तपाईंले कुनै सैलुनमा दाह्री कटाउनुअघि कहिल्यै हजामको अनुहारको भाव पढ्ने गर्नुभएको छ ? ख्याल गर्नुभएको छ त्यसबेला उसको मनस्थिति कस्तो छ जतिबेला उसको एउटा हातमा छुरा र अर्को हात तपाईंको घाँटीमा हुन्छ ? जतिबेला उसले तपाईंको दाह्री भिजाउने बेलामा घाँटीको साइज नापिरहेको हुन्छ, सोच्नु भएको छ कि उसको दिमागमा त्यसबेला के चल्दै हुन्छ ? एकपटक तपाईं आफै आफ्नो घाँटीको रुद्रघण्टी छाम्नुस् त । त्यसभन्दा ठीकमाथि तपाईंको श्वासनली त्यहाँको छालाको यति नजिक हुन्छ कि त्यो काटिन हजामको छुरामा ‘जिलेट’ कम्पनीको ब्लेड नै चाहिँदैन, टोपाज अथवा डायमन्ड वा अरू कुनै सस्तो कम्पनीको भए पनि हुन्छ ।
मात्र विश्वासमा हामी आफ्नो घाँटी उसको जिम्मा लगाएका हुन्छौं । अझ कतिसम्मको विश्वास भने बरु तपाईं आफैँ काट्दा डराउनुहुन्छ । जति सुकै नजिक भए पनि तपाईं आफ्नै स्वास्नी वा अरू आफन्तलाई पनि तपाईं आफ्नो दाह्री काट्न दिनु हुन्न । तर जब तपाईं सैलुनमा जानु हुन्छ, कहिलेकाहीँ निदाउनु पनि हुन्छ । त्यसबेला तपाईं के विषयमा सोच्नुहुन्छ ? दिनदिनैको समस्या देशको अवस्था वा यस्तै केही । तर तपाईंले कहिल्यै पनि हजामसँगको आफ्नो सम्बन्धको बारेमा सोच्नुहुन्न । कल्पना गर्नुस् त तपाईं त्यसरी निदाउँदा ऊ तपाईंको घाँटी काट्ने वा नकाट्ने दोधारमा छ । जुन उसको अनुहारमा प्रस्ट देखिन्छ । तर तपाईंले आँखा बन्द गर्नुभएको छ । एक्कासि तपाईंको रुद्रघण्टीभन्दा माथि तपाईंले चिलेजस्तो अनुभव गर्नुहुन्छ अनि आँखा खोल्नुहुन्छ । हेर्नुहुन्छ त्यहाँ थोरै काटिएको छ र काट्ने मानिस तपाईंको काटिएको ठाउँ हेर्दै उभिरहेको छ । तपाईंलाई त्यसबेलासम्म पनि त्यो हजामको सानो गल्ती नै लाग्छ । सानो गल्तीमाथि तपाईं हाम्रो कराई अलि ठूलै हुन्छ ।
‘आँखा देख्दैनस् ? कति काटिएछ ?’
तपाईं उसलाई ऐना हेर्दै उसको प्रतिविम्बलाई हप्काउनुहुन्छ । तर उसले तपाईंलाई हेर्दै भन्छ, ‘मन त हजुर तपाईंको पूरै घाँटी काटिदिने थियो । तर सुकर मनाउनुस कि मेरो दिमाग फिरिगयो ।’
त्यसपछि तपाईं के गर्नुहुन्छ ? जब एकैपटक तपाईंले उसको आँखामा आफूप्रतिको आक्रोश र बदलाको चाहना देख्नुहुन्छ, तपाईंको प्रतिक्रिया त्यसबेला के हुन्छ ?
वास्तवमा मैले तपाईंलाई कुनै कथाको क्लाइमेक्स देखाउन खोजेकै होइन । मैले त तपाईंलाई सोनेलाल ठाकुरको जिन्दगीको क्लाइमेक्स अनुभूत मात्र गराउन खोजेको हुँ । जो यतिबेला यही घटना घटाएर पुर्पक्षका लागि सिरहाको थुनामा छ ।
——-
यदि तपाईं सिरहा पुग्नुभएको छ भने सोनेलाल ठाकुरको सैलुन भेटाउन खासै गाह्रो हुँदैन । जिल्ला प्रशासन कार्यालयसँगै दक्षिणतिर दुर्गा मन्दिर छ । त्यसको दक्षिण लगभग एक बिघा जति खाली ठाउँ छ जहाँ प्रत्यक शनिबार र मङ्गलबार हाट लाग्ने गर्छ । त्यसको पश्चिम लगभग एक बिघा जतिमा फैलिएको पोखरी छ । पोखरीको उत्तरी किनारामा सिरहा नगरपालिकाको नयाँ भवन बन्दै छ । त्यहाँ पुगेपछि तपाईंलाई लाग्छ, मन्दिर, हाट र पोखरी सबै सरकारी जमिनमा बसेको छ । तर होइन, ती सबै सुरुमा मन्दिरको सम्पत्ति थियो । तर अहिले त्यसमध्ये धेरैजसो सरकारी सम्पत्ति भएको छ । अहिले मन्दिरको नाममा त्यो मन्दिर मात्र रहेको छ । दक्षिणतिरबाट मानिसहरूले र उत्तरतिरबाट सरकारी कार्यालयहरूले जग्गा मिच्दै आएको छ । पोखरीकै किनारामा तपाईं केही काठका साना साना कठघाराहरू देख्नुहुन्छ । धेरैमा त तपाईं फोटोकपी तथा साना स्टेसनरी नै देख्नुहुन्छ । सबैभन्दा दक्षिण र ठीक हाटसँगै टाँसिएकोमा सैलुन छ ।
खासै धेरै केही छैन त्यहाँ । दुवै भित्ताहरूमा दुईवटा ठूला आयताकार ऐनाहरू थोरै तल ढल्काएर राखिएका छन् । त्यसको ठीक सामुन्ने दुईवटा कुर्सीहरू छन् । एउटा भित्तामा सानो झ्याल बनाइएको छ जहाँबाट सोनेलालले फोहरहरू फाल्ने गरेको छ । ऐनाभन्दा माथि सबै भित्ताहरूमा ठूला ठूला पोस्टरहरू छन् । विश्वकर्मा बाबासँगै हिन्दी फिल्मकी चर्चित नायिका माधुरी दीक्षितका पनि पोस्टरहरू छन् ।
जोत्नेको मोहयानी हक खेतमा लागे जसरी जमिनमा पनि हक लाग्थ्यो भने त्यो जग्गा जमानामै उसको भइसक्थ्यो । यो सोनेलाल र उसको बुवा पन्नालालको दाबी मात्र होइन, त्यहाँका छरछिमेकले समेत त्यही भन्छन् । सिरहामा पहिलोपटक हाटलाग्दा नै सोनेलालको हजुरबुवा हीरालाल त्यही ठाउँमा कपाल काट्न बसेको थियो । बस्ने दुईवटा पिर्का, एउटा सानो ऐना, छुरा, छुराको धार तिखार्ने छालाको बेल्ट र सानो कचौरासहित । अहिले त्यहाँ सोनेलालले कठघारा हालेको छ ।
सोनेलालको ठूलो इच्छा छ– त्यहाँ एककोठाको घर बनाई जयनगरको ‘रोशनी हेयर’ जस्तै सैलुन बनाउनेछ । यसका लागि धेरै पापड पनि बेलेको थियो उसले । पछि आएका थुप्रैले घर बनाइसकेका थिए त्यहाँ । मन्दिरको महन्थको मृत्युपछि प्रशासनसँग मिलेर थुप्रैले जग्गाहरू आफ्नो बनाएका थिए । सोनेलालले जतिभन्दा पनि पन्नालालले मानेको थिएन । र बाँचुन्जेल उसले मानेन ।
——-
‘…रे, साँपके बच्चा साँपे होइछै । तु ओकरा कतवो दूध पिया, कहिया पलैटके काटतौ तोरा पता नै चल्तौ ।’
छ महिनाअघि लकवाले मरेको थियो पन्नालाल । तर उसले सुबलाल अधिकारीको बारेमा भनेको कुरा अझै पनि सोनेलालको दिमागमा फनफनी नाचिरहेको छ– ‘बेटा, तोरा मालुम हौ हमर बाप यानी तोहर बाबाके नागरिकता कैला नै बनल रहौ ?…’
‘नै !’
उसले पटकपटक सुनेको भए पनि बुवाको मन राखिदिन त्यही भन्थ्यो । अर्को पनि कारण थियो, जुन शैली र भाकामा पन्नालालले आफ्नो कुराहरू सुनाउँथ्यो, त्यसको ऊ एक प्रकारले फ्यान नै भएको थियो । उसले आफ्ना ‘एकतुरिया’ हरूमाझ त्यसरी नै गफ लगाउन खुबै प्रयास गरेको हो । तर कहिल्यै सकेन ।
‘ई सुबलाल अधिकारी जे हौ ? ओकर दादा रहै वृजलाल अधिकारी…’ पन्नालालले यसरी नै आफ्नो कुरा सुरु गर्थ्यो । खासमा वृजलाल अधिकारी राजविराज अदालतमा न्यायाधीश थियो । त्यसबेला सिरहा र सप्तरी जिल्ला छुटिएको थिएन । शैलुनहरूको चलन थिएन । प्रत्येक ठाकुरहरूको परिवारलाई कमाइ खान जिम्दारीमा आ–आफ्नो गाउँहरू थिए । जहाँ उनीहरू घरघरै गएर दाह्री कपाल काट्थे ।
त्यस दिन वृजलाल अधिकारी घरमै थियो । र आफ्नो दाह्री बनाउनका निम्ति पन्नालालको बुवा हीरालाललाई ल्याउन घोडासहित आफ्नो नोकरलाई पठाएको थियो । त्यसै दिन हीरालाल पन्नालाललाई लिएर आफ्नो जिमदारीमा पर्ने बेल्हा गाउँमा ‘नकेस’ को निम्ति गएको थियो । जसको घरमा मृत्यु भएको थियो, तिनीहरू आफैं पाँच दाजुभाइ थिए । पाँच दाजुभाइका छोराहरूसहित जम्मा २५ जनाभन्दा बढी त लोग्ने मान्छे र केटाहरू नै थिए । जसका कपाल र दाह्री दुवै खौरनुपथ्र्याे । त्यत्तिकै सङ्ख्यामा केटी तथा आइमाईहरू थिए । जसका नङ काट्नुपथ्र्याे । खासै ठूलो भएको थिएन पन्नालाल तर, उसले नङ भने काट्न जानिसकेको थियो । यस अर्थमा ऊ कुरा बुझ्ने पनि भइसकेको थियो ।
घरमा उनीहरूलाई नपाएपछि वृजलालको नोकर बेल्हा पुग्दा पन्नालाल लाइन लगाएर नङ काटिरहेको थियो ।
‘आब तुहेँ कह त, चाहे कोई कतबो बडका आदमी भजाई केकरो नकेस छोइडके जायक चाहिँ ?’ पन्नालालले टाउको हल्लाउँदै सोनेलालसँग सोध्थ्यो । उसले पनि टाउको हल्लाएरै प्रतिउत्तर दिन्थ्यो । उसको हजुरबुवाको त्यो इन्कारले जिल्लाभरि ठूलै चर्चा पायो । हीरालालले न्यायाधीशलाई टेरेन । यो कुराले पछिसम्म पनि चर्चा पाइरह्यो । यसको अनुभव सोनेलालले आफै पनि गर्न पाएका थिए । लहानमा भएको जिल्ला नाई संघको अधिवेशनमा जब मानिसहरूले ऊ हीरालालको नाति भएको थाहा पाए उनीहरू आफैं उसँग नजिक हुन आए । उसले मानेकै थिएन तर सबै मिलेर उसलाई एकैपटक जिल्ला नाइसंघको उपाध्यक्ष पनि बनाए ।
जति ठूलो चर्चा त्यस घटनाले पायो, त्यति नै ठूलो मूल्य हीरालालले चुकाउनुपरेको थियो । हीरालाल जीवनभरि र पन्नालालले तीस नाघुन्जेलसम्म नागरिकता बनाउन पाएन ।
‘ई त हमर भाग बन्हिया रहौ से यम्हर परजातन्तर येलौ आ ओम्हर वृजलाल बितलौ । तब जाके मात्रे हमर नागरिकता बनलौ ।’
२०४६ सालको आन्दोलनपछि नागरिकता बनाउने टोली गाउँ नै पुगेको थियो । गाउँ पञ्चायतले सिफारिस गरेपछि पन्नालालको नागरिकता बनेको थियो । नागरिकता नहुनुको पीडा सोनेलालले पनि देखेको थियो । आफैंले कमाएको सम्पत्ति पनि आफ्नो नाममा गर्न पाएको थिएन पन्नालालले ।
त्यसैले पन्नलालले सुवलाल अधिकारीलाई देखिसहँदैनथ्यो । तर सोनेलाल पुरानो कुरालाई लिएर नयाँ अवसर गुमाउन चाहँदैनथ्यो । सिरहा जिल्ला अदालतमा वकिल थियो सुबलाल अधिकारी । उसको आफ्नै ल फर्म पनि थियो । सीडीओ, एलडीओ सबैसँग उसको राम्रो उठबस हुन्थ्यो । उसले सुबलाल अधिकारीसित कहिल्यै पैसा लिएन । जतिसुकै भीड हुँदा पनि सुबलाल अधिकारीलाई कहिल्यै कुराएन । सुबलाल अधिकारीलाई पनि यो कुरा राम्ररी थाहा थियो । भीडभाड छ भने उसले घन्टौं लगाइदिन्थ्यो । पूरै शरीर मालिस गराउँथ्यो । मुर्मुरिएर भए पनि सुबलाल अधिकारीले जे भन्थ्यो सबै गथ्र्यो सोनेलालले ।
——-
त्यो दिन उसले सैलुन सफा पनि गरेन । न त विश्वकर्मा बाबाको पोस्टरमा धुपआरती नै देखायो । माधुरी दीक्षितको पोस्टर देखेर मुस्काएन पनि ऊ । झोक्रएर बसिरहेको थियो, त्यही बेला सुबलाल अधिकारी उसको अगाडि देखा पर्यो । अरू बेला जसरी दुवै हात जोडेर ‘प्रणाम वकिल साहेब ’ भनेन उसले । र पनि सुबलाल ङिच्च हाँस्दै कुर्सीमा बस्यो ।
‘कि सोनेलाल सब ठीकठाक छौ ?’
केही बोलेन सोनेलाल । सुबलालको अनुहार त्यसबेला सर्पजस्तै लाग्यो । उसको बुवाले भनेको सर्पजस्तै । पुच्छरमै खडा भएर फुफकारी रहेको, डस्नको लागि तयार सर्पजस्तो । उसको मनभित्रको तनाव र अनुहारमा बदलिरहेको भावलाई खासै वास्ता गरेन सुबलालले । वास्ता गर्न जरुरी पनि ठानेन ।
‘ले ले जल्दीसे हमर दाह्री बनात । आई
बड्का मुद्दाके फैसला होइवला है ।’
केही क्षणसम्म ऊ गम्छा समातेर त्यत्तिकै उभिरह्यो । त्यसपछि गम्छालाई जोडसित झड्कार्यो । त्यसमा टाँसिएर रहेका रौंहरू सुबलालको शरीरमा पनि पर्यो ।
‘देखके झार न रौ !’ सुबलाल करायो । तर उसले कुनै प्रतिक्रिया दिएन । गम्छाले उसको घाँटी बेर्यो । अनि हातमा पानी लगाएर उसको दाह्री भिजाउन थाल्यो । उसको सोचाइको गतिसँगै उसका हातहरू पनि तीव्रसँग चलिरहेको थियो । तर ती कुनै कुराहरूको वास्ता सुबलाल अधिकारीले गरेको थिएन ।
——-
‘कि सब दिन कठघरामे सैलुन चलाबके विचार केने छही कि घरो बनेबही ।’
जुन दिन सुबलाल अधिकारीले आफैं ऊसित यस्तो कुरा गर्यो उसलाई लाग्यो साक्षात ईश्वर नै उसको अगाडि आएको होस् । त्यसबेला थुप्रैले त्यहाँको ऐलानी जग्गा आफ्नो नाममा पास गराइसकेका थिए ।
‘विचार त है नि मालिक । आव अहाँ सब दया करबै तैहीँ न कुछ होतै ?’ त्यस दिन उसले आफ्नो बुवा पन्नालाललाई मनमनै खुब सम्झ्यो । आखिर बूढाको कुरा मानेको भए यो दिन उसले कहाँ देख्न पाउँथ्यो । सुबलाल अधिकारीलाई सेवा गरेकोमा उसले त्यो दिन खुबै गर्व मानेको थियो ।
‘दू धुरसे भजेतौ ?’
‘भजेतै ।’
‘लेकिन खर्चा त कर परतौ । नापी और मालपोतमे एक एक लाखसे निच्चा त नै मानतौ । ओतबे खर्चा तोरा सीडीओ और एलडीओके सेहो कर परतौ । हमरा त छोड्, काम भेलाके बादमे जते मन लगतौ द दिहा ।’
जम्मै हिसाब गर्दा उसले बढीमा पाँच लाख खर्च गर्नुपर्ने हुन्थ्यो । तर त्यो जमिन पाँच लाखको धुरमै बिक्थ्यो । त्यस हिसाबले पनि उसले फाइदा नै देख्यो । त्यसको लागि उसले पटकपटक गरेर तीन बिघा खेत बेचेको थियो । गाउँका अरूले उसलाई सम्झाउन नखोजेको होइन । तर उसले भन्थ्यो, ‘खेत रायखेक कथि होतै, करैयोबला चाहिँ नै कोई ? बटैयामे लगाऊ, अपनो किनेक खाइ परैछै । त ई खेत रायखेक कोन फाइदा ?’
पैसा दिने बेलामा कागज गराउनेकी भनेर डराइडराई कुरा चलाएको थियो उसले ।
‘रे तु वकिलसे कागज करेवही ?’
केही बोल्न सकेको थिएन उसले । मनमा त डर उसको त्यसबेला नै पसिसकेको थियो र पनि पटकपटक गरेर तीन लाख पैसा उसलाई दिइसकेको थियो । जबजब उसले जग्गाको नामसारीको कुरा गथ्र्यो, कुनै न कुनै बहाना गरेर टाथ्र्यो । अझ एकपटक उल्टै हप्काउँदै भनेको थियो, ‘तब त कहैछियौ, सब दिन गवारके गवारे रहबे । देखै नैछि अख्तियार चारु दिशा छापा मारै है ? तोरा खातिर कोई अपन नोकरी त नैने गवैतौ ? कि तोरा हमराप भरोसा नै हौ ?’
सोनेलालको समस्या एउटै थियो, ऊ सुबलाल अधिकारीको अगाडि केही बोल्नै सक्दैनथ्यो । यसको मतलब यो होइन कि उसलाई केही कुरा नै थाह हुँदैनथ्यो । सबै कुरा थाह पाउँदैथियो उसले । झट्का त उसलाई त्यसबेला लाग्यो, जब उसले थाहा पायो, सुबलाल अधिकारीले कुनै पनि हाकिमलाई एक रुपैयाँ पनि दिएको छैन । दुवै कार्यालयको हाकिमसँग आफंै कुरा गरेको थियो उसले । सुबलालले कसैसँग कुरा पनि गरेको रहेनछ । कुरा थाहा पाएको रातभरि उसले आफ्नो बुवालाई सम्झ्यो । बिहा गरेको थिएन उसले । दाजुभाइ पनि कोही थिएन । तनावमा उसले धेरैपटक बडबडाउँदै आफ्नो बुवासित गफ गरेको थियो ।
‘देखा देलकौ नै ऊ तोरा असली रूप । कहने रहियौ साँपके बच्चा साँपे होइछै ? धरलकौ ने बन्हिया जिका ?’
ऊ पनि खुबै आक्रोशित देखिन्थ्यो त्यसबेला । ‘ऊ माधर… हमरा कथि दखेतै ? ओकरा हम देखेबै । हमरा कथि है ? ने अगाडि नाथ ने पछाडि पघा ? लेकिन ऊ माधर…के हम देखादेबै ।’
——-
सुबलालको दाह्री भिजाउन्जेलसम्म सोनेलालले धेरै कुराको निर्णय गरिसकेको थियो । मानिसको चहलपहल पनि कम थियो । रुद्रघण्टीभन्दा ठीकमाथि एकपटक छुरालाई बाँयाबाट दायाँ ताने पुग्थ्यो । एक क्षणसम्म छटपटाउँदै गरेको सुबलाललाई समाते पुग्थ्यो । जसरी बोकालाई हलाल गर्दा समातिन्छ । तर जसै उसले दाह्री काट्न सुरु गर्यो, सुबलालले आँखा चिम्म गर्यो । उसको मुटुको गति तीव्र हुन थाल्यो । काट्ने उद्देश्यले दुईपटकसम्म पछाडि पुगेको थियो ऊ । उसको चिउँडो समातेर छुरालाई घाँटी नजिक लगेको पनि थियो । तर जसै ऐनामा सुबलालको निदाएको र आफ्नो पसिनाले भिजेको अनुहार देख्थ्यो, उसको मुटु फुट्ला जसरी धड्कन्थ्यो । कुनै पाइपमा मसिने प्वाल पर्दा पानीको मसिनो फोहरा
निस्केझैं सुबलाल अधिकारीको घाँटीबाट निस्किरहेको रगत, रगतले भिजेको ऐना र त्यहाँ देखिने आफ्नो विद्रुप अनुहार । ऊ भयभीत पनि भएको थियो ।
हात पनि पसिनाले च्याप च्याप भएको थियो । थुप्रैपटक त सुबलाल अधिकारीको गाला काटिनबाट जोगाएको थियो । शरीर तातेर कान रातो भएको थियो । दाह्री काट्नुको अन्तिम चरणमा थियो ऊ । अन्तिमपटक प्रयास गर्न फेरि उसको पछाडि पुगेको थियो । यसपटक त उसले आँखा पनि चिम्लेको थियो । तर आँखा चिम्ले पनि छट्पटाउँदै गरेको सुबलालको अनुहार, रगतले भिजेको आफ्नो हात, पोतिएको ऐना मात्र देख्यो उसले । मुटुलाई जति कठोर बनाउन खोज्थ्यो त्यति नै सकस हुन थालेको थियो । अन्तमा उसले छुरालाई बायाँबाट दायाँ तानेन । माथितिर तान्यो । चिउडोभन्दा ठीक तल कोठी थियो सुबलालको । त्यो कोठी काटियो । अनि बल्ल सुबलालले आँखा खोल्यो ।
‘कि केलही तु ? देखाइ नै दै छेलौ ?’ उसले घाँटी छाम्यो ।
‘मन त तोहर पुरे घेँट काटके रहै । ई त सुकर मनाव की हमर दिमाग फिर गेल ।’
त्यसपछि बल्ल सुबलालले उसको अनुहार नियाल्यो । आक्रोश र तनावले रगत चुहिएला जस्तो रातो, पसिना लतपत सोनेलालको अनुहार देखेर सुबलाल अधिकारी तस्र्यो । साक्षात यमदूत उभिएको जस्तो लाग्यो उसलाई । निकै जोडसँग उठ्यो ऊ घाँटीको गम्छा पनि फुकालेन । भाग्दा आफू बसेको कुर्सी, अरू बस्न राखिएको टेबल सबै लडायो उसले । कठघराबाट हाम फाल्दा जोडसँग लडेको पनि थियो ऊ । तर सोनेलाल उभिरह्यो । मानौ कुनै ठूलो पर्दा आँखा अगाडिबाट हटेको छ । वा लामो अन्धकारपछि ऊ छर्लङ्ग उज्यालोमा पुगेको छ । त्यसबेला न ऊ डराएको थियो न त रिसाएको नै । सुबलालले प्रहरी लिएर आउँदा त ऊ त्यत्तिकै उभिरहेको थियो । प्रहरीले उसलाई कुट्दासमेत उसले कुनै प्रतिक्रिया जनाएन । प्रहरीले उसँगै दाह्री काट्ने छुरा पनि लिएर गयो ।
——-
सुबलालले हत्याको प्रयाससम्बन्धी मुद्दा दायर गरिसकेको थियो । दाह्री काट्ने उसको काम हो । आखिर ऊ मेसिन त होइन जसबाट गल्ती नहोस् । सुबलाल अधिकारीको घाँटी काट्ने उसको नियत हो या होइन यस विषयमा छानबिनका लागि अदालतले पुर्पक्षमा एक हप्ता थुनामा राख्न आदेश सुनाएको थियो ।
(मैले यो कथा तयार पार्दासम्म सोनेलाल पुर्पक्षका लागि थुनामै थियो । सुबलाललाई उसको मुद्दाको कमजोर धरातल त्यतिबेला थाहा भयो, जब जिल्ला नाईसंघले सोनेलालका लागि मुद्दा लड्ने घोषणा गर्यो । जिल्लाभरिका सैलुन बन्द छन् । जिल्ला प्रशासनमा डेलिगेसनसमेत पुगेका थिए । पैसासम्बन्धी कुरा खुल्ने डरले सुबलालले मुद्दा फिर्ता लिने मनस्थिति बनाइसकेको छ । सीडीओले आफैं बोलाएर सुबलाललाई यही सल्लाह दिएको थियो । यदि तपाईं सिरहा पुग्नुभयो भने र प्रशासनले उसको सैलुनलाई त्यहाँबाट हटाएन भने त्यहाँ एउटा कालो न कालो, लामो कपाल पालेको ख्याउटे अन्दाजी २४ वर्ष जतिको केटालाई एकहारो कपाल काटेको देख्नुहुन्छ । उसको निधारमा चोटको खत छ भने सम्झिनु ऊ नै सोनेलाल ठाकुर हो । जसको न अगाडि नाथ छ न पछाडि पघा, बस ऊ एक्लो छ । उसँग विरासतमा त्यही कपाल काट्ने कला छ जुन उसको जिन्दगी चलाउन काफी छ ।)
प्रकाशित: आश्विन ३०, २०७२
(स्रोत : Kantipur – Koseli)