बिरभानका घरमा अस्ति राति एक टुक्रा जून खस्यो । र, त्यस दिनयता आज बिरभानकी बुहारीलाई बिहान ढोका लिप्दै गर्दा कत्ति अल्छी लागेन । भित्ताहरुको धूलो टक्टक्याउँदै गर्दा उसले आफ्नो खुसी पनि लिपपोत गरेकीले हो कि घर झनै चिटिक्क देखियो । बिरभानकी श्रीमतीको सधैं मुर्झाइरहने मुहारमा पनि प्रशस्तै खुसीका रेशा समेटिए ।
हिउँदे चिसोको घाममा खटिया लगाएर दिनैभरि पल्टिरहने बुढीले आज घाँटी तन्काइ–तन्काई घर भित्रिएको बाटो नियालि रहिन् । बिरभानको नाति सुबास नि आज स्कुल जान मानेन । ऊ स्कुल नगएकोमा कसैले चित्त दुखाएन र कर पनि गरेन । बरु उसलाई स्कुले ड्रेसको साटोे नयाँ कपडा लगाइदिएर आमाले चिटिक्क पारिदिइन् । स्वयं बिरभान बुढाले पनि आज बिहान घरको चिया पिएनन् ।
बिहानैदेखि नै उनको हतार नि बढेको थियो । बुढा आज बिहानै बाहिर निस्के र गाउँका ठूलाबडाहरुसँग लिएको ऋणको हिसाब निकाले । जेहोस्, बिरभानको घरमा आज गाउँघरमै कतै नभा’को छुट्टै रौनक महसुस गर्न सकिन्थ्यो । डाहालाग्दो खुसी थियो । उत्सव थियो ।
छ महिनाको लामो अन्तरालपछि बिरभान र साइली बुढीको छोरो, देवकलाको लोग्ने, सुबासको बाउ नारायणले अस्ति कालापहाडबाट आज घर फर्किने जानकारी गराएको थियो ।
तर, आज घर आउँछु भनी अस्ति राति खबर पठाएको नारायणचाहिं कहाँ आइपुग्यो होला ?
…
बिरभानको घरमा जून खसेको दिन बिहान भारतमा रहेको उनको छोरा नारायण निक्कै हतारमा देखिन्थ्यो । बिरामीले केही दिनयता थला परेको उसको शरीरले पनि आज बिसाउन मानेको थिएन । छ महिना भारतको बसाइपछि घर फर्कन लागेको उसकोे मनले अनगिन्ती चोटी नेपाल–भारत ओहोर दोहोर गरिसकेको थियो ।
त्यसैदिन बिडारी साहुले हिसाब किताब फच्चे गरिएको कागजको टुक्रा उसको हातमा थमाइदिदै यस्तो भनेथ्यो, ‘छोटु तेरा छ महिनेका हिसाब पाँच हजारके दर से तीस हजार होता है । दो दिन बाद मैं तुम्हें पैसे लाकर दुंगा । अभि दवा खाने के लिए ये दो हजार रख लो ।’
भाँडा धसी–धसी काटिएका नारायणका हात हिसाब किताब गरिएको कागजको न्यानोले मात्र पनि सग्ला भए । ‘जी बाबुजी । अच्छी तरफ से बैठीएगा हम दुसरे साल फिर आएगें ।’ साहुप्रति आत्मीयता उसले प्रकट ग¥यो ।
बिडारी साहुसँगको भेटपछि नारायण सरासर आफ्नो डेरामा आयो कालापहाड आउँदा सँगै ल्याएको परिवारको फोटो उसले बाकसबाट निकाल्यो र छातीमा टाँस्यो । यसअघि उसले भारत आइपुगेको साँझमात्र त्यो फोटोलाई चुमेर आँसुसँगै बाकसभित्र बन्द गरेको थियो । आज उसलाई यस कुराको पर्वाह भएन । मनभित्र लाग्यो, परिवारको याद भक्कानिएर आओस् । र, ज्वरोले थला परेको शरीरभित्रसम्म पुगेर त्यसले मल्हमको काम गरोस् ।
नारायणले हुन्हुन्ती ज्वरोका बीच परिवारको फोटोलाई पानीपट्टी गराई तनमनको ज्वरो र हतारलाई थाम्ने प्रयास ग¥यो ।
…
परिवारको सारा भार बोकेर हिडेका बिरभान बुढाका पाखुराले बुढ्यौलीले छोप्दै गएपछि बिस्तारै छोरा नारायणको काँधको सहारा महसुस गर्न थाले । बाआमाको जिन्दगीभर आँसु, पसिना र मायाले निखारिएको उसको शरीर र बुद्धिबापतको लगानीस्वरुप उनीहरुले लगाएको ऋण चुक्ता गर्नुपर्ने बेला आएको थियो ।
आफुलाई पढाउनका लागि रामे साहुकोमा बन्धकी राखिएको खेत फिर्ता गराउने बेला पनि आएको थियो । श्रीमती भित्र्याएपछि जिम्मेवारी झनै बढेको थियो । झनै दुई वर्षअघि जन्मिएको सन्तानले पनि तोते बोली बोल्न थालेपछि उ पटक–पटक छोराको निधारमा भविष्यको प्रतिबिम्ब देखेर चिन्तित हुन्थ्यो । तर, यी तमाम जिम्मेवारीको भार आफ्नो काँधमा आइसके पनि उसलाई खुट्टा अडाउने स्थानको भने कुनै मेसो लाग्न सकेन ।
सँगै पढाइ र कमाइकाजको सिलसिलामा सहर छिरेपछि गाउँलाई पराइ बनाउन पुगेको नारायण सहरमा पनि बिस्तारै एक्लिदै गयो । सहरमा उसका कैयन् साथीभाइले राम्रो अवसर नपाएका पनि हैनन् । तर, उनीहरुले जस्तै चोर बाटो समाउन उसलाई मन लागेन या सकेन ? लामो समय बसाइपछि रित्ता गोजीको भार बोकी ऊ घर फर्कियो । छोरो सहर छिरेपछि केही समयमा आफूहरु पनि छोरासँगै बसाइ सर्ने आश पाली बसेका उसका परिवार यसरी छोरा पुनः गाउँ फिरेपछि एकाएक छाँगाबाट खसेझैं भएका थिए ।
पारिवारिक जिम्मेवारीको भारले घाँटी अठ्याउनै लाग्दा पनि कमाइकाजको मेलो मेसो नभेटाएपछि बिस्तारै गाउँका साथीभाइ, गाउँले हुँदै उ स्वयम् परिवारका लागि पनि अर्थहीन बन्दै गयो । केही समय बिहे गरेकी श्रीमती पनि हिजो आज प्रायः मुन्टो बटार्ने भएकी थिई । बाउ देख्यो आँखा तर्काउँथे । आमा प्रायः मौन रहन्थिन् ।
यसै क्रममा एकदिन तीन वर्षे छोरा सुबासले बालाई माया गरेर ‘नालायन’ भन्यो । छेउमा रहेका बिरभान बुढाले त्यसैलाई बङ्गाएर ‘नालायन’ हैन ‘नालायक’ भनिदिए । बाको घोषणामा आमा मौन बसिन् । खाना पकाउँदै गरेकी श्रीमतीले भाँडा ठूलो स्वरले बजाई । यसरी नारायण बनेर जन्मेको २७ वर्षपछि ऊ सिधैं नारायण–नालायक भयो ।
र, स्वदेशमा कुनै सीप नचलेपछि त्यसको केही समयपछि नै कमसेकम परिवारको लागि भए पनि लायक बन्ने सपना पूरा गर्न भारत छिरेको थियो ।
अहिलेसम्म त नारायणले घर फर्कन सबै तयारी पूरा गरिसक्यो होला !
…
तर, समय र परिस्थिति हामीजस्तै सिधा हिड्ने भइदिए …?
घर फर्कने तयारी गरेको नारायण झोक्राएर बसेको छ । परिवारको फोटा ओछ्यानमा बेवारिसे भई ढलेको छ । अघि बिहानसम्म चुम्न र अँगालो हाल्नबाट नबिसाउने नारायणले किन यत्तिकै त्यो फोटो त्यसरी छोडेको होला ? मुहारतर्फ हेर्दा आँसु झरिरहेछन् । कि मनमा आँसुको पानीपट्टी लगाइरहेको हो ? सँगै मित्र घनश्याम पनि चुप लागेर बसेको छ । दुवैले एक–अर्काका मुहार हेर्छन् र फेरि घोप्टो पर्छन् ।
‘मलाई त पहिल्यै शंका थियो यो मान्छेको गतिलो छाँट छैन ।’ घनश्याम यति भन्दै आँसु र सिरानी च्याप्छ । ‘यस्तो भए त अस्ति नै पूरा माग्थे नि । साला यिनलाई ठग्नका लागि नि हामी मजदुर नै चाहिने ?’ नारायण गुनगुनायो ।
उनीहरुको कुरो बुझ्दा स्पष्ट थियो । दुई दिनपछि पैसा लिएर आउँछु भनी हिडेको बिडारी साहु फर्किएन । ‘हेर नारायण म त अब घर जान सक्दिनँ यार यतै बस्छु । एक वर्षको कमाइ नै खाइदियो । घर गएर त्यत्रो ऋण के गरी तिरुँला ?’ घनश्याम निष्कर्ष सुनाउँछ ।
नारायण मौन छ । केही बोल्न मन लाग्दैन । टाढा आँखा डुलाउँछ । र, फेरि त्यही फोटोलाई समाएर टोलाउँछ । एक मन सोच्छ यतै बसुँ । तर, बिरामीले दिनानुदिन गल्दै गएको शरीर सम्हाली कसरी त्यहाँ बस्न सकिएला ? फेरि रित्तो हात घर पनि कसरी जानु ? मन दोधारे हुन्छ । उठ्छ । झ्याल खोल्छ । र, फेरि बस्छ । तनमा मनको ज्वरो थपिएपछि सम्हाल्न धौ हुन्छ । कसले सम्हाली देला उसलाई ? परदेशले या स्वदेशले ? घरले या पराइले ? साथीले या परिवारले ? समयले या परिस्थितिले ? वर्तमानले या भविष्यले ? आफैले या अर्कैले ? प्रश्नहरुको बाढीले बगाउन खोज्छ ।
गोजीमा औषधि खाऊ भनी दिएको दुई हजार जस्ताको तस्तै छ । मनको ज्वरो पनि दोधारे छ । दुई हजारले नि झनै दोधारे बनायो । औषधि खाउँ या टिकट काटेर घर पुगुँ ? बाआमा र श्रीमतीको मुहार आँखाभरि छाउँछ । लोलाउँदै काखमा आई पल्टिने छोरो सम्झिन्छ । मुन्टो बटारे नि साँझ दुई छाक खुवाउने श्रीमती सम्झन्छ । जति गाली गरे नि काँध थाप्ने बाउ सम्झन्छ । गोजीको दुई हजारले औषधि नखाई घर फर्किने निधो गर्छ ।
…
चिसो हिउँदमा चिसो मन बोकी नारायण घर पुग्यो । घरका चिरा परेका घाउ निको हुन सकेका थिएनन् । घरको छानो अड्याउन प्रयासरत टेकासो उसैगरी जोडबल गरिरहेथ्यो । बारीमा छाक टार्न लगाइएको सागबाहेक सबैथोक उस्तै छ । उसले अझैं घर त्यसैगरी नियाल्थ्यो होला । तर कताबाट छोरो सुबास बतासिदै आइपुग्यो र बाको घुँडा समातेर घोप्टो प¥यो । नारायणले बोलाउन धेरै प्रयास ग¥यो तर छोरोले मुन्टो उठाए पो ! साँच्ची कहिलेकाहीं दुःखजस्तै खुसी पनि मौन बसिदिन्छन् । बरु छोरासँगै आएको काले कुकुरले नारायण वरिपरी घुमेर काँइकुइ ग¥यो । दुबैका काँध केही समय नारायणले थपथपायो ।
‘कान्छा आइपुगिस् ?’ निदाएकी आमा ब्यूँझिइन् । ‘ए ल यो त आइपुगेछ’ बाको अनुहार उज्यालियो ।
श्रीमान् श्रीमतीका मनले टाढैबाट एकले अर्कालाई अँगालो मारेर मिठो चुम्बन गरे ।
…
अघिदेखि मौन नारायणलाई ज्वरोले खपी नसक्नु पारिरहेकै थियो । र, सँगै बाआमाका उज्यालिएका अनुहारको भित्री अर्थ पनि उसलाई बिझाइरहेथ्यो । कसरी सुनाउने होला ? तर नभनी सुख नि नपाइने । खाना खाने क्रममा बाले भारतको बसाइबारे सोधेपछि जसोतसो सुस्तरी गुनगुनायो । ‘बा जस्तो गएको थिएँ उस्तै आए विदेश नि मलाई फापेन ।’
अघिदेखि तिर्नुपर्ने ऋणका हिसाब गन्ती गरिरहेका बिरभान बुढाका औंला टक्क रोकिए । ‘के रित्तै आइस् त मोरा ?’ नारायणले छ महिना भारत बस्दाका घटनाक्रम छोटोमा सुनायो । र, अन्त्यमा यति भन्न सक्यो । ‘यसपालि नि त्यस्तै भयो, अब छिट्टै अरु काम थाल्छु ।’
‘यो नाथे नालायकले कहिले पो राम्रो ग¥या’थ्यो र ? जाँड खाएर उडायो होला । के को साहुले ठग्नु नि । तँ सधैं ‘नालायक’ नै रहने भइस् नाथे ‘नारायण’ !’ बुढा एकाएक गर्जिए ।
नारायणको मन अमिलो भयो । तनमनको ज्वरो झनै बढ्यो । आमा फेरि मौन बसिन् । श्रीमतीले उसैगरी ठूलो स्वरले भाँडा बजाई । छोरा आएर काखमा बस्यो र बाका लामा भइसकेका दाह्री खेलाउन थाल्यो । बच्यो त मात्रै मौनता ।
…
सबै सुतिसक्दा पनि आज त्यो घरमा नारायणलाई निन्द्रा परेन । छेउमा सुतेका श्रीमती र छोरालाई एकपटक सरसर्ती नियाल्यो । घाँटीभित्र उकुसमुकुस महसुस भयो सायद घर बाहिर निस्क्यो । काले कुकुर उसैगरी पुच्छर हल्लाउँदै छेउमा आउन थाल्यो ।
‘नालायक कुकुर !’ नारायणले रिस र उकुसमुकुस संगालेर कुकुरमाथि ढुङ्गा प्रहार ग¥यो । काले कुकुर मुन्टो बटार्दै भाग्यो ।
आज किन–किन उसलाई आफनो बाल्यकालको साह्रै सम्झना आइरहेथ्यो । बाल्यकालको नि अमूल्य क्षण जब बा काँधमा बसाएर उसलाई जुन बाटो विद्यालयमा पु¥याउँथे, उसलाई त्यही बाटो हिड्न मन लाग्यो । आमाले कान निमोठी–निमोठी स्कुल पु¥याएको बाटो पनि त यही हो । अझ हाल श्रीमती भइसकेकी देवकलालाई जिस्काउन पुग्दा उसका दाजुले लखेटेको बाटो यही थियो । उसका मनमस्तिष्क सबथोक सुम्सुम्याए र राहत दिलाए ।
आकाशमा टल्किएको जूनतर्फ हे¥यो । किन–किन आज त्यो जून पनि त्यति धेरै ताराहरुका बीच एक्लै गजधम्म परेको उसलाई सुहाँउदो लागेन । झनै जूनमा देखिएको दागलाई अन्य ताराहरुले गिज्याइरहे जस्तो दृश्य उसले देख्यो । यसै–यसै बाल्यकालका कैयन् घटना मस्तिष्कमा ओहोर दोहोर गर्दागर्दै आफू पढेको विद्यालयमा उसले जीउ बिसायो । र, बढ्दो चिसोलाई दबाउन हातखुट्टा एक ठाउँ पा¥यो ।
यतिञ्जेल अघि लखेटेको काले कुकुर पनि कताबाट छेउमा आएर पुनः उसको शरीरमा लुटपुटिन थाल्यो । कुकुर पनि नारायणझैं मौन बस्यो । बाल्यकालमा सधैं आफ्नो पछि लागेर ठाउँठाउँ घुम्दासाथ दिने कुकुर आज पनि आफूजस्तै मौन देखिएपछि नारायणलाई सबैभन्दा प्रिय लाग्यो ।
रातसँगै छिप्पिदै गएको चिसो साह्रै बिझाएपछि नारायणले कुकुरलाई काखमा बसायो । स्पर्शले न्यानो महसुस भएको हुनुपर्छ कुकुरलाई अंकमाल ग¥यो । कुकुरले पनि कुनै अवरोध जनाएन । नालायकहरुको अंकमालले हिउँदे चिसोलाई चुनौती दियो ।
(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)