कथा : घडी

~वीरेन्द्र कंडेल~Birendra Kandel

“बा, मलाई घडी चाहियो के, घडी ल्याइदिनुभएन भने त म स्कुल नि जान्नँ!”

बा भर्खर अफिसबाट आएर हातमुख धोइओरि टुसुक्क बस्नुभएको थियो।

“हैन, कति कचकच गर्छ यो? जैले घर आयो, घडी चाहियो भन्छ, किन चाहियो तँलाई घडी? पछि ठूलो भएपछि किन्दिउँला। मैले यो घडी त तेरी आमासँग बिहे गर्ने बेला किनेको।”

“नाइँ, मलाई त चाहिन्छ, चाहिन्छ। मलाई रहर छ घडी लाउने।” मलाई घडी चाहिएको आवश्यता बालाई एकै सासमा बताएँ।

“पढ्नु छैन राम्रोसँग, नानाथरी चिज चाहिन्छ यसलाई”, बा लुगा फेर्दै हुनुहुन्थ्यो।

“घडी ल्याइदिनुभो भने रुटिन बनाएर पढ्छु, फर्स्ट हुन्छु।” मैले बालाई आफ्नो योजना सुनाएँ।

“एउटा चिम्चिमे घडी ल्याइदिनु न त, मर्न लाग्यो घडी भनेर।” बालाई चिया दिँदै आमाले भन्नुभयो।

“ल ल हुन्छ, भोलि ल्याइदिन्छु, तर फर्स्ट आउनुपर्छ नि, जा अब भित्र गएर पढ्।” बाले चिया सुरुप्प पार्नुभो।

म भित्र गएर पढ्न थालें। पढ्नु त के थियो र? पढ्न त कैहिले जाँगर लागे पो। मनभरी बाले कस्तो घडी ल्याइदिनुहोला भन्ने कुरा खेलिरहेको थ्यो।

“बा, सानो घडी ल्याइदिनुहोला है; ठूलो भयो भने त मेरो हातमा सुहाउदैन नि।” मैले भित्रबाट बाले सुन्ने गरी ठूलो आवाजले बोलें।

“तैलें सिकाउनुपर्छ लाटा मलाई? मलाई थाहा छैन र छोराको हातमा कत्रो घडी ठीक हुन्छ?”

मलाई लुगा, जुत्ता सबै चिज बाले नै किन्दिनुहुन्थ्यो। लगाउँदा ठीक्क हुन्थ्यो। म दंग पर्थे– बालाई कसरी थाहा हुन्छ होला मेरो शरीरको नाप? यसपाली पनि बाले मलाई मिल्ने साइजको घडी ल्याइदिनुहुन्छ– मनमनै कल्पें।
***

भोलि स्कुलबाट फर्केपछि बाको बाटो हेरिरहेँ। बा घोडा चढेर गाविस कार्यालय जानुहुन्थ्यो, शान्तिनगर गाविसको सचिव हुनुहुन्थ्यो। अफ्ठेरो बाटो, साइकल, मोटरसाइकल त चल्ने कुरै थिएन, गोरेटो बाटोमा छिटै अफिस पुग्न घोडाको विकल्प थिएन। नभन्दै बा घोडा चढेर आइपुग्नुभो। घोडालाई तबेलामा बाध्नुभो। सरासर घरतिर आउनुभो।

“बा, खै मेरो घडी?”– मैले बाको हात समात्दै हिजोको कुरा सम्झाएँ।

“ला, घडी किनेको त अफिसमै छोडेछु, अब भोलि ल्याइदिन्छु, चिन्ता नगर्। कस्तो मेरो सुद्धि !”– बा चुकचुकाउनुभो।

“नाइँ ! मलाई त अहिले नै चाहिन्छ, मैले स्कुलमा भोलि घडी लगाएर आउँछु भनेर सब्बै साथीहरूलाई भनिसकें। मलाई त जसरी नि चाहिन्छ।”– म पिलपिल रून थालें।

“नरो नरो, ल हिँड् भित्र।”

“जान्नँ म त, यहीं बस्छु, राति नि यहीं सुत्छु, भात पनि खान्नँ।” मैले रुँदै बालाई घुर्क्याएँ।

बाले आफूले बोकेको हाते झोलाबाट एउटा सानो घडी निकाल्नुभो। “नरो लाटा, तेरो घडी एइ झोलामा छ। खै हात ले।”

“काले बा, रुहाउनुपर्छ त, अघि नै भन्नुपर्दैन?” – मैले आँसु पुछ्दै बातिर हात लम्काएँ। बाले हातमा चिम्चिमे घडी बानिदिनुभो– “फर्स्ट आउनुपर्छ नि लाटा यसपाली।”

“तेरो बालाई त तँ अझै बच्चै लाग्छ नि, तँ रोको नसुनी कहाँ मन मान्छ र?” – आमाले बालाई चिया दिँदै भन्नुभो।
***

बाले घडी ल्याइदेको रात म निदाउन सकिनँ। “मेरा बा कति जाति !” मनमा अनेक कुरा खेले। बाले मलाई घडीको समय कसरी मिलाउने, मिति र गते कसरी मिलाउने, राति अँध्यारोमा घडीको बत्ती बालेर कसरी समय हेर्ने – सबै सिकाइदिनुभाको थियो। बेला बेलामा म राति बत्ती बालेर घडी हेर्थे। सोच्थें – कसरी रातभरि चलेको होला यो घडी? “बा, घडीलाई निद लाग्दैन?”

बा सायद निदाउनुभएको थियो क्यारे, बोल्नुभएन। बालाई कोट्याउँदै फेरि त्यही प्रश्न सोधें। “हैन, तँ अझै सुतेको छैनस? केके नानाथरि कुरा सोध्छ ! सुत् खुरुक्क लाटा।” बाले कोल्टे फेर्नुभो।

“नाइँ के बा, भन्नु न।” – मैले घडी हेर्दै जिद्दी गरें, रातको ११:२५ भएको रहेछ।

बाले त्यो रात घडीको बारेमा सबै कुरा बताइदिनुभो। घडी कसरी चल्छ, घण्टा, मिनेट र सेकेन्डको हिसाब पनि सबै सिकाइदिनुभो। बा पनि रातभर सुत्न पाउनुभएन।
***
“आमा, छिटै भात पस्कनु के। मलाई आज छिटै स्कुल जानुछ।” घडी हेर्दै मैले भनें– “आठ बजेर चालीस मिनेट गैसक्यो।”

“पख् न पाक्दैछ, के को हतार हो आज? साथीहरूलाई घडी देखाउन हतार त होला नि?”– आमाले लोरीले आगो फू फू गर्नुभो।

बास्तवमा मलाई हतार हुनुको कारण एउटै थियो– साथीहरूलाई घडी देखाउनु थियो।

बा र मैले सँगै खाना खायौ। बाले मलाई घोडामा मेरो स्कुलसम्म पुर्‍याइदिनुहुन्थ्यो र आफ्नो अफिस जानुहुन्थ्यो।

बा र मा घोडा चढ्यौं। म अगाडि बसेको थिएँ। म छिनछिनमा घडी हेरिराख्थें।

“कति घडी हेर्छ यो? स्कुलमा पनि दिनभर घडी हेरेर बस्ने होला आज ! पढाइतिर ध्यान देस्।” घोडालाई बिस्तारै एक कोर्रा हान्दै बाले भन्नुभो।

“स्कुलमा त हेर्दिन के, राम्रोसँग पढ्छु।”– म बातिर फर्कें।

“ल झर्, स्कुल आयो।”

आज त स्कुल पनि कति छिटो आइसकेको? घडीको तालमा स्कुल आएको नि पत्तो पाएन मैले।

स्कुलमा मैले सबैलाई घडीको कथा भनें। समय कसरी हेर्ने भनेर सबैलाई सिकाएँ। कृष्ण, गोपाल, केशव, गंगाधर र बसन्त मेरा मिल्ने साथी थिए।

“बालाई म यसपाली फर्स्ट हुन्छु भनेर बाचा गरेको छु।” घडी मुसार्दै मैले भनें।

“हुन्छ्स् तैं लद्धु फर्स्ट? विनोदलाई त कसैले जित्न सक्दैन।” गंगाधरले मतिर ठूला आँखाले हेर्‍यो।

“विनोदलाई त जसरी नि जित्छु, मिहिनेत गरेर पढ्छु।”

“ल ल, हेरम्ला।” केशवले मलाई चुनौती दियो।
***
बाले घडी किन्देपछि मैले रुटिन बनाएर पढ्न थालेको थिएँ। बा पनि रातिसम्म बसेर मलाई हिसाब सिकाउनुहुन्थ्यो। अंग्रेजी ग्रामर सिकाउनुहुन्थ्यो। विज्ञान, सेरोफेरो र नेपाली त सजिलो लाग्थ्यो। हिसाब र अंग्रेजीमा समस्या थियो। बाले दिनरात मेहेनेत गरेर हिसाब र अंग्रेजी सिकाउनु भयो। स्कुलमा मेरो नतिजा पनि राम्रो आउन थालेको थियो। बा-आमा खुसी हुनुहुन्थ्यो। पढाइमा सुधार देखेर बाले आमासँग भन्नु भयो– “अब यसले अन्तिम जाँच दियो भने म यसलाई तुलसीपुर घुमाउन लैजान्छु। बर्फी मिठाई खुवाउँछु। नयाँ लुगा पनि किनिदिन्छु।”
मेरो ध्यान झ्वाट्ट बर्फीतिर गयो। बाले बेलाबेलामा बर्फी किनेर ल्याउनुहुन्थ्यो। बर्फी सम्झनेबित्तिकै मुखमा पानी आयो।

“बा, भोलि बर्फी ल्याइदिनु न।”

“भोलि त कसरी ल्याउने? सहर जान दुई घण्टा लाग्छ, तेरो बाको अफिस पाँच बजे छुट्छ। भोलि हुँदैन। अर्को कुनै दिन ल्याइदिनुहुन्छ।” बाको सट्टा आमा बोल्नुभयो।

बा बोल्नुभएन।

म पनि चुप भएँ। मनमनै हिसाब गरें– दुई घण्टा भनेको त एकसय बीस मिनेट। जान दुई घण्टा, आउन दुई घण्टा, चार घण्टा त धेरै ट्याम हो।

“रात धेरै भैसक्यो, ल सुत्, भोलि उठेर पढ्लास्।” – आमाले बत्ती निभाउनुभो।

भोलिपल्ट राति अबेरसम्म पनि बा आउनुभएन। आमा धेरै चिन्तित हुनुभो। बा कहिल्यै यसरी ढिलो गर्नुहुन्नथ्यो। बा कहाँ जानुभाको होला?

“अफिसमा केही काम पर्‍यो र हो कि आमा?”

“काम परे पनि यति रात त नपार्नुपर्ने। कति बज्यो हेर् त।”

मैले घडी हेरें– “नौ बज्यो आमा।”

आमा अझ बढी चिन्तित हुनुभो।

एकछिन पछि घोडा हिन्हीं गरेको आवाज आयो। बा टुप्लुक्क आउनुभो।

“काँ जानुभाको थ्यो, हजुर? केइ खबर पनि नगरी यति रातिसम्म। म त केही भयो कि भनेर चिन्ताले मर्न लागेकी थें।” आमा एक सासमा बोल्नुभो ।

“सुनिनस्, हिजो यसलाई बर्फी खान मन लाग्यो भनेको?” – झोलाबाट बर्फीको प्याकेट निकालेर आमालाई दिँदै बाले भन्नुभयो।

“हजुरले यसलाई यसरी नबिगार्नुस है, जे भन्यो त्यै पुर्‍याउने हो भने त केइले नि पुग्दैन।” आमाले मेरो टाउको सुम्सुम्याउँदै भन्नुभयो।

“मन लागेको चीज खान दे न त, खाने उमेर एइ त हो, मलाई इ डाइबेटिजले अब खान मिल्दैन।”

“बा !!!” – मेरा आँखाबाट तुरुक्क आँसु झरे।

“किन रुन्छ्स्, हिँड् भित्र अब खाना खान।” – आमाले दुइओटा बर्फी मलाई दिनुभो। आफूले दुइओटा खानुभो। “धेरै खानु हुँदैन, दाँतमा कीरा लाग्छ।” बाले खानुभएन।

त्यो रात पनि मलाई बाको माया सम्झेर धेरै ढिलो निन्द्रा लाग्यो।
***

चार कक्षाको अन्तिम जाँच पनि भैसकेको थियो। परीक्षा त राम्रो गरेको थिएँ। परीक्षापछि एक महिना बिदा थ्यो। बाआमा मलाई घरमा छोडेर मामाको छोरी– मेरो दिदी– को बिहेमा जानु भएको थ्यो। मलाई पनि जान त मन लागेको थ्यो तर एकजना त घर पनि कुर्नुपर्‍यो। बस्तुभाउ लाई घाँस, दानापानी गराउनुपर्ने।

“तिमीहरु आमा–छोरा जाओ न त, म घरमै बस्छु, यो पनि घुम्न रहर गरेको छ।” – बा दाह्री काट्दै हुनुहुन्थ्यो।

“हजुर नगइ त हुँदैन, बिहे जस्तो कुरो, घरको मुली मान्छे जानुपर्छ। दाइले नराम्रो मान्नुहुन्छ, बरू हजुर बाउ-छोरा जानुस्, म पछि जाउँला।” आमाले कपाल कोर्दै भन्नुभयो।

मलाई बा-आमाको कुरो सुनेर नरमाइलो लाग्यो। म त फुच्चे, बिहेमा गएर नि कामकाज केही गर्ने होइन। बरू बाआमा जानुभो भने बिहेमा सहयोग नि हुन्छ। मामाघर त जैले गए नि हुन्छ नि त। यही कुरा सोंचेर मैले घर बस्ने कुरो गरें। बा-आमा जानुभो।

हिँड्ने बेला आमाले भन्नु भयो– “धेरै गाउँ नडुल्नू, बस्तुभाउलाई ट्याममा दानापानी दिनू। घोडाको ख्याल गर्नू।”

आमाले भनिसक्न नपाउदैं मलाई झ्वाट्ट घोडाको याद आयो। अहो, घोडा त आज घरमै पो हुन्छ।

“हुन्छ”, मैले फ्याट्ट भनिदिएँ।

बा-आमा अलि पर पुगेपछि मलाई के गरु के गरु भयो। बाले सधैं चढ्ने गरेको घोडा मलाई एक्लै चढ्न मन थियो। तर कसरी चढ्नु? फेरि केही भैहाल्यो भने बाको हातबाट त म बच्न सक्दिन।

हुन त घोडा पनि सोझो थियो। बाले मलाई सधैं चढाउने भएर होला, मलाई चिन्थ्यो। नजिक जाँदा लाटीएझैँ गर्थ्यो। आज त जसरी भए नि घोडा हाँक्छु भन्ने आँट आयो। केशवको घर नजिकै थियो। दौडिदै गएर उसलाई बोलाएँ। ऊ शूरो पनि थ्यो। मभन्दा तीन वर्ष जेठो पनि थ्यो। ठूल्ठूलो खोला तर्न पनि उसैले सिकाको थ्यो।

मैले उसलाई सबै योजना बताएँ। घोडा हाँक्ने भनेपछि ऊ पनि फुरुङ्ग भयो। मैले घोडालाई तबेलाबाट फुकाएँ। कन्याउदै बारीसम्म लगें। केशव पछि पछि थ्यो।

अग्लो ठाउँमा लगेर घोडालाई रोकें। घोडाको ढाडमा काठी हालें। कैंजा कसें। “ल केशव, तँ यहीं बस्, म एक फन्को लगाएर आउँछु, अनि तेरो पालो।”

केशवले सहमति जनायो– “हुन्छ, धेरै टाढा नजा नि।”

मैले बिस्तारै घोडा हाँक्न थालें। अहो कस्तो रमाइलो भैराखेको थियो। क्या मज्जा हुँदो रहेछ घोडा चढ्न। मलाई अझ टाढा टाढा जान मन लाग्यो। अर्को गाउँसम्म पुगेर मैले एक्लै घोडा चढेको देखाउन मन लाग्यो। मैले अझ घोडा दौडाउन थालें। डर भन्ने कुरा त कता भाग्यो कता। आकासमा निस्फिक्री चरा उडे जस्तै लाग्यो।

घोडा अझ बेस्मारी दौड्न थाल्यो। म कोर्राको सिर्कनी लगाउँथे। घोडा अझ चम्कन्थ्यो। म त धेरै टाढा पो पुगें। मैले बा-आमा, केशव सबैलाई भुलिसकेको थें। मैले गाउँको दुई फन्का लगाएँ। केशव भन्थ्यो– “सुमन, अब मेरो पालो।”

“पख् न केशव एकछिन, भर्खर त मज्जा आउदै छ।”

कुन छिमलमा हो, घोडाको बेगमा म भुइँमा बज्रेको पत्तो पाइन, मलाई यत्ति याद छ– टाउकोबाट भल्भल्ती रगत बगेको थ्यो, केशव आयो कि जस्तो लाग्छ, हो कि होइन, याद गर्न सकिन, एकपटक चिच्याको चाहिँ याद छ– “बा…..म मरें बा ….!!”
***

घोडाबाट लडेको दोस्रो दिनपछि बल्ल मैले बा-आमालाई चिनें। आँखा खोलें। मैले आँखा खोलेपछि आमा त क्वाँ क्वाँ डाँको छोडेर रुनुभो। बाका आँखा पनि ओभाना थिएनन्। आमाले ग्वाम्लंग अँगालो मार्नु भो।

मनमनै सोंचे– म घोडाबाट लडेपछि कसले घरमा पुर्‍यायो? बा-आमालाई बोलाउन को गयो? यो कुरो थाहा पाएर बा-आमाको मनमा के गुज्र्यो होला? दिदीको बिहे कति खल्लो भयो होला ! ह्वाल्हवालती रगत बगेको मेरो टाउकोमा सिन्दूर (रगत थाम्नको लागि) कसले खन्याइदियो? चराजस्तो घोडामा कुदेको म एक्कासी भुइँमा बज्जारिँदा घोडा मलाई छोडेर कता भाग्यो? आदि।

“आमा……….!!” म केही बोल्न सकिनँ।

“लाटा, कति दुख दिस् है तैले?” आमा मेरो हात समाउँदै रुनुभो।

“भयो, गाली नगर्।” बाले चस्मा निकालेर आँसु पुछ्नुभयो।

“काले……!!” बा बिस्तारै बोल्नुभयो।

“बा….!!!”

मैले हात हेरें– “ला, घडी खोइ?”

मलाई फेरि रुन मन लाग्यो।

“बा, मेरो घडी हरायो।”

“भयो, छोडिदे त्यो घडी, तँ त झन्डै बाँचिस। भोलि नयाँ किन्दिन्छु।” बाले मेरो कपाल मुसार्नु भो।

मलाई त त्यही पुरानो घडीको याद आइराखेको थ्यो। भोलि त रिजल्ट आउने दिन पनि हो। त्यो घडी देखाएर साथीहरूसँग त मैले बाचा पो गरेको थिएँ– फर्स्ट आउँछु भनेर। कस्तो खल्लो लाग्यो मलाई। मलाई अब टाउकोको चोटभन्दा घडी हराएको चोट बढी लाग्यो।

बातिर फर्केर फेरि भनें– “बा, मेरो पुरानो घडी !!”

“कति माया गरेको त्यो थोत्रोको। भोलि नयाँ ल्याइदिनुहुन्छ त।” बोल्ने पालो आमाको थ्यो।

त्यसपछि म केही बोल्न सकिनँ, चुप बसें। आमाले पकाइदिनुभएको अलिकति जाउलो खाएँ। दाल-भात त खान मिले पो।

बेलुका खाना खाने बेला मैले आमाको मुखबाट सुनें– मलाई लडाउने घोडा बाले बेच्नुभयो।

म अवाक् भएँ।

एकछिनपछि सोधें– “आमा, त्यसो भए अब बा अफिस कसरी जानुहुन्छ त?”

बालाई भात थपिदिँदै आमाले भन्नुभयो– “हिँडेर।”

मलाई रुन मन लाग्यो। भात पनि खान मन लागेन। यो सब मेरै कारणले भएको थ्यो। हिँडेर त बालाई अफिस जान तीन घण्टा लाग्छ, मेरै कारणले अब बा तीन घण्टा हिड्नुपर्ने भयो। आँखा पिलपिल भयो।

“किन रुन्छ्स्? भात खा खुरुखुरू।” बाले मेरो आँसु पुछिदिँदै भन्नु भो– “त्यो बैगुनी घोडालाई किन राख्नु? फेरि अर्को किनौंला।”

केहीबेर मेरो बोली फुटेन। घोडा सम्झेर हिक्कहिक्क भो।

“बा, भोलि त मेरो रिजल्ट आउँछ; हजुर, आमा र म सबै रिजल्ट सुन्न जानुपर्छ।”

“हुन्छ।”- बाले भातको गाँस निल्नुभो।
***

आज त रिजल्ट सुन्ने दिन। ल, बा त बिहानै देखि गायब हुनुहुन्छ।

“आमा, बा खोइ के, रिजल्ट सुन्न जान हतार भैसक्यो।”

“खै कतै जानुभा होला, ऐले आउनुहोला नि, किन हतार गरेको?” आमा कोठा सफा गर्दै हुनुहुन्थ्यो।

“म बिहान उठेदेखि बा हुनुहुन्न, कता हराउनुभो?” – मैले यति भन्न नपाउदै बा टुप्लुक्क आइपुग्नुभो।

“ल, खाना खाएर तयार होउ, स्कुल जानुपर्छ।” बा बाहिर निस्कनुभो।

हामी सबै तयार भएर स्कुल पुग्यौं। बयाले सिम्तारा निमावि, शान्तिनगरको प्रांगणमा सबै साथीहरु आफ्ना–आफ्ना बा आमासँग आइसकेका थिए। रिजल्ट कैले हुन्छ भनेर सबै प्रतीक्षामा थिए। सबैको आँखा फर्स्ट को हुन्छ भन्नेमा थ्यो। हेडसर देवबहादुर गुरुङले नतिजा सुनाउन थाले।
चार कक्षाको पनि पालो आयो। मेरा कान ठाडा भए।

बिस्तारै नाम सुनाए –

केशव खनाल– पास

गंगाधर भुसाल– पास

कृष्ण तिवारी– पास
….
…..
बिनोद थापा– सेकेन्ड र

सुमन घिमिरे– फर्स्ट।

पर्र ताली बज्यो। मैले बा-आमालाई पालैपालो हेरें।

“बा…!!!….आमा…!!!”

“स्याबास बाबु ….खै हात ले।” बाले भन्नुभयो।

मेरो हात तान्दै बाले यसपाली सुइवाला घडी लगाइदिनुभो।

“बुझिस् लाटा, बा बिहान कहाँ हराउनुभाको थ्यो?”- आमाले मतिर हेर्दै भन्नुभयो।

मेरा आँखा फेरि पिलपिल भए।

birendrakdl@gmail.com

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.