कविता : हिम्नदी

~आभास~Aavaas - Achyut Prasad Phuyal

जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
मेरा प्रत्येक अङ्गहरु चलमलाउँछन्
बतासले हल्लिएका पात झैं
मेरा जमेका दिन र रात चलमलाउँछन्
म बग्न थाल्छु
अविरल बग्छु
चोइटिएका चट्टानहरु सुमसुम्याउँदै
तल तल मैदान पुग्छु
कतै
बलेको आगोमा होमिन्छु र बाफिन्छु
कतै
बिरुवाका काण्डमा घुस्छु र रापिन्छु
जब म
मेरो यात्राभरि
चुडिँदै र कुडिँदै
महासागर पुग्छु
प्रचण्ड घामले तात्छु
शीतल हावाको बुइ चढेर
अकासिँदै उड्छु
जहाँ मलाई चट्याङ्ले पनि पोल्दैन
म कठाँग्रिन्छु
फेरि हिउँ भएर तल खस्छु
जब घामको किरणले
मलाई स्पर्श गर्छ
जब
न्यानोपन भर्छ ममाथि
म पग्लन्छु
बारम्बार पग्लन्छु ।

***********

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.