~शिशिर पराजुली~
यसपाली मात्रै लडेको धरहरा
मेरो सपनामा आएर ठिङ्ग उभियो
जुन धरहराको टुप्पोमा बसेर एउटा कवि
शहरको कविता कोर्दै थियो ।
मेरो सपना ‘जुम’ भएर विस्तारै
कविको कवितामा ठोक्कियो
अनि त्यो कविता यसप्रकार थियो ।
सगरमाथा माथि बसेर कविता लेख्ने धोको
सगरमाथाबाट शहर नदेखिने बोध भएपछि
मैले धरहरा छनौट गरें र लेख्दै छु कविता ।
म देख्दैछु, गगनचुम्बी भवन र झिलिमिली
लम्पसार सुतेको कालो सडक
जसमा काला र गोरा दुवै प्राणी
कालो र गोरो कर्म गर्न कुदिंरहेका छन् ।
म देख्छु, फिल्मी दुनियाँ
जहाँ संसार मैले देखेको भन्दा भिन्न छ,
जसभित्र मात्र सुखद अन्त्य र संगीत छ
अनि कलम रोकिन्छ एकछिन;
धरहराबाट देखिंदैन भोको पेट
देखिदैंन आमाको रोदन
सुनिदैंन नमिठो संगित
मात्र देखिन्छ भोग र विलास ।
कविताबाट मेरो सपना ‘जुम आउट’ भएर
कविको अनुहारमा अडिन्छ
म देख्छु कविको भावाभङ्गी
उ निराश छ,
दाहिने हात देब्रे पट्टीको खप्परमा राखेर
फेरी देब्रे हातले कलम समाउँदै
फेरी सुरू गर्छ उसको कविता ।
देख्छु, आन्दोलनको आवाम जसभित्रको
क्रान्तिकारी उद्घोष,
तर देख्दिन, आन्दोलनको विद्रोह
थप देख्छु, उधोगबाट बगेको धूवाँ र
फालिएका फोहोरको सगरमाथा
जुन सगरमाथामा बसेर काग कराउँछ,
काग कराउँदै गर्छ पिना सुक्दै गर्छ
कि कसो सरकार ?
तर देख्दिनँ, उधोगकै छेउको छाप्रो
जहाँ गरिबको पेटबाट भोकको धूवाँ बग्छ
र थप देख्दिनँ बालकको रोदनँ
किनकी म शहरको संगीतमा छु ।
देख्छु, शहरका गल्लीमा देहव्यापार
तर देख्दिनँ देशको व्यापार
किनकी ति व्यापारी कालो गाडीमा
कालो सिसा लगाएर हिड्छन्
र गर्छन् कालो खेति ।
थुप्रै बाहिरी कुरा देख्छु, खेस्रा कुरा
देख्दिन खस्रा कुरा जुन सत्य हुन्
तर देख्छु केवल कस्मेटिक सहर ।
कविको कलम रोकियो, धरहरा हल्लियो
मेरो सपना हल्लियो,
म ब्युझिएँ,
र हेरें धरहराको अस्तित्व
अब कसरी लेख्छन् कविले कविता ??
(स्रोत : Hulaki)