लेख : आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई

~सुदर्शन अर्याल~Sudarshan Aryal

यहीँबाट कथा आरम्भ भयो; एउटा ज्वालामुखीजस्तै विष्फोट हुनलागेको पीडाको, आँशुले पनि बगाउन नसकेको वेदनाको र दुःख नै दुःखको सागरमा चोपलिएको जीवनको यथार्थ कहानीको । आजसम्म आफ्नो पीडाको बारेमा बताउने कोही पनि उपयुक्त पात्र नभेटेकी आमाले आज आफ्नै सन्तानलाई एउटा कारूणिक कहानी सुनाउन लागिरहनुभएको थियो । त्यसैले पनि म आफ्नो धैर्यता जोगाउँदै उहाँका पीडा र वेदनाहरूको सँगालो सुन्न लालायित थिएँ । उहाँको मुखबाट एउटा अलिखित कारूणिक कहानी र एउटा दुःख नै दुःखले भरिएको सत्य घटनालाई एकचित्त भएर सुनिरहेको थिएँ ।

जसरी सानो हुँदा निद्रा नलाग्दा उही आमाले स्वैरकल्पनाका कथाहरु सुनाउनुहुन्थ्यो, यो कहानी पनि कुनै एकादेशको कथाभन्दा कम्ती थिएन । जुन घटनालाई अहिले पनि बिर्सिन नसकेको र दुःखले पनि आफूलाई बिर्सिन नसकेर सधैँ पछ्याइरहेझैँ आफ्ना अतीतका यादहरूलाई केही टाढा राख्न मद्दत पु¥याउने उहाँको विश्वास थियो ।

मैले आज त्यो वेदना र पीडाको कहानी सुन्नैपर्छ, त्यस कहानीका पीडित पात्रको आर्तनाद सुन्नैपर्छ र सहानुभूतिका आफ्ना दुई शब्द बोल्नैपर्छ, किनकि उहाँ मेरी आमा हुनुहुन्छ । नौ महिनासम्म गर्भमा राखेर प्रसव वेदनाबाट जन्माएको छोरासामु आफ्ना पीडाका कहानीहरू सुनाउन पाउनु उनको अधिकार थियो र त्यो सुन्नु मेरो कर्तव्य ।

उहाँको कहानीको सुरूवात नै आँशुबाट सुरू भएसँगै मैले पनि आफ्नो चेहरामा मलीनताको भाव झल्काउन पुगेको थिएँ । तर त्यो कुनै देखावटी मलीनता भने पक्कै थिएन । उहाँको यथार्थ कहानीमा एउटा भावुकता थियो, पीडा थियो र रोदन थियो । त्यसैले त आधा शताब्दीअघिका घटनाहरू समेत पनि उहाँको मानसपटलमा सजीव थिए । आँखामा सचित्र वर्णन गर्नसक्ने परिदृश्य थियो र अभिव्यक्तिमा सबैको आँखा रसाउने बनाउनसक्ने क्षमता थियो ।

आफ्नो जन्मघरलाई आठौं वसन्तको अन्त्य हुँदा नहुँदै त्याग गरेर अर्काकै जिम्मामा अपरिचित मानिसको हात समातेर हिँडेकी उहाँको जीवनमा अपरिचित व्यक्तिलाई बाबुआमाले जिम्मा दिएकै दिन जीवनमा खुसीका क्षणहरू कमैमात्र देखापरेका थिए । परम्परागत हिन्दूनारीमा हुने गुण नभएकै पनि होइन तर पनि कुनै न कुनै बहानामा हरेक दिन उहाँमाथि शब्दको वाण प्रहार भइरहेकै हुन्थ्यो । जवानीमा उहाँलाई कुनै पनि बहानामा हाँस्ने अधिकार दिइएन । केवल दिइयो अनावश्यक दबाब र पीडादायी क्षण ।

हो, कहानी सुरु गर्दा नगर्दै उनको आँखामा आँशुका थोपाहरू छचल्किरहेका थिए । जुन १० वर्षको उमेरदेखिको दैनिकी थियो । आफ्नो भाग्यलाई धिक्कार्दै बिताएका ५० वर्षमा उहाँको जीवनमा कहिल्यै पनि खुसीको क्षण आएन । एउटा कारूणिक चलचित्रको आभास हुन्थ्यो उहाँको जीवनीमा ।

म पढिरहेको थिएँ त्यही कहानी, जुन सुन्दा पनि अत्यास लाग्ने थियो । उहाँ भन्दै जानुहुन्थ्यो । मेले सुनिरहेको थिएँ । नौ महिने गर्भधारण र प्रसव वेदनाको पैँचो तिरेको सम्झिएर उहाँलाई सुन्दै थियो ।

समयले कोल्टे फेर्दै जाँदा अहिले मेरी आमा पनि सासू बन्नुभएको छ । त्यही सासू जसका कारणले नै १० वर्षे कलिलो उमेरदेखि ४० वर्षे उमेरसम्म कहिले पनि मेरी आमाले ओठमा मुस्कान छर्न पाउनुभएन । जवानीमा अट्टहास हाँसो हाँस्न पाउनुभएन र आफ्नो चाहनाअनुसारको कुनै पनि निर्णय गर्न पाउनुभएन । केवल एउटा कारागारमा बन्दी जीवन बिताएकाहरूले झैँ दिनदिनै अरूको टोकसो सहिरहनुपथ्र्याे र उनीहरूकै योजनामा चलाउनुपथ्र्याे आफ्नो जीवन समेत । बाबुआमाले जिम्मा लगाएको एउटालाई तर उहाँमाथि शासन हुन्थ्यो अरू नै बाट ।

हो, उहाँ पनि आज सासू बन्नुभएको छ । समय पहिलेकै जस्तो थियो भने उहाँले पनि कसैको ओठको हाँसो र मनको खुसी खोस्नुपर्ने हो । कसैको बैंसालु यौवनलाई आफ्नो शासनमा राखेर त्यसै खेर फालिदिनुपर्ने हो र कसैलाई यस्तै कारूणिक कहानीको पात्र बनाउनुपर्ने हो । तर, त्यसो हुनसकेन । भाग्यले पनि साथ नदिएको भन्ने या त के भन्ने मेरी आमाले कसैमाथि पनि शासन गर्न पाउनुभएन । उहाँ अहिले कसैकी सासू हुनुहुन्छ । तर, उहाँले शासन गर्नुको सट्टा बरू आफैं शासित बन्नुभएको छ । समाजको परिवर्तनले बुहारीको शासनमा बस्नुपरेकी मेरी आमालाई बुहारी बन्दा सासूको शासन र सासु बन्दा बुहारीको शासनले एउटा अभागी सासू र बुहारी साबित गराइदिएको छ । उहाँको यो कहानीसँगै कहिले उहाँमा हाँसोको भाव देखिन्थ्यो त कहिले निराशाको । अविवाहित छोराको अगाडि उहाँले सुनाएको कहानीको बदलामा मबाट एउटा प्रतिबद्धता खोजिएको थियो ।

बुहारी बन्दा जसरी आफ्नी सासूले आफूमाथि शासन गरिरहेकी थिइन्, त्यसरी नै अहिले उहाँ आफ्नै बुहारीबाट पनि पीडित बन्न बाध्य हुनुपरेको छ । जुन समस्या पछिल्लो समय मेरी आमाको मात्रै नभएर धेरैका आमाहरूले भोग्नुपरेको छ । त्यसैले पनि आफूलाई भाग्यमानी बुहारीको रूपमा चिनाउन नसके पनि अभागी सासूको रूपमा बाँच्न नपरोस् भन्ने चाहना उहाँको चेहरामा प्रष्टै झल्किन्थ्यो । त्यसैले मैले पनि १० धारा दूध र नौ महिने गर्भावस्थाको काल्पनिक पीडा सम्झिएर उहाँको चाहनाअनुसार ‘आमा तपाईंमाथि शासन गर्ने बुहारी चाहिएन मलाई’ भनेर सौहार्द्रपूर्ण अवस्थामा सासू बुहारीको मेल गरेर बाँच्नसकिने जीवन खोज्ने प्रतिबद्धता जाहेर गरेको छु । त्यही प्रतिबद्धताले आमाको आँखामा केही चमक देखिएको छ । उहाँलाई केही सान्त्वना मिलेको छ । कहानीले कोल्टे फेर्ने आशामा बाँचीरहेकी आमाको इच्छा पूरा गर्ने संकल्प मैले पनि गरिसकेको छु ।

(स्रोत : Hulaki)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.