दु:खको पहाडमाथि पहाड
ढसमस्स उभिईरहेको छ
अतिसय जब्बर भएर
कताकता झन दुरुह भएर ।
गुन्द्रीमा गोमाहरु बिस्कुन सुकाउँछन् उस्तै गरी दु:खको
र उठाउँछन् मानापाथीमा झुसी र निम्ठोमा नापेर दु:खलाई
भर्छन् मनका मान्द्रे भकारीमा टनाटन दु:खका दु:ख ।
उक्लनु र ओर्लनु दु:खको वेनाम पहाडको भीरैभीर
दु:खकै देउराली
दु:खकै भञ्ज्याङ
दु:खकै छपनी
दु:खकै ड्यौडी
दु:खकै गौंडो
दु:खकै तेप्र्याईं
दु:खकै उकालो
दु:खकै ओरालो
दु:खकै बनपाखा
दु:खकै पानी पँधेरो
दु:खकै लेक वेँसी
दु:खकै मेला पर्म
दु:खकै जात्रा मात्रा
दु:खकै बिहे बटुलो र मलामी !
दु:खको पहाडबाट चियाउने आशाको घाम नउदाउँदै डुब्छ
दु:खको आकाशमा उदाउने भरोसाको जून लुकामारी गरिरहन्छ ।
कुरेर सुखको बिहान नदेखिँदै दिन ढल्कन्छ
ढुकेर दु:खको अवसान नहुँदै अर्को दु:ख थपिन्छ ।
दु:खको पहाड छेउ सुसाउने आँसुको खोल्सी गड्गडाउँदा
जोगाएर राखेको मर्मको भित्ता नराम्ररी चर्कन्छ
कसै गरी बाँच्ने अठोटको सगरमाथा झन झन चुलिन्छ ।
दु:खको महासागरमा हेलिने आँटको जहाज दौडेको दौड्यै छ
लाग्छ कुनै दु:ख हामी छेउ अब ढिम्कने छैन अब
लाग्छ दु:ख सर्लक्क पन्छेर लाखापाखा हुनेछ अब ।
आँखाका बलेसीबाट तप्केका दु:खका तप्केनीमा
जीवनका थोपाहरु धारा नटुटाईकन खस्छ
र दु:खकै दह जम्छ ।
एकैछिनलाई दु:खबाट उन्मुक्तिका लागि
कल्पनामा हराउँदा पनि तर्साउन आउँछ
मुखातिव दु:खका लर्कन
सिमान्त पिडाका उच्छवास
टाढा टाढा तिर्मिराउने सुखका मृगतृष्णा
र कल्पनातीत दु:खको भयावहता ।
(स्रोत : Satakosahitya)