श्रम खेपेर पेटको विष मार्ने
हँसमुख सावित्री हो विष्णुमाया
साँझबिहानको अँध्यारोभित्रबाट
जीवनको उज्यालो उद्घोष गर्ने
गौरवको चुली हो विष्णुमाया
काम गर्नुपर्छ उसले नै गर्नुपर्छ
भान्सा , चोटा, कोठा र जुठेल्नासम्म
उसैले उठ्नु र निहुरिनुपर्छ ,
निहुँरिँदा झुक्नुको अर्थ बुझिदन ऊ
जाडोसँग जुध्दा उम्रिएका काँडाहरु
छोप्न सक्दिन ऊ
बिहान र बेलुकीका अतिरिक्तहरु
कहिले सानो मालिक र
कहिले ठूलो मालिक भएर
चिप्लिन्छ उसैबाट
उसको बिद्रोह अँध्यारामै
निःशब्द झन्कृत हुन्छ ।
विद्रोहको नाममा
मालिकको व्यस्ततामा
चाउरे मलामी गैदिएझैँ
गएकी छ ऊ पनि
थाल ठटाउँदै जुलुसमा
जुलुसमा थाल ठटाउनु
थाल कुच्याउनु मात्र हो उसलाई ।
कुनै विद्रोहको आवाजले
छेकेन उसको जीउलाई ।
उसले सहानुभूतिको सिरक ओढेर
काम चल्दैन
क्षणिक प्रेमको नाटकसँग पनि
उसको यथार्थ टर्दैन
काँतरहरुको भीडमा
ऊ एक्लै उभिएर
दुनियाँको दुत्कारलाई नकार्दै
ऐश्वर्यको ऐलान गर्न सक्छे ।
विष्णुमाया अँध्यारोको चुनौति हो
उसको जीउ लुक्तैन कुनै अँध्यारो किरणझैँ
गर्भ भनेको गौरव हो
सबैले बोक्न सक्तैन यसलाई
त्यसैले
ऊ टेकेर उभिएकी छे जीवनलाई ।
ऊ भाँच्चिएको बार होइन
भत्किएको पुल होइन
थोत्रिएको गाडी होइन
टेको लाउनु पर्दैन उसलाई
बलियाहरुलाई चुनौति दिने
अब ऊ बलियो आँट हो ।
(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )