खबरहरुको एक दिन
खबरै खबर थियो
धेरै अघिदेखि
सिएर राखिएको घडीको ओठ
पग्लिरहेको थियो
बाटाहरू
टेकिएका फूलहरु
सपना र आँसुमा
खुट्टाका दु:खहरु गाउँदै थिए
असङ्ख्य आँसुहरुका चमकमा
केही तिर्खा र तरवार उध्याउँदै थिए
तलसम्म झरेर पहाडका उँचाइहरु
हतार हतार
आफ्नो यौवन जोखेर देखाउँदै थिए
ह्रदयबाट निस्केर एकदिन एउटा कालो हुरी
त्यही वरिपरि ढुकिरहेको थियो
खबरहरुको एकदिन
आफूसँग रोएर घडीको ढुकढुकी
रोकिनु अघिको पृथकता पर्खिरहेको थियो
बादलहरु पग्लनुको सिमाना कोरिरहेका थिए
प्रकाशहरु चञ्चलता टुक्राटुक्रा पारेर
सीमाहीनता गाँसिरहेका थिए
जङ्गलमा बाटो हराएको त्रासमा
रुखहरू अत्तासिरहेका थिए
हृदयबाट उडेका चराहरू
भाँचिएको प्रेमको लामो सुस्केरा बुन्दै थिए
हाँस्नेहरूका ओठमा
मरुभूमिको मध्यान्ह झैँ लाग्ने
बेसुरा काँडाहरु उम्रिरहेका थिए
प्रिय प्रदर्शनीको अभिनयमा
कविहरु आँखा झुकाइरहेका थिए
खबरहरुको एकदिन
खबरै खबर थियो
धेरै अघिदेखि थामेर राखेको
भूमिगत आस्थाको बाँध
भत्कनुको संघारमा
चह¥याइरहेको थियो
धेरै अघिदेखि
सिएर राखिएको घडीको ओठ
पग्लिरहेको थियो
खबरहरूको एकदिन
ज्यादै अवसादग्रस्त थियो
भ्रमहरुले पनि
प्रिय भ्रमको भुइँचालो पर्खिरहेका थिए ।
(स्रोत : Satakosahitya)