बजिया छोराहरू हतारहतार हुर्केर बाउलाई चाँडै बूढो बनाउँछन् । म छोरालाई हेर्दै यस्तै सोच्दै थिएँ ।
‘ए बाउ, छिटो भित्र आऊ !’ छोरो जुल्फी मिलाउँदै थियो ।
‘लात्ताले गधालाई… बाउलाई हप्काएर बोलाउँछस् ? पूरापूरी चौध वर्ष पुग्या छैन,’ भन्न मन लागेर पनि बोली फुटेन ।
म घरभित्र पस्दा छोरा मूल खाँबोनेर उभिएको थियो ।
‘बाबा आउनू ! हातखुट्टा नकमाई, नडराईकन आउनू !’ अहिलेचाहिँ छोरोजस्तो भएर, बाउलाई जस्तै मान–इज्जत गरेर छोरो बोल्यो ।
म मूल खाँबोनेर पुग्दा छोरा चुलाछेउ पुगिसकेको थियो । मतिर फर्केर छोराले भन्यो, ‘आउनू है बाउ, मेरो पछिपछि ।’
मेरै घर हो तर पहिले कहिले नदेखेजस्तो । खाँबो र चुला यति टाढा त थिएन । फनक्क फर्किंदा हुने ठाउँ म हिँडेर मात्र चुलामा पुगेँ । के भएको हो यस्तो ? कि म अचानक मुन्धुम्मा वर्णित खाम्बोङ्बा लुङ्बोङ्बाजस्तो लिलिपुट भएँ ? जो कि बाख्राको बड्गौलामा भारी बिसाउँथे, खुर्सानीको बोटमा झटारो हान्थे ।
म चुलामा पुग्दा छोरा चुलामाथि झुण्डेको फुर्लुङमा बसेको थियो । अब कसरी चढ्ने होला फुर्लुङमा ? सोच्दै मात्र थिएँ– छोराले माथिबाट एउटा सिँढी तल झारी दियो । सिँढी चढ्नलाई टेक्न खोजें । सिँढीको खापा उल्टो थियो । अचम्म मानेर एकछिन मनमा कुरा गम्दै उभिएँ ।
‘चढ्नलाई यही एउटा सिँढी हो बाउ । अरु केही छैन,’ मुुसुमुसु हाँस्दै छोराले भन्यो ।
उल्टो खापा भएको भ¥याङ चढेर म फुर्लुङमा पुगेँ । फुर्लुङ झुण्ड्याउने अँकुसेमा चढेर छोरा मलाई हात समाउन दिइराखेको रहेछ । मैले छोराको हात समाएँ । म बसेको फुर्लुङको डोरी चुँडियो । फुर्लुङ सिधै चुलामा झ¥यो । हुर्रर आगो बल्यो । आगोको लप्काले मलाई सर्लक्कै छोप्यो तर आगोको राप तातो थिएन; बरू मलाई त शीतल पो भइरहेको थियो । छोराले हतपत माथि तान्यो र मात्र म छोरा भएको ठाउँमा पुगें ।
‘बाउ हामी याँदेखि माथि दलिनको बाटो हुँदै बाँया बाटो समाएर घरको धुरीमा निस्किनुपर्छ,’ छोराले बाटो चिनाउँदै भन्यो ।
हामी बाउछोरा घरको धुरीमा थियौं । मेरो घरको छानो पहाड जत्रो लाग्यो । खर छाउँदा थुप्रै चोटी घरको धुरी चढेको हँु । के गरी छाएँ होला एक्लै मैले यत्रो छानो ? म आफैं छक्क पर्दै थिएँ ।
छोरा चिप्लेटी खेल्दै झ¥यो छानोको छेउसम्म । म के गरी झरें ? सम्झना भएन । हामी धुरीबाट बलेसीमा बडो होसियारीले झ¥यौं । बलेसी गडेउलाहरूले पूरा छियाछिया बनाएको थियो । जताततै छिद्रैछिद्रा परेको थियो । वर्षौं पहिले छोडेर बसाइँ हिँडेको घरजस्तो बेस्या“हारको थियोे । बलेसीबाट एक पाइला सारेको मात्र थिएँ, छोरा र म एउटा फूलबारीमा पो पुग्यौं । मेरा सानो छोरा खेल्ने, बाख्राको पाठा उफ्रिहिँड्ने मेरो आँगनको सम्झना आयो । मेरो आँगन खोजें । आँगनसँगैको गुवालीघर पनि थिएन । कुखुराको खोर, सुँगुरको खोर, बाख्राको खोर केही थिएन । पछाडि फर्केर हेरें, मेरो घरै पनि थिएन । छोरालाई जिज्ञासु नजरले हेरें । म डराएको थिएँ । सायद, छोराले मेरो अनुहारको भाव पढ्यो होला ।
‘यो ठाउँलाई ‘अक्वा लुङबुङ पेन्जोसिङ’ भन्छन् बाउ,’ नयाँ ठाउँ चिनाउँदै छोराले भन्यो ।
यो नाम कतै सुनेभैmँ लाग्यो तर मेरो घरको छेउमै होला भन्ने अनुमानसम्म थिएन ।
फूलबारीमा एकछिन थकाइ मारेर हामी बाउछोरा अगाडि बढ्यौं । बाटो सब कमिलाले खोलेको फुसफुसे थियो । जता टेके पनि पहिरो जालाजस्तो डरमर्दो कम्जोर बाटो थियो । हामी अगाडि बढ्यौं । फुसफुसे बाटो कटेपछि डरलाग्दो उन्यूघारी आयो । उन्यू पनि सल्लाको बोटजतिकै अग्ला थिए तर साह्रै कमजोर थिए । उन्यूलाई पन्छ्याउँदै, माड्दै अघि जाँदा हामी गग्लातोघारीमा पुग्यौं । गग्लातोघारीपछि बाँग्रीघारी आयो । बाँग्री झारले जेलिएको बाटो हि“ड्दाहि“ड्दा गरेर हामी खरबारी पुग्यौं । खरबारीमा चराहरू चिलिख्याकचिलिख्याक गरिरहेका थिए । छोराले गुलेलीले प्याटप्याट पारेर चराहरू तर्सायो । चराहरू कराउन छाडे ।
खरबारीमुनि ठूलो भीर थियो । यही खरबारी पो होला हल्दारकी बूढी लडिमरेको । झल्यासै याद आयो ।
‘हल्दारनी मात्र होइन, यो खरबारीमा कति मान्छे लडिमरे मरे । तिनै लडिमरेकाहरू त चिलिख्याक चराहरू भए,’ छोराले मेरो लुगामा लागेको अर्थुङ्गे टिपिदि“दै भन्यो ।
‘मोरा ! आफ्नो तीन पात देखाउन खोज्छ । यत्राको डराउँछु । मलाई थाहा छैन गाउँमा को को लडिमरे ?’ मन दह्रो बनाउने कोशिस गर्दै थिएँ म ।
‘होसियार हुनू है बाउ ! यहाँ तान्त्रिकहरूले, बिजुवा–बिजुवानीहरूले लिसोपासो थापेका हुन्छन् । धनुकाँड तन्काएर राखेका हुन्छन्,’ चलचित्रमा दृष्य परिवर्तन भएजस्तो हामी राताम्मे फुलेको गुराँसघारीमा पो थियौं ।
म साँच्चैको डराएँ । घाँसका पातहरूमा, नागबेली लहराहरूमा जतासुकै लिसो थापिएको थियो । गुराँसको हाँगामा लिसो टाँसिएर एउटी सानी नानी छट्पटाइरहेकी थिई । बाटोभरि पासो थापेका तिखातिखा काँडहरू थिए । छोरा अघिअघि लिसोपासो हटाउँदै, धनुकाँडको ताँदो खोल्दै गयो । म डराईडराई पछ्याउँदै गएँ ।
गुराँसघारी छिचोलेपछि एउटा डाँडामा निस्कियौं । डाँडा सेताम्मे बुकीफूलले ढाकेको थियो । एउटा बुकीफूल मेरो कानमा सिउरी दिँदै छोराले भन्यो– ‘यो आत्माहरूले लाउने फूल हो, तपाईंले पनि लाउनुपर्छ ।’
यस्तो राम्रो डाँडामा गाईबस्तु चराउँदै पालम गाउँनु कस्तो रमाइलो होला ! कतै गोठालाहरू छन् कि ? मैले वरपर आँखा घुमाई हेरें । कोही र केही देखिएनन् । एउटा माली गाई चर्दै गरेको हुनु, कस्तो राम्रो देखिन्थ्यो होला ! टाढा कतै गोठालाले बाँसुरी बजाएको कस्तो राम्रो सुनिन्थ्यो होला ! गाईबस्तुबिना, चराचुरुङ्गीको गीतबिना, गोठालाको बाँसुरीको धुनबिना डाँडापाखा कस्तरी उजाड हुँदोरहेछ ! कस्तो डरलाग्दो र सुनसान हुँदोरहेछ । यस्तै सोच्दै मैले छोरालाई पछ्याउँदै गएँ ।
बाटोमा एउटा पुरानो साँघु आयो । साघुँ भत्किजालाजस्तो थियो । डराउँदैडराउँदै जसरी साँघु तर्नु खोज्दाखोज्दै सहनाइजस्तो थुतुनो पारेर स्वाँस्वाँ गर्दै एउटा सँुगुरले हाम्रो बाटो छेक्न आयो । सुँगुर पनि यस्तो डर लाग्दो हुन्छ र ? मैले कहिले सोंचेको थिइनँ । पहिलो खेप म सुँगुरदेखि डराएँ । छोराले कति पनि नडराई गुलेलीले हानी खेदायो । तुरुन्तै एउटी काली गाई हामीतिर हेर्दै सिङ भुइँमा उद्याउँदै, फ्वाँफ्वाँ पारेर नाक बजाउँदै बाटोमा उभियो । बाटोमाथि दश–बाह्रवटा बाख्राहरू पनि खुर बजाउँदै हामीलाई हानुँलाभैmँ गरिरहेका थिए । गाईको वरिपरि कुखुराका भालेहरू पखेटा फट्फटाउँदै ठँुगिमारुँलाभैmँ गर्दै थिए । बाटोमाथि कोईरालो कराउँदै थियो । बाटोमुनि कोइली कराउँदै थियो । म डरले लगलग काम्न थालेँ तर मेरो छोरा डराएन । बडो बहादुरीका साथ गुलेलीले हान्दै सबैलाई भगाइपठायो ।
‘त्यो कम्मरको खुकुरीको के काम ?’ छोराले मतिर नहेरी भन्यो ।
छोराले भनेपछि पो ख्याल भयो । साँच्ची मसँग खुकुरी पो छ त । धत्तेरी, अघि नै ख्याल आएको भए कति काम दिन्थ्यो । त्यो उन्युघारीको बाटोको याद आयो ।
हाम्रो बाटो कतिखेर उकालो भएछ ? पत्तै भएन । चार खुट्किलो उक्लेपछि एउटा ठूलो ढुङ्गेधारा आयो । त्यहाँ थुप्रै मान्छेहरू नुहाउँदै थिए । तिनलाई देखेर म औधी खुशी भएँ । म खुशी हुनुको कारण पहिले नै थाहा भएभैmँ गरेर छोराले भन्यो–‘खुशी नहुँदा हुन्छ । तपाईंलाई यी मान्छेहरूले चिन्दैनन् । नचिनेको मान्छेसँग यहाँ कोही पनि बोल्दैनन् । बोले पनि यहाँ कोही कसैले हाम्रो लिम्बू भाषा बुझ्दैनन् ।’
छोराको कुरा नपत्याएर भन्दा पनि एउटी राम्री केटी देखेर मलाई बोल्न मन लागिहाल्यो । मैले उसलाई भनिहालेँ, ‘ओइ नानी, तिम्रो पेटीकोट के साह्रो पातलो ? के लगाको त्यस्तो ? छ्या ! पारिको मान्छे छ्वाङ्गै देखिन्छ ।’
राम्री केटी सरासर हामीछेउ आएर रोकिई । ‘लु हेर त’ भनेजस्तो गरी पेटिकोट सर्लक्क खोली । मैले नाङ्गो आँखाले हेर्न सकिनँ र आँखा चिम्म गरेँ । आँखा खोल्दा त्यो केटी लुगा फेरेर उकालो जाँदै थिई । भाषा नमिले पनि शरम, लाज त मिल्नुपर्ने हो । फेरि पनि त्यो केटीलाई हेरेँ । त्यो केटीले त चोलो पनि उल्टो पो लगाएकी रहिछे । बहुलाही पो हो कि ? मलाई यस्तै लाग्यो ।
‘यहाँ, नुहाएपछि हामी सबैले यसरी नै उल्टो लुगा लगाएर जानुपर्छ,’ छोरा धमाधम लुगा खोल्दै थियो । छोराको दुवै पाखुरामा खत थियो । उस्तै खत दुवै तिघ्रामा पनि देखेँ ।
‘म त हिजै नुहाएको ।’
‘आमालाई ढाँटेजस्तो सजिलो छैन मलाई ढाँट्न । महिना दिन भो तपाईं ननुहाएको । मलाई थाहा छैन भन्या ?’
‘कहिले ढाँटे तेरो आमालाई ? साले ! नचाहिँदो कुरा गर्छस् ?’ आफ्नो बेइज्जत भयो भन्ने ठानेर म साँच्चीकै रिसाएँ । सबैले सुन्ने, देख्ने ठाउँमा छोरा भएर बाउको इज्जतको ख्याल गर्नुपर्छ नि । मैले आफ्नो काखीमा हात हालेर यसो सुघेँ । अमिलो गन्ध ठ्वाँस्सै गन्हाइहाल्यो ।
‘तपाईंसँग आमाको यही एउटै कुरा त हो नि, सधैं नुहाएर छेउमा आउनू भन्ने । तपाईंको उही जवाफ हुन्छ– ह्या, हिजै नुहाएको । तब थुतुनो जोत्न हतार भइहाल्छ तपाईंलाई । बिचरा ! आमाले केही भन्नै पाउनुहुन्न ।’
मेरो बोली बन्द भयो । छोरासँग विवाद गर्नुभन्दा चुपचाप नुहाउनु नै हितकर लाग्यो । नुहाउन भनेर धारानेर गएँ । धारा खस्ने भुइँमा पानीमुनि सूनको सिक्री टल्किरहेको देखेँ । पक्कै अघि नुहाएर गएकी केटीको हुनुुपर्छ । राम्री केटीलाई हेरेँ, ऊ उकालोे काटेर गइसकेकी थिई ।
‘सबैले आफ्नो पुरानो गर–गहना यहाँ फालिराखेर जानुपर्छ । अब सूनचाँदी, हिरामोती, रुप्पे–पैसाको कामै छैन ।’ छोराले भन्यो ।
हो त रहेछ । धारावरपर सूनचाँदी, हिरामोतीका गर–गहना रास थुप्रिएको थियो ।
हामी नुहाइसकेर उकालो हि“ड्यौं । ढुङ्गाका ठूल्ठूला चौताराहरूमा मान्छेहरू आराम गरेर बसिरहेका थिए । हामी नबिसाई हिँडिरह्यौं । अन्ततः पहाडको शिरमा पुग्यौं ।
‘बाउ, पछाडि फर्केर नहेर्नू है !’ लामो अँकुसेले बादलको एक टुक्रालाई छोराले तान्दै थियो ।
किन नहेर्नु ? पछाडि फर्केर हेरेँ । हामी बादलदेखि धेरै माथि उभिएका थियौं । त्यहाँ हामी उभिएको पहाडबाहेक अरु पहाडहरू हराइसकेका थिए । त्यहाँ हावा थिएन, तै पनि हामी बाँचिरहेका थियौं । उज्यालो थियो तर घाम थिएन ।
‘आउनू बाउ !’ ठूलो मान्द्रोजत्रो बादलमा चढेर छोराले हात दियो ।
घोडा नचढेको मान्छे म, बादल कसरी चढ्नु ? डर लाग्यो । बहाना बनाएँ– ‘आमाले घरमा पर्खिबसेको होला । फर्कुङ हाओ ।’
‘यहाँसम्म आएपछि धेर किचकिच होइन है बूढा !’
‘साले, बाउलाई बूढा भन्छस् ?
‘के भन्नु त ? सुड्डो भन्नु ? हेहेहे ।’ छोरा हाँस्यो ।
‘अरे, मेरो त दुई भाइ छोरा मात्रै पो त । तँचैं… ?’
‘म तेस्रो नि । कान्छो ।’
‘धत् ! मेरो दुई भाइ मात्र हो ।’
‘ए बिर्सेको ?’ छोराले रिसाएको स्वरमा हपा¥यो, ‘आमाको गर्भमा म तीन महिनाको हुँदा अबोर्सन गरेर फालेको होइन ? त्यै मेरी स्टोप्सकी नकचरी नर्सले सुईले घोचेर मलाई मारेको होइन ? अहिले मलाई छोरा नै होइन भन्ने ?’
मैले छोरालाई हेरेँ । दुवै आँखा गोलभेंडाजस्तै, रगतै चुहिएलाजस्ता राता राता थिए । अहिले पो म झसङ्ग भएँ, डराएँ । अबोर्सन गरेर फालेकोमा छोराले चित्त दुखाएको होला, ऊ मसँग औधी रिसाएको होला भन्ने लागेर कुरालाई सहज बनाउँदै मैले भनेँ, ‘ए तँ यत्रो भइस् ?’
‘छिटो आऊ ।’ छोराले झनै ठूलो स्वरमा हप्कायो ।
‘आउँदिनँ । तैं जा !’ मैले पनि रिसाएरै भनेँ ।
‘साँच्चै नआउने ? साँच्चै ?’
‘एक, दुई, तीन । सत्तेकसम ! आउँदिनँ । के गर्छस् ? लु जा ।’ मैले पनि भन्दिएँ ।
केही नभनी छेउको सानो टुक्रा बादल टिपेर छोराले मेरो छातीमा बुङ्ङै हान्यो । म चुचुराबाट लडिझर्नुपर्ने हो, त्यसो नभएर आकाशबाट उत्तानो परेर बिस्तारै खस्दै थिएँ । छोराले मलाई रिसाएको भावले हेरिरहेको थियो । म जतिजति तल खस्दै थिएँ, उतिउति उकुसमुकुस हुँदै थिएँ । अन्तमा छोराले मलाई मुसलले हानिपठायो । मेरो छातीमा ढ्वाङ्गै गरेर मुसल बज्¥यो । ‘मरे नि !’ म कहालिएँ ।
‘के भो ?’ छोराकी आमाले झक्झकाइछिन् ।
म बिम्झिएर जुरुक्क उठेँ । पूरै अँध्यारो थियो । भित्तामा छामछुम गरेर लाइटको स्विच अन गरेँ । छोराकी आमा उठेर ओछ्यानमा बसेकी थिइन् ।
‘कस्तो ऐंठेन भो !’ म छोराकी आमाको छातीमै लेपासिएँ ।
‘कैल्यै बूढो नहुने लोग्नेमान्छेको जात !’ छोराकी आमा थोरै लजाएजस्तो गरेर मलाई आफूतिर तानेर ओछ्यानमा पल्टिइन् ।
मनले कुरा खेलाउन थालिहाल्यो—
‘जन्मेको भए त्यस्तै हुन्थ्यो होला कि ? कति चम्किला आँखा, हलक्क बढेको ज्यान । भएका छोराहरू भने मोचले खाइमारेका जस्ता, घिचेकोले थिचेका जस्ता ।’
‘तिम्रो साइँला छोराचैं खरो जन्मिन्छ है,’ पहिले ज्योतिषीले भनेको कुरा सम्झेँ । नजन्मेको छोराको माया लागेर आयो । मनमा कुरा अझ बढ्यो—
‘नजन्मेर पनि झण्डै स्वर्ग देखायो । जन्मेको भए के के गथ्र्यो होला ? त्यसरी फाल्नु नहुन्थेछ । के गर्नु ? भएका दुई छोरा त कहिलेकहीं धेरजस्ता हुन्छन् । यो शहरको महँगी, देखासिकीकै लागि पनि महँगै स्कुलमा पढाउनै पर्ने । फेरि, डेराको बसाइ छ काठमाण्डूमा…
‘ओउ बाउचैं ! के सोचिराको ?’ छोराकी आमाले मेरो हातलाई तानेर सिरानी बनाउँदै मसित लुपुक्कै भइन् । हठातै उनी पर हटिन्– ‘छ्या यो मान्छे । ओफ् ! काखी गन्हायो । कैलेकहीं त नुहाएर आउनु…’
‘कान्छी, अघि भर्खरै मात्रै म नुहाएको,’ मैले भनेँ ।
‘कतिखेर ?’
‘भर्खरै होउ ।’
‘सपनामा ?’
‘हेहेहे !’ म सपना सम्झिएर चुप भएँ । सोचेँ— सपनामा पनि आखिर विपनाकै छायाँ त देखिँदो रहेछ, झनै गाढा… । मान्छेलाई विपनाकै तोडले त गराउँदो रहेछ ऐंठेन ।
२७ फागुन, २०७१
*यो कथा उपेन्द्र सुब्बाको प्रकाशोन्मुख कथा संग्रह ‘लाटो पहाड’मा समावेश गरिएको छ । फिनिक्स पब्लिकेशनबाट यही चैत्रभीत्र सो संग्रह प्रकाशन गरिनेछ ।
(स्रोत : RecordNepal)