~वरुण पोख्रेल~
पैसाको मुख बिरलै देखिन्त्यो । नोठका त के कुरा गर्नु र ! एक सुका गोजामा भए कसैलाई भाउ दीइन्थेन । घरा’ट त सुको दिन्थेनन । कैले काहीँ यस्सो मावल गैयो भने चाँही पैसा जाबो त छेलोखेलो हुन्त्यो । मावल बाट फर्केको केही दिन सम्म त अरु केटाहरुको पछी लाएर जिम्मालको घोँडाको पछी पछी कुँद्ने नि गरीइन्थेन । हामी भन्दा पछील्लो पुष्ता टेक्टरको पछी पछी कुँद्यो, हाम्रो पुष्ता चाँही जिम्मालको घोँडाको ।
हाम्रा गोजाँ एक रुप्पे हुनलाई चोर्नै पर्थ्यो । नत्र काँबाट आउनु र तेत्रो पैसो । एक सुका गोजाँ हुँदा त दुई चार जना केटाहरु पछी लाग्थे मिठाइँ खान पाइने भओ भनेर । तर एक पैसाको चाँही खास्सै भ्यालु थेन । यसो यदा कदा पाइन्थ्यो गुराँसको चित्र भएको एक पैसा । पाँच पैसा चाँही बडो ब्यापक थियो । हामी खोपी खेल्ने ठिनी नै पाँच पैसाको हुन्त्यो । कती पटक पाँच पैसा ठिनी खोपी खेल्दा भुट्टाना टाँट्टाना परेर एक मोहोर एक रुप्पे सम्म हारेको रेकर्ड हुन्त्यो। त्यो पनि नखत काँ हो र ! उधारो । त्यै नि तिर्न नसकेर लुक्दै हिन्न पर्नी !
नाकाँ सिगानका लुर्का, कमिजका बाउला सिगान पुछ्दा पुछ्दा कट्कट्टेर कक्रक्क परेका हुन्ते । जाएँमा सधैं पछाडि दुइटा भैरबका आँखा हुन्ते । दर्जिकोमा लगेर टालो हाल्यो त्यै नि निलो जाएँमा कैले कालो टालो कैले रातो टालो अजिबको हुन्त्यो । आजभोलि भए त क्या गज्जब फेसन हुन्त्यो होला ।
ब्यान आटो खायो, काम लाइदे काम गर्यो नत्र खेल्न हिँड्यो । गुच्चा त धेरै ठुलो भएसी मात्र देखेको । रिठा खेलिन्त्यो । पैसा नभएर टाँकको खोपी नि खेलिन्त्यो । टाँकको फुक्का खेल्न अझ टेस पर्त्यो । त्यसैले कमिजका त के ! जाएँका सम्म टाँक सकिन्थे खोपी र फुक्का खेली-खेली ।
यसो कतै कैलेकाहीँ पैसा भेटिन्त्यो बाटाँ । ठुलो हैन ‘पाँस्सा’ । (पाँच पैसालाई धेरै चलन चल्तिको हुनाले छिटोछिटो भन्दा अपभ्रम्स भएर पाँस्सा बनेको थियो)
पाँस्सा भेटियो भने त दाँयाँबायाँ नहेरी गुरुरुरु खाली खुट्टा टाँक नभको कमेजको फेर हावामा फर्फराउँदै खर्क तुले बुढाको दोकान तिर हुर्रीईन्थ्यो । बाटोमा भेटिने केटाहरु ले सोध्थे: काँ जान लाइस ?, यत्राको जबाफ दिनु नि !! केइ नबोली बत्ताउँदै कुँदिन्थ्यो, केटाहरुले मेसो नपाई नपाई पछी पछी कुँद्थे । दोकान सम्म पुग्दा कैले त आठ दश जना केटा पुगिसक्ने । एकै सासमा तुले बुडाको दोकानको ढोकामा रोक्केर स्याँ स्याँ गर्दै मुठिमा च्याँप्या पाँस्सा फुत्त बुडाको काखाँ फाल्देर ‘रातोमिठाइँ!’ भनिन्थ्यो । बुडाले डब्बा बाट निकालेर एउटा रातो मिठाइँ दिन्थ्यो । बाहिर आएर कमिजको फेरमा मिठाइँ बेरेर दाँतले टोकेर फुटाएर, पछी लागेका सबै केटाहरुले बराबर भाग लगाएर खान्थिम । एउटाको भागमा लग्भग एउटा गहुँको गेडा जती पर्थ्यो होला । टप्प जिब्रामा राखेर च्वाप्प मुख मिठाउँदै खुप टेसले खाइन्थ्यो । पिपलगेडी एक रुप्पेका शय वटा आउँते, रातो मिठाइँ चाँही एक रुप्पेका बीस वटा । तर पिपल गेडी भन्दा रातो मिठाइँ नै मिठो हुन्थ्यो र शय वटा पिपलगेडी भन्दा मात्रा नि केही बढी हुन्थ्यो । त्यसैले सबैको प्यारो रातो मिठाइँ (रातो डल्लोमा सेता धर्का भएको) नै हुन्थ्यो ।
पैसाको मायाँ कहिल्लेइ लागेन, तर लोभ भने असाध्यै लाग्यो । मैले पैसा सानैमा चिनिसकेको थेँ जस्तो लाग्छ । एक पटक मावल सप्ताहा लगाएका थिए । म जेठो नाती उर्फ मावलका हजुरबा हजुरआमाका सन्तानका तर्फबाट केटा तर्फको जेठो । आफ्नै खुदका मामा थिएनन् तर नि मामाहरुको कमी थिएन र छैन पनि । मावली गाउँमा चिनेजतीकाले भान्जा नै भन्चन । अझ अचम्म त गाउँमा आफु भन्दा दश बर्ष कान्छाले नि ‘ओए !, तँ ‘ भनेर बोलाउँचन । तर मावल तिर गएसी चिन्ने नचिन्ने आफु भन्दा तिस चालिस बर्ष बुढाले सम्म भान्जा ‘तपाइँ’ भन्चन । आत्म सम्मान भन्दा नि लाज पो लागेर आउँच । सप्ताहामा मै हिरो नि ! भर्खरको फिस्टे थेँ । गणेश बनाएका थिए मलाई सप्ताहामा । तर मलाई खासै टेस परिरको थेन । पूजारिका छेउँमा धुम्म परेर बसिरहनु पर्थ्यो । कथा बाचनको हरेक पूर्णबिराममा ‘हरे~~~ !’ भन्दै अरुले हात हातमा जोडेका फुलका थुङ्गा जग्गेमा फाल्दा आफ्ना उल्फट्याङ दरौँलेहरुले परालका गुजुल्टा फाल्थे । आफुलाई नि तेसै गर्न मन लाग्थ्यो तर जग्गेमा कुँजिएर बस्नु पर्ने । थुक्क गणेश !
सप्ताहा सकियो । सबैलाई टिको लाएर पैसा दिन थाले । मेरो नि पालो आयो । दिपका मामाले (दिप = आमाका जेठाबाका छोरा, दिप भन्ने टोलमा बस्नाले दिपका मामा) यत्रोबोडो सुपा(नाङ्ला) भरी पैसा ल्याएर टिका लाइदेर भने : लौ भान्जा रोजेर एउटा नोट लैजानुस् !
मलाई त रिँगटा लायो, भनन्न भयो । हजार, पाँच शय , एक शय देखी लेर एक रुप्पे सम्मका नोट थिए । कुन टिपौँ टिपौँ भयो । एक्छिन घोरिएँ । आफ्नो उमेर र औकात सम्झिएँ अनी यसो सुपामाका नोट केलाएँ र अली नयाँ खालको दश रुप्पेको नोट टिपेँ । मलाई थाहा थ्यो पैसाको भ्यालु । त्यसैले मैले मेरो औकात अनुसारको पैसा लिएको थिएँ आँफै छानेर । म जत्तिको मान्छेले दश रुप्पे भन्दा बढी लोभ गर्नु हुन्न भनेर । बडो बिचार पुर्याएको थिएँ । पैसाको लोभी आरोप नलागोस भनेर । किन कि शय भन्दा माथिको लिएको भए पछी फिर्ता माग्थे या बाउ आमाले मैले राख्दिन्छु भनेर दम्पच पार्दिन्थे, आफ्नो हातमा शुन्य लाग्थ्यो । बिस र पचास् लिएको भए त्यसबाट एक-एक रुप्पे मासेको नि घरमा हिसाब देखाउनु पर्थ्यो । त्यसैले दश रुप्पे लिएँ । तर अर्थको अनर्थै लाग्यो । हाम्ले त भान्जा ट्यालेन्ट होलान भनेको त हुस्सु पो रहेछन । नयाँ नोट भए हुने रहेछ । पैसाको भ्यालु थाहा रहेन्छ भन्न थाले । अन्तमा मैले आफुले दश रुप्पे छानेको कारण खुलाउनु पर्यो । त्यै नि कसैले पत्याएको भए पो !
2/15/14
वरुण पोख्रेल
चौरपानी, प्युठान, नेपाल
(स्रोत : रचनाकारको ब्लगबाट सभार )