कथा : चोट

~सन्तोष पौड्याल~Santosh Paudyal

“आजभोलि निदाउन पनि सक्दिन, सपना देखि डर लाग्छ | कुनै दिन दिउसै सपना देख्थे |सपना मेरो जिउने बाटो थियो| मलाई यो समयले कहाँ पुर्याएर छाडिदियो?” साकारले आफैलाई प्रश्न गर्छ |

“तिमीलाई समयले होइन संवरले छाडिदियो | जव मनुष्यमा संयम गुम्छ, सबै साथ भएर पनि मानिस अनाथ हुन्छ |” उसलाई आत्माको आवाज सुने झैँ लग्यो |

उ जुरुक्क उठ्यो | कोठाको कुनामा राखेको सुराहीको पानी घटघटी पियो | उठ्दै गर्दा झुन्ड्याईराखेको ऐनामा मुहार पर्यो |

“मुखभरि कालोपोतोले छोपेछ, मेरो पेट विकृत त भएको होइन”? मनमनै चिन्ता गर्छ |

ढोकाको ढकढकले कोठामा ध्वनि पस्यो |

“खाना खाने बेला भो” जेलर सूचना दिएर गयो |

“किन निस्तो भात खाएको”? गलामा समाउला | सपनाले मोबाइलबाट आँखा छलेर सोधी |

“तिम्रो मायाले बगाईराछु” | सपनाले लाज मानी |

साकारलाई भिन्डी मन नपर्ने उसलाई थाहा थिएन | उसलाई हेरेरै साकारले एकथाल खाना सक्यो | त्यो दिन सपना बिछट्टइ राम्री देखिन्थि | बुट्टे कुर्थामा उसको मुहार धपक्कै बलेको थियो | त्यसपछि उनीहरु घुम्न निस्के |

साकार निम्नस्तरको परिवारमा जन्म्यो, बढ्यो र दुख गरेर पढ्यो | १० कक्षासम्म होटेलमा भाँडा माझेर स्कुल जान्थ्यो | अहिले होटेलमा काम गर्न पर्दैन | बिहान-बेलुका होम टिउसन पढ़ाउँछ | दिउसो स्नातक पढ्दै छ | सपनालाई पढ़ाउँदा पढ़ाउँदै कतिवेला प्रेमको मुना पलायो पत्तै भएन | उनीहरु सुर्के गाँठो जस्तै एकै डोरीमा कसिएका छन्, जति टाढा गयो उती कसिलो उती मजबुद | अब त बाआमा पनि सपनालाई साकार जस्तै मेहिनती र असल सन्तान बन्न भनिरहन्छन् | यसपाली त सपना पनि राम्ररी एस एल सी पास गर्छे होला |

“भाई केहि थप्ने”? भान्सेको आवाजले साकार झस्कियो |

आँखाको बाँध फुटेर एकथोपा पानी भरिएको गिलासमा तप्प खस्यो | खानामा उसलाई मन पर्ने फुलगोभीको तरकारी र मसिनो चामलको भात रहेछ |मुखमा एक गाँस हाल्यो तर घाँटीबाट झरेन | एक घुट्की पानीले बगायो | उसलाई पुग्यो | मन नै थुनिएपछि के ले बगाउनु? साकार उठेर कोठातिर लाग्यो | उ जस्तै निस्पट्ट कोठामा एक बुँध प्रकाशले प्राण भरेको छ | खलखली पसिनाले मुहार लछप्पै भयो | उसलाई के गरूँ? कसो गरूँ? भयो |तुँवालो झैँ छाएको अनिश्चयले उसका आँखा धर्मराए | घाँटी सुकेर हिक्क हिक्क गर्न थाल्यो | थर्थराउँदै सुराहीको पानी समात्यो |

….

“मरें नि आमा, के ले पोल्यो”? सपनाको चित्कारले दोबाटो थर्कियो | सपनाले गलामा बेरेको सलले मुख पुछी | अनुहारका तन्तु केस्रा केस्रा उप्किएर निस्किए | घाउबाट एकाएक प्लाज्मा चुहिन थाल्यो | बाँकि मुहारको रंग गाढा मसिजस्तो निलो भयो | उसलाई असह्य पिडा भयो | आँखाका खोपिल्टामा आगोका डल्ला नाचेजस्तो लाग्यो | ऊ चिच्याएर रुन थाली |हेर्ने मान्छेको भिड लाग्यो | एकैछिनमा सपनाकी आमा आइपुगिन | संगै ल्याएको ट्याक्सीमा राखेर सपनालाई अस्पतालतिर दौडाए | साकारले टाढाबाट उसलाई हेरिरह्यो |

यो खबर धुँवा फैलिए झैं फैलियो | जान अन्जान सबैका भलाकुसारी गर्ने खुराक बने | बसयात्री, बिद्यार्थी, जागिरे, संचारकर्मी, विकासे संस्था र तिनका कार्यकर्ता सबैलाई दिन कटाउने मेसो मिल्यो | घटनाको सर्बत्र बिरोध भयो |सामाजिक संजालमा गालिखेती गर्नेले मलिलो पाँगो भेट्टाए | अपराधिलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनमाथि चर्को दवाब पर्यो |

घटनाले बिस्तारै रंग फेर्दै गयो | बोल्नेहरुले बिभाजन बोलें |

“प्रेम त संयोजन हो, बिभाजन कसरी निम्तियो? साकार अतित छोडेर झल्यास्स ब्युँझियो |

……

निद्राबाट ब्युँझिनेबित्तिकै घटघटी एक अम्खोरा पानी पियो | साकारको झ्यालबाट एक बिहानै बादल डढेको आकाश देखिन्थ्यो | हातमुख धोएर सरासर ट्युशन पढाउन घरबाट बाहिर निस्कियो | उसलाई केहि बिर्सेजस्तो लाग्दै थियो | दिनपनि कसो-कसो फरक जस्तो | नरमाइलो, निरस र एकदम उजाड |

“एss नागरिकता पो बिर्सेछु” | सपनालाई बाइकको पछाडी राखेर सयर गर्ने एक एक पललाई उसले जोगाउन चाहन्थ्यो |

“आज लाइसेन्स नबनाई छाड्दिन” | साकार फर्कियो, बाकसको नागरिकता कमिजको खल्तीमा राखेर फेरि बाटो लाग्यो |

“किन ढिला आएको?” सपनाको आवाज यौनिक सुनिन्थ्यो | वा निद्राले नछोडेजस्तो |

“बाटोमा अल्मलिएँ” | साकारका आँखा सपनामा अढीए |

सपनाले कितावका पाना पल्टाउन थाली | साकारका आँखा धर्मराएनन् | सर्लक्क बगेको चुल्ठोबाट एक लट्टा कपाल बगी ओठलाई छुँदै- टाढिदै गरेको छ |

साकारले बिज्ञान पढाउन थाल्यो | ” रगतका कोष तिन किसिमका हुन्छन | राता रक्तकोश, सेता रक्तकोष र प्लेटलेट |”

“अरे रगत त एकै किशिमको हुन्छ भनेको होइन र ? सबैको रातो ?”

“हो | हेमोग्लोबिन नामक फलामयुक्त प्रोटिनको कारणले संसारका सबै मानिसको रगतको रंग रातो हुन्छ | तर सबै मानिसका रगतभित्र तिन किशिमका कोष रहेका हुन्छन |” साकार प्रष्ट पार्छ |

“ए भनेपछि सबै मानिस को रगत एकै किसिमको हुन्छ | र सबै मानिसको रगतभित्र तिन किसिमका कोष हुन्छन| है ?” सपना थप प्रष्ट हुन खोज्छे |

“हो, आधारभूत कुरा यत्ति नै हो, यसबाहेक रगतको समुह पनि हुन्छ | जुन हामी पछि पढ्छौ| ” साकारले कुरो टुंग्याउँछ |

साकार निहुरिएर कोष हरुका चित्र कोर्न थाल्यो | चित्र कोर्दा-कोर्दै कमिजको खल्तीबाट उसको नागरिकता फुत्त झरेर कापीको अघिल्लो कुनामा झर्यो |

“को हो यो ? आबुइ टोपी लगाको कस्तो देखिएको ? ” साकारको नागरिकता समातेर सपना जिस्किन खोज्छे |

“च्यातिएला |” साकारले नागरिकता आफूतिर तान्न खोज्छ |

यत्तिकैमा सपनाका आँखा नागरिकताका अक्षरमा पुग्छन | “साकार नेपाली ? तपाइको नाम त साकार खड्का भन्नु भएको होइन ?” सपना प्रश्न गर्छे |

“हो |”

“अनि, नेपाली भनेको के नि ?”

“नेपालमा बस्ने नेपाली भनेको |” साकार मलिन हुन्छ |

“त्यो त म नि हुँ | थर नेपाली किन लेखेको यसमा ?” सपना कडा देखिन्छे |

” तिमीलाई थाहा छैन?, आजभोलि फेशबुकमा सबैले थरमा नेपाली लेख्ने चलन छ नि | त्यसैले |”

“तपाइको बाबा त चलाउनुहुन्न फेशबुक, अनि उँहाको पनि किन भेष बहादुर नेपाली त?” सपनाले प्रश्नमाथि प्रश्न गर्छे |

कुरैकुरामा कोठाको तापमान एकाएक बढेर गयो | सपनाले थरमाथि अड्डी कसेर बसी | साकारले वातावरणलाई सहज बनाउन गरेका कोशिसहरु बालुवामा पानी खन्याएतुल्य भए | अन्तत आफु दलित भएको कुरा उसले सपनालाई सुनाईदियो | सपनाको मुख मल्याङ्ग भयो | मुहारको कान्ति निभ्यो |

“हेर सपना सबै मान्छेको रगत एकै हुन्छ |सबै मान्छेको स्पेसिज पनि होमोसेपियन्स हो | र त्यो नै जात हो | विज्ञानमा पढेको यति छिटो बिर्सेकी? जान्नेबुझ्ने मान्छे अज्ञानी बन्नु हुदैन, हामी त नजान्नेलाई सिकाउने पो हो | ” घोसेमुन्टो लगाएकि सपनालाई जति सम्झाएपनि खासै फरक देखिएन |

राजनीति, दर्शन, बिज्ञान, जीवबिज्ञानजस्ता आफुले जानेसुनेका कुरा ओकल्दा पनि ढिंड भएकी सपनालाई सम्झाउन नसकेपछि साकार निशब्द भयो |

“आमा आउने बेला भयो| सबै कुरा थाहा भयो भने नराम्रो हुन्छ | तपाई घर जानुस |” धेरैबेर पछि उसले मुख फोरी | साकार अक्क न बक्क भयो | भोलि सम्झाएपछि बुझ्छे भन्ठानेर साकार बाटो लाग्यो |

…….

सपनाले आमासँग बेलिबिस्तार लगाई | आमाले काली भगवतीको भन्दा लामो जिब्रो काडीन् | त्यो केटालाई भोलिबाट घरभित्र पस्न दिन हुन्न भन्नेमा सबैको चोचोमोचो मिल्यो | सपनालाई बजार बिचको टिउसनकेन्द्रमा सारियो |

अर्को बिहानै साकार उहीसमयमै पढाउन आइपुग्यो | आमाले सपना घर नभएको कुरा जनाइन् | साकार आउने र जाने क्रम धेरै दिन दोहोरियो | बा, आमा, भाई पहिलाजस्तो बोल्दैनथे | मात्र सपना छैन भन्थे र आफ्नो सुर कस्थे | साकारको मनमा शित पर्यो | लगातार २ दिन पढाउन आएन | ग्रहण टर्यो भनेर सपनाका परिवार उज्याला देखिए | सपना फुर्किएर भाईसंग आगनमा चुङ्गि खेल्न थाली | साकार टुप्लुक्क आइपुग्यो | सपना झसंग भई | आमा भन्दै दौडेर घरभित्र पसी | साकार पछि-पछि लाग्यो |

साकारलाई देख्नासाथ आमाले छि-छि दुर-दुर गर्न थालिन | ढोकैबाट कुचो समाएर उसलाई पन्छाउन खोजिन् | पढाउन आको भनेर साकार मुख खोल्न नपाउदै अब पढाउन पर्दैन भन्दै बाहिर घचेटीन् | साकार जबरजस्ती भित्र हेलियो | सपनाकी आमा क्रुद्ध बनिन | कुचै-कुचाले साकारमाथि बर्साउन थालिन | बीच-बिचमा बोलेका करेटो, सिनोखानेजस्ता हेयवाक्यले साकारको मन छियाछिया भयो | साकार मलिन हुदै फर्कियो | सपनाले खाटबाट हेरेर बसी |

“राणा गए | पन्चायत गयो | बहुदल आयो | राजतन्त्र गयो | गणतन्त्र आयो | तर दलितको दिन अझै पनि आएन | किताबमा लेखिए | ग्रन्थमा लेखिए | कृतिमा लेखिए | कानुनमा लेखिए | तर न त हामी दलितको कर्ममा लेखियो | न त देशवासीका मन-मन मा नै लेखिए |” मनमा यस्तै कुरा खेलाउदै साकार आफ्नो घर पुग्यो |

“किताब र कानुनमा लेखेका कुराको फाइदा उठाउदै मुट्ठीभरका सम्पन्न दलित झन् माथि पुगे | पैसा हुनेलाई त समानता किन चाहिएको थियो र ? उनीहरु धनको बलमा कानुन नहुदा नि ठुलाजाति भन्नेसंग उठबस गर्थे, खान्थे, राजनीति गर्थे | हामी पैसा नहुनेलाई के गाउँ, के शहर ? न नियम न कानुन ? व्यवस्था फेरियो तर देशबासीको बिबेक फेरिएन, विचार फेरिएन, बुद्धि फेरिएन | ” साकार दलिनमा टोलाएर बसिरह्यो |

“अब म कानुनी लडाई लड्छु | अड्डा जान्छु |अदालत जान्छु | आफुलाई न्याय दिलाएरै छोड्छु |” साकारले मनमनै विचार गर्यो | निस्तब्ध गल्लीहरु छिचोल्दै शंकरदाई को घर पुग्यो | उनले विश्वविद्यालयमा गणित पढाउँछन् | साकारका प्रिय गुरु | उनले गैह्रदलित बिहे गरेका छन् | क्षेत्री-बाहुनसंग खानपिन गरेको उसले धेरै पटक देखेको छ | उनलाई कानुनका कुरा पनि धेरै थाहा छ | दलित कोटामा प्राध्यापक बनेका हुन् भन्ने साकारले सुनेको छ |

“के सोध्न आयौ?” साकारलाई देख्नासाथ शंकर दाईले प्रश्न सोधे | साकारले बेलिबिस्तार लगायो |

“यो मुद्धा लड्ने बेला होइन| त्यो केटीलाई छोड्देउ | को-को संग लडेर सक्छौ ? अड्डा-अदालत पनि माथिल्ला जातिकाले भरिएको छ | तिमि जाऊ |” शंकर दाई तर्केर हिडे |

“मैले बिश्वास गरेको जतिबिशेषलाई होइन | यो देशको कानुन व्यवस्थालाई हो | यो देशको न्यायपालिकालाई हो |” साकारले मनमनै नथाक्ने अठोट गर्यो | त्यहि बाटो हुदै दलितबादी संघ-संस्थातिर लाग्यो | सामाजिक न्याय केन्द्रमा उसलाई भब्य स्वागत गरियो | जानेबित्तिकै कोकाकोला, एकछिनमा चिउरा र मासु खाजा ख्वाइयो | २/३ ठाउमा हस्ताक्षर पनि गराइयो | उसका कुरा बढो ध्यान दिएर सुनियो | नम्र भाषामा कुरा बुझेर फेरि सम्पर्क गर्ने आस्वाशन दिएर उसलाई घर पठाइयो | हप्ता बित्यो, १५ दिन बित्यो तर खबर आएन |

फेरि उ संघसंस्था धाउन थाल्यो | सबैजसो बिकाशे संस्थामा उसले उस्तै स्वागत र उस्तै प्रतिक्रिया पायो | के दलित के गैह्रदलित उसलाई कसैले ढाडस दिने रुचि देखाएनन् | उसको चोट गहिरिदै गएको थियो |चुलबुले निर्व्याज मन निषङ्ग बन्दै थियो | एकपटक फेरि सपनालाई भेटेर सम्झाउने मनसुवाले सपनाको घर तिर लाग्यो | सपना चोकमै भेटिई |

साकार बोल्न खोज्यो, उ झर्केर हिंडी |आवरण चिल्लो भएपनि आखिर उ बगरकी पत्थर नै थिइ, किन पग्लन्थी र ? दलितप्रति समाजले भरिदिएको घृणा अलकत्राजस्तो मैलो र कठोर भएर टासिएको थियो, बरु लोप्रासहित उप्किन्थ्यो तर अलग गर्न गाह्रो थियो | साकार जबरजस्ती बोल्न तम्सियो |भनाभन बढ्दै गयो | हात हालाहाल सम्मको स्थिति आयो | रमिता हेर्नेको लाम लाग्यो | रिसले कालो भएको साकारले सपनालाई एक थप्पड चड्कायो | आफैले सिंगारेको बगियामा कुल्चदा उसका हातपाऊ थर्थराए | सपनाको हातले बेजोडसँग बल दिंदा बाटो छेउको ट्याक्टर वर्कशपको सिमेन्टको खाँबोमा गएर उ ठोक्कियो | रोइरहेकी सपनामा एक्कासी करुणा पलायो | आफ्नैसरि सुम्सुम्याएको टाउकोमा बज्र पर्दा हेरिरहन उसको मनले मानेन | बज्रिएको शिरलाई उठाउन साकारतर्फ के लम्किदै थिई, टेबलमा तेजाबले भरिएको शिशालाई उठाएर साकारले छयाप्प छ्याप्यो |

सपनालाई अस्पताल पुर्याएको केहि दिनमै उ यस जेलमा आएको थियो |उसले सम्झ्यो |

….

बिगतबाट छुट्टिएर उसका आँखा जेलका डन्डीहरुमा पुगे | यहाँ आएपछि उसले धेरै पटक यी डन्डी बाहिरबाट धेरै अधिकारकर्मीको आवाज सुन्न पायो | तिमि नडराऊ | तिमीले ठिक गर्यौ | तिम्रो गल्ति छैन | हामी यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्छौ | आदि इत्यादी | हिजो बिहान एकहुल मानिस आएका थिए | उसलाई गल्ति स्वीकार नगर्न मात्र भनेका छन् | बाँकि सबै उनीहरु मिलाउछन् रे | ठुलो वकिल लगाएका छन् | सबै व्यवस्था मिलिसकेको छ रे | आज दिउसो आमा आउदा पनि खुसि देखिन्थिन | बिश्वस्त पारेकाछन् रे न्याय दिलाउन | गोडाचार बिदेशी संस्थाका मानिस घरमा पनि पुगेका थिए रे | अलिकति पैसा पनि छोडेर गएछन | आमाले भनेको सम्झियो ” भोलिको कचहरीमा मेरो गल्ति छैन मात्र भन्नु | हाम्रो भबिश्य बन्छ |” खाना लिएर भान्से आयो | उ खाना खाएर सुत्यो|

….

दिउसो ११ बजे साकार हास्दै अदालत छिर्यो | कारवाही सुरु गरियो | प्रतिवादीतिरका वकिलले साकार सामाजिक विभेदमा परेको दलिल पेश गरे | साकारले सपनामाथि तेजाब छ्यापेको नभई एकापसमा झगडा हुँदा आफै दुर्घटना हुन पुगेको राय दाखिला गरे | गवाहिले साकारकै पक्षमा स्तुति बाचन गरे | सरकारी वकिलको खासै बिमति रहेन | सोधपुछका लागि साकारलाई कठघरामा बोलाइयो |

वकिलले उसलाई सोधे “तिमीले सपना माथि तेजाब छ्यापेको हो?

साकारले हलतिर आँखा घुमायो | आफ्नो पक्षमा बोल्ने मानिसहरुले हल खचाखच भरिएको पायो | थरि थरिका एनजीओ, आइएनजिओबाट आएका प्रतिनिधि र आफ्ना आफन्तमा उसले भेद खोज्न थाल्यो | सबैका आँखामा मडारिएको स्वार्थलाई उसले टाढाबाट चिन्यो | उसले विचार गर्यो ” यी आफन्त नभई लाभपुर्तीका लागि लामबद्ध भिड हुन् | क्षणभरलाई त उक्साउने मान्छेको भलको बलमा केहि टाढा सम्म बिहार गरौला | जुन दिन यो भल सुक्छ, सदाका लागि दाग छाडेर जान्छ |” अनि सोच्यो “मैले आफैलाई न्याय दिलाउनै पर्छ |”

“हो|” साकारले आँखाको बादल हटाएर जवाफ फर्कायो |

सबैले मुखामुख गर्न थाले | विकासे संस्थाका मानिसहरुको मानो छरेर मुरी भित्राउने योजनामा तुषारापात भएपछी मलिन देखिए |

साकार बोलिरह्यो “म हिजो न्यायको खोजीमा यिनै मानिसहरुको ढोका-ढोकामा पुगेको थिए|” हल भरि बसेका मानिस देखाउदै उसले थप्यो | ” को दलित को गैह्रदलित कसैले सुनेनन् | किनकि त्यसमा ठुलो कथा केहि थिएन | फलस्वरूप दुर्घटना निम्तियो | आज यो कथा बन्यो र देशभरी फैलियो | सबै न्यायको खेतीमा जुटेका छन् | जब बिबेकलाई बिक्रि गरिन्छ न्याय र अन्याय एकै रंगले सिगरिन्छन् | सेतो र कालो त्यसमा देखिन्न | आबेगमा आएर तेजाब छर्नु इतिहासको एउटा कलंक मेरो नामबाट सुरु गरिनु हो | न्यायको ठेक्का लिनेले मेरो न्यायले एउटी महिलालाई न्याय दिएको छ वा छैन भन्ने बुझुन | मलाई सजाय होस् | कानुनको अक्षरस पालना गरियोस | देशको कानुन शैयामा होइन, सम्पूर्ण नागरिकको शिरमाथि होस् | भोलि विभेद गर्नु अगाडी सबैलाई चेतना होस् कि यो देशमा कानुन छ र कानुनले सबैलाई समान देख्छ | “

हलभरि सन्नाटा छायो |

सन्तोष पौड्याल 
रामनगर -०४, नवलपरासी  

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.