म पेशाले इन्जिनियर भएपनि सानैदेखि अध्यात्ममा मेरो गहिरो रुझान थियो । इन्जिनियरिङ त मैले पेट पाल्नका लागि गर्ने काम मात्रै हो । तर, मेरो अन्तरहृदयमा ध्यानको तिब्र रुचि थियो । सानैमा म जोगी बन्ने धुनमा एक/दुईपटक स्कुलबाट भागेको पनि थिएँ । जोगी, आश्रम अनि ध्यानले मलाई स्कुल पढ्दैखेरि भित्रैदेखि तान्थ्यो । युवाअवस्थामा जोगी, ध्यानीहरूको आश्रममा म थुप्रैपटक पुगेँ, ध्यानको प्यासले तानिएर । ओशोसँग ध्यान गर्न थालेपछि मलाई बोध भयो कि, म पहिलेको जन्मदेखि नै सन्यासी थिएँ । एउटा असल गुरु भेट्न ठुलो सौभाग्य चाहिन्छ । पूर्वजन्मको पुण्य र संस्कारले नै म सन्यासी बनेँ र ओशोजस्तो व्यक्तिलाई गुरु भेट्टाएँ ।
ओशोलाई पहिलोपटक देख्दा नै प्रभावित भएँ
म सत्यको खोजीमा थिएँ । ओशोलाई पहिलोपटक देख्नेबित्तिकै म उहाँको भव्य र आकर्षक व्यक्तित्व, वक्तृत्व शैली अनि मेडिटेसनबाट प्रभावित भएँ । उहाँको वाणी सुन्दै शरिरमा करेन्ट दौडिएको अनुभव हुन्थ्यो । उहाँले लगाउने सेतो लुगा, बोलाई, हिँडाई सबैमा अभिजात्यपन थियो । उहाँले भनेका कुरा साह्रै नौला थिए । सबै गुरुले परम्परागत कुरा गर्थे तर, आशोबाट मैले वैज्ञानिक कुरा सुन्न पाएँ र सोचेँ, उहाँ चेतनाको ठुलो इन्जिनियर हुनुहुन्छ ।
आश्चर्यको कुरा के भने ओशोलाई ‘सम्भोग से समाधी की और’ पुस्तकको आधी शिर्षकसँग मात्रै जोडेर हेरिन्छ । समाधि चेतनाको उच्च तह हो, मुक्तिको द्वार हो । यसबारेमा मान्छे सोच्दैनन्, खाली यौनकै ध्यान गर्छन् ।
उहाँ हृदयबाट बोल्नुहुन्थ्यो । उहाँमा भव्य सौन्दर्यबोध थियो, उहाँको व्यक्तित्वमा नै कविता थियो । ओशोसँग भौतिकरुपमा म सन् १९६९ देखि १९९० सम्म रहेँ । अहिले पनि म उहाँकै बारे पढिरहेको छु, चिन्तन मनन गरिरहेको छु । भौतिकरुपमा उहाँ नभएपनि आत्मिक संगतमा उहाँ हामीसँगै हुनुहुन्छ । यो शान्त ओशो तपोवनको रुख–रुख र पात–पातमा उहाँ हुनुहुन्छ । उहाँको कन्चन र चहकिलो आँखा म जहिल्यै पनि देखिरहेको हुन्छु । उहाँले मलाई सुखी जीवन बाँच्न सिकाउनुभो । जीवन बाँच्ने कला मैले उहाँबाटै सिकेँ ।
ओशोले महंगो हिरा कहिल्यै लगाएनन्
आलोचना गर्नेले जे पनि भन्छन् । उहाँले लगाउने घडि वा टोपीमा कहिल्यै पनि हिरा जडित भएनन् । उहाँको वस्त्र, घडि, टोपी र चप्पल सबै उहाँका शिष्यहरूले आफ्नै हातले आश्रममा बनाउँथे र त्यसलाई काँचका टुक्रा र टल्किने पत्थरले आ–आफ्नै रुचिअनुसार सिंगार्थे । ती सामान उहाँ आफ्ना शिष्यहरूलाई उपहार स्वरुप बाँडिदिनुहुन्थ्यो । त्यस्ता केही उपहार हामीसँग पनि ओशो तपोवनमा सुरक्षित छन् । राती प्रकाशमा टल्किने त्यहि पत्थरलाई मानिसहरूले हिरा भनेका हुन् ।
उहाँले आफ्नै कमाइले विश्वविद्यालयको अध्ययन पूरा गर्नुभयो । प्राध्यापक भएपछि आफ्नो वेतनबाट केही पैसा बचाएर साइकल किन्नुभयो । उहाँको साइकल पनि यति सफा र टल्कने हुन्थ्यो कि, जबलपुरमा त्यसलाई सहरको सबैभन्दा ‘मेन्टेन्ड’ साइकल भनि मानिसहरू प्रसंशा गर्थे । पछि रजनीशपुरम् अमेरिकी षड्यन्त्रले विखण्डित भयो र उहाँ मनाली आएर एउटा साधारण कोठामा बस्नुभयो, त्यहाँको प्रचण्ड जाडोमा उहाँलाई नुहाउन पानी तताउनेसम्मको व्यवस्था थिएन । रजनीशपुरम् विघटनबाट हामी सबै शृष्य दु:खी थियौं तर, ओशो मात्रै प्रफुल्लित र आनन्दित हुनुहुन्थ्यो । आशोले आफ्नो वा आफ्नो परिवारको नाममा कहिल्यै कुनै सम्पत्ति जोड्नुभएन । जीवनपर्यन्त उहाँको वा परिवारको नाममा कुनै बैंक खाता खोलिएन, एक इन्च जग्गा पनि किनिएन ।
ओशोका आग्नेय विचारप्रति आकृष्ट हुने पहिलो समूह युवा र विद्यार्थी थिए । सधैं ओशोको दीक्षा लिने अधिकांशको उमेर ३० वर्षभन्दा कमै हुन्छ । ती विद्यार्थी भर्खरै नौलो सपनाले घेरिएर आएका अनि आफ्नो पेशामा लागेका नवयुवा हुन्छन् । उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर वा सामान्य हुन्छ । ती शिष्य हृदय, चेतना र बैद्धिकताका धनी पक्कै हुन्, त्यस हिसाबले चाहिँ ओशो धनीहरूकै गुरु हुन् ।
ओशोमा गुण मात्रै देख्छु
म ओशोको भक्त, प्रेमि हुँ । प्रेमको आँखाले हेर्दा सबै कुरा राम्रै–राम्रो मात्र देखिन्छ । धेरैले उहाँमा अवगुण मात्रै देखेका छन् । हामी सत्य देख्न सक्दैनौं । म त उहाँमा गुणैगुण मात्रै देख्छु । बरु उहाँको राम्रो गुण के थियो भने, उहाँको हृदयमा दु:खीहरूका लागि पनि अत्यन्तै करुणा थियो, उहाँ सबैलाई प्रेम गर्न सक्नुहुन्थ्यो ।
सबै प्राणीको जीवनले नै यौनलाई महत्व दिएको छ । जीवनको प्रारम्भ नै यौनबाट हुन्छ । यौन जीवनको ठुलो मेडिटेसन हो । यसलाई बुझ्न नसक्ने हो भने यो जीवनको सबैभन्दा ठुलो बन्धन, पीडा र विक्षिप्तताको कारण बन्न सक्छ । यसलाई स्वीकार्न सक्यो भने यो जीवनको सबैभन्दा ठुलो आनन्द र उन्मुक्ति हो । हामी सबै यसबाट प्रभावित छौं तर, यसलाई स्वीकार्न अनि चर्चा गर्न डराउँछौं । हामी यसबाट मुक्त छौं भन्ने स्वाङ रच्छौं, ढोंगी छौं । त्यसो त बुद्धजस्तो ईश्वरिय व्यक्तिलाई पनि वेद विरोधी, नास्तिक र ईश्वर विरोधी भनियो । त्यस्तै शरमद र मन्सुरजस्ता सच्चा मुसलमानलाई काफिर र इस्लाम विरोधी भनि मारियो । जीसस र सुकरातलाई युवाहरूलाई भड्काएको आरोप लगाई निर्ममतापूर्वक हत्या गरियो । ओशोलाई पनि अमेरिकाले पटक–पटक मन्द विष खुवायो ।
मानिसलाई यौन–कुण्ठाबाट मुक्त गर्ने प्रयासमा लागे ओशो
मैले आज स्नान गरेँ भन्दा लाज मान्नुपर्दैन, त्यस्तै मैले आज सेक्स गरेँ भन्न पनि लाज मान्नुपर्दैन । पाखण्ड, निर्लज्जको कुण्ठाले ग्रस्त मानिसलाई यसबाट मुक्त गर्न आध्यात्मिक जगतमा पहिलो दुस्साहस गर्ने व्यक्ति नै ओशो हुन् । मानिसलाई यौन–कुण्ठाबाट मुक्त गर्ने प्रयासमा जीवनभर लागेका ओशोजस्तो व्यक्तिलाई सधैं समाजले यौन–गुरुको लेबल लगाइदियो ।
जिसस क्राइष्ट यौनविरोधी हुनुहुन्न । तर, उहाँका अनुयायीचाहिँ यौनको मामलामा साह्रै कुण्ठित छन् । जिससको दुईवटी प्रेमिका थिए–मार्था र म्याग्दिलाना । हजारौं युवतिले जिससलाई प्रेम गर्थे । तर, क्रिष्चियनहरू यो कुरा लुकाउँछन् ।
उहाँले जिसस, बुद्ध, उपनिशद्, सबैको भव्य व्याख्या गर्नुभएको छ, त्यो सबै गौण छ । ओशोले जति ध्यान, समाधि र निर्वाणको चर्चा गर्नुभएको छ, त्यति अरू कुनै पनि विषयको चर्चा गर्नुभएको छैन । तर, आश्चर्यको कुरा के भने ओशोलाई ‘सम्भोग से समाधी की और’ पुस्तकको आधी शिर्षकसँग मात्रै जोडेर हेरिन्छ । समाधि चेतनाको उच्च तह हो, मुक्तिको द्वार हो । यसबारेमा मान्छे सोच्दैनन्, खाली यौनकै ध्यान गर्छन् । यो संसार नै सेक्सुअल्ली अनब्यालेन्स छ । मान्छेले ओशोलाई बुझ्न सकेनन् । मान्छेको गरिब दिमागले ओशोलाई कामवासना सिकाउने गुरु हो भन्छ ।
सेक्स स्वीकार गर्नुस्
पशुपंक्षीमा प्राकृतिक यौनकर्म छ, प्राकृतिक जीवन छ । पृथ्वीमा सबै आफ्नै बाटोमा हिँडिरहेका छन्, मान्छेबाहेक । हाम्रो सबैभन्दा ठुलो गल्ति के भयो भने, हाम्रा धर्मगुरुहरूले अप्राकृतिक शिक्षा दिए । उनीहरूले ब्रम्हचर्यका नाममा लँगौटी लगाएर यौनलाई कस्ने शिक्षा दिए । यौन फिजिकल चिज हो । मान्छे प्रोनोग्राफिमा अल्झिरहेको छ । विश्वभरि नै सबैभन्दा बढी हेरिने साइट ‘सेक्स डट कम’ हो । मान्छे सेक्सबाट किन मुक्त हुनुपर्यो ? सेक्सलाई स्वीकार गर्नुस् । मानिस कामुक छ, पशुपंक्षी कामुक हुँदैनन् । कामलाई दबाएर कामुकता पैदा भएको हो मान्छेमा ।
जस्तो मैले आज स्नान गरेँ भन्दा लाज मान्नुपर्दैन, त्यस्तै मैले आज सेक्स गरेँ भन्न पनि लजाउनुपर्दैन ।
सच्चा जोगी पलायनवादी हुँदैनन्, तथाकथित जोगी हुन् पलायनवादी । ओशोलाई नपढेको भए म पनि पलायनवादी हुन्थेँ । ओशोले जोगीहरूको पलायनवादी सोचको विरोध गर्नुभएको हो । धर्मको नाममा ठुलो अपराध यहि हो, जीवनविरोधी कुरा हो पलायन ।
हो, मनुष्यको जन्मको मार्ग नै यौन हो । अनि कसरी यसलाई अस्वीकार गर्न सकिन्छ ? अमेरिकी र युरोपियनले यौनलाई साह्रै दुरुपयोग गरिरहेका छन् । नेपाल, भारतमा यौनको मामलामा मानिसहरू साह्रै कुण्ठित छन् । ओशोले भन्नुहुन्छ–यौन प्राकृतिक भयो भने यसको पीडा हराउँछ, मान्छे कुण्ठित हुँदैन । ओशो कामुकताको सबैभन्दा ठुला विरोधी हुनुहुन्छ । कोही जनावरले अरूको यौनसम्पर्क हेर्छ ? मान्छे मात्रै हो, अरूको सम्भोग हेरेर रमाउने जाती । जिसस क्राइष्ट पनि यौनविरोधी हुनुहुन्न । तर, उहाँका अनुयायीचाहिँ यौनको मामलामा कुण्ठित छन् । जिससको एउटै घरका दिदीबहिनी गरि दुईवटा प्रेमिका थिए । उहाँ माथी र म्याग्दिलाना दुवैलाई प्रेम गर्नुहन्ुथ्यो । तर, क्रिष्चियनले यो कुरा लुकाउँछन् । हजारौं युवती जिससलाई प्रेम गर्थे । प्रेमगंगाको मुहान नै यौन हो ।
(स्वामी आनन्द अरुण ओशो तपोवनका संस्थापक आचार्य हुन् । सानैदेखि साधना र अध्यात्मको खोजले उनलाई अनेकौं गुरु र आश्रमहरुमा पुर्यायो । २९ मार्च १९६९ मा पटनामा इन्जिनियरिंङ कलेजमा विद्यार्थी हुँदै ओशोलाई भेट्नासाथ उनलाई गहिरो आध्यात्मिक अनुभूति भयो । १९७४ मा ओशोबाट दीक्षित भएपश्चात् आनन्द अरूण नेपाल आए र ताहाचलमा ‘आशीष रजनीश ध्यान केन्द्र’ संचालन गरे । अहिलेसम्म उनले करिब ६०० सय ध्यान शिविर संचालन गरी ८० राष्ट्रका ६५ हजार साधकहरुलाई ओशोको नव–संन्यासमा दीक्षित गरेका छन् । सन् १९८४ मा ओशोले उनलाई ‘आचार्य’ र ‘बोधिसत्व’ तथा सन् १९८६ मा ‘रजनीश मिस्ट्री स्कुल’ अन्तर्गतको ‘मेडिटेशन एण्ड स्प्रिच्युल ग्रोथ सेन्टर’ को निर्देशक घोषित गरे । ओशोबारे आनन्द अरूणको बुझाई )
(स्रोत : Nayapage)