आमा, के दशै पहिलाजस्तै छ?
के चुल्होमा आगो उतिनै वल्छ?
के अगेनामा मासु उतिनै पाग्छ?
खसिको खुट्टा समाईदिने कोहि छन्?
के मासु खाईदिने कोहि छन्?
छँदै छैनन् कि थिए र छैनन्?
कसैलो सोधेको छैन ।
ठुलाबा भन्छन्,
“घर आएका छोरा घर नै वस्दैनन्।”
उनको अनुहारमा निराशाको खोल्सो छ
आँखामा पिडाको समुन्द्र छ
विष्मयको एक झोक्का छाल
आँउछ र हिर्काउछ उनको गालामा
उनि झस्किएर उठ्छन् र सोच्छन्
‘के अव दशै आँउन छोडेकै हो?’
आफन्त वितेकालाई
हिजो जस्तो लाग्छ त्यो दिन
कालो दिन,
जुन दिन उनिहरू सवैभन्दा वढि रोहेका थिए ।
त्यसदिन पुर्ववाट उदाएको घामको किरणले
जसरी तर्साएथ्यो गोधुलीलाई
आजपनि तर्सिन्छन् उनिहरूको आँखा
जव त्यसरिनै उदाउछ घाम
र अस्ताउछ दिन ।
दशैमा
फर्किएर आँउछ पिडा ।
‘अगिल्लो वर्ष यहि दिन यस्तो थियो’ को संझनाले
रसिलो वनाईदिन्छ दशै ।
फूल फूलेका छैनन्
किनकि तिहार आँउदैछैन ।
केरा पाकेका छैनन्
भाषा परिक्षा विगारेको माईलो दाईलाई खान मन छैन ।
नया लुगा किनिएका छैनन्
किनकी केटाकेटीलाई थाहा छ
भर्खरै कान्छो दाईपनि
मलेसिया उडेका छन् ।
खाने मान्छे घटेर
खसिको तौल घटेको छ ।
‘मुग्लान’ फिल्मको ‘दशै आयो ‘ वोलको गीत
छर्किरहेछ नुनचुक घाउमा
झुट वोलेर,
किनकी सवैलाई थाहा छ
दशै नआईकनै जाँदै छ ।
दशैमा घर आएकालाई
अभाव छ साथीको ।
हरेकवर्ष नागरिकता र पासपोर्ट वन्ने उमेर भएपछि
वस्दैनन् कोहि गाँउमा ।
पिँङमा झगडा कम छ
ढाईसमा होहल्ला कम छ
खेलकुदमा उत्साह कम छ
मानिसहरू संझिरहेछन्
पोहोर दशैलगत्तै विदेश उडेको
मनपर्ने टिमको ‘फस्टसटर ‘ र ‘वेस्ट स्ट्राईकर’ ।
यस्तै छ दशै
जस्तो पोहोर थियो ।
संझनुपर्ने कुरा
पोहोर दशै थिएन ।
(स्रोत : Ourbiratnagar)