~हाङयुग अज्ञात~
सोचेको थिएँ
असोज ४ गते ब्युँझिदा
मनमा खुशी र उमङ्ग छाउनेछ
नयाँ जोश र जाँगरले दिन सुरु हुनेछ
तर फेरि उही निराशा, अशान्ति र हिंसाले
एकाबिहानै स्वागत गर्यो
कि दसौं हजार शहीदको बलिदानले
एकाबिहानै सरापेर गयो
सोचेको थिएँ
असोज ४ गते ब्युँझिदा
नयाँ घाम लाग्नेछ निर्माणको
जहाँ म सुकाउन सकूँ दु:खहरू
तर मधेसबाट चलेको तातो हावामा
घाउ झनै पाकेर दुख्यो
मेरो भागमा
फेरि पनि यौटा हलुङ्गेको बटुको पर्यो
जसलाई ठटाएर
मागिरहनु पर्नेछ अधिकारको भिख
असोज ४ गते ब्युँझिदा
तिमी ब्युँझियौ
आफ्नै अहंकारको पहाडसित
२०४७ सालको कचेरासित,
तर म ब्युँझें
मान्छेका लास झैं ढलेका
५० वटा मालदह आँपसित
थारुको टाउको झैं
खेतभरि गिदी छरिएको नरिवलसित
असोज ४ गते ब्युँझिदा
तिमी र म
फेरि आपसमा लड्न ब्युँझियौं
फेरि मर्न र मार्न ब्युँझियौं
तर देश ब्युँझिएन
देश हिंसाको कात्रो ओढेर
लास जस्तै लमतन्न सुतिरह्यो
असोज ४ गते
तिमी
दिपावलीको धुँवाले कालो लागेको नाक बोकेर ब्युँझियौ
म
मधेसको धुँवामा पुरिएको अनुहार बोकेर ब्युँझिएँ
सोचेको थिएँ
असोज ४ गते ब्युँझिदा
आम हड्ताल, बन्द र आन्दोलनहरू
कमसेकम १०० वर्षका लागि बन्द हुनेछन्
तर सुन्दैछु जंगलमा बन्दुकहरूले आँखा खोल्दैछ्न् रे
असोज ४ गते ब्युँझिदा
तिमी व्यस्थापिका, कार्यपालिका र न्यायपालिकाभित्र ब्युँझियौ
म सडकमा ब्युँझिएँ ।
(स्रोत : Hulaki)