कथा : सिमा, मेरी साथीसँगै अतीत सम्झदा

~निर्मला खड्का~Nirmala Kadka

एक्काइसौँ शताब्दीको पहिचान, सूचना र प्रविधिले ल्याएको अभियान कम्यूटर र इन्टरनेटको जमानाले टाढा कतै हराएका साथीभाइहरू पाउन सजिलो भएको छ । यतिवेला सँसारभरि नै चर्चामा रहेको फेसबुक सञ्जाल बीना म पनि टाढिएर रहन सकिन । र त हिजोआज मलाई फेसबुकको भित्तो चियाउदै हिड्ने लत लागेको छ । आज फेरि फेसबुकको भित्तोहरु चियाउने क्रममा “सौरभ गुरुङ” को भित्तोमा पुगे । जसले मलाई आज भन्दा बिसबाइस वर्ष पहिले छोडेर आएको मेरो अतीतलाई फेरि झकझकायो । सौरभ गुरुङ मेरो साथीको छोरा, उनी आज एक्काइसौ वर्षमा पाइला टेकिसकेका छन् । सौरभकी आमा सिमा अनि म सानैदेखि स्कुलमा संगैपढ्दै यस.यल.सी.सम्म संगैथियौ । हामीसंग-संगै हास्दै, खेल्दै आफ्ना जीवनका सपनाहरु बुन्ने गर्थ्यौँ, कसरी ती सुनौला सपनाहरुलाई यथार्थको रुप दिने भनी एकआपसमा सल्लाह गर्थ्यौ ।

जिन्दगी चलाउनुको पाटोहरूमा मनभरि अनेकथरीका तानावाना बुन्दै अगाडि बढ्दैथियौँ । सबै साथीहरुको आ-आफ्नै भविष्यको सपना थियो । कोही के भन्थे भने कोही के? तर म सिमा र अरु दुई साथीहरु मिलेर स्टाफ नर्स बन्ने सपना बुनेका थियौ । तिनै सपनाहरूमा रूमल्लिँदै एसएलसीसम्मको परीक्षा पनि दियौँ । परीक्षा दिएर परीक्षाफलको प्रतिक्षा गर्नु कति अधैर्य हुन्छ सायदै भनिरहनु पर्दैन ।

सँसारिक झमेलाको सञ्जालमा जन्मिएका हामी, समय र भाग्यले सबैको साथ नै पो कहाँ दिंदोरहेछ र ? सोचे जस्तो भैदिए, जीवनको अर्थ नै बुझिदैन थियो होला ! सबै सपनाहरुले यथार्थता पाए फेरि सपना बुन्नुको विकल्प नै रहने थिएन भने अर्कोतिर सपनाको मोल नै कमी हुनेथियो होल ! परिक्षाफल प्रकासित भयो । हामीले सफलता पनि हाँसिल गर्यौ । हामी केही साथीहरुको स्टाफ नर्स बन्ने सपना अधुरो नै रह्यो तै पनि सिमाको सपना पुरा हुने भयो । उनी आफ्नो अगाडिको पढाइको लागि काठमाडौ गईन् ।

यता मेरो सपना भत्किरहेको थियो । सपना भत्किँदाको पछाडिका सम्झौताहरूसँग पैठेजोरी खेल्नै पर्ने थियो तैपनि मैले आफ्नो पढाई आफ्नै शहरको कलेजमा नै शुरु गरे । सबै साथीहरुसंगै हुन नसके पनि हामी केहीसंगै पढ्दै थियौ ।

सीमासँग मेरो बारम्बार पत्राचार भैरहन्थ्यो । उनी आफ्नो भबिष्यलाई उज्यालोतिर लैजादै थिइन । हामी दुईले साना भन्दा साना कुराहरु पनि एक आर्कालाई भन्ने गर्थ्यौ । समय बितेको थाहै भएन एक वर्षको पढाइ सकेर सिमा छुट्टीमा घर आउँदा हाम्रो भेट भयो । रातभरि संगैबसेर वर्षभरि भोगेका तितामीठा अनुभवहरु बाँड्यौ । कहिलेको साथीकोमा जम्मा हुन्थ्यौ भने कहिले कसकोमा । अनि सबैजना भेला भयो रमाइला रमाइला कुरा गर्यो रात वितेको पत्तो नै हुदैनथ्यो । यस्तैमा सीमाको बिदा सकियो । उनी फेरि काठमांडू फर्किइन । हाम्रो उही दिनचर्या शूरु भयो ।

जिन्दगी पानी घट्टा जस्तै घुमिरहेको थियो । समयचक्रमा बितेका दिनहरू इतिहाँसका पाना बनेर विस्थापित हुँदैथिए । नर्सिङ्को पढाईमा, पढाइको चाप बढी अनि बिदा कम हुने हुनाले सिमा पनि घरतिर आउन नभ्याएकी होलिन् सोच्थेँ । सिमाले आफ्नो पढाइ सकेर टिचिंग हस्पिटलमा नै जागिर गर्न शुरु गरिन । म पनि आफ्नै पढाइ अनि आफैँमा ब्यस्त हुँदै गएँ । तर पनि साथीत्वको महिमासँगै रूमाल लुकाइ खेलहरू सम्झदै पनि साथीभाइको याद गहिरो बनिरहँदो रहेछ । त्यसैले हाम्रो पत्राचार यथावत नै थियो । फोनको सुबिधा आएकोले कहिलेकाहीँ फोनमासमेत कुरा हुन थालेको थियो ।

एकदिन अचानक सीमाले फोनमा भनिन “म भोलि आउदैछु अनि सबै भन्दा पहिले तिमीलाई नै भेट्न चाहन्छु ..जसरी पनि समय मिलाउनु है ..धेरै कुराहरु गर्नु छ” मैले पनि खुशी हुदै भने “हुन्छ नि त, तिमी आऊ त पहिला यार”…त्यसको आर्को दिन उनी घर पुग्न साथै मलाई फोन गरिन र आफ्नै घरमा बोलाइन । म पनि घरमा आमासँग भनेर उनलाई भेट्न गए ।

मलाई कतिबेला सीमालाई भेटु भैसकेकोले हतारिदै उनको घरतिर लागेँ । मलाई देख्नसाथ उनी खुशी हुँदै मलाई अंगालोमा बाँधिन। एउटा गहिरो शुन्यता भरिएको अनुहार थियो सिमाको । सिमामा मैले धेरै परिवर्तन देखे त्यो दिन l धेरै पछि सिमासँग भेट भएकोमा म पनि खुशी थिए, मैले उनकी आमालाई नमस्कार गर्दै सन्चो बिसन्चो सोधे अनि फेरी हामी सीमाको कोठातिर गयौ । कोठामा भित्र पस्दासाथ मलाई एउटा आश्चर्यले स्वागत गर्यो । सिमाको पलंगमा एउटा सानो लगभग एक बर्ष जतिको बालक मस्त निद्रामा सुति राखेको थियो..”को हो” भनि मैले मुख फोरेर सोध्नै सकिन । तर मेरो नज़रमा भएको प्रश्न सिमाले तुरून्तै बुझिन र भनिन – “बस्न यार म सबै भन्छु नि, मेरो सुख दुख सबैमा साथ रहने साथी तै त् होस । आज तीन बर्ष पछि भेट्दै छु, रातभरि बसेर कुरा गरौला अहिले केही खाउँ है ” । मैले पनि “हुन्छ” भने ।

धेरै समय पश्चात साथमा बसेर खाना खानुको आनन्दाभूति एकातिर थियो । मनभरि उही कोठा भित्रको आश्चर्यचकितले कौतुहलता पैदा गरिरह्यो । मान्छेको मन न हो कहिले के सोच्छ कहिले के? कति पटक त यसले नाजायज काम गरेछ भनेर भित्र-भित्रै साथी हुनुको आत्मग्लानीले खुलदुली मच्याईरह्यो फेरि पनि सानैदेखिको साथीत्वको पवित्र सम्बन्धले सोचिरहे कि मलाई नभनिकनै विहे गरेछ । अहँ कतैबाट पनि उसको कुरा नसुनेसम्म समाधान नहुने भो ।

खानपिनको काम सकियो । खानपान सकेर जब हामी फेरि कोठामा आयौ मेरो लागि आश्चर्यताले भरिएको उही अपरिचित बालक अझै सुति रहेका थियो । मेरो आँखामा घुमिरहेको कौतुहलतालाई सीमाले बुझिन् र बिस्तारै भनिन “बस म भन्छु सबै कुरा “यो सौरभ हो मेरो छोरा” ।

म त छाँगाबाट खसे झैँ भए, बिहेको कुरा त सुनेको थिइन,, यहाँ त सीमाले छोराको पो कुरा गर्दैछे! मैले सोधे “हैन बिहे कहिले गरिस” सीमाले चिसो स्वरमा भनिन “मेरो बिहे भएको छैन ” “उफ्फ़ के भन्दै छस तैले ..सबै कुरा भन मलाई ” म चाहि अत्तालिईरहेकि थिएँ भने ऊ चाहिँ स्वाभाविकतः शान्त देखिन्थिन । “तैले कृष्ण सापकोटालाई चिन्छ्स नि है स्कुलमा हामी भन्दा दुइ वर्ष सिनियर थियो नि? अचानक सीमाले सोधिन.. मैले “चिन्छु” भने ।

सिमा बोल्दै गइन ” मलाई माफ गर्नु साथी । हामी यति नजिक भएर सबै दु:ख सुख बाँडे पनि यति ठूलो कुरा मैले तिमीसंग लुकाएकी थिएँ । स्कुलमा पढदैदेखि नै हामी बीच प्रेम सम्बन्ध थियो, हामी दुबैले आ-आफ्नो पढाई सके पछि विवाह गर्ने निर्णय गरेका थियौ र म काठमाडौँ पढ्न गएकी थिएँ । हामी बीचको सम्बन्ध झन् बढेको अनुभव गर्थे मैले..पछिल्लो पटक म बिदामा आउदा मैले कृष्णलाई भटेकी थिएँ । धेरै कुरा गरेका थियौ भविष्यसंगै बुनेका थियौ । जहिले हाम्रो पढाइ सकिन्छ र हामीले घरमा सल्लाह गरेरै बिहे गर्ने भनी कुरा गरेका थियौ । प्रेम अन्धो हुन्छ भन्ने सुनेकी थिए तर त्यसबेला म नै अन्धो भए र हामी बीच जे नहुनु पर्ने थियो त्यो भयो । मैले आफूलाई समर्पण गरेँ..मैले सोचिन त्यसबेला, मेरो भविष्यले कस्तो मोड लिनेछ भन्ने सोच्दै फेरि म काठमाडौँ फर्के । दुई महिना पछि मलाई थाहा भयो म गर्भवती भईसकेकी रहेछु । थाहा पाउँने वित्तिकै मैले सबैभन्दा पहिले कृष्णलाई फोन गरेँ र भने तर कृष्णले हाम्रो जाति भिन्न भएको कारण अहिले बिहे गर्न नसक्ने कुरा गरे । उसो र अझै अगाडि मलाई कुनै औषधि द्धारा गर्वपतनको सल्लाह दिए । उनका यस्ता स्वार्थी कुराहरू सुने तर केही भनिन ।

दिउँसै आकाश मडारियो, घाम डुबेर अन्धकार छाए जस्तै भयो । मस्तिष्कभरि हावाहुरी चल्न थाल्यो । मडारिएको कालो बादलबाट वर्षात शूरू होला जस्तै भयो तर पनि म रुन पनि सकिन र फोन काटीदिए । मेरो अगाडि सबैकुरा शून्य–शून्य भएर आयो मैले के गरुँ भनेर सोच्नै सकिन । आफ्नै जिन्दगी देखेर एकपटक त रिङ्गटा लागे जस्तै भो । शरीर फतक्क गलेको अनुभव गरे । शरीर थाम्नै गाह्रो भए जस्तो भएकाले थचक्क भुइँमा बसेँ । अब प्रेमको आवेशमा आएर गरिएको व्यक्तिगत गल्ती कसैलाई भन्ने हिम्मत पनि हुदैनथ्यो । अन्ततः आफ्नै गल्तीका कारण मेरो पढाई पनि लथालिंग हुने भो भन्ने अनुभव भयो ।

सँसारमा मर्नु वा मार्नु पनि त त्यति सजिलो कहाँ छ र ? सँघर्ष गरेर बाँच्नुको अर्को विकल्प छैन भन्ने सोचेर यो अवस्थामा कसरी सुधार ल्याउने भन्ने सोचतिर लागेँ । मैले भ्रुणहत्या को त कल्पना नै गर्न सक्दिनथेँ र म आफैँ मरुँ भन्ने कुरा मनमा नजन्मेको हैन । मैले त्यति बेला तिमीलाई धेरै सम्झेकी पनि थिएँ । तैपनि तिमीलाई केही भनू पनि त कसरी ? सोँच्दा-सोँच्दै थुप्रै दिनहरू बिते । सबै अस्तब्यस्तको जीवन थियो । ममा केही दिन यता आएको परिवर्तन त्यहीसंगै पढ्ने एकजना इन्डियन रमिला भन्ने साथीले ध्यान दिइ रहेको रहेछिन् । उनले एकदिन नजिक आएर सोधिन “सिमा, केहीदिन यताबाट तिमी धेरै निकै दुखी देखिईरहेकी छ्यौ । हुनत हामी सबै परिवारबाट टाढा छौ, त्यो दु:ख त छँदैछ तै पनि तिमीले मलाई एउटा राम्रो साथी मानेर सबै कुरा भन । म सकेसम्म सहयोग गर्ने छु ।” म रमिलाको काखमा धेरैबेर रोएँ अनि सबै कुरा भने । रमिलाले सबै कुरा सुनिसके पछि भनिन् ” सिमा, जे हुनु थियो भयो, तिमी कम्जोर भयौ भने तिमीलाई बाँच्न झन् गाह्रो हुन्छ । अब तिमीले आफूलाई बलियो बनाऊ र यो समाजसंग लड्न सिक अनि यो बच्चालाई जन्माऊ । म हर पाइलामा तिम्रो साथ रहनेछु”

रमिलाका कुराले मलाई धेरै आत्मबिस्वास दियो र मैले मनमनै निर्णय लिएँ “यो निर्दोष बच्चालाई जसरी पनि यो संसारमा ल्याएर छोड्छु” । म यहाँ आउने अवस्था पनि रहेन । घरमा सबैलाई मैले साँचो कुरा भने अनि निर्णय पनि सुनाए । सबैलाई दु:ख पक्कै लाग्यो होला र रिस पनि उठायो होला । तर फोनमा मलाई कसैले केही भन्न सक्नु भएन । यहाँ आउने कुनै औचित्य पनि थिएन । किन कि मेरो उपस्थितीले घरमा सबैलाई पीडा बाहेक केही दिन दिदैनथ्यो । त्यसैले मैले त्यही नै बसेर पढाईसंगै आफ्नो स्वास्थ्यलाई ध्यान दिन थाले । दाइ रिसाएर दुइ वर्ष नै बोल्नु भएन । तै पनि आमाले बेला-बेला फोन गरि राख्नु हुन्थ्यो । आजसम्म पनि मैले घरमा सौरभको बाबु को हुन् ? भनेर भनेको छैन । तिमीलाई मात्र भन्दै छु ।” तर छ, सात महिना अघि दाइले घर आइज भनेर फोन गर्नु भयो । दाइको फोनमा मेरो घरप्रतिको मायाले मनभरि खुशीको सिमा नै रहेन । त्यसैले बिदा मिल्नासाथ यहाँ तिमीलाई फोन गरे” रमिलाले मलाई आफ्नो भन्दा बढी गरेर हरेक समय साथ दिईरहिन । सौरभको जन्म पनि उनकै हातबाट भयो । यो जन्ममा उनले मलाई ऋणी बनाएकी छिन । उनी इंडिया फर्किसकिन र त्यहीँको एउटा हस्पिटलमा जागिर खादैछिन रे । बेला-बेलामा फोनमा कुरा हुन्छ र सधै मलाई जीवनमा संघर्ष गर्ने कुरामा हौशला दिइरहन्छिन ।”

सिमा बोल्दै थिइन् । म सुन्दै थिएँ । आँशुले मेरो अनुहार लपक्क भिजिसकेको थियो तर पनि उनी उतिकै शान्त देखिन्थिन् । सौरभ एक पटक उठेर फेरि सुतिसकेका थिए । रातभरि हामी यस्तै दुःख सुख बिसाउदै बस्यौ । यस्तो समयमा नीद भन्ने जन्तुले पनि साथ दिदोरहेछ । त्यसैले होला दुबैको आँखामा नीद पटक्कै थिएन । त्यो रात हामी दुई कुरै-कुरामा छर्लंग उज्यालो बनाएका थियौ । समयले यसरी पनि कोल्टे फेर्छ भन्ने कसलाई के थाहा ? उनी केही दिनको बिदामा आएकी थिइन फेरि उही पुरानो गोरेटो समाउदै भविष्य लेख्न त पाइला सार्नै थियो । त्यसैले जीवनलाई निरन्तरता दिन उनी काठमाडौँ फर्किन । त्यतिबेला छोरा सौरभलाई उनले छोड्नु पर्यो घरमै किन कि सौरभ मात्र एक बर्षको थिए । अनि सीमालाई पनि गार्हो थियो उनको स्यहार सुसार गर्न त्यसैले सिमा कि आमाले सौरभलाई घरमै राख्छु भन्नु भो ..आमाको मन त हो छोरीको दु:ख देख्नु भो ।

बितेको समय जस्तो सुकै पत्यार लाग्दो भए पनि आखिरी आफ्नै कोखमा रगत पानी सिञ्चेर जन्माएको छोरो, आमाले छाडेर जाने हिम्मत त कहाँ नै हुन्छ र ? फेरि पनि बाध्यताका कठघराहरू अगाडिको भविष्यमा ठिङ्ग बार बनेर उभिए पछि दैवको पनि के नै लाग्दोरहेछ र ? त्यसैले सीमाले आमाको कुरालाई प्रतिकार गर्न सकिन होला । तर मलाई भनिन ” कहिलेकही आएर सौरभलाई भेट्दै गर्नु ल “मैले हुन्छ भनेर स्वीकृतिमा टाउको हल्लाएकी थिए । त्यतिवेला सिमा काठमाडौँ फर्किन । भविष्यका दिनहरु आफ्नै नियमित क्रममा बित्दै गए । म प्राय जसो हरेक साझँमा सौरभलाई हेर्न जाने गर्थे । मलाई बच्चाहरु अति नै मन पर्ने त्यही माथि सौरभ त मेरै साथीको छोरा, म झन् नजिकिदै गए । उनी पनि मेरो धेरै नजिक भैसकेका थिए । साझँपख सौरभलाइ भेटन जाने हुदा सधै जसो उनलाई सुताएर घर फर्कने गर्थे कहिलेकही जान पाइन् भने आमाले फोन गरिहाल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो “तिमीले यसको बानी बिगारी सक्यौ । अब तिमी विना सुत्न मान्दैमान्दैन यो ।” त्यतिवेला म हाँस्थे । कहिलेकहीँ सीमासँग फोनमा कुरा भैरहन्थ्यो ।

सँसारको रीत नै यस्तै छ । हरेक रातपछि दिन अनि दिन पछि रात अनि रातदिन पछि अर्को दिन । यसरी हरेक दिनहरू वितिरहँदा सौरभ पनि क्रमशः ठूलो हुदैथिए । हातले इशारा गर्ने.. केही बोल्न खोज्ने गर्न थालिसकेका थिए सौरभ । यो देखेर मलाई निकै खुशी लाग्थ्यो ।

कहिलेकहीँ कृष्णलाई पनि देख्थे मैले । यस्तो धोकेबाजसँग म बोल्न पनि छाडिसकेकी थिए l उनले मेरी साथीलाई दिएको धोकालाई मैले कसरी भुल्न सक्थेँ र ? सिमाले त उसको बारेमा फेरि कहिल्यै कुरा निकालिनन् र कहिल्यै कृष्णको बारेमा कुरा गरिनन् l सौरभको हुन् भन्ने कुरा त्यहाँ छरछिमेक कसैलाई थाहा हुनै पाएन । किन कि सिमाकी आमाले सबैलाई “हस्पिटलमा कसैले जन्मेको बच्चा छोडेर गएपछि सिमालाई माया लगेर लिएर आएकी भन्नु भएको थियो ।” यसरी अझ थप एक वर्ष बित्यो l सौरभ अलिअलि बोल्न थालेका थिए । जीवनको बाटोमा मैले पनि धेरै संघर्ष गर्नै थियो । मैले पहिले जसरी सौरभलाई भेटन जान समय पाउदिनथेँ । सिमासंग कुरा भैरहन्थियो । सिमा ब्रिटिश लाहुरेकी छोरी थिइन । उनी हंगकंगमा नै जन्मेकी थिइन् । त्यसैले पछि हंगकंगमा आइडी पाइन् र उनी सौरभलाई आमासंगै छोडेर अर्को नयाँ सपनालाई साकार बनाउने उद्धेश्य लिएर हंगकंग गइन । म पनि आफ्नो जीवनको उकाली ओराली समाल्दै थिएँ । सौरभ स्कुल जान थालेका थिए । सिमा हंगकंग गएर त्यहीँको एउटा हस्पिटलमा काम गर्न थालेको कुरा मलाई जानकारी गराएकी थिइन् ।

समय आफ्नै नियमित क्रममा गयो सिमाले हंगकंग छोडेर त्यहीबाट लण्डनको लागि भिसा पाएको कुरा मलाई भनिन् । मैले उनलाई उनको हर पाइलामा सफलताको कामना गरे । लन्डन गएको लगभग दुई वर्ष पछि उनी नेपाल फर्केकी थिइन् र हाम्रो भेट भएको थियो । उनले मलाई भनेकी थिइन् “मैले सौरभको सबै कागजपत्र मिलाएर आएको छु र यहाँबाट पनि सबै सोचे जस्तै भयो भने सौरभलाई लिएर जानेछु ।” मैले भनेकी थिए “सिमा तिमी महान छौ । साँच्चै मलाई गर्व लागिरहेछ, तिम्रो साथी हुन पाउँदा । मैले सोचेकी पनि थिइन् सिमा तिमीले समयको चुनौतीलाई यसरी अंगालेर विजयी हुन्छौ भन्ने । हेर ममा तिम्रो जस्तो हिम्मत छैन । तिम्रो हर कामना पुरा हुनेछन् सिमा । किन कि तिमीले सच्चाई र कर्तव्यको पालना गरेकी छौ ।” साच्चै सफलता कसैले रोकेर रोकिदैन रहेछ । नभन्दै सिमाको जिन्दगीमा एकदिन उनको संघर्षले रंग ल्यायो । उनी छोरा सौरभको भिसा मिलाउन सफल भईन ।

आठ बर्ष अगाडि मैले ति आमा छोरालाई लन्डनको लागि बिदा गरेकी थिए । समय परिस्थितिको खेलमा आल्झेर मैले पनि परदेशको बाटो चुन्न पर्यो । त्यसैले म आज इजरायल आइ पुगेको पनि छ वर्ष पुगिसकेको छ l २००९ मा म नेपाल बिदामा गएकी थिए । त्यसबेला साथीहरुसंग म एउटा रेस्टुराँमा खाजा खादै गर्दा कृष्णेलाई नजिकैको आर्को टेबलमा दुइजना बच्चाहरुसंगै बसेर खाजा खादै गरेको देखेकी थिएँ । संगै बसेका एकजना साथीलाई खुसुक्क सोधे “ऊ त्यो कृष्ण नै हो नि ?” साथीले हो भनेर भने पछि मैले ती बच्चाहरुको बारेमा सोधेँ र साथीले भनिन “कृष्णका छोरा र छोरी हुन ।” त्यसपछि भने म मौन रहेको थिएँ । हामीले खाजा सकेपछि उठ्यौ । मेरी साथी कृष्णसंग कुरा गर्न थालिन, म पनि उनको नजिक थिएँ । कृष्णले एकनज़र म माथि ल्याए । फेरि तुरून्तै मेरी साथीसंग कुरा गर्न थाले । मैले सोचे ‘या त धेरै वर्ष पछिको देखभेटमा उनले मलाई चिन्न सकेन या चिन्ने हिम्मत गर्न सकेनन । मैले पनि बोलाउन चाहिँन किन कि उनी मेरो नज़रमा गिरिसकेका एक लाक्षी नै थिए । साथीको एकछिनको गफगाफ पछि हामी त्यहाँबाट निस्केर घरतिर लागेका थियौ ।

समयले धेरै प्रगति गरिसकेको छ । यसरी सँसारमा संचार माध्यममा गरेको नयाँ अविस्कारहरुले सिमा र मलाई अझै नजिक्याएको छ । हामी फोनमा पहिले भन्दा धेरै कुरा गर्छौ र उस्तै दुःखसुख बाँड्ने पनि गर्छौ । सौरभले अहिले लन्डन मै बिबिए गर्दै छन् । उनको इच्छा आर्मीतिर पनि रहेकोछ भन्छिन् सीमाले । जीवनमा उनले गरेको संघर्षले आज उनलाई सफल बनाएको छ । यिनै संघर्षबाट पाएको सफलतामा उनी खुशी पनि छिन् । एकपटकको त्यो प्रेमको बितृष्णाले होला सिमा अझै पनि अविवाहित नै छिन् । सिमाले अझै पनि आफनै कर्तव्यलाई निरन्तरता दिदैछिन् । मैले मेरो हर प्रथानामा उनको सफलताको कामना गर्ने गर्छु र माग्छु । हे सबै आमाहरू हो, जन्माउनु नै छ भने सिमा जस्ती छोरी जन्माउनु, जसको महानता, हिम्मत, शक्ति र उद्धरताको अगाडि सबै-सबै जिर्ण देखियोस । अनि हे भगवान जन्म दिनु नै छ भने छोरीलाई सीमाको जस्तो हिम्मत, साहस र धर्यता दिएर जन्म दिनू यो धर्तीमा छोरी कै रूपमा जन्म दिनू….. !!

(अतितले भविष्यमा कुनै छायाँ नपारोस भनि मैले यहाँ सिमा र सौरभको नामलाई परिवर्तन गरेकी छु ।)

(स्रोत : ekabita.blogspot.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.