एक्लै कति
सुन्दर भएर बसिरहोस् कविता
एक्लै कति
सौंन्दर्यको एकोहोरो प्रेमी बनिरहोस् कविता
आज त्यसलाई
कुरूप पार्न मन लागिरहेको छ
सबैभन्दा कुरूप राज्यसत्तामा पनि
सबैभन्दा सुन्दर देखिदो रहेछ कविता
सबैभन्दा फोहोर
हिंसाको समुद्रमा नुहाएर
सबैभन्दा सफा भएर निस्कँदो रहेछ कविता
आज त्यसलाई
कुरूप पार्न मन लागिरहेको छ
आऊ प्रिय कविहरू
यसपल्ट कवितालाई
सुन्दरताको दासताबाट मुक्त पारौँ
कलाको अनन्त बन्धनबाट मुक्त पारौँ
र हेरौँ
कविताको बत्ती निभेपछि
अझ कति अँध्यारो देखिदो रहेछ दुनियाँ
अझ कति खाली हुँदो रहेछ रिक्तता
के अन्तर छ
मन्दिर र वेश्यालयको नग्नतामा
के अन्तर छ
संसद भवन र आर्यघाटको दुर्गन्धमा
के अन्तर छ
न्यायलय र मासु पसलको क्रुरतामा
यिनीहरूकै पर्खालबाहिर
सबैभन्दा इमान्दार भएर उभिँदो रहेछ कविता
आऊ प्रिय कविहरू
आजै कविताको मृत्यु घोषणा गरौँ
र हेरौँ
झन कति जीवन्त देखिँदो रहेछ
कविताको लासमाथि जन्मिएको कविता
हेरौँ
कविताको मृत्युमा खुसीले
कुन हदसम्म बौलाउँदो रहेछ बन्दुक
कति टाढासम्म सुनिँदो रहेछ सत्ताको अट्टहास
र कति उदास देखिँदो रहेछ कलाको अनुहार
सुन्दर कविताहरू लेख्नलाई त
सुन्दर समय बाँकी नै छ
किन आज लेख्न मन लागिरहेको छ
समयको अन्तिम लहरसम्म नलेखिएको
सबैभन्दा कुरूप कविता
जसरी बन्दुकले लेख्छ
हिंसाको कुरूप कविता सहिदको छातीमा…………..
एक्लै कति
कुरूप भएर बसिरहोस् कविता