देख्छु
अचेल जताततै क्याक्टस उम्रिँदो छ
को हो त्यो
शान्तिवाटिकामा क्याक्टस उमार्ने ?
कहाँबाट आए यी ?
धरती पुत्र हुन या गगनका देव ?
कुन सिद्धान्तले रोपे कुन धर्मले रोपे ?
अभिष्ट के हो क्याक्टसको ?
न त प्रेममा न त पूजामा
क्याक्टस कतै चढदैन
समयको क्षमतालाई सदैव जदौ
तर स्वक्षमताको घाँटी कदापि रेटेर होइन
समयसँग पराजित हुनु
अर्थात् आत्महत्याको परिस्थिति
तर आत्महत्या लाछिहरुको प्रलाप हो
श्रमजिवी आत्महत्या गर्दैनन्
परिचयको स्वेतवस्त्रमा दाग लाग्न दिँदैनन्
आत्महत्या भन्दा हत्या जायज
तर भित्र जागृत बुद्ध छ
परीक्षा लिँदै छ
आस्था र अनास्थाका लहर
परीक्षा क्षमताको
परीक्षा सहनशिलताको
स्वीकार्य छ
नसाहरु अझै
संयम शक्ति र निष्ठा बगाउँछन्
फेरि डर के को ?
डर कोसँग ?
ती जो औँलामा गन्न सकिने छन्
ती जो आत्मसम्मान गुमाएका छन्
ती जो खेलौना हुन्
ती जो पशुवत् आचरण गर्दछन्
तिनीहरुसँग के को डर !
समय ग्रहण ग्रस्त अवश्य छ
ग्रहण सदैव क्षणिक हुन्छ
भित्र
समय बदल्ने सामर्थ छ
भित्र
सृष्टि परिचालित गर्ने शक्ति छ
केवल संयमित हुनु छ
केवल धीर बन्नु छ
अन्तहिन समय
सदैव मनुष्यको दास थियो
मनुष्यको दास नै रहने छ
मनुष्य संयमित भएसम्म
मनुष्य मनुष्य रहनेछ ||
(स्रोत : रचनाकारको फसबुकबाट सभार )