कथा : यो कथा होइन

~भावना शर्मा~Bhawana Sharma

यहाँ जो आँउछन्
मुटुभरी आगो, ओठभरी ज्वाला बोकेर आँउछन्
यहाँ जो बस्छन्
हत्केलाभरी खरानी र आँखाभरी धुँवा बोकेर बस्छन्
र यहाँबाट जो जान्छन्
पोल्टाभरी निभेका विश्वासहरु र सपनाहरु
सोहोरेर जान्छन्…..

जब यहाँ आइपुगें, यस्तो लाग्यो भूपि शेरचन कुनै दिन यही भट्टीमा पसेर निस्किएपछि पो कविताका यी हरफहरु लेखेका थिए कि? उनले काठमाडौंलाई वर्णन गरेका थिए- चिसो एस्ट्रे भनेर। तर काठमाडौंकै एउटा कुनामा रहेको यो भट्टी पनि चिसो एस्ट्रेझैं गन्हाइरहेको थियो। ओसले ढाडिएको गुन्द्रीमाथि राखिएका मैला चकटीहरु। पलेटी कसेर बसेका थिए लाइनै उनीहरु। थोत्रा कुर्सीमा बसेर मासु चपाइरहेका थिए कोही। केही भने प्याज कर्यामकर्याम पार्दै चुस्की लगाइरहेका थिए। यो एउटा भट्टी थियो। पहिलो पटक पुगेकी थिएँ गएको सोमबार म त्यहाँ। जीवनमा पहिलो पटक विशुद्ध भट्टी अनुभव थियो मेरो। यो सत्य हो। काठमाडौं नगरीका असंख्य नारीहरु शिवालय धाइरहँदा म भने मदिरालय छिरेकी थिए, एक्लै। यो झन् ठूलो आश्चर्य। हो नि ! यहाँ आइ नपुगुन्जेल म पनि सोच्ने गर्थेँ कसरी पस्ने होला भट्टीभित्र !

पाइला चलेनन्। खुट्टा घिसारेर अघि सारें यहाँ पस्न मैले पनि। काठमाडौंका पुराना केही गल्लीहरुमा साँझपख यस्ता भट्टीहरु असाध्यै गुलजार हुन्छन्। पुरुषहरुको अखडा हुन् यी भट्टीहरु, जहाँ कुनै महिला पसे भने तिनीहरु यसरी हेर्छन्, मानौँ कसैले हमला गरिरहेछ उनीहरुको
साम्राज्यमा।

म पुगें त्यही साम्राज्यमा, जहाँ एक हुल मानिसहरु आफ्नो दैनिकीमा रमाइरहेका थिए। काठमाडौं नगरीकै एउटा चल्तीको गल्लीमा छ यो ठाँउ। ठाउँ नसोध्नुहोला। मैले ठ्याक्कै ठेगाना लेखें भने भोलि म गल्लीको बदनाम गरेको आरोपमा कारबाहीमा पर्न सक्छु। फेरि तिनै भट्टीका नियमित ग्राहक पनि म माथि आइलाग्न सक्छन् आफ्नो चरित्र हत्या गरिदिएको भन्दै। यो कथा होइन। त्यसैले भट्टी, गल्ली र यसका नियमित ग्राहकको नाम गोप्य नै रहोस्। उनीहरुको बदनामीसँग कुनै लेनादेना छैन मलाई। मात्र आफ्नो नाम सार्वजनिक गर्छु किनकि मलाई शर्म छैन भट्टी छिरेकोमा। न म उनीहरु जसरी मास्क लगाएर त्यहाँ पसेकी थिएँ, न मुख छोपेर निस्केकी हुँ, त्यसैले लेख्दैछु। मैले आफ्नो बारेमा कसैलाई स्पष्टिकरण पनि त दिनु छैन।

त्यहाँ पस्नासाथ चुरोटको धुँवाले निस्सास्सिएर सासै फेर्न गाह्रो पारेको थियो। फेरि रक्सीको एक खाले मतमत्याइँदो गन्धले टाउको समायो। पाँच मिनेटको बसाइपछि सबै खाले गन्ध सामान्य हुँदै गयो। अझ भनौँ यो ठाँउले एक छिनमै स्विकार्‍यो मलाई। यस्तै हुँदो हो यहाँ, जो पस्छन्, एकै छिनमा स्विकारिदिन्छ यो माहोलले। मलाई यहाँ बसेर पिइरहेका मानिसहरुको बारेमा केही भन्नु छैन। उनीहरुलाई केरकार गर्न आएकी पनि होइन। कोही अफिस सकेर यसो रिफ्रेस हुन पसेकाहरु छन्। साँझलाई यही बसेर बिताइदिनेहरु छन्। वर्षौदेखि नियमित धाइरहेकाहरु पनि छन्। एकै छिन छुस्स यहाँ नपसी घर जानै मन नलाग्नेहरु पनि छन्।

बसिरहँदा अनौठा ब्यबहार देखाए एक सज्जनले। साउनको सोमबार भएकाले तिनले ब्रत लिएका रहेछन्। ब्रत छ भन्दै शुद्ध काँक्रोसँग रस्लान भोड्का मगाए उनले। यो देख्दा चाँहि हाँसो उठेकै हो। तर म हाँसिन। यौटी आइमाइ जो साँझमा एक्लै भट्टी पसेकी छे, उसको लागि त्यो माहोलमा हाँस्नु उचित कदापी हुँदैनथ्यो। त्यसैले त हाँसिन। फेरि मलाई अचानक ती सज्जनकी पत्नीको याद आयो जो बिहानैदेखि शिव आराधानामा लिन थिइन् कि ! दिउँसो मन्दिर पुगेर महादेवलाई पुजिन् कि ! यी सज्जन जो आफै सोमबार भन्दै शुद्ध फल र रस पिइरहेका थिए। यिनकी पत्नी यिनीभन्दा पनि बढी धार्मिक होलिन् भन्ने मान्यताले काम गर्‍यो। कस्तो कस्तो लागिरह्यो। साँझमा पत्नी आरतीमा लिन रहेको बेला यी सज्जन लम्किए होलान् यतातिर। कठै…

पहिलो पटक भट्टीमा पसेकी हुँ म। यो सत्य हो। भनिसकेँ, मलाई ढाँट्नु छैन। कसैलाई खोज्नु थियो। नखोजी धरै थिएन। आज उसलाई भेटेर जिम्मा लगाउने बाचा गरेकी थिएँ मैले उसकी पत्नीलाई। अति धेरै रोएकी थिइन् उनी त्यस बिहान। हार्न नसकेर मैले बाचा गरेकी थिए- जसरी पनि उसलाई साँझसम्म घरमा ल्याइदिने। यही विश्वास जोगाउनका खातिर मैले पाइला बढाएकी थिए आज यो भट्टीमा। दुइदिन देखि ऊ यहाँ थियो रे। हरे कसरी बस्न सकेको होला यस्तो ठाउँमा। पस्ने बित्तिकै दिगमिग लागेको यो ओसिलो टहरा मुनि उसले एक घण्टा बिताउन सक्ला भन्ने मेरो कल्पना बाहिरको कुरा थियो। तर दुई दुई दिन? म आफै चित खाएँ। बाफरे यो कस्तो ठाउँ रहेछ हँ ! जसले मानिसलाई बिना कुनै लगाम आफूतिर एकोहोरो डोहोर्‍याउँछ।

खोजखबर गर्दा ऊ अक्सर पस्ने यो भट्टीबारे थाहा पाएँ। केही महिनादेखि ऊ यहाँको नियमित ग्राहक रहेछ। हरेक साँझ आउने रहेछ यहाँ। साथीभाइको लहैलहैमा भनौ भने उसको त्यो उमेर पनि होइन। ६५ कटिसकेको छ ऊ। दुई सन्तानको बाबु। छोरो अस्ट्रेलियाको पिआर, परिवारसहित उतै बस्ने। एउटी छोरी काठमाडौंमै राम्रै परिवारमा घरजम भएको छ। सुगरले गालेकी पत्नीका साथ ढल्किँदो समय गुजारिरहेको थियो। सबै ठिकठाकै चलिरहेको थियो। रिफ्रेसको नाममा बेलाबखत छिर्ने गरेको ऊ अचानक यो भट्टीको नियमित ग्राहकमा बदलिएछ। जब पत्नीमा रोगका मात्रा थपिँदै गयो, उसको रक्सीको मात्रा पनि बढ्दै जान थालेछ। कसैलाई नभनी चुपचाप सहिरहेकी उसकी पत्नी जब त्यसदिन भक्कानिएर मसँग रोइन्, म जबाफबिहीन भएँ। मलाई उनीजस्तो रुनु थिएन। मलाई त उनको लोग्ने फर्काएर घरसम्म ल्याइदिनु थियो। जुरुक्क उठेर हिडेँ म। बाटोभरी सोचिरहेँ— मान्छे बिग्रने उमेर कुन होला?

ह्वास्स आएको ओस र रक्सीको गन्धलाई पचाउँदै म भट्टीभित्र छिरें। मलाई अगाडि देखेर ऊ झसंग भयो। केही नबोली निहुरायो आफ्नो शीर। मेरो सामु यसरी झुकिदियो मानौँ ऊ रेटिन तयार छ र गर्धन थापिरहेको छ मेरो अगाडि। केही नबोली सामुन्ने टुक्रुक्क बसेँ मैलो चकटीमा। मैले प्रश्न गर्नु निरर्थक थियो त्यस बेला। दुईदिनदेखि होस गुमाएर पिइरहेको उसँग मैले केही सोध्नु मेरै मूर्खता हुन्थ्यो। त्यसैले पाखुरामा समाएर बिस्तारै उठाएँ। रक्सी त लागेकै थियो तर मलाई देखेर झन् बढी ऊ लाजले मुन्टो उठाइरहेकै थिएन। मैले उसको पाखुरा समाएर उठाउँदै गर्दा भट्टी साहुनी छेउमै आइसकेकी थिइन्। कपाल जुरो बनाउँदै सामुन्ने उभिएर आदेश दिइन्- ‘चार हजारको खाएका छन्। नतिरी नलानू।‘
मैले खासै पैसा बोकेकी पनि थिइन। १५ सय थमाइदिएर भनेँ- म आफै ल्याइदिउँला बाँकी पैसा भोलि। विश्वास नभए मेरो मोबाइल नम्बर राख्नु। उसले गाता नभएको मैलो कापीको एउटा कुनामा मेरो नम्बर टिपी।

उसलाई ट्याक्सीमा बल्लतल्ल ल्याएर राखेँ। बाटो त्यति टाढा त हैन तर उसको हालत उभिन सक्ने थिएन। पछाडिको सिटमा पल्टियो ऊ। यति फोहोरी, निरिह र घिनलाग्दो मैले यसअघि कहिल्यै देखिन उसलाई। बाटोभरी भट्टीको माहोलले गलाइरह्यो दिमाग। नपुग पैसा पुर्‍याउन भोलि फेरि पुग्नु पर्नेछ मलाई त्यहाँ। सम्झेरै उदेक लागेर आयो। गेटमा उभिइरहेकी थिइन् उनी म पुग्दा। लोग्नेलाई ट्याक्सीबाट निकाल्न आफैं आइपुगिन्। म भने घरभित्रै नपसी फरक्क फर्किए। मलाई केही भन्नु थिएन। कसैलाई सम्झाउनु थिएन। नैतिक शिक्षा घोकाउनु थिएन। अबुझ भए पो सम्झाउनु ! उनीहरु जबसम्म सामान्य लयमा फर्कँदैनन्, म भेट्दिन। यति अठोट गरेर आफ्नो घर फर्किएँ।

उसको परिचय सार्वजनिक गर्नु छैन मलाई। किनभने यो कथा होइन। ऊ को हो तपाईँहरु अनुमान मात्र गर्न सक्नुहुन्छ। अनि फेरि उसलाई सुध्रिने एक मौका राखिदिनु छ। अहिलेको लागि तपाईँहरुलाई यो फोटोमात्र सार्वजनिक गरेकी छु। यो फोटो मैले त्यसबेला खिचेकी थिए जब उसँग बोल्ने शब्दहरु नपाएर म छानातिर घुरिरहेकी थिएँ। टिनको त्यो टहरामा अलिकति ठाउँ टाल्न बाँकी रहेछ, जहाँबाट साँझको घाम सकिनसकी भित्र छिर्न खोजिरहेको थियो। मोबाइल बिस्तारै उचालेर माथितिर फर्काएँ र यो फोटो खिचें। सम्झिएँ— घामको धर्म हो उज्यालो फैलाउनु। चाहे मन्दिर होस् चाहे भट्टीमा…. घामका लागि सबै ठाउँ समान, सबै ठाउँ पवित्र ! घामका रंगीन रेसाहरु अचानक म भित्र पसेजस्तो लाग्यो। म पुलकित भएँ।

(भावना शर्माका दुई पुस्तक प्रकाशित छन्। ‘जुनको आतंक’ कवितासंग्रह हो भने ‘गणतन्त्रका प्रणेता’ दिवंगत नेता रामराजाप्रसाद सिंहको आत्मवृतान्त हो।)

(स्रोत : Pahilopost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.