रामाधीन बाहिर आयो। केही छिनअघि मात्र ऊ भित्र बेडमा बसेको थियो। भित्र बच्चालाई काखमा लिएर बखरीवाली बसेकी छे।
‘रोइरहोस् त्यो, कति सुन्नु,’ ऊ फुसफुसायो। बाहिर बेन्चीमा बसेको छ रामाधीन। त्यसो त ऊ पनि कहाँ नरोएको हो र! भित्रभित्र धेरै रोयो। तर बाहिर प्रकटमा…? अहँ, ‘मर्दले रुनु हुँदैन।’ ऊ यो मामिलामा कडा छ। तर हृदय? त्यो कसको कडा हुन्छ र यो संसारमा। जतिसुकै धाक लाए पनि ‘हृदय’ नामैले नरम हुन्छ, कोमल हुन्छ, भावुकताले भरिएको हुन्छ।
त्यसैले जसले जति गफ चुटे पनि, जसको पनि हृदय त रुन्छ, रुन्छ। हो यत्ति कि, हृदय रोएको कसैले देख्दैन। बस्, रामाधीन अहिले आफू जतिसुकै भित्रभित्रै रोए पनि बाहिर बखरीवालीका अगाडि सान्त्वना दिने अभिभावक भएर उभिएको छ।
‘नरो, नरो! केही हुँदैन हाम्रो बच्चालाई,’ उसले बखरीवालीलाई धेरैपटक यसैगरी सम्झाइसकेको छ। उसको शिरमा हात राखेर बालख छोराको गालामा सुमसुम्याउँदै उसले बारम्बार भनेको छ, ‘कस्तोकस्तो रोग निको हुन्छ आजकाल। हाम्रो बच्चाको यो ‘घ्यारघ्यार’ पनि बिसेक हुन्छ। डाक्टरले निको पार्छन् नरो…!’
रामाधीन अस्पतालको बच्चावार्डको बेडमा स्वास्नी बखरीवालीलाई छोराका साथमा छोडेर अहिले बाहिर आएको हो। उसले कमिजको माथिको पाकेटबाट सिगरेटको डिब्बा निकाल्यो। उसको हैसियत सिगरेट खाने होइन तर यति बेला उसको बिरामी बच्चाले उसको हैसियत उचालिदिएको छ— बिँडीबाट सिगरेट खानेमा। बच्चाले नै भन्नुपर्योर। न ऊ बिरामी पर्दथ्यो न रामाधीनले कर्जा खोज्नुपर्थ्यो।
खैर, उसले सिगरेटको डिब्बाबाट एक खिल्ली चुरोट निकाल्यो। फेरि के सोच्यो, सिगरेटलाई ओठमा पुर्या्एर च्यापेन। त्यति बेलै ऊ खोक्न पनि थाल्यो। यो शान्तमय अस्पतालमा उसको खोकीले मानौं एउटा आतंक सिर्जना गर्दै छ। यो आफूले पुर्या एको बिघ्नमा मानौं ऊ सचेत छ, त्यसैले नअडिरहेको खोकीलाई काँधमा भिरेको गम्छाले मुखमा पुर्याोएर, कोचेर थुन्न खोज्यो। खोकीको आवाज दबाउने उसको प्रयत्नमा ऊ केही सफल भयो केही असफल। आखिर ऊ बेन्चबाट उठेर निसासिँदै बाहिर दौडियो। बाहिर खुला हावामा मुखलाई पूर्णतः खुला राखेर ऊ निर्धक्क खोकिरह्यो। मानिसहरू हेर्थे। उसलाई मतलब रहेन। आखिर अस्पतालमा बिरामी त हुन्छन्— कसैले के हेर्नू, आँखाले किन घोच्नु…? उसले सोच्यो होला।
धेरै बेरको लडाइँपछि उसले खोकीलाई जित्यो। बाहिर खुला हावामा, खुला स्थानमा दुई सिरिसका ठूला वृक्ष थिए। त्यस मुन्तिर पनि बेन्च राखिएको थियो। यति बेला त्यहाँ कोही बसेका थिएनन्। ऊ त्यहाँ गएर बस्यो। उसले खल्तीमा राखेको सिगरेटलाई फेरि झिक्यो। यसपल्ट उसले सिगरेटलाई मुखमा पुर्यााउन देरी गरेन। कमिजको तल्लो भागमा दायाँ–बायाँ दुई गोजी थिए। छामछुम पारेर त्यसमध्ये बायाँ गोजीबाट सलाई झिक्यो। पल्याकपुलुक हेर्यो — कसैले उसलाई हेरिरहेको त छैन? फेरि आफैंलाई झट्कियो, कसैले हेरे के, डाक्टरले चाहिँ नहेरोस्— उसले कामना गर्योक।
फेरि सोच्यो— डाक्टरले पनि हेरे के, के डाक्टरले सिगरेट खाँदैन? रक्सी खाँदैन…? ‘रक्सी’ सम्भि्कनासाथ ऊ झस्कियो। उसका मस्तिष्कमा अनेकथरी कुरा नाचे। ती नाचेका विषयमा प्रवेश गर्नुअघि रामाधीनले निकै आवेगका साथ सलाई कोर्योस— ‰यारर्र। मुखमा चेपिराखेको सिगरेट सल्कायो र किञ्चित विलम्ब नगरी छिट्छिटो गहिरो कस तान्न थाल्यो। मानौं ऊ छातीको, हृदयको कुनाकुनामा यो धुवाँको ‘नशा’ भरिपूर्ण पार्न चाहन्छ। यो धुवाँको ‘नशा’ले अलिकति पनि छेउकुना बाँकी नराखोस्, ढाकोस्— ऊ चाहन्छ। तर…तर… के सिगरेटको नशा भनेको रक्सीको नशाजस्तै हो, जसले सारा ‘गम’ बिर्स्याइदेओस्? ऊ गम खान्छ— अहँ, कदापि सक्दैन। सिगरेटले रक्सीको दर्जा प्राप्त गर्न सक्दैन।
उसले जोडजोडले सिगरेटको कस लिएपछि उसको पछाडि हात धोएर लागेको ‘खोकी’ले उसको कहाँ पिछा छोड्दथ्यो, ऊ खोक्न थाल्यो— ख्वक्…ख्वक्…ख्वक्…।
यो यस्तै हो— रामाधीनको साथ बिँडी र खोकीको साथ, सधैं यस्तै हो। रामाधीन पनि ढिट छ, जतिसुकै खोके पनि ऊ सिगरेट छोड्दैन। ‘खोकी’ पनि ढिट छ, ऊ रामाधीनलाई छोड्दैन। खोकी र रामाधीनको साथ जन्म जन्मान्तरको सम्बन्धजस्तो— दुवै एक–अर्कालाई छोड्दैनन्।
अहिले रामाधीन बाहिर छ, खुला हावामा, खुला वातावरणमा। ऊ खोक्न पनि छोड्दैन, सिगरेट तान्न पनि छोड्दैन। जब सिगरेट सकियो, उसको खोकी पनि मत्थर भयो।
यति बेला डाक्टर राउन्डमा आउने बेला हो। दस बज्न लाग्यो। एउटा डाक्टरको हुल भित्र पस्छ। ऊ पनि हतारहतार भित्र पस्छ। ऊ बच्चा वार्डतर्फ लम्कन्छ जहाँ उसकी स्वास्नी छे, उसको बिरामी छोरालाई काखमा लिएर बसिरहेकी। ऊ देख्छ— छोरा सुतिरहेको छ। बखरीवाली खोइ? उसका आँखा बखरीवालीलाई खोज्दछन्— ऊ छैन।
‘राँडी, छोरालाई छोडेर कहाँ हिँडी?’ ऊ फुसफुसाउँछ। छोरा नजिक पुग्छ। छोराको नजिक नै बेडमा थपक्क बस्छ। छोराको निधार छाम्छ— निधार तातै छ। जिउमा सुम्सुम्याउँछ— जिउ चिसो छ। सलाइन चढिरहेको छ। ऊ हेर्छ— तप्पतप्प थोपाथोपा सलाइन पानी खसिरहेको छ। हो, यही पानी हो छोराको निम्ति प्राण। यही पानीमा सुई घोपेर सिस्टरले औषधि हालेकी छिन्। हो, यही औषधिले उसको छोरा ठिक हुन्छ। किन चिन्ता लिनु— अस्पतालमा आएपछि उसको छोरा निको हुन्छ–हुन्छ। ऊ, उसको छोराको बारेमा केही उल्टोसुल्टो सोच्न चाहँदैन। ऊ चनाखो हुन्छ— ‘खोइ ‘राँड’अझै आउँदिन,’ मुखबाट फुसफुस बोली चुहुन्छ।
डाक्टरलाई आउन पनि कति अबेर? यी डाक्टरहरू कमका हुन्छन्। पैसाका लागि हात धोएर पछि पर्छन्। क्लिनिक खोल्छन्, क्लिनिकमै समय बिताउँछन्। यो अस्पताल त उनीहरूको देखाउने दाँत। उनीहरूको लागि जागिर खाने भाँडो। रामाधीन मिलिक्क सोच्दछ। फेरि आफूलाई झट्किन्छ— हुन्न डाक्टरका बारे यस्तो सोच्नु हुन्न। अरू बेला जे सोचे पनि, भने पनि अहिले त डाक्टरको बारे नकारात्मक सोच्नै हुन्न। अहिले त डाक्टर नै उसको लागि भगवान्। उसको बच्चालाई जीवनदान दिने एकमात्र सहारा। ऊ भित्र नानाथरी विचार आउँछन्–जान्छन्।
एक छिनमा ऊ देख्छ— बखरीवाली बाहिरबाट भित्र पस्छे। उसले याँ लामो घुम्टो काढेकी छे।
‘यो ‘राँड’लाई अस्पतालमा पनि घुम्टो काढ्नुपर्ने? को छ त्यसको यहाँ— ससुरा? जेठाजु? को छ? को छ यहाँ त्यसको— राँड!’ ऊ तनावमा देखिन्छ। छेउ आएकी बखरीवालीलाई यत्रायत्रा आँखा फुकालेर हेर्छ।
‘पिसाब करैला गेल्छलिए,’ ऊ सुस्तरी बोल्दछे।
उसलाई बखरीवाली छोरालाई एक्लै छोडेर गएकीमा भन्दा घुम्टो के खान हालेकी भन्नेमा रिस उठेको छ। बखरीवालीको चिन्ता भने उसको मुख रामाधीनलाई गन्हाउला भन्ने छ। किनभने उसले पनि भर्खरै ट्वाइलेटभित्र पसेर एउटा सिगरेट बुत्याएर आएकी छे। बखरीवालीलाई के थाहा रामाधीनले पनि भर्खरै बाहिर सिगरेट खाएर आएको छ। एउटा सिगरेट खाने मान्छेको मुख अर्को सिगरेट खाने मान्छेलाई गन्हाउँदैन, बखरीवालीलाई के थाहा? वा, एउटा सिगरेट खाने मान्छेको मुख अर्को सिगरेट खाने वा खाएको मान्छेले थाहा पाउन सक्दैन भन्ने ज्ञान बखरीवालीमा भए पनि यो नाजुक (संवेदनशील) घडीमा ऊ एक पैसा पनि रिस्क लिन चाहन्न कि लोग्नेलाई रिस उठ्ने कुनै बहाना प्राप्त होओस्।
त्यसो त सिगरेट वा बिँडी उनीहरू दुवै खान्छन्। लुकाउनै पर्दैन, एक–अर्कासित बाँडचँुड गर्दै खान्छन्। खाँदै गरेको अन्तिम ठूटो प्रायः रामाधीन बखरीवालीलाई दिन्छ नै। तर यहाँ! छोरालाई इलाज गर्न ल्याएको बेला विनासित्तिमा रामाधीनले निहुँ नखोजोस्, रडाको नमच्चाओस् भन्ने बखरीवालीको चिन्ता हो। तर यो ‘घुम्टो’? उसलाई थाहा छ— यो घुम्टो, अस्पतालमा? रामाधीनलाई मन परेको छैन।
उसले राम्रै मुखले कतिपल्ट भनिसक्यो, ‘नढाक्न यहाँ तेरो कपाल, पर्दैन।’ तर अहँ, ऊ भन्छे, ‘अरू कुरा भन, म योचाहिँ सक्दिनँ।’
हुन पनि कतिपय आदत मान्छेले त्याग्न सक्दैनन्। ठूलाजस्ता लाग्ने यी मानिसहरूको अगाडि कपाल छोप्ने उसको आदत यस अस्पतालमा ठूलाठूला, नौलानौला मानिसका अगाडि त्याग्न सकिन–सकिन।
त्यसै बेला डाक्टरहरूको हुल पस्यो।
‘एक जनामात्र बस्नूस्, एक जना,’ नर्सहरू कराउँदै आए।
रामाधीन ढिटजसरी उभिरह्यो। बखरीवाली बच्चानेर बसिरही।
घुम्दैघुम्दै डाक्टरको काफिला रामाधीनको बच्चानेर आयो।
नर्सहरूले ‘चार्ट’ पल्टाए। डाक्टरले हेर्योस। प्याट्ट बच्चाको गालामा हातलेे हिर्कायो तर, बिस्तारो। बच्चा बिउँझियो। उसले रुन्चे अनुहार पार्दै, मुख बिगार्दै, डाक्टरको अनुहारबाट आँखा हटायो। र, आमालाई हेर्दै सुस्तरी रोयो।
‘केही हुन्न, केही हुन्न। सब ठिक छ। अब भोलि घर जाने हगि?’ डाक्टर बच्चातर्फ हेर्दै बोल्यो।
त्यसपछि डाक्टरले रामाधीनलाई भन्यो, ‘ल, अब भोलि डिस्चार्ज गर्दिन्छु। बच्चा धेरै ठिक भइसक्यो।’
रामाधीनको अनुहारमा तेज थपियो। बखरीवालीको अनुहार पनि खुल्यो। हँसिलो भयो।
‘निमोनियाँ भएको थियो बच्चालाई। अब ठिक भइसक्यो। केही दिनमा पूर्ण स्वस्थ हुन्छ बच्चा,’ डाक्टरले चार्टमा केके, केके लेख्यो। र, अन्त्यमा रामाधीनतर्फ उन्मुख भयो, ‘बिँडी/सिगरेट त तपाईंहरू खानु हुन्न होला नि? कि, खानुहुन्छ?’
रामाधीनले अनुहार अँध्यारो पार्यो्। बखरीवाली पनि हक्क न बक्क भई— के बोलोस्, के नबोलोस्।
‘खाँदैन हजुर,’ रामाधीनले डराइडराई बोल्यो।
डाक्टरले दुवैका आँखामा आँखा गाड्यो र भन्यो, ‘होस गर्नुहोला, तपाईंहरूले बिँडी/सिगरेट खानुभयो भने त्यसको धुवाँले तपाईंहरूलाई त हानि गर्छ–गर्छ, त्योभन्दा बढी हानि तपाईंहरूको यो बच्चालाई गर्नेछ। त्यसैले बच्चालाई धुवाँ र धुलोबाट जोगाउनुहोला। फेरि निमोनियाँ भयो भने बच्चालाई बचाउन मुस्किल पर्छ, होस गर्नुहोला!’
रामाधीन र बखरीवाली दुवै जना ट्वाल्ल परे। त्यसपछि डाक्टरको काफिला अरूहरू बिरामीलाई हेर्दै अघि बढ्यो।
यता, रामाधीन र बखरीवालीका आँखा एकापसमा जुधिरहेका थिए। दुवै आँखैआँखामा एक–अर्कालाई कोसिरहेका थिए।
रामाधीनको आँखाले भनिरहेको थियो— तैंले बच्चालाई दूध चुसाउँदै बिँडी खाँदै गरेर हो निमोनियाँ भएको।
बखरीवाली पनि मानौं भन्दै थिई— तिमी कम्ताको छौ, छोरानेर आएर नै सधैं धुवाँ उडाउँछौ।
—तैंले त भातभान्सा गर्दा पनि पतपत धुवाँ पार्दछेस्। दाउराको धुवाँले पनि खराब गर्छ, थाहा छ कि छैन तँलाई। त्यसमाथि उखुको सुकेको पत्ता हालेर भात पकाउँछेस्। त्यो झन् डेन्जर हो, थाहा छ कि छैन तँलाई?
—अनि तिमी नि, सधैं बच्चालाई काखमा राखेर घुर ताप्छौ। घुरको धुवाँले कत्तिको खराब गर्छ, थाहा छ तिमीलाई?
दुवै जना त्यो रात राम्ररी निदाउन सकेनन्। आठ–आठ दिन उनीहरू त्यही बेडमुनि झल्ला र दरी ओछ्याएर पालैपालो सुत्दथे। जो सुते पनि घ्वारघ्वार घुर्दथे। तर त्यो नवौं रात उनीहरूको छोरालाई बिसेक बनाएर घर लैजाने दिनको अघिल्लो रात भएकाले उनीहरू सुखद कल्पनाका कुरा खेलाएर ननिदाएका हुन्।
भोलिपल्ट अरू दिनझैं उही राउन्डको समयमा डाक्टरहरू आए। हिजोजस्तै आज पनि डाक्टरले नसिहत दिए। रामाधीन र बखरीवालीले मुन्टो निहुर्याएर सुनिरहे।
आखिर त्यो घडी पनि आयो— उनीहरू खुसीखुसी अस्पतालबाट बाहिर निस्किँदै थिए। अस्पताल आउँदा कति रोएकी थिई बखरीवाली! जतिसुकै मर्द बने पनि रामाधीनको कलेजा पनि फाटेको थियो। आँखामा खस्न उद्यत आँसु उमि्रएका थिए। तर, आज रामाधीन बच्चालाई बोकेर अघिअघि बढिरहेको थियो। सहरबाट उसको गाउँ पुग्न पैदल एक घन्टा लाग्दथ्यो। तर, उनीहरूलाई यो दुरी टाढा लागेन। कति बेला बाटो कट्यो— उनीहरूलाई पत्तै भएन।
घर पुग्नपुग्न लाग्दा रामाधीनले भन्यो, ‘तिमी जाँदै गर, म आउँछु।’
बखरीवालीले आश्चर्यचकित आँखाले उसको आँखामा हेरी।
‘किन यस्तो गर्छौ? खुरुक्क घर हिँड न!’
तर, रामाधीनले सुनेको नसुन्यै गर्योड। बच्चालाई जबर्जस्ती उसको काखमा हालिदिएर ऊ हावा भयो।
गाउँमा दिउँसो चिया बेच्ने, राति रक्सी बेच्ने पसल छ। हो रामाधीन त्यसै पसलमा गएर गजधम्म बस्यो।
यति बेला चार बजेको थियो। रक्सी खाएर खुट्टा लर्बरिने बेला यो थिएन। खुट्टा त पछि लर्बरिएला तर अहिले रामाधीनको बोली लर्बरिरहेको थियो। ऊ भन्दै थियो, ‘भौजी, अरू आधा बोतल देऊ। आजदेखि म बिँडी/सिगरेट खाँदै खान्न।’
तर, यति बेला उसको हातमा सिगरेट च्यापिएको थियो। ऊ रक्सीको घुट्को निल्दै सिगरेटको धुवाँ उडाइरहेको थियो।
‘आई अन्तिमपटक, काइल से सिगरेट छुवो तक नइँ।’
रक्सी छोड्ने कुरा त तिमीले धेरैपटक गरिसकेऊ, अब बिँडी/सिगरेट छोड्ने कुरा गर्दै छौ! साँच्चै, सक्छौ छोड्न?’ भौजी बोल्दै थिइन्।
‘मेरो बच्चा, मेरो बाबु…त्यसलाई खराब गर्छ यो सिगरेटले, त म किन छोड्न सक्दिनँ?’ रामाधीन च्याँटि्ठयो।
‘आज मसित पैसा छ बु‰यौ भौजी? मैले कृषि विकास बैंकबाट बीस हजार कर्जा लिएँ, छोरालाई बचाउन,’ बोल्दाबोल्दै ऊ हाँस्यो, ‘बु‰यौ, यो कृषि विकास बैंक पनि गज्जब छ, बच्चालाई इलाज गर्न पैसा दिएन तर भैंसी किन्न दियो। हाकिमले भन्यो— भैंसी नकिन्नु, यसै पैसाले छोराको इलाज गर्नु…!’
ऊ एकनासले आफंैं बडबडाइरहेको थियो, ‘कृषि विकास बैंक मेरो लागि भगवान् हो। त्यसैले मेरो बच्चालाई बचाइदियो!’
यद्यपि त्यो भगवान्को द्वारमा खडा द्वारपाललाई उसले देख्न सकेको थिएन, जसले उसलाई कर्जा मिलाईदिँदा एक हजार रुपैंया ऐँठिएको थियो। त्यसपछि मेनेजरले? अहिले त उसले सबथोक बिर्सिएको थियो।
‘मेरो लागि दुई जना भगवान् छ। एक जना कृषि विकास बैंक र अर्को त्यो डाक्टर, जसले मेरो बच्चालाई बचाउनुभयो,’ ऊ भावविह्वल बोल्दै थियो। क्रमशः उसको बोली मधुरो हुँदै गयो।
भौजीले मायालाग्दो पाराले रामाधीनलाई हेरी। रामाधीन बोल्न छोडेको थियो। अब उसलाई कसरी घर पुर्याोउनु, भौजीको निधारमा चिन्ताका रेखाहरू दौडिन थालेका थिए।
…
रामाधीन र बखरीवालीका दिनचर्या फेरि यथावत चल्न थाले।
केही दिन त रामाधीनलाई सिगरेट हातमा लिएको देखिएन। बखरीवालीलाई पनि। तर एक दिन दुवै पुतपुत धुवाँ पुत्ताइरहेका देखिए।
उनीहरू घरको पिँडीमा बसेका थिए। बच्चा आँगनमा कुदीकुदी खेलिरहेको थियो।
‘डाक्टर कहल्के नइँ खाइला त कथिला खाइछ! जहिया बच्चा बिमार छेले त कहैछल नहीँ पिबे, त अब कि भेले?’ बखरीवाली भन्दै थिई।
रामाधीन उसको कुरालाई धुवाँमा उडाउँदै थियो, ‘अब नई देखैछी कि भेले? बच्चा ठिक भेले, दौडई छे, नई देखैछी?’ रामाधीनको अधरमा मुस्कान नाचिरहेको थियो।
उसले बखरीवालीलाई निभ्नै लागेको बिँडीको ठूटो अघि बढाइदियो, ‘ल्या तुहुँ पि।’
बखरीवालीले छोरालाई सम्झीसम्झी लोग्नेलाई भर्खरै दिएको नसिहत तुरुन्तै बिर्सिई। र, लोग्नेले दिएको बिँडीको ठूटो मुट्ठीमा अँठ्याउँदै जोडजोडले कस तान्न थाली।
२३ श्रावण, २०७२
(स्रोत : NagarikNews )