कलो ढुक्ने बानी परेको कुकुरलाई
मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ
विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन्
रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ
मान्छेको चाल पायो भने शंखेकीराले पनि मरेकै नाटक रच्छ
हो, चलायमान मस्तिष्क त मान्छेको भन्दा प्राणीकै हुँदो रहेछ
मन्दिरका पूजारी
पूजामा चढाउने गुराँस र लालुपातेको रङ हेर
आरनमा त्रिशुल बनाउन पोलिदै गरेको फलामको रङ हेर
हेर हवनकुण्डमा बल्दै गरेको आगोको राप
अनि हेर प्रयोगशालामा परीक्षण गरिदै गरेको
दलितको रगतमा देखिने नेगेटिभ रिजल्ट
मन्दिरका पूजारी– अब भन गोत्र कहाँ मिलेन ?
मन्दिरका पूजारी, तिम्रो लागि खीर पाक्ने ताउली
जोगीले भिक्षा थाप्दा बोकेर हिड्ने कमण्डलुको गोत्र मिल्छ भने
किन मिल्दैन दलितको गोत्र ?
मादल, ढोलक, नगरा, दमाहा, डमरु चढाउन मिल्छ
रुप्पे÷पैसा बौतामा राखेर गाइ दान गर्न मिल्छ
किन मिल्दैन दलितको चढाउने नैवेद्य, जल, जौ, तिल र कुश ?
गौमूत्र, गोबर अनि सुनपानीले सब–सबैै चोख्याउँछ भने
किन चोख्याउँदैन तिम्रो नाकमा गन्हाउने दलितको गन्ध ?
मन्दिरका पूजारी
दिनभरि काम गरेको दलित किसानले पनि
घरको दलानसम्म त भात पाउँछ÷बास पाउँछ
भन गाइगोठमा मान्छे नै पुज्ने भए गाइ पुज्ने कहाँ ?
खेतमा डेरा जमाएका सिरु, दुबो उखेल्न
किसानले धेरै पटक बदल्यो हलाखोत्ले, बदल्यो जुवामा जोतारो
तर बदलिएनछन् उसका बराजु
आजभोलि
गोल्डफ्ल्याक, चौतारी, खुकुरी जुन चुरोट आए पनि बजारमा
भनेरै बेचेको छ कम्पनीले
धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ
डाक्टरले पनि भनेकै छन् बढी पिए क्यान्सर लाग्छ
जे लागे पनि लत बसेको फोक्सोलाई तलतल लाग्न छाड्दैन
गजूर फेरिए पनि यसपालि
मन्दिरका छानाहरुमा फेरिएनन्– मानवशास्त्रका सूत्रहरु
तालिम दिएपछि मस्तिष्कको संरचना बदले पनि प्राणीले
नशाबाट समयको सिरिन्ज लगाइदिए पनि
मान्छेले मान्छेको मान्छेकै सामाजिक संरचना बिर्सदो रहेछ
सबै फेरिए पनि फेरिएन भने मस्तिष्कको ब्राण्ड
मान्छेको गोत्र मान्छे हो भन्ने जान्दाजान्दै पनि
गोत्र बिर्सदा रहेनछन्– मन्दिरका पूजारी ।
०००
(स्रोत : नयाँ युगबोध दैनिक – शनिवार सौगात)