~महेश पौड्याल ‘प्रारम्भ’~
म जस्तो मास्टर कोही नबनोस् । मलाई त्यस घरमा किशोर दाईले पु¥याइदिएका हुन् । म उहँलाई धन्यवाद दिन्छु; रोजगार पाएँ । ट्यूसनै भएर के भो, प्राय मास्टरहरू त्यही गर्छन् ।
“भाइ, देहरादूनबाट आएको परिवार हो । बुवा बैंकमा काम गर्छन्, आमा पेंटर हुन् । छोरी पनि गजबकी पेंटर हो । उसले देहरादूनमा छँदा गभर्नरबाट कति हो कति पुरस्कार पाएकी छ । यहाँ पनि उसको पेंटिङको प्रदर्शनी हुँदै छ । राम्रो हुन्छ । ”
त्यस्ती पेंटरलाई ट्टूसन पढाउन पाउने हुँदा म दङ्ग परें । मैले भनें, “हुन्छ दाइ, भोलि जौं । नौ बजे घण्टाघरमा भेटौं”
भोलिपल्ट घण्टाघरमा भेटेपछि हामी कालीमाटीतिर लाग्यौं । सल्ट ट्रेडिङ्को दायाँपट्टिको गल्लीबाट दाईले मलाई एउटा अँध्यारे फ्याटमा पु¥याए ।
मैले भित्ताहरू अध्ययन गरें, उनीहरू भेटघाटका औपचारिकतामा व्यस्त रहुञ्जेल । ती चित्रहरू राम्रा थिए, प्रत्येकमा पीडाका रङ्गहरू छरिएका । भनिन्छ, पीडाका रङगहरू बोकेको चित्र राम्रो हुन्छ, पीडाका स्वरहरू बोकेको गीत मिठो हुन्छ ।
“उहाँ भाई, महेश । देहरादूनबाटै साइन्समा ग्रेज्वेट गरेर आउनुभएको । राम्रो हुनुहुन्छ । जुनुलाई हिसाब पढाउनुहुन्छ, मैले कुरा गरको छु । ”
मैले नमस्कार गरें, ती दिदीलाई । जुनुकी आमा थिइन उनी । देहरादूनको नाम सुन्नासाथ उनी अगि सरिन । गजबको चासो थियो उनका आँखामा । कहाँ, कहिले कसरीका कुुरा भए, मैले सिमित उत्तर दिएँ ।
यसरी शुरु भयो, काठमाण्डौंमा मेरो पहिलो “जब” । जाने आउने क्रम शुरु भयो । जिलेट स्कुलमा पढ्थी जुनु, पाँच बज्दा घर पुग्थी । म साडे पाँच बजे पुग्थें कालीमाटी, कौशलटारबाट, तीन ठाउँका डरलाग्दा जाम छिचोलेर, एक घण्टाको बाटो ।
ऊ सुन्दर थिइ, उसका चित्रजस्तै । सोह्रकी तरुनी, दस कक्षा पढ्ने । ट्यूसन शुरु भएपछि कोठो बन्द हुन्थ्यो । आधी घण्टापछि एक पल्ट आमा पस्थिन, चिया र खाजा लिएर । त्यसपछि आठ बजे मात्र खुल्थ्यो हाम्रो दैलो ।
म पनि जवान, ऊ पनि जवान । मलाई थाहा थियो, उसलाई पढाइमा चासो थिएन । ऊ पेंटिङ्का कुरा गर्न रुचाउँथी, कार्यक्रम र प्रदर्शनीका कुरा गर्थी । मलाई जागिरको डर थियो, त्यसैले म जबरजस्ती उसको होमवर्क र गणितका केही समस्याहरू हल गर्नतिर उसको ध्यान तान्थें । शायद यो उसलाई मन पर्दैनथ्यो ।
देहरादून, दिदी भाई, आप्रवासीको साइनो, दुःखले जोडेको । मैले जुनुलाई कुचेष्टाले कहिल्यै हेरिनँ । उसले मलाई कसरी हेरी, इश्वर जानोस् । तर म उसलाई “बहिनी जस्तै” भन्न पनि तयार भइन, मैले बहिनी नै भनें । हो मुटुभित्र मलाई लाग्थ्यो, त्यो जुनु मेरी बहिनी नै हो ।
मैले छ महिना पढाएँ, उसले प्रगति गरी । गणितमा उसको आत्मविश्वास निकै बढेको पाइयो । हुन त त्यति कमजोर छात्रा थिइन ऊ । पढाइ र पेंटिङ्मा समय विभाजन नमिलेर ऊ समस्यामा परेकी थिइ ।
कहिले काहीं ट्यूसन सकेपछि म दिदीसंग धेरैबेर गफ गर्थें । हाम्रो जबमा हिसाबकिताबका, फिस–तलबका कुरा गौंण भए । उनी कथा–व्यथा पोख्थिन मलाई ः कथा परदेशका, धोकाका, लुटपाटका, विफलताका, एक्लोपनका, नैराश्यताका, विवशताका, चोट्का, विरानोपनका, लडाइ र भोगाइका, आँशुका, रोदनका, अनेकौं पीरहरूका ।
छ महिनापछि भैरहवाबाट खबर आयो, सरको रक्तचाप बढी भएर अस्पताल लाँदैगर्दा बाटैमा देहान्त भयो रे । भैरहवा, सरको पुर्खेउली घर, काकाबाउहरू सबै त्यहीँ बसेका अहिले पनि । उनी तीस साल तिरै भारत पसेका रहेछन, केही वर्ष फौजमा जागिर खाएपछि बैंकतिर छिरेका । उतै खाँदै बस्दै जाँदा, अर्कै भाषी भए पनि दिदीसंग शुरुमा राम्रो मित्रता, र रहँदै बस्दै जाँदा प्रेम सम्वन्ध भएपछि विवाह भएको कुरा पछि थाहा पाइयो । दुई सन्तान उतै जन्मेर हुर्केका । पछि विदेशको बसोबासमा एक प्रकारको स्वभाविक नैराश्य आएपछि उनीहरू स्वदेश फर्केर कालीमाटीमा बसेका थिए । उनीहरू भैरहवा पनि बस्न सक्थे, तर काठमाण्डौं बस्नुका केही कारणहरू थिए । छोराछोरीको पढाइ मुख्य मुद्दा थियो । दिदी र छोरीले चित्रकारितामा पनि केही तरक्की गर्न सक्छन कि भनेर काठमाडौं बसेका हौं भन्ने तर्क पनि अगि नसारेका हैनन् । सरले कुमारी बैंकमा जागिर पाएका थिए । तर सरको देहान्त पछि थाहा पाइयो, अनेपाली भाषी बुहारीलाई सामिप्यमा राख्न घरवालाहरू मञ्जुर नभएपछि उनीहरू काठमाडौंतिर आएका थिए ।
पछि दिदीले बेलिबिस्तार लगाइन, आफ्नो नियतिको । सरको संक्षिप्त भैरहवा बसाइमा अर्को बिहे पनि गराइयो, घरैमा काम गर्ने केटीसंग । त्यसबाट जन्मेको छोरोलाई सरको अंशको उत्तराधिकारी बनाइयो । यता दिदीको छोरालाई परिवारले कुनै चासो दिएन, नागरिकता बनाउने काम पनि भएन । अझ सरको देहान्त पछि त उनीहरू त्यस खानदानबाट पूर्णतः वहिष्कृत भए ।
यो थियो दिदीको अवस्था । छोराछोरी साना, कामधाम् र कमाइको खाँचो, चिन्ने जान्नेहरू केही छैनन् । दया देखाउनेहरू कुनै न कुनै रुपमा सेवाको मोल असुल गर्न तमतयार । माइत जाऊँ भने अर्को जातको केटोसंग गएकी भनेर अझैसम्म स्वीकार नगरेको अवस्था । घर जाऊँ भने खोई घर ? सम्झनामा बाँच्नु बाहेक अरु केही रहेन ती दिदीको जीवनमा ।
सम्झना, देहरादून बस्दाका ती स्वर्णीम दिनहरूका । उनको चित्रकलाको आफ्नै स्कुल थियो । कति माया गर्थे उनलाई ती विद्यार्थीहरू । छरछिमेकमा उनको आफ्नै एउटा प्रतिष्ठा थियो । छोराछोरीले सबैको माया पाउँथे । अझ छोरीले त चित्रकलामा गभर्नरबाट पनि कइयौंपटक तक्मा थापीसकेकी हुँदा सबैका आँखाकी तारा थिइ ।
तर काठमाडौं ? भत्किएका सपनकको सहर भयो । चलचित्रको कृतिम कथा जस्तो भयो उनीहरूको जीवन, बेसहारा ।
तर दिदीको हिम्मतलाई मान्नु पर्छ । कहेल्यै बगाइनन आँसु, ती छोराछोरीका अगाडि । समय समयमा उनी देहरादून जान्थिन, सरको पेंसनको पैसा थाप्थिन् र लिएर आउँथिन् । छोरी कलाकार मान्छे, सानै भए पनि प्रतिभाले सबैमा चिनिएकी । ठूल्ठूला मान्छेहरूसंग उठ्बस । कति हो कति पैसा चाहिने । दिदीले आफ्नो ए. टि. एम. जुनुलाई जिम्मा लाइदिइन् ।
मैले आउने–जाने काम जारी राखें । केही गर्न नसके पनि हिम्मत दिन्थें म दिदीलाई । म भन्थे, “म पनि तपाईहरू जस्तै त हो नि । कहाँ छ त मेरो पनि घर काठमाडौंमा? मेरालागि पनि सबै अपरिचित नै त हुन नि ।” हुन पनि त्यस्तै थियो, सबै अन्जान्, सबै बिराना । सपनाको सहरमा बाँच्थें म त्यस ताका ।
हाम्रो घनिष्ठतामा विश्वासको पाटो दहरो थियो । कहिलेकाहीं उनीहरू आपसमा मैले नबुझ्ने भाषामा कुरा गर्थे, “यही एउटा मान्छे त भेटियो काठमाडौंमा, विश्वासको काबिल । ” म मनमनै दङ्ग पर्थें, अर्थपूर्ण हुन पाउँदा ।
हामी एक परिवार जस्तै भयौं । त्यस घरमा मेरो लागि दैलो जहिले गए पनि खुल्ला थियो । दिदी देहरादून जाँदा बच्चाबच्ची मेरै जिम्मा भनिन्थ्यो । म पनि निरन्तर जान्थें, सोधपूछ गर्थें । कति पवित्र माया थियो, आपसमा । हरेक दुःख र खुसीका क्षणमा म नजीक हुन्थें त्यस परिवारको ।
केही वर्ष बिते, विश्वास अझ्m प्रगाड हुँदै गयो । उनीहरूबाट पनि मैले धेरै माया र सम्मान पाएँ । मैले पनि सकेसम्म सहयोग गरें, निश्वार्थरुपमा । जुुनुले निकै तरक्की गरी । जताततै उसको नाम आउन थाल्यो । पत्र–पत्रिका दाइना भए, रेडियो, एप्mएम्मा पूर्णतः छाइ ऊ । एकदुईपटक मैले अघि सारेका विचारमा पनि उसले चित्र बनाई, र ती चित्रहरू खूब बिके ।
जुनुले तरक्की गरेको देख्दा निकै खुसी लाग्थ्यो मलाई । कलामा परिवक्वता संगसंगै ऊ जवान पनि हुँदै थिई । धेरै ठाउँमा संगसंगै जाने हुँदा मान्छेले गाइँगुइँ पनि नगरेका हैनन, तर हामीले कसैका कुरा सुनिनौं ।
एक दिन कला परिषद बबरमहलमा जुनुका एकल पेंटिङ्गहरूको प्रदर्शनी लाग्ने भयो । उद्घाटन पछि जुनुलाई केही कुरा बोल्न निम्त्याइयो । भाषण मैले नै लेखेर तयार पारिदिएको थिएँ । ऊ जुरुक्क उठी, मेरो छेउ आई र मेरा पाउमा परी । मैले अचम्म मान्दै उसलाई उठाएँ । नेपाली परम्परामा नारीले जुनसुकै सम्वन्धमा पनि पुरुषका पाउ पर्नु हुँदैन । मैले दिदीतिर हेरें । जुनु माइकमा पुगी सकेकी थिई । दिदीले मलाई खुसुक्क भन्नुभो, “भाइ, साह्रै सम्मान गर्छे तपाईलाई, जुनुले । ” त्यस कुरामा शङ्का भएन । दर्शकदीर्घा पनि गाइँगुइँ चल्यो, “त्यो मान्छे को हो? ” कसैले यही हो भन्न सकेनन्, अड्कलबाजी गरी रहे । कलाकर्मीहरूको व्यक्तिगत जीवनका पाटाहरू कोट्यानु सधैंनै समाजको चासोको विषय हो ।
जुनु मेरा पाउ परी । मलाई आत्मग्लानि भयो । यत्री ठूली कलाकार, म एउटा सामान्य मास्टर । काठमाडौंमा होम ट्यूटरको कुनै इज्जत हुँदैन । आज म सार्वजनिक ठाउँमा पुजिएँ, मलाई निकै गम्भिर चुनौतीले गाँजेझै लाग्यो ।
यो जुनुको कैरियरको एउटा सानो क्षण मात्र हो । त्यस पछि यस्ता हजारौं क्षण आए, धेरै पल्ट जुनु जनचासोको विषय बनी । अब ढिलो गरी घर आउने, ठूलाबडासंग उठबस् गर्ने, सामान्य मान्छेलाई समय दिन नसक्ने, र ट्याक्सी र कार देखि बाहेक साधनमा यात्रा नगर्ने उसको स्वभाव विकसित भयो । सेलेब्रेटीहरू यस्तै हुन्छन्, कहाँ सामान्य मान्छे जस्ता हुन्छन र भन्थे मान्छेहरू, मैले पनि होला भनेर सबै परिवर्तनलाई सामान्य मान्दै गएँ ।
म पढाईका कारणले विश्वविद्यालयतिर व्यस्त हुन थालेपछि आनाजाना पातलो भयो । उनीहरू पनि धेरै पल्ट डेरा सरे, धेरै पल्ट टेलिफोन नम्बर परिवर्तन भयो, र धेरै पल्ट मोवाइल ‘चोरी’ भयो । त्यसैले सम्पर्क निकै कठीन हुन थाल्यो ।
लगभग छ महिनाको अन्तरालपछि एकदिन अकस्मात प्रज्ञा प्रतिष्ठानमा एउटा कार्यक्रममा उनीहरूसंग भेट भयो । सबै थिए — आमा, छोरी र छोरो । जुनुले मलाई सुनाइ, अतुलले उसका कलाकृतिहरू मुम्बई लगेर प्रदर्शनमा राखी दिने आस्वासन दिएको छ ।
नयाँ डेराको पत्ता र नयाँ टेलिफोन नम्बरको आदान प्रदान भयो । अर्को शनिवार म उनीहरुको सिफलस्थित डेरामा गएँ । जुनु थिइन ।
“खोइ जुनु?”
“अतुलसंग गएकी छ, त्यही प्रदर्शनीको सिलसिलामा । ”
“अब त जुनुलाई धेरै राम्रो हुने भयो, मुम्बइमा प्रदर्शनी लाग्ने भयो,” मैले प्रतिक्रिया दिएँ ।
“मलाई यो कुरा पटक्कै मन परेको छैन भाई,” एकै साँसमा दिदीले प्रतिकार गरिन् । मैले बेलिबिस्तार जान्न खोजें । उनी भावुक बनिन् ।
“यी मान्छे को हुन, के हुन, के थाहा । यो अतुलले अनेक भनेर जुनुलाई पट्टयाइरहेको छ भाई । यस अघि पनि त्यो राजकुमार भन्नेले आर्ट काउन्सिलमा प्रदर्शनी मिलाइदिने भन्दै जुनुलाई खुब नचायो । यो जुनु दिनरात उसैसंग हिँडी । न जा छोरी, मान्छेले गीत गाउँछन भन्दा मसंग झगडा गरी । मेरो कुरा सुन्न छोडी भाई आजभोली उसले । ”
प्रतिघातहरू लामबद्ध आउँछन, अभागीका जीवनमा । मैले धेरै घाउहरू देखेको थिएँ, त्यो मुटुमा । अरु थपिएछन घाउ, धिक्कारें पापी समयलाई । मेरो जति कोमल पनि छैन पाजी समयको मुटु ।
“राजकुमारसंगै बसी, उसैसंग सुती । रातभरी रेष्टुरैन्ट धाए उनीहरू । मैले उसलाई भनें, ‘जुनु, यो मान्छेसंग नहिड, तँलाई एड्स लाग्ला ।’ मैले गम्भीर भएर भनेकी थिएँ, किनभने राजकुमारले जुनुको यौवनमाथि खेलेका यथेष्ठ प्रमाणहरू थिए मसंग । तर मेरो कुरो भैंमा खस्न नपाउँदै मलाई जुत्ताले हिर्काएर भनी, ‘बेश्या । आफू बेश्या भएँ भन्दैमा मलाई पनि त्यस्तै ठानेकी छेस कि क्याहो?’ त्यति भनेर निस्केपछि एक हप्ता घर आइन । नगरकोट गएर बिताए अरे, मैले त्यो कुरा पछि थाहा पाएँ ।”
हो, एउटी आमाले बोलेका कुरा थिए यी, आफ्नै छोरीका बारेमा । मलाई कसरी भन्न सकोको होला, यस्ता घिनलाग्दा र नितान्त आन्तरिक कुरा । तर मैले थाहा पाएँ, नयाँ समाजमा एक्ली भएर अपहेलित भएको अनुभव भएको थियो दिदीलाई र ऊ एउटा मान्छेका नाताले न्याय चाहान्थिन् । आफ्नै छोरीबाट अपहेलित भएपछि उनीभित्रको उकुसमुकुसले सिमाना नाघिसकेको थियो । भन्न हुने र नहुने कुरामा खासै फरक थिएन उनलाई । शब्द निस्कँदै गए, आँसु बग्दै गए । मपनि पघ्लिँदै गएँ ।
“यो अतुल पनि त्यस्तै हो । अस्ती म देहरादून जाँदा छोरोको परीक्षा चलिरहेको थियो । त्यो बेला पनि त्यही अतुलसंग गएर बसिछ, एक हप्तासम्म । छोरो पनि घरमा ताल्चा लाएर साथीकातिर गएर बसेछ । के गरोस बिचरो । ”
मलाई धिक्कार लाग्यो । कति घिनलाग्दो हुँदोरहेछ, उन्मत्त यौवनको उच्छि«ङ्खलता ! छिः जुनु । मैले ट्यूसन पढाउँदा कोठाभित्र ऊ र म मात्र हुन्थियौं । के के सोच्तीहो त्यो बेला ऊ?
“को हो अतुल? कहाँको मान्छे हो?” मैले जान्न खोजें ।
“त्यो औषधी–व्यापारी हो । बंगाली हो, कलकत्तामा र मुम्बइमा घर छन अरे । पैसावाला मान्छे हो भाई । जुनुलाई अनेक भनेर फकाएको छ । त्योबिना बाँच्नै सक्तिन भन्छे जुनु । ”
“कति उमेरको छ? रुप राम्रो छ? ”
“पैंतालिस जतिको होला । अहँ रुप पटक्कै राम्रो छैन । ऊ त्यही हो । हेर्नुहोस्न भाई । ”
मैले हेरें मेच माथिको फोटो । यतिका कुरुप हुँदा पनि मलाई त्यो मान्छे भन्दा त मै राम्रो जस्तो लाग्यो ।
“उसको बारेमा कोसंग जान्न सकिन्छ अझ बढी? ”
“कसैलाई थाहा छैन भाई । कसैलाई थाहा छैन, सत्ते । डिभोर्सी हो अरे, एउटी छोरी छ । ”
“छिः जुनुलाई थाहा छैनन् यतिका कुरा?”
“थाहा छ भाइ, सबै थाहा छ । तर मान्दै मान्दिन । मर्छु भन्छे । भाई केही गरिदिनु प¥यो । त्योसंग जान दिने पक्षमा म पटक्कै छैन । तपाईँलाई ईश्वर जस्तो मान्छे । तपाईँका कुरा काट्न सक्तिन त्यसले । भाई, अरु कसलाई भनौं म ? ”
“तपाईँ चिन्ता नगर्नुहोस् । म एकपल्ट भाइलाई सोध्छु, ऊ के भन्छ । ”
दिदीले ठुलो आवाज गरेर छोरालाई बोलाइन् । कम्प्युटरमा व्यस्त छोरो आवाज सुनेपछि बैठक कोठामा दाखिल भयो । ऊ सोह्र वर्षको थियो, कक्षा दसमा पढ्थ्यो । तर मैले सानैदेखि काखमा राखेर पढाउने बानी लगाएको हुँदा काखैमा राखीहाँले ।
“बाबु, अतुलको बारेमा तिमी के भन्छौ?”
“सर, म त अतुललाई काटिदिन्छु । सर तपाइँ र म भएर काटी दिऊँ न त्यसलाई । ”
“किन? भिनाजु पाइने भयो । मुम्बइ लाने अरे सबैलाई । ”
“त्यसलाई भिनाजु भन्नुभन्दा त बरु खातेलाई भिनाजु भन्छु । म त मर्दा पनि जान्न त्योसंग मुम्बई । ”
अरु धेरै कुरा भए त्यस दिन । साँझ पख म हिँडें । म आएको सुइँकोसम्म नपाओस है जुनुले भन्दै साँझ पख म हिँडें ।
औषधी व्यापारी । मैले चिनेजानेका केही साथीहरूलाई अतुलको बारेमा सोधें । धेरै खोजतलाशी पछि कौशलटारमा फार्मासी गर्ने मेरा एकजना मित्र अरुणले उसको बारेमा खुलासा गरे । औषधी आपूर्ति गर्ने क्रममा ऊ धेरै पल्ट जुनुलाई साथै लिएर गएको कुरा उनले बताए । ‘ए, कपल पो हौं भन्थ्यो त ऊ त । हामी त त्यो बहिनीलाई भाउजु भन्छौं ।’ उसले गम्भीर स्वरमा भन्यो । ऊबाट मैले थाहा पाएँ, अतुलले सातदोबाटोमा एउटा घर भाडामा लिएर मार्वल जडान गरेको छ । ऊ धेरै पैसावाला तर रहस्यमी व्यापारी भएको जानकारी उसले दियो । दाउदको मान्छे भएको शङ्का समेत नगरेको हैन उसले । मलाई चिसो पस्यो, मुटु भित्र सम्म ।
भोली पल्ट मैले जुनुलाई फोन गरेर अत्यन्त जरुरी कुरा गर्नु छ, तिमी तीन बजे तिर रोजमेरी केफेमा आऊ भनी बोलाएँ । मेरो कुरो काट्ने आँट भएन उसलाई । ऊ खुरुक्क आई । रोजमेरी म सधैं जाने ठाउँ । म अक्सर सरहरूसंग जान्थें, त्यहाँका वेटरहरूले म अँग्रेजीको शिक्षक हूँ भन्ने सुईँको पाएका थिए, सर भन्थे, इज्ज्त गर्थे, विदेश जान अंग्रेजी भाषा सिक्नेबारे परामर्श माग्थे, र अन्तमा पचास प्रतिशत सम्म छुट गरिदिन्थे । तर त्यसदिन मलाई केटीसंग देख्दा के सोचे हुन, उनीहरू नै जानुन ।
“जुनु, अस्ती मैले तिमीलाई अपरिचित मान्छेहरूसंग नगरकोटमा देखें । ”
ऊ अचम्भित भई, राती पिरी भई, लज्जित भई । लरबराएको जिब्रोले भनी, “सर मेरो स्पोन्सर हो । ”
“फेरि मैले तिमीलाई चोभारमा भेटें, कसैको अँगालोमा । अस्ती थापाथलीमा भेटें, कसैसंग ट्याक्सीमा । यो के हो? आमालाई थाहा छ? भाइलाई थाहा छ? भनिदिउँ?”
उसलाई बोल्ने मैकै भएन, आत्मसमर्पण गरी ।
“सर हामी बिहे गर्छौ । म अरु केही सोच्न सक्दिन ।”
“उसको बारेमा कति थाहा छ तिमीलाई ? बाहिरका मान्छेको के भरोसा हुन्छ? यो नाता कुनै पनि हालतमा हुनु हुँदैन । तुरन्त निर्णय गर । ”
ऊ अवाक भई, मेरा मुखमा हेर्न पनि सकिन । निकै लज्जित थिई ऊ त्यस बखत, र लाचार पनि ।
“सर म एक दिनको समय पाऊँ । भेलि निर्णय दिन्छु ।”
“ठीक छ, तर निर्णय सही हुनु पर्छ, तल–माथि प¥यो भने राम्रो हुने छैन ।”
हाम्रो बसाइ सिद्धियो, आ–आफ्नो बाटो लाग्यौं । मलाई ग्लानि भैरहेको थियो । जुनुलाई त्यति धेरै कुरा भन्ने अधिकार मलाई वास्तवमा थिएन । म को हूँ र उसको? उसको जीवन हो, जे सुकै गरोस ऊ, मलाई के मतलब? तर मभित्रको मास्टर बाठो भैरहेको थियो । बिचरा जुनु, चुपचाप सुन्दै गई । ‘हू आर यूु भनेकी भए म चूपचाप त्यहाँबाट उठेर हिड्न बाद्य हुने थिएँ ।
साँझ घरमा झगडा परेछ, भाइले फोन ग¥यो । जुनुले थाहा पाइछ, आमाले मलाई त्यति कुरा पोल लगाएकी हुन् भनेर । आजभोलीका केटाकेटी कम बाठा हुन्छन? आमालाई भुत्ल्याएर राती नै गइछ, अतुलकातिर । विचरा आमा लाचार, रुँदै फोन गरिरहिन मलाई, रातैभरी ।
भोली पल्ट दिउँसो घर आइछ जुनु, मैले थाहा पाएँ । तीन बजेतिर म गएँ । उसले निर्णय सुनाउने दिन थियो त्यो ।
“जुनु, निर्णय भयो होला । के भयो?”
ऊ बोलिन, चुपचाप बसी रही । दिदी र छोरो मेरा वरिपरी बसे ।
“जुनु, अलि हतार छ । तिमी के भन्छ्यौ ?”
दिदी अगि सर्दै भनिन्, “हेर जुनु, तँ त्यो मान्छेसंग गइस भने हामीलाई सदाका लागि गुमाउनु पर्नेछ । भाइलाई पनि मञ्जुर छैन यो विवाह । ”
“म त्यस अतुललाई भिनाजु भन्न सक्दिन । त्यो बूढो मान्छे हो, छोराछोरी भएको । त्यो संग किन जान्छेस?” भाइले प्रश्न ग¥यो ।
“हो जुनु । हेर, म तिम्रो टिचर । म कहिल्यै तिम्रो कुभलो चिताउन सक्छु? कौशलटारका साथीले अतुलको चरित्रमा शङ्का व्यक्त गरेका छन । त्यस्तो मान्छेको हातमा जीवन समर्पण गर्न तिमी बाद्य छौ र? ”
एक छिन चूपचाप भयौं सबै । केही बेरमा जुनु जुरुक्क उठी र भित्र पसी । एकै छिनमा ऊ एउटा अटैंची लिएर बाहिर निस्किई । म हेरेको हेरेइ भएँ ।
दिदीले थाहा पाइछिन्, त्यो अटैंची खोस्न तस्मिइन । जुनुले हानेका मुड्कीको चोट्ले दिदी भैंमा लडिन । छोरोले दिदीलाई उठाउँदै कड्कियो, “जा तँ, मर । तर तलाई तेरा सर्टिफिकट भएको अटैंची लान दिन्न । आमाले कमाइदिएका हुन ती सर्टिफिकट । ”
जुरुक्क उठेर अटैंची समाउन पुग्यो छोरो । कुस्ती चल्यो दिदीभाइको । केही बेर पछि जुत्ताले गाला भरी हानेर जुनु सँघारमा पुगी?”
“तँ कहाँ हिँडेकी जुनु?” दिदीको रुग्ण गलाको आवाज ।
“मलाई रोक्न मान्छे बोलाएकी? अरु पनि बोलाउनु नि, किन एक जना मात्रै?”
मलाई खिन्न लाग्यो । कुनैदिन मेरा पाउमा परेकी जुनु यही मान्छे थिइ ।
“कहाँ जान लागेकी जुनु? तँ जहाँ पनि जा, त्यो अतुलसंग नजा छोरी । गइस भने तेरो भाइ र म दुबै मर्छौ ।”
“मरे मर । तँ मेरी आमा होस र? तैंले बुवा खाएकी हैनस? म तेरो अनुहार पनि हेर्न सक्दिन । ”
“मलाई छोड, भाईको माया लाग्दैन ?”
जुनु केही बेर अवाक भई । फेरि वायुवेगले उठी, भाइलाई एक लात हानेर सँघारमा पुग्दै भनी, “बेश्या, तँ मेरी आमा हैनस् । तँ मरी जा । ”
मलाई हसह्य भयो । मैले आमाभन्दा साँचो कुनै मान्छे देखेको छैन संसारमा । अफूले जन्माएकी छोरीले यसो भन्दा कस्तो भयो होला एउटी आमालाई ।
“जुनु, कोसंग बोल्दैछौ तिमी, थाहा छ? आमालाई त्यसो भन्दा लाज लाग्दैन?”
“हू आर यू? मेरो जीवनको बारेमा बोल्ने तँ को होस्?”
हो त । मैले मेरो मुख हेरें, समयको ऐनामा । म केही नबोली बाहिरिएँ । पछि सुनें, जुनु त्यसै रात अतुलसंग भागिछ । केही दिन पछि थाहा पाएँ, दिदी र छोरो त्यो डेरा छोडी भारततिर लागेछन् । घरमा आएर दाइलाई सुनाएँ कथा । दाईले भन्यो, “ढाँट्छस? छोरीले आमालाई त्यस्तो पनि गर्छन?”
(स्रोत : Kalakunja )