सम्झिएर उनिलाई खोलेँ केहि चिट्ठीहरू
केहि उडे बतासले छोपेँ केहि चिट्ठीहरू
सिउँदो त्यो सिन्दुरले रंगाउन नसके नि
धोको मेट्न रगतमा चोबेँ केहि चिट्ठीहरू
एक्लै हुँदा भरपर्दो साथी यिनै बनिरहे
छातीमाथि टाँसी टाँसी घोटेँ केहि चिट्ठीहरू
धेरै प्रित पोखिएका ,थोरै माफि मागिएका
मेरो सिंगै मुटुसँग जोखेँ केहि चिट्ठीहरू
मरेँ भने त्यो नदिको किनारमा जलाउनू
त्यही ठाउँ शुद्ध गर्न छोडेँ केहि चिट्ठीहरू
बनी धुवाँ उडेपछि साथ छुट्ने डर लाग्यो
सँगै जल्न मन भित्रै खोपेँ केहि चिट्ठीहरू
अर्को जुनी पाए फेरि सप्रमाण भेट्न भनी
कल्पवृक्ष जन्माउन रोपेँ केहि चिट्ठीहरू
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )