कथा : धम्बोझी चोक

~सरोजराज अधिकारी~Sarojraj Adhikari

‘ढ्याम्म’ सन्तमानले बन्द सटरमा लात्ता बजार्‍यो । सटर एकछिनसम्म तरङ्गित भयो तर कुनै प्रतिक्रिया आएन ।

‘ए बिस्ने हान् अर्को लात्ता’ मैले आदेश दिएँ । बिस्नेले अघिभन्दा दह्रो गरी लात्ताले ठोक्यो । बल्ल भित्रपट्टि बत्ती बल्यो ।

‘को हो ?’ आवाज आयो ।

‘फोरम हो बे !’ बिस्नेले अबधी लवजमा भन्यो ।

नेपालगन्ज । पहिलो मधेस आन्दोलनको एक प्रमुख इपिसेन्टर । आन्दोलनमा विभिन्न नामका मधेसवादी दल भए पनि सुरुवातकर्ता दल भएकाले सायद, ‘फोरम’ भनेपछि सबै एउटैमा समेटिन्थे । ‘फोरम’, यो शब्दको दबदबा सहरदेखि गाउँगाउँसम्म थियो ।

सटर घ्यार्र उघ्रियो । ध्रुव दाइ आँखा मिच्दै निस्किए ।

‘अरे विक्रमबाबु तपाईं ? त्यत्तिकै फोरम भनेर तर्साइदिएर !’ उनी शिरदेखि पैतालासम्म काँपेका थिए ।

‘अचेल तपाईंले हाम्रा नाममा पसल कहाँ खोल्नुहुन्छ र, त्यसैले ‘फोरम’ भनेको † निकाल्नुस् बियर ।’

रातको करिव एघार बजेको थियो । कोटा नपुगेपछि हामी बियरको खोजीमा निस्किएका थियौं । र सधैंझैं पुगेका थियौं, ध्रुव दाइको पसलमा । ध्रुव दाइको पसल धम्बोझी चोकबाट खजुरा रोडपट्टि केही भित्र पथ्र्यो । उनी राति पसलमै सुत्थे, सटर तानेर । त्यही भएर बेला न कुबेला उनकोमा पुगेर अनावश्यक दु:ख दिने बानी परिसकेको थियो हामीलाई । केही बियर किनेर हामी फेरि चोकमा फर्कियांै । परम्परागत धम्बोझी चोकमा वीरेन्द्रको सालिक ठडिएपछि त्यसको नाम फेरिएको थियो, ‘वीरेन्द्र चोक’ मा । २०६२–६३ को दोस्रो जनआन्दोलनको क्रममा वीरेन्द्रको सालिक सहिद भयो । त्यसपछि फेरि यो स्थानले आफूलाई ‘धम्बोझी चोक’ को रूपमा पुनस्र्थापित गर्दै लगेको थियो । २०६३ चैतको त्यो रात हामी सालिक अड्याउने ठुटोमा आड लागेर बियर तान्दै थियौं, बोत्तलबाटै ।

‘निचे चली रेलवा की पहिया, और उपर जहाज हवाई ! चिन्ता मे ये लौन्डा मर गया, करके याद लुगाई ! हे चिन्ता में… ।’ यो रत्नेशको आवाज थियो ।

‘ओई धोती तँ पनि आइपुगिस् ?’ मैले भनें ।

‘अरे यार विक्रम दाजु । अस्ति अबदेखि मलाई धोती नभन्ने सम्झौता भएको होइन ? फेरि बोलिहाल्नुभो ! मैले कहिले धोती लगाएको देख्नुभएको छ ? तपाईंजस्तै बुसर्ट र पैन्ट त लगाउँछु । हाँ, लेकिन बात यो छ कि, तपाईं थैलेन्डको लाउनुहुन्छ, म चैनाको,’ भत्केको सालिकको पेटीमा बस्दै रत्नेशले भन्यो, ‘मा कसम दाजु कसैले धोती भन्दा दिलमा बहुँत दर्द भैहाल्छ यार †’

‘भाषण न दे बे ! ला दिलको दर्द मेटाइहाल ।’ मैले एउटा बियरको बोत्तल ऊतिर सार्दै भनेँ ।

‘अरे विक्रम दाजु † तपाईं पनि मजाक गर्नुहुन्छ । यो गरिबको दिल हो, यसको दर्द प्रिमियमले कहाँ मेटिहाल्छ ? स्ट्राङ छैन ?’

रत्नेश पनि टुप्लुकिन्छ भनेर स्ट्रोङ बियर पनि ल्याएका थियौं हामीले तर राति अँधेरामा झुक्किएर प्रिमियम दिइएछ । एक बोत्तल स्ट्रोङ बियर एकै सासमा रित्यायो उसले । नेपालगन्जको चैते गर्मी । कता ठर्रा हानेर आएको उसलाई पानी पिएझैं भयो । इसारामै अर्को बियर माग्यो र चुस्की लिन थाल्यो ।

‘यो मधेसको आन्दोलन चर्कँदै गयो भने त हामीलाई पहरिया भनेर खेद्छन् होला है दाइ । अहिल्यै खप्न गाह्रो भइसक्यो,’ सन्तमान गम्भीर भयो ।

‘बाजेका पालादेखि ह्यैं जन्मेम्, ह्यैं हुर्केम् । अहिले हामी कसरी पहरिया भएम् रे दाजु ? खेदाइमा परियो भने त भाग्ने ठाम पनि छैन यार दाइ,’ बिस्नेले थप्यो ।

‘हेर केटा हो परिस्थिति त जटिलै छ, तैपनि चिन्ता नगरो ।’ मैले सान्त्वना दिन खोजें ।

दोस्रो बोत्तल रित्याएको रत्नेशले मातेको स्वरमा भन्यो, ‘अरे विक्रम दाजु । ऊ शोले फिलिमको कालियाले गब्बरको नमक खाएको थियो नि, मैले पनि तपाईंको दारु खाएको छु यार ! चिन्ता नगर्नुस्, जिजान लगाइदिन्छु तपाईंमाथि । को सालाको हिम्मत मेरो विक्रम दाजुलाई टच गर्ने ?’ त्यसपछि उसले बियरको खाली बोत्तल जोडले बाटोमा बजार्‍यो ।

‘राप्ती नदी बगाएर आएछु है दाजु’ भन्दै उठेको रत्नेश कृषि विकास बैंकअगाडि पुगेर पिसाब तुक्र्याउन थाल्यो । वीपी चोकतिरबाट प्रहरीको गस्ती टोली टाटा मोबाइलमा हुइँकिएर आयो । एउटा सिपाहीले रत्नेशको मुखमा टर्च बाल्यो, कमान्डरले आदेश दियो, ‘पकड साले धोतीलाई † राति राति आन्दोलन चर्काउने बैठक बसेर आएको होला ।’

‘अरे विक्रम दाजु, मलाई बचाइहाल्नुस्,’ रत्नेश चिच्यायो । हामी सबै कुद्दै उतिर गयौं ।

‘अरे विक्रमबाबु यो धोती तपाईंसँग पो थियो ?’ सईले गाडीबाट ओर्लेर मसँग हात मिलाए ।

‘अनि के त बाबुसाप ! यसलाई मैले आफ्नो ग्याङको कमान्डरमा नियुक्त गरिसकें । अनि तपाईं कताबाट, खानपान भयो ?’

‘यसो गस्तीमा हिँडेको । अब थाना पुगेर खाने ।’

त्यसपछि गस्तीको गाडी पुष्पलाल चोकतिर सोझियो ।

करिब ३५ वर्षको रत्नेश अमरेन्द्रजीको कान्छो छोरा । पञ्चायतकालदेखि नै जिल्ला तहमा सानोतिनो राजनीति गर्ने अमरेन्द्रजी प्रजातन्त्र स्थापनासँगै यो संसारबाट बिदा भए । आमा पनि त्यसको केही वर्षमै बितिन् । रत्नेशको एक दिदीको भारततिर विवाह भयो । कुन्नि किन हो, उसका दुवै दाजु पनि भारततिरै पलायन भए । मधेसी समुदायमा बालविवाहसमेत हुने प्रचलन भए पनि रत्नेश अविवाहित नै थियो । एसएलसी पास गरेपछि पढाइ छाडिदियो । मधेस आन्दोलनसँगै यो पनि एउटा मधेसवादी पार्टीको युवा मोर्चामा सक्रिय हुन थालेको छ । पिताजी राजनीतिज्ञ भएकाले अलिकति त यसको खुनमै पनि मिसिएको होला । अचेल त गम्भीर कुरा पनि गर्न थालेको छ तर हलुका ढंगले । हास्य चेत बढी भएर पनि होला । जस्तै विषम परिस्थिति पनि रत्नेशले हाँसेर र मजाकिया पारामा सामना गथ्र्यो । मैले कुट्दै गर्दासमेत भन्थ्यो, ‘अरे विक्रम दाजु, हथेलीलाई किन तकलिफ दिनुहुन्छ ? जुत्ताले मार्नुस् न, मेरो पनि चिलाई मरिहाल्छ !’

बीए पास गरेको बेरोजगार मेरो दिनमात्र होइन, रातचर्या पनि बरालिएरै बित्थ्यो । ज्यान परेका केही युवाहरू बटुलेर हिँड्थे । कोही आई नलागे पनि जाइलाग्न पछि पर्थेनम् हामी । विशेष परिस्थितिमा बाहेक रैथाने पहाडेसँग जाइलागिन्थेन, पहाडतिरबाट बसाइ सरेर आएकालाई भने बाँकी राखिएन । खासगरी मधेसीलाई ‘धोती’ भन्दै कुट्नु हाम्रो खासियत थियो । कहिले कुनै मधेसीको चाट, पानीपुरीको ठेला पल्टाइदिन त कहिले बरफवालाको बाक्सा फुटाइदिन कुनै बार वा समयको जोखाना हेरिन्थेन । जिल्ला तहका नेता र सांसदसँग पनि उठबस रहेकाले मलाई कसैले मुखेन्जी गुन्डा भन्ने हिम्मतचाहिँ गर्थेनन् । युवा राजनीतिक परिचालक भन्थे । चिने–जानेका नेताका चुनावी तथा अन्य जुलुस, सभाको अग्रपंक्ति हाम्रो समूहले सम्हाल्थ्यो । पैसाका लागि भन्दा पनि आफ्नो दबदबा कायम राख्न म यस्ता काममा सक्रिय रहन्थें । नेतासँग उठबस भएपछि प्रशासन पनि हच्किन्थ्यो । लोकतन्त्र स्थापनासम्म मेरो दबदबा गतिलै थियो, नेपालगन्जमा । तर जसै मधेस आन्दोलन सुरु भयो मैले आफ्नो पकड खुस्किँदै गएको महसुस गर्न थालें । बिस्तारै मधेसी समुदायतिर ‘पावर सिफ्ट’ हुँदै गएको थियो । केही समयकै लागि सही, सत्ताको भन्दा आन्दोलनको शक्ति बढी हुन्छ सायद !

मधेस आन्दोलनका कारण स्थायी सत्ता मानिने प्रशासन त हावाकावा भएको बेला मेरो अस्थायी सत्ता नडग्मगाउने कुरै थिएन । बाल्य तथा किशोरकाल थारू र युवाकाल मधेसीसँगको संगतमा बिताएँ मैले । राज्यबाट वर्षौंदेखि हेपिएका उनीहरूलाई समेत मैले साथी वा चिने–जानेको भनेर छुट दिइनँ । छोरी कुटेर बुहारी तर्साउने भनेझैं, आफ्नै साथी नै सही मधेसी–थारूलाई कुटेर म रवाफ देखाउँथें । अहिले सोच्दा पनि दिक्दारी लाग्छ । ‘धोती’ भन्दै यही रत्नेशलाई पनि पहिला निकै भकुरेँ, मेरा ग्याङका केटाहरूले पनि । तर किन हो रत्नेशले मलाई सधैं स्नेह गरिराख्यो । रत्नेश लामो समयदेखि मेरै ग्याङमा थियो तर सेवकका रूपमा । दारु, पान किन्न जाने, लाए अह्राएको गर्ने सामान्य सदस्यका रूपमा । तर जसै मलाई मेरो ‘सत्ता’ कमजोर हुन थालेको अनुभूति भयो, मैले रत्नेशसँग फरक ढंगले साझेदारीको हात बढाएँ । मधेसवादी युवा मोर्चामा रत्नेशले राम्रै पकड बनाउँदै लगेको थियो । एक दिन मैले उसलाई भनिदिएँ, ‘आजबाट तँ मेरो ग्याङको कमान्डर ।’ कम्ता पुलकित भएको थिएन ऊ । रत्नेशलाई हर्ताकर्ता बनाएकोमा सन्तमान र बिस्नेले निकै लामो समयसम्म मसँग गुनासो गरिरहे । चौथी फेल यिन्लाई के थाहा, परिस्थिति कता जाँदैछ ? मैले मनमनै भन्थें, ‘तुहार सब का कुछु देखाई नही परथ है । अब रत्नेश बुटी ही तुहार रक्षा करी बिटवा !’

संविधानसभा चुनावपछि अन्य मधेसझैं नेपालगन्ज पनि शान्त बनिसकेको थियो । मधेसवादी दलले संविधानसभामा जबरजस्त उपस्थिति जनाएका थिए । चुनावमा खटेर पार्टीलाई जिताउन भूमिका खेलेकोमा रत्नेशको पनि युवा मोर्चामा राम्रै तारिफ भयो । त्रिभुवन चोकको एउटा सभामा युवाका तर्फबाट उसले पनि बोल्ने मौका पायो । सर्ट, पाइन्टमै भए पनि उसले चिटिक्क परेको खादी इस्टकोट लगाएको थियो, गलामा गम्छा भिरेको थियो । भाषण सकिएपछि मेरो कानैमा आएर फुस्फुसायो, ‘देखा विक्रम दाजु सबही हमका कैसन ताकत हयँ ।’ म मुसुक्क हाँसिदिएँ । संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्‍यो । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति–उपराष्ट्रपति दुवै मधेसी समुदायबाट भए ।

बीपी चोकमा बसेर डबल जिरो पानको मजा लिइरहेको थिएँ । रत्नेश रन्केर आयो ।

‘दाजु बहुतै टेन्सन भयो । हमका दिमाग मय नई आवत है, कि हम उहिका का जवाफ दी ।’ उसले हत्केला निधारमा दल्दै पाँचै औंलाले आफ्नो कपाल निमोठ्यो ।

‘के भो सीधासीधा भन्न ।’

‘त्यो साला अधिकारी छैन दाजु, आज बडो शानपट्टी देखायो मसँग ।’

‘को अधिकारी ?’

‘स्टेसनरीको डिलरवाला के, बागेश्वरी हल जाने बाटोको ।’

‘के गर्‍यो र ?’

‘ऊ गाडीमा थियो, म रस्ता काट्दै थिएँ । ओई राष्ट्रपति बाटो छोड् पो भन्छ त साला † मसँग चलिहाल्नुस्, आज त्यसको खैरात छैन ।’

‘तातो रिस नगर बे । अहिले राष्ट्रपति को छ, तेरो बिरादरीको होइन ? त्यसलाई जलन भएर भँडास् पोखेको हो, रन्दे ।’

‘हैन के दाजु, त्यसले बहुतै हुल दियो आज । कोप्चीमा लगेर दुदु हात लगाएपछि सब नशा उत्रिहाल्छ त्यसको ।’

‘रन्दे के † आन्दोलनको बेला तेरो बिरादरीबाट पनि एक हदको ज्यादती नै भएको थियो नि यार । ध्रुव दाइको बेटीमाथि के भयो भन्त ? हाम्लाई रातबिरात पसल खोलेर बियर, सिगरेट दिने ध्रुव दाइ पसल नै बन्द गरेर जानुपर्‍यो । कति पहाडे नेपालगन्जबाट विस्थापित भए, कति कुटिए, तँलाई सब थाहै छ नि † अब तँ राजनीतिमा घुसिसकेको मान्छे, धेरै गुन्डागर्दीतिर नलाग †’

राजनीतिक व्यक्तित्वको पगरी भिराइदिएपछि रत्नेश मुसुक्क हाँस्यो । उसको बुझाइ थियो, अब छिट्टै स्थानीय निकायको पनि चुनाव हुन्छ । अनि नगरको एउटा वडाको वडाध्यक्ष भए पनि बन्न पाइन्छ । राजनीतिमा जमेर पिताजीको अधुरो चाहना पूरा गर्ने भित्री चाहना पनि देखिन्थ्यो उसमा । दाजुहरू भारत पलायन हुँदा पनि ऊ यहाँ एक्लो जीवन बिताइरहेको थियो । बेलाबेला भन्थ्यो, ‘हम आपन जिन्दगी बनाए के खातिर इहा है विक्रम दाजु । भगौडा नाही हयँ †’

…………………

तु लगावेलु जब लिपिस्टिक

हिलेला यारा डिस्ट्रिक

जिला टाप लागेलु

कमरिया करे लपालप

ललिपल लागेलु

अबधे रत्नेश एकाएक रन्केर भोजपुरी गीत गाउन थाल्यो । यसो हेरेको त उसले पहिलेदेखि मन पराउने मैयासाहेब बीपी चोक नजिकैको नर्सिङ क्लास सकेर फर्किँदै रहिछन् । रत्नेशले धेरैअघिदेखि हो उसलाई मन पराउन थालेको । पहिले त रत्नेशले ती मैयाँसँग जिस्किन भद्र पाराले ‘मैयाँसाहेब किलास सकियो’ भन्दा पनि उसका दाजुहरूबाट नराम्रो गोदान भेट्थ्यो । कहिले आँखा सुन्नाएर आउँथ्यो त कहिले गोडा खोच्याएर । अहिले ‘पावर’ मधेस अर्थात् रत्नेशमा ‘सिफ्ट’ भएको छ । मैयाँलाई ‘ललिपप’ भन्दा पनि उसका दाजुहरू आवेगमा लगाम लगाउन बाध्य छन् ।
भन्थ्यो, ‘अरे विक्रम दाजु दिल बसेछ पहरिया से, त के गरोस् यो मधेसिया † ऐ लौन्डिया से अपन जुगलबन्दी करा देन, हम तोहरा एहसान कब्भो नाही भुलब ।’

मैले धेरैपटक भनें, ‘रन्दे के बे ! ऐ तेरी चायकी प्याली नही है ।’

थप्थ्यो, ‘अरे दाजु पालिटिक्समा बहुतै पावर छ । ऊ मन्त्री छैन, धर्मदेव । उसको छोराले अस्ति भर्खर पहरिया केटी बिहाएछ । सकल देख्नुभएछ मन्त्रीको लड्काको ? बिल्कुल कालानाग ! लड्की को हो थाहा छ ? बोले तो मिस भेरी रे, ओए तोरिके ! जब म नगरको वडा प्रभारी बन्छु, मेरो पनि पावर हुन्छ । मैयाको बप्पा खुदै आएर भन्छ, जमाइराजा अब सादीमा देरी गर्न हुन्न ।’
तर अन्तमा लामो सुस्केरा हालेर भन्थ्यो, ‘बस एउटै प्राब्लम छ ।’

‘भन न के समस्या छ, म छु नि बे !’

‘मेरो त पार्टीमा पहुँच छ, सेटिङ मिलाइहाल्थें । यो मेरोमात्र प्राब्लम छैन के विक्रम दाजु । मजस्ता बहुतै जनाको प्राब्लम छ । पाल्टिक्समा आइसकेपछि मैले सबैको प्राब्लम हेर्नुपर्छ, नत्र माथि ईश्वरले मलाई हेर्छ ।’

मैले धेरैपटक उसको समस्या जान्न चाहें । तर उसले बताएन । उसले कहिलेकाहीं एउटा कालो झोला बोक्थ्यो । भन्थ्यो, ‘मेरो प्राब्लम पनि यहीं छ, मेरो दादाजीको प्रापटी पनि ।’ त्यो कालो झोला बोकेको दिनचाहिँ अरू दिनभन्दा केही गम्भीर कुरा गथ्र्यो उसले ।

आज पनि उसले त्यो कालो झोला बोकेको थियो । न्युरोडको एउटा मेकानिकको प्रसंग झिक्दै भन्यो, ‘आरे दाजु था पाउनुभयो, त्यो साला बिहारी छैन ? त्यसले त नेपाली नागरिक्ता लिइहालेछ ।’ अर्कै मधेसी दलको सभासदको नाम लिएर थप्थ्यो, ‘त्यो साला सभासद छैन, उसले दिलाइदिएछ । अहिले मुन्ना उसको पार्टीमा पनि लागेको छ रे !’

‘को बिहारी बे !’

‘मुन्ना के मुन्ना !’

‘को मुन्ना ?’

‘तपाईंको डल्ले यार !’

न्युरोडको त्यो मेकानिकको जीउडाल भकुन्डोजस्तो भएकाले मैले सधैं डल्ले भन्थें । साइनबोर्डमा ‘मुन्ना वर्कसप’ लेखे पनि मैले त्यसको खास नाम बिर्सिरहें । उसको घर सीमापारि बिहारको कुनै गाउँमा थियो । नेपालगन्ज आएर वर्कसप चलाउन थालेको यस्तै ८/१० वर्षमात्र भएको थियो ।

‘तैंले सम्झाइस् यार । मेरो बाइकको ब्रेक मिलाउनु छ ।’ हामी डल्लेको वर्कसपतिर लाग्यौं ।

‘के छ बे डल्ले तेरो हालखबर ?’ डल्ले बोलेन । एकपटक घुरेर हेर्‍यो, अनि आफ्नो काममा लाग्यो । उसले मप्रति यस्तो रवैया पहिलोपटक देखाइरहेको थियो । यसअघि जति नै गाली गरे पनि खिसिक्क हाँसेर कुरा गथ्र्यो । सारा काम छाडेर मेरो काम पहिले सक्थ्यो ।

‘बहिराइगइस कि क्या हो डल्ले ?’

‘विक्रम दाजु मेरो नाम छैन ? के डल्ले, डल्ले भन्नुहुन्छ ?’ अलिक झर्किंदै जवाफ फर्कायो ।

‘तँलाई बहुत चर्बी चढेछ आजकल ?’ यसपटक रत्नेश बोल्यो ।

‘तँ बीचमा नबोल रत्नेश ।’

‘ल ठीक छ बे, मुन्ना भन्छु । चल मुन्ना ब्रेक मिलाइदे त ।’ मैले मध्यस्थता गरें ।

‘मेरो अरू बहुत काम छ । खडा गरिदिनुस्, एक घन्टापछि आउनुस् ।’

‘अबे इन्जिन खोल्ने थोडी न हो, ब्रेक मिला भन्दैछु । खिया लागेर हो, नत्र हातैले टाइट गरिहाल्थें ।’

मैले चालै पाएको थिइनँ । रत्नेश उता रन्किसकेको रहेछ । एक्कासि कुदेर गएर डल्लेलाई एक मुक्का बजायो । भन्यो, ‘ए मुला नागरिक्ता के पाइस्, तँ विक्रम दाजु भइहालिस् ? तँ साला बेलुनलाई आज म फोड्दिन्छु ।’ डल्लेले जवाफी हमला गर्नै पाएन, रत्नेशले लात्ता, मुक्का बर्साइरह्यो ।

‘छाड्दे यार रत्नेश, चल बियर तान्न ।’ मेरो आदेश पालना गर्ने भएकाले मात्र उसले छाडिदियो । नत्र आज डल्लेको खैरियत थिएन । भट्टी पस्दासम्म रत्नेश दाह्रा किटिरहेको थियो ।
दोस्रो बोत्तल बियर सकेपछि रत्नेशले विरक्तिँदै राजनीतिक कुरा सुरु गर्‍यो । भन्यो, ‘विक्रम दाजु यो साला माउवादिया र मधेसियाको बुद्धि पीठमा रहेछ ।’

‘किन बे ?’

‘संविधानसभा चुनावमा यिनीहरूले कांग्रेस–एमालेको पत्तासाफ गरिदिएको थियो । जनता सब यिनीहरूको पिछे थियो, देरी नगरी लोकल इलेक्सन गरेको भए साला सत्ता कब्जा हुन्थ्यो । म पनि नगरको वडा प्रभारी बन्थें र मैयाँलाई बिहाउँथें ।’

पहिलो संविधानसभा विघटन भयो, अर्को चुनाव अनिश्चित । ढिलो गरी संविधानसभाको दोस्रो चुनाव भए पनि रत्नेशमा खासै उत्साह थिएन । किनकि, ऊ सुरुमा प्रवेश गरेको पार्टी नै चार चिरा भइसकेको थियो । अरू मधेसवादी दल पनि छिन्नभिन्न । नतिजा निश्चित थियो, मधेसवादी दलले ठूलो पराजय बेहोरे, बाँकेमा त पत्तासाफ नै भयो । अघिल्लोपटक ५ मा २ सिट जितेका मधेसवादी दलका धेरै उम्मेदवारको यसपटक त जमानतै जफत भयो । दोस्रो संविधानसभामा मधेसी दलको हविगत ‘कौन पुछे खेसरीका दाल’ जस्तो भएपछि रत्नेश पनि पार्टी गतिविधिबाट अलग्गिँदै गएको थियो । मसँगको भेटघाट पनि पातलिएको थियो । केमा अल्झिएको थियो, थाहा भएन । मोबाइलमा फोन गर्दा प्राय: स्विच अफ हुन्थ्यो, कि सम्पर्क हुन सकेन । एकाधपटक फोन लागे पनि हत्तपत्ती उठाउँथेन ।

यत्तिकैमा एक दिन दिउँसतिर रत्नेशले फोन गर्‍यो र भन्यो, ‘विक्रम दाजु दारु पिलाउँछस् ।’ उसले पहिलोपटक मलाई ‘तँ’ भनेर सम्बोधन गरेको थियो । र पनि मलाई त्यस दिनको उसको सम्बोधन निकै प्रियकर लाग्यो ।

धेरै दिन उसलाई नभेटेर अत्तालिएको मैले भनें, ‘आइज बे कटेज ।’मैले मोटरसाइकल हुइँकाएँ, रत्नेश पनि म पुगेको केहीबेरमै आइपुग्यो । आज उसले उसकै शब्दमा ‘प्राब्लम र प्रापटी’ भरिएको त्यो कालो झोला भिरेको थियो । कुन रनाहामा होला भनेर मैले उसलाई यत्रो दिन कता हराइस्, के गर्दैछस् भनेर सोधिनँ । सामान्य हालचाल सोधें, उसले पनि त्यस्तै गर्‍यो ।

हल्का मात चढेपछि उसले मलाई त्यो कालो झोला दिँदै भन्यो, ‘दु दिन यो झोलालाई सम्हालेर राखिदिनुस् है दाजु ।’

‘किन बे ? कहाँ जाँदैछस् ?’

‘बाँर्डर पार ।’

‘के काम छ उता, कि दाइहरूझैं पलायन हुन लागिस् ?’

‘बरु धोती भन् यार विक्रम दाजु, अब त दिल दुख्नै छाड्यो । भगौडा नभन यार,’ आँखाभरि आँसु पार्दै उसले भन्यो, ‘ज्यादा दिन बाहर नरुकबै, कस्सम । हम जल्दी लौटिब अपनय गाँव, जहाँ हम पैदा भएन् । यही अपनय धरतीमे हँस के मरव । भगौडा न कहो दाजु ।’

कसैले भकुर्दा रोएझैं गरी चिच्याउनेबाहेक रत्नेश आँसु नै खसालेर साँच्चिकै रोएको मैले पहिलोपटक देख्दै थिएँ । उसैको आँसु पिएझैं लाग्यो, बियर पनि ।

‘त पक्का फर्किन्छस् नि हैन ?’ गला अवरुद्ध पार्दै मैले भनें ।

‘हम जरुर मिलब विक्रम दाजु † हम ज्यादा दिन बाहर नही रुक सकिथय ।’

‘ल ठीकै छ । तँ किन पारि जान थालेको, मलाई त भन्न सक्छस् नि †’

‘हमका बहुतै कुछ काम करेक हय विक्रम दाजु ।’

‘के काम ? अलि खुलेर भन्न बे †’

‘अन्ठावन सालमा दाजु एकपटक माउवादियाले मलाई पनि ट्रेनिङ दिन लगेको थियो, बनकटवाको जंगलमा । त्यसको कमान्डर भन्थ्यो : बन्दुकको नाल से सत्ता जन्मिन्छ । साला त्यो कमान्डर ठीकै भन्थ्यो, बन्दुक पड्काएरै माउवादिया सब सत्तामा पुग्यो ।’

मैले उसको कुरा राम्ररी उधिन्न सकिरहेको थिइनँ । ऊ बोल्दै गयो ।

‘अब रत्नेश पनि पारि गएर ल्याउँछ कटुवा । साला सत्ता मलाई किन चाहियो ? बन्दुक के नाल से सत्ता मिल्छ त कटुवा के नाल से मैले खोजेको सानो अधिकार किन मिल्दैन ? ढिच्क्याऊ †’ एकैछिनअघि बलिन्धारा आँसु झारेर रोएको रत्नेश एक्कासि खित्खिताउन थाल्यो ।

‘पारि जनक्रान्तिको नेतासँग सेटिङ मिलाएको छु दाजु † उसले मलाई दिँदैछ घोडा † घोडा बोले तो, ढिच्क्याऊ †’

म अवाक् भएँ । केही सोच्न, प्रतिक्रिया जनाउन सकिरहेको थिइनँ । त्यत्तिकैमा ऊ मलाई झोला थमाएर हिँड्यो । म निकैबेर स्तब्ध अवस्थामा त्यहीं बसिरहें ।

दुई दिनका लागि भनेर गएको रत्नेश दुई हप्ता बितिसक्दा पनि फर्किएन । सबैतिर सोधपुछ गर्दा पनि केही खबर पाइनँ । मलाई साह्रै कौतूहल भयो । मैले उसको झोला खोलेर हेरें । त्यसभित्र एउटा फाइल थियो, पहिलो पन्नामै थियो, नागरिकता प्राप्तिको निवेदन । त्यसपछाडिको विवरण निकै कारुणिक थियो ।

पञ्चायती व्यवस्थाविरुद्ध रामराजाप्रसाद सिंहहरूले २०४२ सालमा बम विस्फोट गरेको समर्थनमा अमरेन्द्रजीले पनि नेपालगन्जमा पर्चा छरेछन् । त्यसपछि बाँकेका सिडियो बलिराज मल्लले नागरिकताको सक्कलसहित प्रशासन कार्यालयमै झिकाएछन् अमरेन्द्रजीलाई । अराष्ट्रिय तत्त्व भन्दै सक्कली नागरिकता र सम्पूर्ण विवरण जलाइदिएछन् । तर आफ्ना पिता मृगेन्द्रको तीनपुस्तेसहितको वंशजको नागरिकता अमरेन्द्रजीले सुरक्षित राखेका रहेछन्, प्रजातन्त्र आउनासाथ आफ्नो नागरिकता बनाउँला भनेर । विडम्बना प्रजातन्त्र आगमनको केही दिनमै उनको निधन भयो । रत्नेशले लोकतन्त्र स्थापनापछि प्रशासन कार्यालयमा हजुरबुवाको त्यही नागरिकताका आधारमा अन्य विवरण खोजबिन गरेछ । सबै विवरण साबुत छ । त्यसपछि उसले सबै कागजपत्र साथ राखी नागरिकता प्राप्तिको निवेदन दिएको रहेछ । तर हजुरबुवाको नागरिकताका भरमा मिल्दैन भनेर फर्काइदिएछन् । आमाले मावलीपट्टिबाटै नागरिकता बनाएकाले त्यसमा अमरेन्द्रजीको नाम हुने कुरै भएन । बुवा–आमाको नाता प्रमाणित गराउँदा पनि हजुरबुवाको नाममा मृगेन्द्रजीको राख्नुपर्ने भयो । तर आमाको नागरिकतामा उनकै पिताजीको नाम थियो, ससुराको हुने कुरै भएन ।

खासमा रत्नेश लामो समयदेखि आमाको नामबाट नागरिकता प्राप्तिको संघर्षमा होमिएको रहेछ, त्यहीकारण ऊ राजनीतिमा आएको रहेछ । पहिचान नपाएर दुई दाजु भारत पसे पनि ऊ लत्तो नछाडी भिडेको थियो । ८–१० वर्षअघि भित्रिएको मुन्नाले त ६ जनाबाट सर्जिमिन गराएर नागरिकता लिइसकेको थियो भने रत्नेशका हकमा मिलाउँदा नमिल्ने कुरै थिएन । तर नियतका अगाडि नियमसमेत झुकेको थियो । त्यसमाथि रत्नेश आफ्ना लागि मात्र नभएर आफूजस्तै सयौंको अधिकार स्थापित गर्न चाहन्थ्यो । कारण फरकफरक भए पनि मधेसका धेरै वास्तविक नेपालीहरू नागरिकताबाट बन्चित छन् । बरु पारिबाट आएका ‘नवनागरिक’ ले पहुँचकै आधारमा धमाधम नागरिकताको खरिदारी गरिरहेका छन् ।

अर्को दुई साता बित्यो, रत्नेश फर्किएन । त्यस्तैमा एक दिन बिहान चिया पिउन बीपी चोकतिर निस्केको थिएँ, कसैले सुनायो क्याम्पसअगाडि सशस्त्र समूहको कमान्डरलाई प्रहरीले गोली हानेर मारेको छ रे † भारतसँगको सीमा रुपैडिया भन्सारनजिकै पर्छ, क्याम्पस । बाइक हुइँकाएर बताससरी पुगें म । सडक छेउ प्रहरीका साथै केही मानिसहरू पनि उभिएका थिए । सीमापारिबाट टाटा सुमोमा आएको सीमा सुरक्षा बल (एसएसबी) को करिब आधा दर्जन फौज केही पर थियो । बाइक अड्याएर म भीड पन्छाउँदै लासको नजिक पुगें ।

रत्नेशको शव उत्तानो अवस्थामा पल्टिरहेको थियो । छाती, पेट र कुममा गोली दागिएका निसान थिए । उसको छेउमा दुईवटा पेस्तोल र केही गोली छरिएको थियो । पञ्चायतकालीन नीतिको सिकार रत्नेश ‘महेन्द्र’ बहुमुखी क्याम्पसअघि कहिल्यै नउठ्ने गरी ढलेको थियो ।

‘सीमापारिबाट हतियारसहित घुसपैठ गर्न खोज्दा आज बिहान झिसमिसेमै इन्काउन्टरमा मारियो ।’ जिज्ञासामा प्रहरी इन्सपेक्टरले भन्यो ।

‘साला प्रहरीको इन्काउन्टर कस्तो हुन्छ, मलाई थाहा छैन ।’ मैले मनमनै भनें । केही पर रहेका भारतीय एसएसबी अर्को सबुत थिए ।
म घुँडा टेकेर रत्नेशको शिरपट्टिको भागमा बसें । रत्नेश मुस्कुराएझैं देखिन्थ्यो । त्यसपछि त खित्खिताहटसहितका उसका एकएक आवाज मेरा कानमा गुन्जिन थाले ।

‘मेरो त पार्टीमा पहुँच छ, सेटिङ मिलाइहाल्थें । यो मेरोमात्र प्राब्लम छैन के विक्रम दाजु । मजस्ता बहुतै जनाको प्राब्लम छ । पाल्टिक्समा आइसकेपछि मैले सबैको प्राब्लम हेर्नुपर्छ, नत्र माथि ईश्वरले मलाई हेर्छ ।’

‘जब म नगरको वडा प्रभारी बन्छु, मेरो पनि पावर हुन्छ । मैयाँको बप्पा खुदै आएर भन्छ, जमाइराजा अब सादीमा देरी गर्न हुन्न ।’

म भाव, विचार शून्य भएको थिएँ । शवगृहमा राखेको लासझैं भएको थियो मेरो शरीर । आँखा चिम्लिए पनि मेरो मानसपटलमा खित्खिताउँदै गरेको रत्नेश दौडिरहेको थियो ।

निकैबेरपछि म नाभिदेखि जोर लगाएर चिच्याएँ, ‘हाँस्छस् !’ आँखा उघारेर हेर्दा त प्रहरीले रत्नेशको शव उठाएर लगिसकेको रहेछ र मानिसहरू पनि तितरबितर भइसकेका थिए ।

सरोजराज अधिकारी, काठमाडौं
Twitter : @SarojrajKtm
प्रकाशित: भाद्र २६, २०७२

(स्रोत : Ekantipur)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा. Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.