थियो। डोल्माका बुबाले सबै चौंरी र भेडाहरू फुकाएर उँभो नागीतिर खेदे। झाली बाच्छो गोठमा एक्लै थियो। डोल्माले बुबालाई भनिन्, ‘बुबा हामी पनि गाउँ जान्छौं, चौंरीहरू पनि चर्न गई हाले अब यो झाली एक्लै कसरी बस्छ? यसलाई पनि बिस्तारै लैजाऊँ।
डोल्माको कुरा सुनेर डोल्माका बुबाले भन्नुभयो, ‘हुन त तिमीले भनेको ठीकै हो तर झालीलाई लगेपछि उसको आमा जानै मान्दैन त्यसैले झाली र उसको आमालाई सँगै लानुपर्छ।’
डोल्माले फेरि भनिन्, ‘झालीलाई केही हुँदैन त? ‘डोल्माको बुबाले उनलाई विश्वस्त पार्दै भन्नु भो, ‘हामी ३, ४ बजे त गाउँबाट फर्किहाल्छौं। त्यतिबेलासम्म दिउँसै हुन्छ। दिउँसै त के हुन्छ र खासै केही फरक पदैन।’
त्यसपछि डोल्माले आफ्नो सानो झोला बोकिन्। डोल्माको बुबाले ढाकरमा थुप्रै सामानहरू राखेर आफूभन्दा ठूलो भारी बोक्नुभयो। डोल्माकी आमाले भान्साका सामानहरू बोकेर बुबाले जस्तै ठूलो भारी बोकिन्।
डोल्माका बाबा अगाडि अगाडि डोल्मा बीचमा अनि डोल्माकी आमा पछाडि लागेर बाटो लागे । त्यसैबेला झाली ठूलो आवाजमा बाँ बाँ गरेर करायो । डोल्माले झालीलाई हेरिन् । झालीले उनैलाई हेरर कराइरहेको थियो।
डोल्माले झालीलाई हेरेर भनिन्, ‘बस्दै गर है झाली हामी तँलाई लिन आइहाल्छौं।’ यति भनेपछि उनीहरू सरासर अगाडि लागे। अलि पर पुगेपछि डोल्माको बुबाले पनि पछाडि फर्केर आफ्नो गोठतिर हेरे । झाली बाँ बाँ गरेर कराइरहेकै थियो।
डोल्माको परिवार गाउँको घरमा सम्पूर्ण कुरा मिलाएर करिब ५ बजेमात्र गोठमा फर्किए। डोल्माले गोठ पुग्नुअगाडि बुबालाई भनिन्, ‘बुबा झाली त कराउँदैन त किन चुप लागेको होला ? ‘बुबाले भन्नुभयो, ‘बसिराखेको होला नि त।’
गोठमा पुग्नुअगाडि नै डोल्मा अगाडिअगाडि दौडँदैदौडँदै गोठतिर लागिन्। गोठमा पुग्नासाथ एक्कासि चिच्याइन्, ‘बुबा झालीलाई त के भएछ ?’
डोल्माको आत्तिएको आवाज सुनेर डोल्माका बुबा पनि दौडँदै गए। गोठमा पुगेर हेर्दा त झालीको घाँटीबाट भलभल रगत बगिरहेको रहेछ। डोल्माका बुबाले झालीको घाँटीबाट बगिरहेको रगत रोक्न हत्त न पत्त बनमारा माडेर झालीको घाउमा लगाई दिनुभयो।
तर झालीलाई गहिरो चोट परेकोले रगत थामिँदै थामिएन । झालीले एक पटक पुलुक्क डोल्मालाई हेर्यो र उसले चारै खुट्टा तनक्क तन्कायो। डोल्मालाई भने के भएको हो पत्तै भएन।
डोल्माको बुबाले झालीलाई त चितुवाले मारेछ भनेपछि डोल्मा एक्कासि चिच्याउँदै झालीझाली भनेर रोइन् र झालीलाई उठ झाली उठ भन्दै झकझकाइन् । डोल्माको बुबाले पनि आँसु थाम्न सकेनन्। उनका आँखाबाट झालीको जीउमा तप्लक्क आँसु खसे।
डोल्माकी आमाले पनि पछाडि फर्किएर पछ्यौरीले आँसु पुछिन्। डोल्मालाई सम्झाउँदै भनिन, ‘नरोऊ नानी नरोऊ, अब फेरि चौंरीले अर्को झाली बाछो पाई हाल्छ नि। अनि फेरि तिमी त्यस झालीसँगै खेलौ ली। यो झाली त अब कहिल्यै उठ्दैन।’
२०७२ भाद्र २९ मंगलवार
(स्रोत : AnnapurnaPost)